विद्युत अपडेट

  • प्राधिकरण : १००११ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८१ मे.वा.घन्टा
  • निजी क्षेत्र : २८४८८ मे.वा.घन्टा
  • आयात : १०८२ मे.वा.घन्टा
  • निर्यात : ६७३५ मे.वा.घन्टा
  • ट्रिपिङ : ७०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५३७६१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३६ मे.वा.
२०८२ असार ३, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

विद्युत् एउटा विशिष्ट किसिमको वस्तु भएकोले यसको बजारीकरण पनि त्यतिकै विशिष्ट छ । छिमेकी भारतले विद्युत्‌लाई रणनीतिक वस्तु मान्दै यसको आयातनिर्यात पनि नियमन गर्दै आएको छ । नेपालको हकमा यो भू–राजनीतिसँग जोडिएको संवेदनशील विषय पनि हो । यसै सन्दर्भमा विद्युत्‌काे बजारीकरण प्रक्रिया कस्तो हुन्छ ? नेपालको विद्युत् क्षेत्रको साविक संरचनामा क्षेत्रगत उदारीकरण कहाँ पुगेको छ ? नेपाल– भारत विद्युत् व्यापारको अवस्था के छ ? आगामी दिनमा नेपालमा विद्युत्‌को सम्भाव्य उपलब्धताका हिसाबले भारतीय बजार लक्षित गरेर बजारीकरणको कस्तो रणनीति अपनाउनु उपयुक्त होला । यिनै विषयमा केन्द्रित रहेर यो आलेख तयार गरिएको छ ।

विद्युत्‌को बजार र बजारीकरण

कुनै व्यक्ति, परिवार वा सङ्गठित संस्थाले आफ्नो उपभोगबाहेकको उत्पादन सार्वजनिक उपयोगका लागि बिक्री गर्ने प्रक्रिया बजारीकरण हो । दैनिक उपभोग्य चामल, घ्यू, दूध, अण्डा, आलु इत्यादि उत्पादकले उत्पादन गरेर बिक्रीका लागि भौतिकरूपमै बजारमा पुर्‍याउँछन् । बजारमा अरू उत्पादकले पनि आफ्ना उत्पादन बिक्रीका लािग ल्याएका हुन्छन् । तमाम उत्पादकका उत्पादन र खरिदकर्ताको उपस्थितिले प्रतिस्पर्धा सुनिश्चितता हुन्छ र प्रत्येकको मोटामोटी बजारमूल्य स्थापित हुन्छ । त्यहाँ बिक्रेता र क्रेताबीच कति परिमाण र स्थापित बजार मूल्यको आसपास कुन दरमा वस्तुको के कति परिमाण किनबेच गर्ने भन्ने विषयमा सौदाबाजी गरेर खरिद–बिक्रीको सहमति हुन्छ । सौदाबाजीबाट सहमति भएको खरिद– बिक्री परिमाण र मूल्य अनुसार तत्काल (रियल टाइममा) नापतौल गरी क्रेता र बिक्रेताबीच लेनदेन गरिन्छ । उपभोग्य वस्तुको यो परम्परागत बजार प्रणाली बाहेक अचेल डिजिटल प्लेटफर्ममार्फत वस्तुको व्यापार गर्ने चलन आइसकेको छ । यस्ता प्लेटफर्ममा बिक्रेता र क्रेताबीच डिजिटल सौदाबाजी, सम्झौता र भुक्ताानी भई खरिदकर्ता भएकै स्थानमा वस्तुको आपूर्ति गरिन्छ तर तपसिलका कारणहरूले गर्दा विद्युत्‌को बजारीकरण अन्य उत्पादनसरह हुन सक्दैन :

  • (क) विद्युत् अमूर्त (इन्ट्यान्जिबल) वस्तु भएकोले जसरी अन्य उत्पादन बजारमा लगेर भौतिकरूपमै क्रेतालाई देखाउन सकिन्छ, त्यसरी विद्युत् देखाउन सकिँदैन ।
  • (ख) विद्युत् अरू उत्पादनजस्तै भण्डारण गरेर पछि बजारको अवस्था हेरेर बेच्न सकिँदैन । उत्पादन हुने वित्तिकै बेचिसक्नु पर्छ । त्यही समयमै खपत पनि गर्नुपर्छ ।
  • (ग) यसलाई उत्पादन, खपत र बिक्री गर्न उत्पादनदेखि लिएर उपभोत्तससम्म छुट्टै प्रसारण र वितरण प्रणालीको रुपमा ‘हार्डवायर कनेक्सन’ चाहिन्छ ।
  • (घ) दुई देशबीच विद्युत्‌को आयातनिर्यात गर्दा भन्सार बिन्दुमा लगेर देखाउन सकिँदैन ।

