कतै प्वाल नभएको जिलेबीभित्र गुलियो कसरी पस्यो होला ? यही जिज्ञासा जस्तै हरेक काममा चाहिने ‘बिजुली’ शुरूमा कसले, कसरी बनायो होला ? यस्तो कौतूहल जाग्नु स्वाभाविक हो, यसैले मलाई बिजुलीको कथा लेख्न प्रेरित गर्यो तर शुरू कहाँबाट गर्ने ? धेरै पर जान नसके पनि आजभन्दा करिब ३ हजार वर्ष अघिसम्म पुग्ने निधो गरेँ । किनकि, २८०० वर्ष पहिला भारतीय प्रायःद्वीपमा गौतम बुद्ध जन्मेर समाजलाई त्यत्रो ज्ञान प्रवाह गरेकै हुन् । त्यतिबेला, यस क्षेत्रको समाज विकसित थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
भारतीय प्रायःद्वीपमा भएको समाज विकास बाहेक अन्य भागमा पनि आ–आफ्नै हिसाबले समाज अगाडि बढे होलान् । त्यसमध्ये कति समाज भौतिक र वैचारिक दृष्टिले निकै उन्नत अवस्थामा पुगे होलान् । दुनियाँका विभिन्न भागमा विकसित समाजमा सांसारिक घटना (व्यक्तिको निजी, सामाजिक जीवन एवम् प्रकृतिमा घट्ने घटना) हरूको अन्तर्य आ–आफ्नै हिसाबले बुझ्ने र त्यसलाई व्याख्या गरेर समाजमा स्थापित गर्ने प्रयास भयो होला । यिनै सांसारिक घटनालाई भारतीय प्रायःद्वीपमा गौतम बुद्धपूर्वका सन्त–महात्माहरूले निरपेक्ष ईश्वरीय र अध्यात्मको माध्यमबाट व्याख्या गर्ने गरे । बुद्धले तार्किक अध्यात्ममार्फत सांसारिक घटनालाई बुझेर व्याख्या गरे । यो प्रायःद्वीपको समानान्तरमा हिमालपारी उत्तर र पश्चिमा विश्वमा पनि समाज विकास भइरहेको थियो ।
तत्कालीन समयमा युनान अर्थात् ग्रीक (हालको टर्की, ग्रीस लगायत एसिया माइनर क्षेत्र) निकै उन्नत समाज मानिन्थ्यो । ग्रीसमा थुप्रै प्रसिद्ध दार्शनिकहरूको जन्म भयो । उन्नत समाजको जग बसाउन ती दार्शनिकहरूको मुख्य योगदान रहेको छ । ग्रीसेली दार्शनिकहरूले राजनीति शास्त्र, लोकतन्त्र, वैज्ञानिक र गणितीय सिद्धान्त, पश्चिमा दर्शन र साहित्य आदि प्रतिपादन गरे र मूल भूमिको रूपमा ग्रीसलाई स्थापित गरे ।
सोक्रेटिज (सुकरात), अरिस्टोटल, प्लेटो, पाइथागोरस लगायत ग्रीसेली दार्शनिकहरूमा सबैभन्दा पुरानो नाम थेल्सको आउँछ । ग्रीसका प्रमुख सात सन्त वा दार्शनिकमध्येका थेल्सको जन्म तत्कालीन ग्रीसको सानो राज्य मिलेटसमा इसापूर्व ६२४ मा भएको थियो । उनी दार्शनिक, गणितज्ञ, खगोलशास्त्री र व्यवसायी पनि थिए । परम्परागत ईश्वरीय आस्थाद्वारा निर्देशित तत्कालीन ग्रीक समाजका सांसारिक घटनालाई पौराणिक मान्यताद्वारा व्याख्या गर्ने परम्परा विपरित वैज्ञानिक स्पष्टिकरण दिने आँट गर्ने उनी पहिलो दार्शनिक हुन् ।
