दूरदराजको सानो गाउँ, संस्कार र सभ्यताले पूर्णतः अपरिचित समाज, भाषागत असमानता र नेपालका कठिन भौगोलिक क्षेत्रहरूमा एक विदेशी मूलकी महिला– मेरो कथा केवल एक सफल पेशागत यात्रा मात्र नभई दृढ आत्मबल र अटल सङ्कल्पको दस्तावेज हो भन्ने लाग्छ ।
लाओसमा जन्मिएकी मैले भियन्चियानको कलेज सक्ने वित्तिकै सोभियत संघको अर्मेनियामा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा मास्टर डिग्री (स्नातकोत्तर) पूरा गरेँ । यससँगै नेपाली विद्यार्थी वीरेन्द्र श्रेष्ठसँग विवाह बन्धनमा बाँधिन पुगेँ । त्यसपछि मात्र मैले नेपाल टेकेकी हुँ । सोभियत संघको झन्डै १० वर्षको बसाइ र यसबीचमा सोभियत सरकार विघटन भएसँगै आएका आर्थिक उतारचढावले अनेक अप्ठ्याराहरू नआएका होइनन् ।
यद्यपि, जीवनमा प्रेमको समर्पण नै अन्तिम सत्यझैँ लागेर हो कि ! अर्मेनियामा बिताएको समय र यहाँका भोगाइहरू नियाल्दा अनौंठो कथानक चलचित्रभन्दा भिन्न लाग्दैन, मेरो जीवन । १९९६ सालमा श्रीमान् वीरेन्द्रले उच्च शिक्षा हासिल गरेपछि नेपालको यात्रा तय भएको थियो । हामीले काठमाडौँ आएर केही दिन भेटघाट र आफ्ना नियमित काम सक्यौँ । यसपश्चात् श्रीमानको जन्म घर सिनाम (ताप्लेजुङ) तिर लागेका थियौँ ।
जीवनसाथीको साथ
पाँचथरसम्मको साँघुरो अनि मोडैमोड भएको बाटो पार गर्दै आफ्नो ससुराको पसल (ताप्लेजुङ स्टोर्स) पुगियो । त्यहीँ एक रात बस्यौँ । अनि, म वीरेन्द्रको हात समातेर ईवा र काबेली खोलामाथि हालिएको झोलुङ्गे पुल तरेर उनको जन्म घर पुगेकी थिएँ । जहाँ, सासू–आमा, बाजे ससुरा, अन्य परिवारका सदस्य र छरछिमेक भेला भएका थिए । विदेशी बुहारी लिएर आउने सूचनाले होला, त्यहाँ अलग्गै खालको वातावरण थियो । अनुहारमा उत्सुकताको फूल फुलाएर हाम्रो स्वागतार्थ गाउँलेहरू ताँती लागेका थिए । हृदयमा भरिएको उमङ्ग र आत्मीयता न्यानोपन आज तीन दशक बितिसक्दा समेत मनमा ताजै छ ।
नेपालतर्फको गन्तव्य केवल भौगोलिक परिवर्तनमात्र थिएन । यो संस्कृति र जीवनशैलीको नयाँ परिचयसँग अन्तरघुलन हुनुपर्ने जटिलता पनि थियो । श्रीमानको साथ र परिवारको प्रेरणाले नै मलाई हरेक जटिलतासँग सजिलै साक्षात्कार हुने भरोसा दियो । यहाँको फरक भूगोल र परदेशको पृथकताले मलाई कहिल्यै विचलित बनाएन । नेपालका मौलिक चाडपर्व र रीतिरिवाजसँग गासिँदै, रमाउँदै र जीवनसाथीसँग हातेमालो गर्दै हिँडेँ । यी पलहरूले मेरो जीवनमा सिकाइका नयाँ अध्यायहरू थप्दै गए ।