जस्तैः नेपाल–भारतबीच आयातनिर्यात गर्दा यति परिमाणमा विद्युत् भारत लैजाँदै छु वा यति परिमाण भारतबाट ल्याउँदैछु भनी भन्सारमा देखाएर जाँचपास गर्न सकिँदैन ।

यिनै कारणले बिजुलीको खरिद–बिक्री परिमाण, मूल्य सहमति र तत्सम्बन्धी खरिद–बिक्री सम्झौतासम्मको काम उत्पादन हुनुअघि नै सक्नुपर्छ । तबमात्रै रियल टाइममा सम्झौता अनुसार उत्पादन, आपूर्ति र खपत हुन्छ । तर, जतिसुकै राम्रो सम्झौता गरे पनि रियल टाइममा हुने विद्युत् खपत पूर्व–सम्झौता बराबर नहुन सक्छ, हुँदैन पनि । त्यस्तै, विविध कारणले उत्पादक पनि सम्झौता अनुसारको पूरै परिमाणमा आपूर्ति गर्न असमर्थ हुन सक्छ । यसरी, रियल टाइममा खरिदकर्ताको विद्युत् खपत वा उत्पादकको आपूर्तिमा सम्झौताको परिमाणभन्दा फरक हुन गएमा तत्कालको विचलन (रियल टाइम डेभियसन) भनिन्छ । यस्तो विचलनलाई सम्बोधन गर्न बजार नियमका रूपमा विविध प्रकारका तत्कालको विचलन राफसाफ संयन्त्र (रियल टाइम डेभियसन सेटलमेन्ट मेकानिजम) प्रचलनमा छन् ।

विशिष्ट वस्तु प्रकृतिका माथि उल्लिखित (क) देखि (घ) सम्मका कारणले अरू वस्तु सरह विद्युत्‌को बजार विकास गरेर बजारीकरण गर्ने काम अर्थशास्त्रीहरूका लागि चुनौती बन्दै आएको छ । अझ पहिले– पहिले बिजुली बजारीकरण हुने वस्तु नै होइन कि भन्ने धारणा थियो । पछि आएर विशेष बजार नियम बनाएर विद्युत्लाई पनि बजारीकरणको उत्पादन (प्रोडक्ट) बनाउन सकिने अवधारणा विकास भयो ।

त्यस्ता, विशेष बजार नियममार्फत हाल अन्य उत्पादन सरह विद्युत्‌को पनि बजार सञ्चालन भइरहेका छन् । यद्यपि, अरू उपभोग्य उत्पादनकै जस्तै विद्युत्‌को बजार पनि रियल टाइममा वा रियल टाइमको सकेसम्म नजिक कसरी सञ्चालन गर्ने भन्नेमा अझै अर्थविद् तथा ऊर्जाविद्हरू लागेका छन् । यसका निम्ति बजार नियमहरूको संशोधन र नयाँ–नयाँ नियम जस्तैः “इन्ट्रा डे मार्केट’ प्रतिपादनको काम निरन्तर चलिरहेकै छ ।

बिजुली बजारका प्रकारहरू अहिले मुख्यरूपमा बिजुलीको भौतिक (फिजिकल) र वित्तीय (फाइनान्सियल) दुई किसिमका बजार छन् । भौतिक बजारमा बिजुलीको परिमाण (किलोवाट घन्टा) को किनबेच हुन्छ भने वित्तीय बजारमा किलोवाट घन्टा होइन, त्यसको मूल्यको किनबेच हुन्छ ।