सांसारिक घटनालाई पौराणिक ईश्वरीय व्याख्याको सट्टा वैज्ञानिक कारण र व्याख्याको धारलाई ‘फिलोसोफिया’को रूपमा जान्न सकिन्छ । त्यसै धारले पछि सोक्रेटिज, अरिस्टोटल, प्लेटो, पाइथागोरस जस्ता सन्त एवम् दार्शनिक जन्मायो । तसर्थ, थेल्सको प्रयासलाई परम्परागत पौराणिक मान्यताको समाजबाट वैज्ञानिक समाजतर्फको यात्राको पहिलो पाइला मान्न सकिन्छ । ज्यामितीय प्रमेय (Theorem) हरू र खगोलीय जानकारीका साथै आफ्नो अनुसन्धानको क्रममा थेल्सले बिरालोको छाला वा कुनै प्रकारको फरमा एम्बर (एक प्रकारको रत्न ढुङ्गा) घोटिँदा त्यसमा एक प्रकारको आकर्षण शक्ति पैदा हुन्छ र त्यसले कपालजस्ता हल्का वस्तुलाई आफूतर्फ तान्न सक्छ भन्ने पत्ता लगाए । इसाको ६०० वर्ष पूर्वको थेल्सको यसै निष्कर्षलाई बिजुलीको इतिहासको शुरूवात मानिन्छ र यसरी फरसँग घोटिँदा उत्पन्न हुने आकर्षण शक्तिलाई पछि स्थिर विद्युत् (Static Electricity) का रूपमा चिनियो ।
प्राचीन ग्रीक दार्शनिकहरूले सम्पूर्ण ब्रह्माण्ड एउटा सिँगो वस्तु हो भन्ने मान्यतामा विश्वास गर्दथे । थेल्स पछि ४०० वर्ष इसापूर्वमा ग्रीसकै दार्शनिक डेमोक्रिटसलाई ‘सम्पूर्ण ब्रह्माण्ड एउटा वस्तु’को मान्यता चित्त बुझेन । उनी यसको वैकल्पिक मान्यताको खोजीमा लागे । उनको जिज्ञासा थियो– यदि कुनै वस्तु टुक्र्याउँदै गयो भने त्यसको अन्तिम स्वरूप के होला ? त्यसका लागि उनले शङ्खजस्तै एउटा समुद्री जीवको कवच (sea shell) लाई पहिला दुई टुक्रा पारे, त्यसमध्ये एउटालाई पुनः दुई टुक्रा पारे र यसरी नै टुक्र्याउने क्रम जारी राखे ।
अन्त्यमा, त्यो कवच थप टुक्र्याउन नसकिने गरी धुलो भयो । यसरी धुलोमा परिणत कवचको अत्यन्त सानो कणलाई उनले एटम नामकरण गरे । ग्रीक भाषामा एटमको अर्थ अविभाज्य (indivisible) हो । यसरी वस्तु बनोटको जुन विकसित भएको परमाणु मोडेल हामीले जसरी बुझ्ने गर्दछौँ, त्यसको प्रारम्भिक प्रतिपादन डेमोक्रिटसबाट आजभन्दा करिब २५०० वर्ष पहिला भएको थियो ।
संसारिक घटनाहरूको वैज्ञानिक प्रमाणीकरण र व्याख्याको उपयुक्त बाटो देखाएका थेल्स र डेमोक्रिटसको योगदानमा १०० वर्षपछि ३०० वर्ष इसापूर्व ग्रीसका अर्का प्रसिद्ध दार्शनिक एरिस्टोटलले कुठाराघात गरे । प्रत्येक वस्तु विशिष्ट प्रकारको अविभाज्य कण वा परमाणु (atom) बाट बन्छ भन्ने डेमोक्रिटसले प्रतिपादन गरेको सिद्धान्तलाई उनले भने । साथै, एरिस्टोटलले वस्तु परमाणुबाट नभई पृथ्वी, आगो, पानी र हावाको थोर–थोरै मात्राबाट बन्छ भन्ने दाबी गरे । तत्कालीन अवस्थामा उनको दाबीले समाजमा मान्यता पायो । भारतीय प्रायःद्वीपमा व्याप्त पञ्चतत्त्व मान्यतासँग मेल खाने एरिस्टोटलको यो दाबी पछिको इसापूर्व कालमा विद्युत् वा स्थिर विद्युत् सम्बन्धी अध्ययनमा थप काम भएन । यसरी प्रामाणिक विज्ञानमा आधारित समाज विकासका हिसाबले महान दार्शनिक एरिस्टोटल कुपात्र ठहरिए ।
