संसारमा ऊर्जा उत्पादनका स्रोतहरूमा जल, सूर्य, वायु, प्राकृतिक ग्यास, कोइला, पेट्रोलियम, न्यूक्लियर आदि रहेका छन् । नेपालको हकमा भने जलस्रोत नै विद्युत् ऊर्जा उत्पादनको मुख्य स्रोतको रूपमा रहेको छ । नेपालबाट ६ हजार नदी तथा खोला–नाला बगेर भारतको गंगा नदीमा मिसिन्छन् । यस हिसाबले, वार्षिक २२५ अर्ब घनमिटर पानी यहाँका नदीबाट बगेर गंगामा मिसिन्छ । भारतको फरक्कासम्म पुग्दा नेपालका नदीहरूले सुख्खायाममा गंगा नदीको बहावमा ७० प्रतिशत र त्यसको कूल वार्षिक बहावमा ४७ योगदान पुर्याउँछन् । नेपालको हकमा यही जलभण्डार नै विद्युत् उत्पादनको मुख्य स्रोत हो । अतः विगतमा डा. हरिमान श्रेष्ठले सन् १९६५ मा तत्कालीन सोभियत संघ (रुस) बाट ‘नेपालको जलस्रोत’माथि विद्यावारिधि गर्दा नेपालको कूल जलविद्युत् उत्पादनको सम्भाव्यता ८३ हजार मेगावाट र आर्थिक तथा प्राविधिक क्षमता ४३, हजार मेगावाट रहेको औंल्याए ।
श्रेष्ठले नेपालका कोसी, गण्डकी र कर्णालीको ‘टोपो अध्ययन’ गरेको आधारमा औंल्याएको उक्त सम्भाव्यता आधुनिक आधुनिक प्रविधिको खोज, अध्ययन तथा अनुसन्धानसँग मेल खान सक्दैन । नेपालका जलविद्युत् विकासकर्ता तथा अध्येताहरूले यस्तो क्षमता कहिले १ लाख त कहिले २ लाख मेगावाटसम्म रहेको बताउँदै आएका छन् । यद्यपि, सरकारी निकाय जल तथा ऊर्जा आयोगको सचिवालयले सन् २०१९ मा सम्पन्न गरेको अध्ययन अनुसार नेपालको जलविद्युत् उत्पादनको आर्थिक तथा प्राविधिक सम्भाव्यता करिब ७२ हजार मेगावाट रहेको निचोड निकालेको छ ।
यसैगरी, सौर्यविद्युत्काे सम्भाव्यता कति छ भन्नेमा यकिन अध्ययन हुन नसकेको देखिन्छ । यद्यपि, सौर्यविद्युत् उत्पादनको प्रचुर सम्भाव्यता रहेको त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले बताउँदै आएका छन् । नेपालमा वायुबाट उत्पादन हुने विद्युत्काे सम्भाव्यता करिब ३ हजार रहेको औंल्याइएको छ । ससर्ती हेर्दा, अन्यको तुलनामा फेरि पनि जलस्रोत नै ऊर्जा उत्पादनको मुख्य स्रोत बन्न गएको छ । यथार्थ पनि यही हो । यसैको विकासबाट देशले आर्थिक समृद्धि हासिल गर्ने सरकारी योजना तथा कार्यक्रमहरू बन्दै आएका छन् ।
ऊर्जा तथा जलस्रोतका क्षेत्रमा वर्षौंदेखि कलम चलाइरहेका पत्रकारहरूले यस्तो संवेदनशील पक्षबारे तथ्य–तथ्यांकमा टेकेर सत्य सूचना, समाचार, जानकारी तथा सचेताना प्रवाह गर्नुपर्ने खाँचो महसुस गर्यो । साथै, यस क्षेत्रको विकासमा सरकारी निकायसँगको साझेदारी र पैरवीलाई पनि उतिकै आवश्यक ठान्यो । यही आवश्यकता पूर्ति गर्ने मुख्य उद्देश्यसहित जनवरी १, २०१७ देखि ऊर्जा खबर (www.urjakhabar.com) अनलाइन पत्रिका नेपाली र अंग्रेजी भाषामा सञ्चालनमा आएको हो । जुन, ऊर्जा क्षेत्रमा केन्द्रित देशकै पहिलो एकमात्र सञ्चारमाध्यम पनि हो । यही क्षेत्रका विषयमा थप खोज, अध्ययन तथा अनुसन्धान गरी दस्तावेजीकरण गर्ने र अनुसन्धानका क्षेत्रमा कार्यरत निकायलाई स्रोत सामग्री उपलब्ध हुने ध्येयले जनवरी १६, सन् २०२२ देखि छापा संस्करण ऊर्जा खबर अर्धवार्षिक म्यागजिन (नेपाली र अंग्रेजी) पनि प्रकाशन भएको छ ।
ऊर्जा खबरका उल्लिखित दुई संस्करण (अनलाइन र छापा) इनर्जी इन्फर्मेशन सेन्टर प्रा.लि. मार्फत सञ्चालन तथा प्रकाशन हुँदै आएका छन् । विश्वको बदलिँदो परिवेश र सूचना प्रविधिमा आएको चामत्कारिक विकास अनुकूल रूपान्तरण गर्दै कम्पनीले यस क्षेत्रका विषयवस्तुलाई अझ सशक्त ढंगबाट आमपाठक, अध्येता, अनुसन्धादा, निजी क्षेत्र र सरकारसम्म पुर्याउने लक्ष्यका साथ अनलाइन ऊर्जा टेलिभिजन (URJA TV) समेत सञ्चालन गर्दै आएको छ । जुन, व्यावसायिक पत्रकारिताको मर्म र धर्मको परिधिभित्र राष्ट्र, राष्ट्रियता एवम् समृद्धिलाई शिरोपर गरी अटुटरूपमा अगाडि बढिरहेको छ ।
देशको ऊर्जा क्षेत्रको विकासका लागि सूचना प्रवाहका साथै अध्ययन, अनुसन्धान, बहस, छलफल र नीतिगत विषयमा पैरवीसमेत गर्दै ‘नवीकरणीय ऊर्जा उत्पादनबाट आर्थिक समृद्धिको प्रचुर सम्भावनालाई कागजमै सीमित गरी नेपाल सधैँ गरिब बनिरहनु हुँदैन’ भन्नेमा सरकार, निजी क्षेत्र तथा सरोकारवाला निकायलाई निरन्तर झक्झक्याउने गरिएको छ । अतः यसमा सुझ–बुझ र सक्रियताका साथ अघि बढ्न सरकारी, राजनीतिक तथा प्रसासनिक नेतृत्व, नीति निर्माता, निजी ऊर्जा प्रवर्द्धक, लगानीकर्ता, विषयविज्ञ, अनुसन्धाता, प्राविधिक, उपभोक्तासहित सबै पक्षको साथ, सहयोग र रचनात्मक आलोचनाको सधैँ अपेक्षा राखेका छौँ ।