भौतिक बजारभित्र अवधि आधारित (टर्म बेस्ड), भूगोल आधारित (जिओग्राफी बेस्ड) र स्तर आधारित (लेबल बेस्ड) गरी ३ थरी बजार छन् । अवधि आधारित बजारभित्र दीर्घकालीन (लङ–टर्म, मध्यकालीन (मेडियम–टर्म, अल्पकालीन (सर्ट–टर्म, एक दिनअघि (डे–अहेड) र दिनभित्रै (इन्ट्रा–डे गरी ५ किसिमका बजार प्रचलनमा छन् । भूगोल आधारित बजारभित्र स्वदेशी (डोमेस्टिक) र अन्तरदेशीय (क्रस– बोर्डर) बजार पर्छन् । अन्तरदेशीय बजार पनि द्विदेशीय (बाइ–नेशन) र क्षेत्रीय (रिजनल) गरी दुई थरी बजार छन् । त्यस्तै, स्तर आधारित (लेबल बेस्ड) बजारभित्र थोक (होलसेल) र खुद्रा (रिटेल) बजार छन् ।

उपभोग गर्नुभन्दा कति पहिला बिजुलीको किनबेच गर्ने भन्ने अवधिमा आधारित (टर्म– बेस्ड) बजारभित्रका दीर्घकालीन, मध्यकालीन र अल्पकालीन ३ वटा बजार द्विपक्षीय बजार हुन् । अर्थात्, यिनमा किन्ने र बेच्ने २ वटा पक्षमात्र हुन्छन् । किनबेचको सौदा दुई पक्षबीच मात्र हुन्छ । कहिलेकाहीँ ट्रेडरको भूमिका हुन सक्छ तर त्यसलाई सहजकर्ता मात्र मानिन्छ, किनबेच गर्ने पक्षमा गणना गरिँदैन । यस्ता बजारमा विद्युत् खरिद– बिक्री प्रतिस्पर्धा गरेर वा वार्ताद्वारा पनि गर्न सकिन्छ । तर, दिन अघि (डे–अहेड) बजारमा भने भोलिका लागि बिजुलीको परिमाण आजै किनबेच हुन्छ र दिनभरिको (इन्ट्रा–डे बजार भनेको आजको कुनै समयका लािग आजै घटीमा केही घन्टाअघि किनबेच सिध्याउने हो । यी डे–अहेड र इन्ट्रा–डे बजारहरू “स्पट बजार” हुन् । “स्पट बजार”मा किनबेच परिमाण (मेगावाट घन्टा वा किलोवाट घन्टा) मा बहुपक्षीय तथा प्रतिस्पर्धामार्फत हुन्छ । यस्ता बजारमा कसको बिजुली कसले किन्यो भन्ने थाहा हुँदैन ।

विद्युत्‌को वित्तीय (फाइनान्सियल) बजारमा फरवार्डस्, अप्सन्स, स्वाप, ओभर द काउन्टर ट्रेडजस्ता बजारहरू हुन्छन् । अहिले नेपालका लागि विद्युत्‌को वित्तीय बजार त्यति महइभ्वपूर्ण छैन । हामी भौतिक बजारमा केन्द्रित हुन्छौँ ।

नेपालमा अवधि आधारित (टर्म बेस्ड) बजारलाई अहिलेसम्म परिभाषित गरिएको छैन तर भारतले स्पष्ट रूपमा परिभाषित गरेको पाइन्छ । भारतीय परिभाषा अनुसार सोही दिन २ घन्टा पछिसम्मका लागि बिजुलीको किनबेच हुने बजार इन्ट्रा–डे हो र भोलिका लागि आज किनबेच गर्ने डे– अहेड । डे–अहेडमा भोलिको २४ घन्टाभित्र १५–१५ मिनेट अवधिका ९६ वटा ब्लकहरू लागि आजको १० बजेभित्र किनबेचको सम्झौता सक्नुपर्छ । त्यस्तो सम्झौतामा बजार निर्धारण गरेको मूल्यमा कसले कति बिजुली किन्ने र यसरी किनिएको एकीकृत परिमाण बजार मूल्यमा को कसले बेच्ने निर्धारित हुन्छ । अल्पकालीन बजारमा एक वर्ष, मध्यकालीनमा ५ वर्ष र दीर्घकालीनमा ५ वर्षभन्दा बढी अवधिका लागि बिजुलीको किनबेचको सम्झौता हुन्छ । यद्यपि अल्पकालीन, मध्यकालीन र दीर्घकालीनको परिभाषा समय समयमा परिवर्तन हुने गरेको छ ।