विद्युतीय शून्यकाल
थेल्स र डेमोक्रिटसले कोरेको बाटो एरिस्टोटलले भत्काएपछि विज्ञानमा आधारित समाज विकासको क्रम इसापछि १५०० वर्षसहित झन्डै २ हजार वर्ष अवरुद्ध भयो । उक्त अवधिमा विश्व धार्मिक राजनीतिक द्वन्दमा रुमल्लियो । भारतीय प्रायःद्वीपमा सनातन हिन्दू, मङ्गोलिया लगायत मध्य– एसियामा बौद्ध, पश्चिम एसियामा इस्लाम र युरोपमा इसाई धर्मको विस्तार भयो ।
महान रोमन साम्राज्य अन्तर्गतको मध्यपूर्वको राज्य जेडि़या (Judaea) विविध कारणले अशान्त रहेको अवस्थामा जीससले ‘रोमन साम्राज्यभन्दा पनि ठूलो साम्राज्य छ र यसमा समाजका विपन्न सदस्यहरूलाई ईश्वर स्वयं राहत र आशा प्रदान गर्ने छन्’ भन्ने सन्देश प्रवाह गरे । यस सन्देशले जिसस र उनको विचारप्रति शोषित–पीडित समुदाय आकर्षित भए तर उनका शिष्यहरूले जीससलाई दैवीकरण (जीसस ईश्वरका पुत्र हुन् भन्ने प्रचार) गरेका कारण समाजमा नकारात्मक सन्देश पनि फैलियो । सन् ३३ मा जेरुसलममा आयोजित धार्मिक समारोहमा तीर्थलुहरूको सुविधाका लागि विदेशी मुद्रा साट्न र पशुबलीका लागि जनावर खरिद गर्न मठले धार्मिकस्थल परिसरमा पण्डाल स्थापना गरेर पसल भाडामा लगाएको थियो ।
धार्मिकस्थलमा पसल सञ्चालन गर्न पण्डाल भाडामा लगाउँदा पवित्र स्थल भ्रष्टीकरण हुने दाबी गर्दै जीससले ती पण्डाल भत्काए । यस घटनापछि राज्य निकट धार्मिक संस्थाहरूका सञ्चालक र जीसस प्रत्यक्ष मुखामुख हुन पुगे । अन्त्यमा जिससलाई अपराधी घोषित गर्दै क्रुशमा झुण्ड्याएर मृत्युदण्ड दिइयो । मृत्युदण्डपछि उनका सन्देशहरू समाजमा भुसको आगो जस्तै फैलिन थाले । जिससका विचार र उनीप्रति आस्था राख्नेहरूको समूहले नयाँ सम्प्रदायको रूप लियो । यद्यपि, रोमन साम्राज्यमा जिससप्रति आस्था राख्नु दण्डनीय अपराध मानिन्थ्यो । यस समुदायको भूमिगतरूपमा विस्तार हुँदै कालान्तरमा युरोप हुँदै विश्वभर फैलियो । यो नै आजको इसाई धार्मिक सम्प्रदाय हो ।
सन् ३२६ मा प्रसिद्ध रोमन सम्राट अगस्तस सीजरका उत्तराधिकारी कन्सटनटिनले रोमन साम्राज्यको राजधानी रोमबाट मध्यपूर्वको बाइजेंटियम शहरमा सारे । बाइजेंटियमको नाम परिवर्तन गरी कन्सटनटिनोपल राखियो, जसलाई आज इस्तानबुलको रूपमा चिनिन्छ । कन्सटनटिनकी आमा लुकीछिपी जीससप्रति आस्था राख्थिन् । यही कारण कन्सटनटिनमा पनि जिसस समर्थकप्रति सहानुभूति थियो ।