म पूर्णतः खुसी र सन्तृष्ट रहे पनि फरक भूगोल र पृष्ठभूमिको मेरो जीवनलाई नेपालसँग एकाकार बनाउन निकै सङ्घर्ष गर्नुपर्यो । म सङ्घर्ष गर्नबाट कहिल्यै पछि हटिनँ । मनमा कुनै दिन आलस्यताले छोपेन । थकान महसुस भएन । जीवनसाथीको साथ र हौसलाले मेरा हरेक दिन नयाँ पाठ सिक्ने पाठशाला बन्दै गए । मैले कोसिस गरिरहेँ र यसमा उर्तिण हुँदै गएँ ।
नेपालजस्तो ग्रामीण समाजमा महिलाको नेतृत्वलाई धेरैले स्वीकार गर्न सक्दैनन् । रात्रीकालीन ड्युटी, स्थानीय नेताका अनावश्यक हस्तक्षेप, प्राविधिक तथा भौतिक समस्याले मानसिक र शारीरिक दुवै दबाब पर्नु सामान्य थियो । तैपनि, यी चुनौतीलाई अवसरमा बदलेर आफूलाई सक्षम नेतृत्वकर्ताको रूपमा स्थापित गराउन मैले हरदम प्रयत्न गरिरहेँ ।
पाइला जलविद्युत् विकासतर्फ
काठमाडौँ नजिकैको जिल्ला सिन्धुपाल्चोक । त्यही जिल्लाको इन्द्रावती खोलामा २०५९ सालतिर इन्द्रावती तेस्रो (७.५ मेगावाट) को निर्माण हुँदै थियो । मैले यही आयोजनामा इन्जिनियरका रूपमा काम गर्न थालेँ । यो मेरो पेशागत जीवनको आरम्भ र महत्त्वपूर्ण मोड थियो । आयोजनाको निर्माणकालदेखि व्यावसायिक उत्पादनसम्मको यात्रा चुनौतीपूर्ण थियो । त्यसमाथि निर्माण क्षेत्रमै महिला इन्जिनियरको क्रियाशीलता अर्को जटिलता थियो ।
इन्द्रावती तेस्रो नेपालको पहिलो नेपाली प्रवर्द्धकले निर्माण गरेको आयोजनामध्ये पर्छ । निर्माण क्षेत्रमा खटिँदाका समस्या, स्थानीयसँग सहकार्य गर्दाका अप्ठ्यारा र व्यक्तिगत सुरक्षासँग सामना गर्दै काम गर्नुको विकल्प थिएन । म अध्ययनपछि पहिलो पटक आयोजना क्षेत्रमा खटिएकी थिएँ । दैनिक काम गर्दाको नौलो पन, फरक भूगोलका मासिनहरूसँगको हिमचिमले पनि ममा सङ्घर्ष गर्ने हिम्मत बढिरहेको हुन्थ्यो ।
इन्द्रावती तेस्रो निर्माणका सुरु वर्षहरू अत्यन्त कठिन थिए । आयोजनाको स्लुस गेट र बालुवा थिग्र्याउने पोखरी (डिसेन्डर) निर्माणक्रममा देखिएका कठिनाइसँग जुध्दै काम सुचारु राख्न हामीलाई हम्मे परेको थियो । स्मृतिमा बर्खा, त्यसमाथि रात्रीकालीन ड्युटीका धेरै कथा अविस्मरणीय क्षण बनेर टाँसिएका छन् । आज ती दिनहरू स्मरण गर्दा पनि अलग्गै खालको अनुभूति हुन्छ ।
वि.सं. २०६२ साल भदौमा विद्युत्गृह नजिकको ठाडो खोल्सी विद्युत्गृहमै पस्दाको त्रासदी अहिले पनि स्मृतिमा ताजा छ । त्यो रात, जब खोल्सीले आफ्नो ट्र्याक परिवर्तन गरी विद्युतीय संरचना खतरामा पार्यो, आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठको टोली र आर्मीको साथले रातभर कठिन परिश्रम गरी आयोजना जोगाउन सकिएको थियो । जीवनको चुनौती र कठिन मोडसँग सामना गर्दै आयोजनाबाट बिजुली बल्यो । यससँगै, मेरा श्रीमान् वीरेन्द्र नेशनल हाइड्रोपावर कम्पनीको जिम्मेवारीबाट बाहिरिए ।