भारतमा वार्षिक बिक्री हुने कुल विद्युत् ऊर्जाको ९० प्रतिशत किनबेच अल्पकालीन, मध्यकालीन र दीर्घकालीन बजारमा हुन्छ । त्यसमा पनि ठूलो हिस्सा दीर्घकालीन बजारमा हुन्छ । १० प्रतिशतमात्रै “स्पट मार्केट” (डे– अहेड र इन्ट्रा–डे) मा कारोबार हुन्छ । पछिल्लो समय भारतले बढीमा १० वर्षसम्मका लागि मात्र पिपिए गर्ने गरी दीर्घकालीन बजारको आकार घटाउन नीतिगतरूपमै सक्रियता बढाएको छ । आयोजना बनाउन लिइएको ऋण १० वर्षभित्र भुक्तानी भइसक्छ भन्ने बुझाइ अनुसार अवधि घटाउन थालिएको हो । आयोजना निर्माण सम्पन्न भएको १० वर्षमा ऋण तिरेपछि स्वपुँजीमा खेल्ने हो र यसका लागि जोखिम पनि लिनुपर्‍यो भन्ने हिसाबले दीर्घकालीन बजारको आकार घटाउने निष्कर्षमा पुगेको बुझिन्छ । यो अवधारणा अनुसार १० वर्षको पिपिए अवधि सकिएपछि दुई पक्षको सहमतिमा पिपिए नवीकरण गर्ने र अन्यथा अल्पकालीन वा स्पट बजारमा जाने प्रणाली सुरु हुनेछ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूले पिपिए गरिएभन्दा बाहेकको परिमाणमा उत्पादन गर्न सक्ने विद्युत् (एक्सेस इनर्जी) बाट अल्पकालीन बजार सञ्चालनमा ल्याउन सकिन्छ । किनभने, दीर्घकालीन पिपिएको ऊर्जा तालिका (इनर्जी टेबल) भन्दा बढी बिजुलीमा (टेक अर पे) को नियम लागु हुँदैन ।

नेपालमा आयोजना निर्माणका लागि ५ वर्ष र सञ्चालनका लागि ३० वर्ष गरी ३५ वर्षको पिपिए गरिन्छ । यहाँ अल्पकालीन र मध्यकालीन बजार प्रवर्द्धन गर्ने हो भने दीर्घकालीन बजारको आकार घटाउँदै जानुपर्छ । भारतमा जे भइरहेको छ, त्यसलाई पछ्याइएन भने अवस्था असहज हुन्छ । हाम्रो विद्युत् बजार भारतसँगै जोडिने हुँदा पनि दीर्घकालीन पिपिए अवधि घटाउनतिर सोच्नुपर्ने समय आएको छ । आजसम्म नेपालमा मध्यकालीन बजार छैन । हामीले ५ वर्षका लागि कुनै आन्तरिक पिपिए गरेका छैनौँ । केही समयअघि विद्युत् प्राधिकरणले भारतको हरियाणा इस्टेट इलेक्ट्रिसिटी बोर्डसँग ५ वर्षसम्म बिजुली बेच्ने गरी १८० मेगावाटको मध्यकालीन पिपिए गर्‍यो । भारतको मध्यकालीन बजारमा त्यतिसम्म पहुँच पाइयो । नेपालमा आन्तरिक मध्यकालीन बजार विकास गर्ने सन्दर्भमा दीर्घकालीन पिपिए अवधि सकिँदै र उत्पादन अनुमतिपत्रको अवधि बाँकी भएका खिम्तीजस्ता आयोजना वा उत्पादन अनुमतिपत्रको अवधि सकिएर नेपाल सरकारलाई हस्तान्तरण हुने आयोजनाको विद्युत् उत्पादनलाई मध्यकालीन बजारमा लैजान सकिन्छ ।

अहिलेसम्म नेपालमा १ वर्षको आन्तरिक पिपिए गर्ने गरिएको छैन । अल्पकालीन बजारको अभ्यास पनि छैन तर विगतमा भारतसँग टनकपुर लाइनमार्फत सुख्खायाममा ३/४ महिनाका लागि बिजुली किन्ने गरी अल्पकालीन खरिद सम्झौता गर्ने गरिएको थियो । त्यो भारतको अल्पकालीन बजारमा नेपालको पहुँच हो । अल्पकालीन बजारको खरिद–बिक्रीले दिनअघि (डे– अहेड) र दिनभरिको (इन्ट्रा–डे बजारमा हुने मूल्यको तीव्र उतारचढावबाट जोगिन सकिन्छ । युक्रेन युद्ध शुरू भएपछि आएको ऊर्जा सङ्कटका कारण डे–अहेड बजारमा बिजुलीको मूल्य प्रतियुनिट १८ रूपैयाँसम्म पुगेको थियो तर पहिला नै अल्पकालीन बजारबाट खरिद गरिएको भए महँगो हुँदैन थियो ।