कन्सटनटिनले विस्तारै जिससप्रति आस्था राख्नेहरूमाथि रोमन साम्राज्यले लगाएका प्रतिबन्ध खुकुलो बनाए । तिनीहरूलाई राज्यमा जिम्मेवारीका पदमा नियुक्ति दिन थाले । यसरी कन्सटनटिन–कालमा ईसाई सम्प्रदायले शक्ति सञ्चय गर्दै गयो । आफ्नो शासनकालमै कन्सटनटिन स्वयम्ले इसाई धर्म ग्रहण गरी रोमन साम्राज्यलाई इसाईकरण गरे । कन्सटनटिनको मृत्युपछि उनको साम्राज्य पूर्वी र पश्चिमी गरी दुई छोराहरूमा अंशबन्डा भयो ।
युरोपतर्फको पश्चिमी राज्य धेरै बाह्य आक्रमणहरू झेल्दै स–साना स्वतन्त्र राज्यमा विभक्त भयो । जहिले पनि द्वन्द र अस्थिरतामा रहेका ससाना पश्चिमी राज्यहरूको अस्तित््त्वको त्यो कालखण्डलाई युरोपको पूर्व–मध्ययुगीन अँध्यारो युग (Pre–medieval Dark Age) भनिन्छ । कन्सटनटिन साम्राज्यको विभाजित पूर्वी–राज्य अर्को १००० वर्ष अर्थात् १५औँ शताब्दीसम्म बाइजन्टाइन इसाई साम्राज्यको रूपमा इसाई धार्मिक ज्ञान–केन्द्रको रूपमा अस्तित््त्वमा रह्यो ।
सन् १४५३ मे २९ का दिन ओटोमन तुर्कहरूले महान रोमन साम्राज्यको विरासत इसाई बाइजन्टाइन साम्राज्यको राजधानी कन्सटनटिनोपल (हालको इस्तानबुल) शहर जिते पछि, ओटोमन साम्राज्यको राजधानी अड्रियानापोलबाट कन्सटनटिनोपल सारियो । यसरी ओटोमन सुन्नी इस्लामधर्मी शासकहरूको राजधानी भएपछि कन्सटनटिनोपलको रूपमा मध्यपूर्व र पश्चिमा संसारका लागि रुढिवादी इसाई धर्मको ज्ञानकेन्द्र पनि ध्वस्त भयो । अनि, युरोपमा पुनर्जागरण (रेनासां) युगको शुरूवात भयो ।
त्यसले पश्चिमा समाजमा व्याप्त मानव जीवनका प्रत्येक घटनालाई ईश्वरसँग जोडेर व्याख्या गर्ने रुढिवादी इसाई धार्मिक हठधर्मिताको सट्टा मानव अस्तित््त्व र जीवनका समस्या वैज्ञानिक परीक्षणमार्फत व्याख्या गर्ने परम्परा शुरू भयो । विस्तारै रुढिवादी धार्मिकज्ञान विस्थापित हुँदै गयो र युरोपका ठूला शहरहरू नयाँ वैज्ञानिक ज्ञान–केन्द्र बन्दै गए । इतिहासकारहरूले आजको सम्पूर्ण वैज्ञानिक ज्ञान र मानव सभ्यताको विकसित अवस्थाको श्रेय ईस्वी सन् १४५३ मे २९ को दिन कन्सटनटिनोपलमाथि ओटोमन तुर्कहरूले गरेको विजयको त्यही घटनालाई दिने गरेका छन् ।
