काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले एक वर्षको अवधिमा साढे १७ अर्ब रुपैयाँभन्दा बढीको बिजुली निर्यात गरेको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०८१/८२ मा भारत र बंगलादेशमा गरी उक्त मूल्यको बराबरको बिजुली निर्यात गरेको हो ।
प्राधिकरण सञ्चालक समितिका पदेन अध्यक्षसमेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काद्वारा अघि बढाइएका विद्युत् निर्यातका कूटनीतिक पहलहरू, नेपालकाे स्वच्छ र भरपर्दाे जलविद्युत् खरिदमा भारत र बंगलादेशले देखाएको सकारात्मक कुटनीतिक पहल, प्राधिकरणको नेतृत्व कुशलता, निजी क्षेत्रका ऊर्जा उद्यमीले विद्युत् उत्पादनमा गरेको याेगदानलगायतका सबै पक्षको प्रभावकारी भूमिकाका कारण प्राधिकरण (नेपाल) ले यो सफलता प्राप्त गरेकाे हो ।
प्राधिकरणले उक्त आर्थिक वर्ष भारतमा करिब १७ अर्ब १९ करोड रुपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको हो । निर्यातको कुल रकम १७ अर्ब ४५ करोड ६७ लाख रुपैयाँ नाघेको छ । यो अघिल्लो आवको तुलनामा बढी हो । यद्यपि, गत आर्थिक वर्ष नै नेपालले भारतबाट करिब १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरेको थियो । आयातलाई घटाउने हो भने नेपालको निर्यात खूद निर्यात कुल ४ अर्ब ५३ करोड ७६ लाख रुपैयाँ बराबर रहेको छ ।
आयातको परिमाण क्रमशः घट्दै गएको र निर्यात बढ्दै गएकोले नेपाललाई ‘खुद आयातकर्ता’बाट ‘खुद निर्यातकर्ता’ बन्ने यात्रामा थप मद्दत पुगेको मन्त्री खड्काले बताए ।
बंगलादेशसँग भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले २०२५ को वर्षाका ५ महिनाका लागि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ । उक्त बिजुलीको मूल्य प्रतियुनिट ६.४० अमेरिकी सेन्ट रहेको छ ।
वर्षायाममा पानीको बहाव बढ्ने र उत्पादन बढ्ने समयलाई लक्षित गर्दै प्रतिस्पर्धी मूल्यमा भारतीय ऊर्जा बजार (डे अहेड र रियल टाइम मार्केट) मा निर्यात गर्न भइरहेकोले पनि केही वर्षयता नेपाललाई ‘खुद निर्यातकर्ता’ बन्ने बाटो सहज बन्दै गएको हो । योसँगै भारतमा एनभिभिएनमार्फत मध्यकालीन सम्झौताका आधारमा समेत नियमित आपूर्ति भइरहेको छ ।
प्राधिकरणले अहिले अहिले भारतको विभिन्न राज्यमा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात गरिरहेको छ । ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन तथा भारत–बंगलादेश सीमामा रहेको बेहरामपुर–भेडामारा लाइनमार्फत बंगलादेश निर्यात भइरहेको छ ।