नेपालमा सबै पिपिए दीर्घकालीन भएकाले अल्पकालीन बजार सञ्चालन कसरी गर्ने भन्ने प्रश्न छ । त्यसको पनि उपाय छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूले पिपिए गरिएभन्दा बाहेकको परिमाणमा उत्पादन गर्न सक्ने विद्युत् (एक्सेस इनर्जी) बाट अल्पकालीन बजार सञ्चालनमा ल्याउन सकिन्छ । किनभने, दीर्घकालीन पिपिएको ऊर्जा तालिका (इनर्जी टेबल) भन्दा बढी बिजुलीमा (टेक अर पे) को नियम लागु हुँदैन । त्यस्तो बढी विद्युत् उत्पादकसँग उपलब्ध भए र प्राधिकरणलाई आवश्यक परेमा आधा मूल्यमा दिनुपर्ने प्रावधान पिपिएमा राख्ने गरिएको छ । त्यो दफा हटाएर बढी विद्युत् अल्पकालीन बजारमा बिक्री गर्ने व्यवस्था गर्न सकिन्छ ।

हामीसँग आन्तरिक डे–अहेड बजार छैन तर भारतको डे–अहेड र इन्ट्रा–डे बजारमा ३ वटा एक्सचेन्ज सञ्चालमा छन् । डे–अहेड बजारमा हुने तात्कालिक विचलन (रियल टाइम डेभियसन) कम गर्न इन्ट्रा–डे बजार खोलिएको हो । एक दिन पहिलाको तुलनामा सोही दिन केही समयअघि विद्युत् मागको अनुमान मागको अनुमान गर्न सजिलो हुन्छ ।

नेपालमा भौगोलिक आधार अन्तर्गत आन्तरिक तहमा एउटा मात्र दीर्घकालीन बजार छ । त्यसमा पनि एकल खरिदकर्ता छ । त्यस्तै, क्रस–बोर्डर अन्तर्गत द्विदेशीय बजारमा जाने भनेको भारत र नेपालबीच वा भारतमार्फत बंगलादेशसँग हुने व्यापार हो । हाल, भारतको आन्तरिक इनर्जी एक्सचेन्जको नियम अनुसार नेपालले विद्युत् खरिद–बिक्री गरिरहेको छ । यसमा भारतले आफ्नो आन्तरिक बजारका लागि बनाएको नियम कुनै पनि बेला परिवर्तन गर्न सक्ने समस्या छ ।

नेपालले ढल्केबर–मुजफ्फरपुर सीमापार प्रसारण लाइन बनाउने कुरा उठाउँदा त्यतिबेला, भारतले त्यस्तो प्रसारण लाइन निर्माण गर्न प्राविधिक–आर्थिक सम्भाव्यता (टेक्नो–इकोनोमिक फिजिबिलिटी) आवश्यक भएको बताएको थियो । उक्त प्रसारण लाइन सम्पन्न भएपछि त्यसमार्फत विद्युत् प्रवाह हुने सुनिश्चितता र प्रवाह हुने परिमाणले आर्थिक पक्षको औचित्य पुष्टि गर्ने जानकारी गराएको थियो । त्यसका लागि नेपालले १५० मेगावाट विद्युत् किन्ने वा बेच्ने सम्झौता नगरेसम्म भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सिइए) बाट उक्त प्रसारण लाइन निर्माण स्वीकृति नपाइने जानकारी समेत गराएको थियो ।