यद्यपि, ईश्वरीय ज्ञानले मात्र मानव अस्तित््त्व र जीवनका समस्यालाई व्याख्या गर्न नसकिने र प्रायोगिक विज्ञानमार्फत व्याख्या गर्नुपर्ने मान्यता थेल्सले धेरै वर्ष अघि नै प्रस्तुत गरेका थिए । झन्डै २ हजार वर्ष पहिला थेल्सले वस्तुहरूको विद्युतीय गुण र त्यसको २०० वर्षपछि डेमोक्रिटसले पदार्थ संरचनाको परमाणुवीय मान्यता प्रतिपादन गरे पनि इसापछिको पहिलो १५०० वर्षमा यी विषयमा कुनै थप योगदान विश्वका कुनै भागमा कसैबाट भएन । बिजुली सम्बन्धी ज्ञान विकासका दृष्टिले यो अवधि शून्यकाल ठहरिन्छ ।
सोह्रौं शताब्दीपछि
६०० वर्ष इसापूर्व थेल्सले जनावरको भुवादार छालामा एम्बर वा त्यस्तै ढुङ्गा घोटेपछि त्यसमा आकर्षण शक्ति विकास हुने तथ्य पत्ता लगाई स्थिर विद्युत् सम्बन्धी ज्ञानको शुरूवात गरे । त्यस–उप्रान्त २२०० वर्षको शून्यकालपछि ईस्वीको १६औं शताब्दीमा बेलायती वैज्ञानिक विलियम गिल्बर्टले थेल्सको त्यस खोजलाई अघि बढाउने काम गरे, जुन कुरा गिल्बर्टले आफ्नो रचना ‘New Latin Electricus’ मा उल्लेख गरेका छन् । गिल्बर्टले ग्रीक भाषामा ‘एम्बर जस्तै’ भन्ने अर्थ लाग्ने ‘इलेक्ट्रिकस’ शब्द प्रयोग गर्नुका साथै ग्रीक भाषामा ‘एम्बर’लाई ‘इलेक्ट्रोन’ भनिने हुँदा थेल्सले पत्ता लगाएको फर र एम्बरमा उत्पन्न हुने आकर्षण शक्तिलाई विद्युतीय बलको प्रभाव (Effect of Electric Force) भनी व्याख्या गरे ।
‘विद्युतीय बलको प्रभाव’ अध्ययन गर्न उनले थुप्रै प्रयोग गरे । कुनै वस्तुमा त्यस्तो विद्युतीय आकर्षण शक्ति भए/नभएको पत्ता लगाउने उपकरण ‘वर्सोरियम’ बनाए । गिल्बर्टले सन् १६०० मा बनाएको वर्सोरियमलाई इलेक्ट्रिकल इन्जिनियरिङको पहिलो मापन–यन्त्र (First measuring instrument) मानिन्छ । वास्तवमा यसले कुनै वस्तुमा विद्युतीय आवेश (Electric Charge) छ/छैन भन्ने पत्ता लगाउँछ । पछि, यस उपकरणको नाम ‘इलेक्ट्रोस्कोप’ राखियो । आफ्नो व्यावसायिक जीवनको प्रारम्भिक चरणमा गिल्बर्ट २ वर्ष इटालीमा समेत बसे तर उनी त्यहाँ बस्दा ग्यालिलियो सानै उमेरका थिए ।
विद्युत्को क्षेत्रमा गिल्बर्टले गरेका यिनै महत्त्वपूर्ण योगदानका लागि उनलाई विद्युत्का जनक (Father of Electricity) पनि भनिन्छ । गिल्बर्टको ‘वर्सोरियम’ अत्यन्तै महत्त्वपूर्ण उपकरण थियो, उनी पछिका बेन्जामिन फ्रैन्क्लिन, अब्राहम बेनेट, मेरी र पियरे क्युरी लगायत अधिकांश वैज्ञानिकले आफ्ना महत्त्वपूर्ण अनुसन्धानमा इलेक्ट्रोस्कोपको उपयोग गरेका थिए ।