श्रीमान्को बहिर्गमनपछि त्यो आयोजनाको मुख्य जिम्मेवारी मेरो काँधमा आयो । १२ वर्षसम्म मलाई आयोजनाको नेतृत्वसमेत गर्ने मौका मिल्यो । स्थानीय समुदाय, कर्मचारी, र सरकारी निकायसँग सौहार्दपूर्ण सम्बन्ध राख्दै आयोजना सञ्चालन गर्नु, स्थानीयका माग र विवाद समाधान गर्नु र प्रशासनिक झमेलासँग जुध्नु चुनौतीमाथि चुनौती थिए । नेपालको भूगोल र यहाँको जीवनसँग भर्खर समायोजन हुँदै गरेकी मैले ती कठिन क्षणमा आफूलाई कठोर बनाउँदै प्राप्त जिम्मेवारी सफलकताका साथ पूरा गर्ने प्रयास गरेँ । आज ती दिनहरू स्मरण गर्दा आफैँप्रति गर्व पनि लाग्छ ।
महिला इन्जिनियरका चुनौती
नेपालजस्तो ग्रामीण समाजमा महिलाको नेतृत्वलाई धेरैले स्वीकार गर्न सक्दैनन् । रात्रीकालीन ड्युटी, स्थानीय नेताका अनावश्यक हस्तक्षेप, प्राविधिक तथा भौतिक समस्याले मानसिक र शारीरिक दुवै दबाब पर्नु सामान्य थियो । तैपनि, यी चुनौतीलाई अवसरमा बदलेर आफूलाई सक्षम नेतृत्वकर्ताको रूपमा स्थापित गराउन मैले हरदम प्रयत्न गरिरहेँ । मेरो कार्यकालमा इन्द्रावतीले आर्थिक र सामाजिक दृष्टिले उल्लेखनीय योगदान दिएजस्तो लाग्छ । सहकर्मी मित्रहरूबाट पाएको साथ र सञ्चालक समितिका सदस्यहरूले मप्रति देखाउनु भएको विश्वासले मलाई सधैँ अगाडि बढ्न प्रेरित गरिरह्यो । गाउँका स्थानीय इष्टमित्रहरूको साथले मलाई कहिल्यै एक्लोपनको महसुस हुन दिएन ।
यो मेरो सानो स्मृति अर्थात् अनुभूति नेपाली जलविद्युत् क्षेत्रमा क्रियाशील महिलाहरूका लागि मात्र होइन । समाजका विभिन्न पेशा, क्षेत्र र ओहोदामा रहेका सबै नारीहरूका लागि सानो पाठ पनि हो । म एउटी अर्को मुलुकमा जन्मेकी महिला नेपालसँग जोडिएँ । जलविद्युत् क्षेत्रको नेतृत्व गर्ने अवसर पाएँ र आफू सफल पनि भएँ भन्ने लाग्छ । टाढाबाट नेपालमा आएर सङ्घर्ष गरी म सफल हुन सक्छु भने यहाँका हरेक अझ मध्यम र निम्नमध्यम वर्गीय नारीहरूले आ–आफ्नो क्षेत्रमा सफलता हासिल गर्न सक्छन् ।
मेरो छोटो अनुभव नेपाली समाजका सम्पूर्ण नारीहरूका लागि सानो प्रेरणा बन्न सकोस् । देशका दुर्गम क्षेत्रका महिलाहरूमा नेतृत्वको नयाँ उचाइ कायम गर्ने आत्मविश्वास पलाओस् । आफ्नो जीवन एउटा समाजको उन्नतिका लागि समर्पित गर्न पाउनु नै सबैभन्दा ठूलो उपलब्धि हो भन्ने लाग्छ । कुनै पनि असम्भव काम वा सपना परिश्रम र दृढताले साकार गर्न सकिन्छ । महिलाहरूको हकहित र प्रेरणादायी यात्राका लागि म हरदम प्रयत्नशील रहने छु ।
लेखक, इलेक्ट्रिकल इन्जिनियर हुन् । उनीसँग झन्डै २ दशकभन्दा बढी नेपालका विभिन्न जलविद्युत् आयोजनामा काम गरेको अनुभव छ । यो संस्मरणात्मक आलेख २०८१ साल पुसमा प्रकाशित ऊर्जा खबर अर्धवार्षिक पत्रिकाको ७औँ अङ्कबाट साभार गरिएको हो ।