त्यसकारण, हामीले भारतको पिटिसी मार्फत एथेना कम्पनीको कोइलाबाट विद्युत् उत्पादन गर्ने निर्माणाधीन आयोजनाबाट लेबलाइज्ड खरिद दर प्रतियुनिट ४.५० भारुमा १५० मेगावाट बिजुली किन्ने सम्झौता गर्‍यौँ । त्यतिखेर, हामीले भारतीय अल्पकालीन बजारबाट प्रतियुनिट भारु ७ सम्म बिजुली किनिरहेका थियौँ । जब त्यो पिपिए दरको बिजुली डेलिभरी गर्ने बेला आयो, तब भारतमा कोइलाको अभाव देखियो । भारतले आफ्नै खानीको सस्तो कोइलाबाट उत्पादित सस्तो विद्युत् निर्यात गर्न नपाउने र निर्यात प्रयोजनका लागि आयातित महँगो कोइलाबाट उत्पादन गर्नुपर्ने नियम बनायो । भारतको नयाँ नीतिले नेपालबाहेक अरू विद्युत् खरिदकर्ता प्रभावित भएन । नितान्त नेपाललाई मात्र लक्षित गरेर भारतले नीति परिवर्तन गरेजस्तो देखियो ।

सार्क, बिबिआइएन, बिम्स्टेकजस्ता क्षेत्रीय विद्युत् व्यापारमा जाने हो भने पनि त्यसका लागि छुट्टै नियम आवश्यक पर्छ । विगतमा भारतले त्यसमा उदासिनता देखाउँदा क्षेत्रीय बजार सञ्चालन हुन सकेन ।

यद्यपि, त्यो भारतको समयानुकुल स्वभाविक निर्णय थियो । भारतको यस्तो नयाँ नीतिले उक्त पिपिए अन्तर्गत इन्डोनेसियाबाट आयातित महँगो कोइलाको बिजुली नेपाललाई आपूर्ति गर्दा बिजुलीको मूल्य प्रतियुनिट भारु ७ भन्दा बढी परी प्राधिकरणलाई अर्बौं रुपैयाँ घाटा हुने देखियो । तथापि, पछि दुवै पक्षले असल नियतले त्यो विद्युत् खरिद सम्झौता नै रद्द गरे । फलतः नेपालले त्यो जोखिम बेहोर्नु परेन । आज, भारतको आन्तरिक विद्युत् बजारको नियम अनुसार नै हाम्रो ६ सय मेगावाटभन्दा बढी विद्युत् भारत गइरहेको छ । भविष्यमा हजारौं हजार मेगावाट उताको बजारमा उसकै नियमन अन्तर्गत बिक्री गर्ने गरी नेपालले उत्पादन आयोजनाहरू सञ्चालन गरिरहेको छ । आन्तरिक नियम कुनै बेला पनि परिवर्तन हुन सक्छ भन्ने कुरा हेक्का राख्नुपर्छ । अतः भारतमै निर्यात गर्ने हो भने हामीले बाइ– नेसनल ट्रेडिङको दुवै देशलाई मान्य हुने नियम (कमन रुल्स) बनाउनु आवश्यक हुन्छ । दुवै पक्षले चाहेमा मात्रै त्यस्तो नियम परिवर्तन हुन सक्ने प्रावधान राखेमा नेपालको जोखिम कम हुन सक्छ ।

सार्क, बिबिआइएन, बिम्स्टेकजस्ता क्षेत्रीय विद्युत् व्यापारमा जाने हो भने पनि त्यसका लागि छुट्टै नियम आवश्यक पर्छ । विगतमा भारतले त्यसमा उदासिनता देखाउँदा क्षेत्रीय बजार सञ्चालन हुन सकेन । क्षेत्रीय बजार सञ्चालन नहुनुको मुख्य कारण अन्तरदेशीय प्रसारण सञ्जालको अभाव रह्यो । हामीले बंगलादेशसँग विद्युत् व्यापार गरिरहेका छौँ तर यसलाई मान्य हुने नियम (कमन रुल) बन्ने सम्भावना एकदमै कम छ । स्तरमा अधारित (लेबल बेस्ड) बजार अन्तर्गत थोक (होलसेल) बजारमा त्यही अनुसारको थोक (बल्क) परिमाणमा उत्पादक र वितरकबीच विद्युत्‌को खरिद–बिक्री हुन्छ । त्यस्तै, खुद्रा (रिटेल) बजारमा वितरकबाट अन्तिम उपभोक्ताले विद्युत् किन्ने गर्छन् । क्रमशः ...

लेखक, ऊर्जाविद् तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक हुन् । यो आलेख २०८१ साल पुसमा प्रकाशित ऊर्जा खबर अर्धवार्षिक पत्रिकाको ७औँ अङ्कबाट साभार गरिएको हो । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३