फ्रान्सिस हौक्स्बी प्रसिद्ध वैज्ञानिक न्यूटनका ल्याब असिस्टेन्ट थिए । सन् १७०३ मा न्यूटन रोयल सोसाइटीका अध्यक्ष मनोनयन भएपछि उनले फ्रान्सिसलाई सोसाइटीका आधिकारिक सङ्ग्रहालय प्रमुख, उपकरण निर्माता एवम् प्रयोगकर्ता नियुक्त गरे । न्यूटनको विशेष अभिरुचिका कारण त्यतिबेलाका वैज्ञानिक अनुसन्धान गुरुत्वाकर्षण एवम् प्रकाश (gravitation and light) मा केन्द्रित थिए । विद्युत् क्षेत्रमा न्यूटनको चासो थिएन । यसरी थेल्स र डेमोक्रिटसपछि गिल्बर्टसम्म आइपुग्दा करिब २२०० वर्षसम्म उपयुक्त वैज्ञानिक व्याख्याको अभावमा स्थिर विद्युत् जादूजस्तै अचम्मको वस्तुको रूपमा बुझियो । फ्रान्सिस लगायत १८औँ शताब्दीका वैज्ञानिकहरू त्यसको थप अनुसन्धानतर्फ आकर्षित भएका थिए ।
अध्ययन/अनुसन्धान मार्फत स्थिर विद्युत्का गुणहरू पत्ता लगाउन र तिनको मात्रा आकलन गर्न पहिला स्थिर विद्युत् उत्पादन गरेर सुरक्षित राख्न आवश्यक थियो । प्रयोग गर्दै जाँदा फ्रान्सिसले अँध्यारो कोठामा सिसाको एउटा घुम्दै गरेको ‘ग्लोब’मा हात राखेर घर्षण गराउँदा नीलो रङको चम्किलो उज्यालो (light) पैदा हुने कुरा पत्ता लगाए । वास्तवमा दुई फरक वस्तुको घर्षणबट उत्पन्न स्थिर विद्युत् भोल्टेजले ग्लोबभित्रको ग्यास चार्ज गर्दा त्यसबाट नीलो रङको उज्यालो निस्केको देखिएको हो ।
पछि, यसै सिद्धान्तमा ‘मर्करी भ्यापर ल्याम्प’को विकास भयो । अतः फ्रान्सिसले बनाएको ग्लोब उपकरण पहिलो स्थिर विद्युत् जेनेरटर थियो । सन् १७५२ मा बेन्जामिन फ्रैन्क्लिनले आँधीहुरी चलेको बेला धातुको टुप्पो भएको चङ्गा उड़ाउँदा चट्याङको झट्का लागेको हुँदा चट्याङ एक प्रकारको विद्युत् नै हो भन्ने तथ्य उजागर गरे । धन्न उनी भाग्यमानी थिए र त्यो झट्काले उनको ज्यान गएन ।
यसै क्रममा सन् १७८० मा इटालीयन वैज्ञानिक लुई गल्वानीले गरेको एउटा प्रयोगमा मरेको भ्यागुतोको एउटा खुट्टामा चक्कुले स्पर्श गराउँदा खुट्टामा झट्का लागेको उल्लेख गरे । पछि एलेसान्द्रो भोल्टाले ‘दुईटा फरक धातुबीच आर्द्रता (moisture) भएमा त्यहाँ विद्युत् उत्पादन हुन्छ’ भन्दै गल्वानीको मरेको भ्यागुता प्रयोगको व्यख्या गरे । गल्वानीकै प्रयोगबाट अभिप्रेरित भई भोल्टाले सन् १८०० मा दुईटा फरक शुद्ध धातु चाँदी र जस्ता पाता नुनको झोलमा डुबाएर विद्युत् उत्पादन गरेर देखाए ।
वास्तवमा धारा विद्युत् (current electricity) उत्पादन गर्ने यो नै पहिलो उपकरण थियो । यसलाई ‘सेल’ भनियो । विद्युत् सम्बन्धी अनुसन्धानमा प्रगति भइरहँदा यसको उपयोगका पक्षमा पनि काम हुँदै थियो । सन् १८०० मा नै सर हम्फ्री डेबीले कुनै पदार्थमा विद्युत् प्रवाह गराउँदा ती पदार्थको रासायनिक विघटन हुने कुरा पत्ता लगाए । यस प्रक्रियालाई इलेक्ट्रोलाइसिस भनियो । इलेक्ट्रोलाइसिस विधिले खानीबाट निस्केको अयस्क (Ore) प्रशोधन गर्दा नै म्याग्नेसियम, क्याल्सियम, स्ट्रोंटियम र बेरियम जस्ता तत्त्व पत्ता लागेका हुन् ।
सन् १८०० सम्म विद्युत् सम्बन्धी खोज अनुसन्धानको गति धेरै सुस्त थियो । त्यसपछि, यसको अनुसन्धानले तीव्रता लिँदै नयाँ–नयाँ तथ्य पत्ता लागेको देखिन्छ । सन् १८२० मा डेनमार्कका वैज्ञानिक हान्स क्रिस्चियन ओर्सटेडले एउटा तारमा विद्युत् प्रवाह गर्दा त्यसको निकट रहेको दिशा–सूचक कम्पासको सुइमा विचलन आयो । यसबाट, ‘विद्युत्ले चुम्बकीय क्षेत्र सिर्जना गर्छ’ भन्ने तथ्य सार्वजनिक गरे । सोही वर्ष अर्थात् सन् १८२१ मा थोमस जौन सीबेकले ‘दुईटा धातु जोडिएको बिन्दुलाई तताइयो भने विद्युत् प्रवाह हुन्छ’ भन्ने पत्ता लगाए । त्यसलाई तापीय विद्युत् (Thermo-electricity) भनियो ।
क्रमैसँग, सन् १८२६ मा आन्द्रे एम्पियरले विद्युत् तथा चुम्बक सम्बन्धी आफ्ना सिद्धान्त प्रकाशित गर्दै पहिलो पटक इलेक्ट्रो डाइनामिक सिद्धान्त प्रतिपादन गरे । उनैको नाममा विद्युतीय करेन्टको मापन एकाई ‘एम्पियर’को नामकरण पनि गरियो । लगत्तै, सन् १८२७ मा जर्मनीका एक लेक्चर जर्ज ओमले पहिलो पटक पूर्णतः विद्युत्काे गणितीय सिद्धान्त प्रतिपादन गरे । यो काम गरेबापत उनको सम्मान गर्दै विद्युतीय प्रतिरोध (Resistance) को मापन एकाइको नाम ‘ओम’ राखियो ।
सन् १८२९ मा जोसेफ हेनरीले ‘एउटा सीधा तारमा भन्दा तार बेरिएको क्वाइलमा बढी शक्तिको विद्युतीय चुम्बकत्व उत्पादन हुन्छ’ भन्ने कुरा प्रदर्शन गर्दै ‘विद्युतीय चुम्बकत्त्व’ सिद्धान्त प्रतिपादन गरे । त्यस्तै, सन् १८३० मा जोसेफ हेनरीले पुनः डाइनामोको सिद्धान्त पनि प्रतिपादन गरे । सन् १८३१ मा माइकल फैराड़ेले तामा तारको क्वाइलभित्रबाट एउटा चुम्बक वारपार चलाएर त्यसमा विद्युत् प्रवाह भएको देखाए । यसलाई Electro-magnetic induction भनियो । विद्युत् विकासमा यो प्रयोग कोशेढुङ्गा साबित भयो । यसैका आधारमा पछि विद्युतीय जेनेरेटर र मोटर निर्माण भए ।
सन् १८३१ मै चाल्र्स व्हीटस्टोन र विलियम फोदरगिल कुकले पहिलो टेलिग्राफ मेसिन निर्माण गरे । त्यसको तीन वर्षपछि उनैले एउटा घुम्ने ऐना र चार माइल लामो तारको सहयोगमा विद्युत्काे वेगसमेत मापन गरे । पुनः सन् १८३७ मा स्यामुएल मोर्सले न्यूयोर्कमा एउटा प्रदर्शनीमा टेलिग्राफ मेसिनमा डोट र ड्यास प्रणाली प्रयोग गरी एक मिनटमा १० शब्द प्रसारण गरेर देखाए । यही डोट र ड्यास प्रणालीलाई पछि मोर्सकै नाममा मोर्सकोड भनियो ।
१९औँ शताब्दीको मध्यतिर विद्युत् सम्बन्धी अध्ययन/अनुसन्धानमा युरोप र अमेरिकाबीच प्रतिस्पर्धा नै भयो । सन् १८७० मा थोमस अल्वा एडिसनले अमेरिकामा डी.सी. विद्युत् उत्पादन गर्ने जेनेरेटर निर्माण गरे । पछि, त्यसै जेनेरेटरबाट न्यूयार्क शहरलाई विद्युत् आपूर्ति समेत गरे । यता, सन् १८७६ मा अलेक्जेन्डर ग्राहमबेलले टेलिफोनको आविष्कार गरेर विद्युत्काे महत्त्वपूर्ण उपयोग क्षेत्र सञ्चारमा क्रान्तिकारी परिवर्तन ल्याइदिए । साथै, सन् १८७८ मा बेलायती वैज्ञानिक योसेफ स्वानले कार्बन फिलामेन्टमा आधारित पहिलो विद्युतीय बत्ती प्रदर्शन गरे । त्यसको केही महिनापछि नै एडिसनले अमेरिकामा पनि त्यस्तै बत्तिको आविष्कार गरे ।
विस्तारै विद्युतीय अनुसन्धान उत्पादन पक्षभन्दा उपयोगतर्फ केन्द्रित हुन थाल्यो । एडिसनले सन् १८७८ मा डी.सी. विद्युत् उत्पादन गर्ने जेनेरेटर बनाएका थिए भने सन् १८८० मा निकोला टेस्लाले ए.सी. विद्युत् उत्पादन गर्ने जेनेरेटर र ए.सी. मोटरको विकास गरे । टेस्लाको वेस्टिङहाउस कम्पनीसँग सहकार्य थियो । वेस्टिङहाउसको प्रतिस्पर्धी कम्पनी जेनेरल इलेक्ट्रिकसँग एडिसनको सहकार्य थियो । टेस्लाको ए.सी. विद्युत् प्रणालीले विद्युत् उद्योगमा अधिपत्य जमाउने र आफ्नो डी.सी. प्रणाली विस्थापित हुने त्रासले एडिसनले सञ्चार माध्यमको दुरूपयोग गर्दै ए.सी. विरुद्ध भ्रामक प्रचारसमेत गरे ।
टेस्ला र एडिसनबीच चलेको ए.सी. र डी.सी. प्रणालीसम्बन्धी अस्वस्थ व्यावसायिक प्रतिस्पर्धालाई करेन्टको युद्ध (War of Currents) को रूपमा चिनिन्छ । सन् १८९३ मा सिकागो विश्व मेला (Chicago World Fair) मा उज्यालोको व्यवस्था गर्न बोलपत्र आह्वान गरिएकोमा वेस्टिङहाउसले जेनेरल इलेक्ट्रिकको प्रस्तावभन्दा थोरै रकम कबोल गरी काम हत्यायो । साथै, ए.सी. विद्युत् प्रयोग गरी १ लाख विद्युतीय बत्ती बालेर उज्यालोको व्यवस्था गरिदियो । यही कारण अमेरिकामा ए.सी. विद्युत् प्रणाली स्थापित भयो र डी.सी. प्रणाली क्रमशः लोप हुँदै गयो । आज विश्वभर विद्युत् उत्पादन, प्रसारण र वितरण ए.सी.मै आधारित छ ।
जसरी २८ लाख वर्ष पहिलाको होमो हैबिलिसबाट आजको विकसित मानव जाति उदाएको हो, त्यसरी नै आजभन्दा झन्डै २७०० वर्ष पहिला थेल्सले देखेको प्रामाणिक विज्ञानको बाटो र सोही बाटो पच्छ्याउँदै झन्डै २५०० सय वर्ष पहिला डेमोक्रिटसले प्रतिपादन गरेको ‘एटम’ अवधारणा क्रमशः विकास हुँदै बिजुली आजको विकसित स्वरूपमा आइपुगेको हो ।
(लेखक, ऊर्जाविद् तथा ने.वि.प्रा.का पूर्व उपकार्यकारी निर्देशक हुन् । यो आलेख २०८१ साल असारमा प्रकाशित ‘ऊर्जा खबर’ अर्धवार्षिक पत्रिकाबाट साभार गरिएको हो ।)