काठमाडौँ । साहस ऊर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिले प्रवर्द्धन गर्न लागेको ३४१ मेगावाटको बूढीगण्डकी आंशिक जलाशय (पिआरओआर) आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) पूरा भएको छ । ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा १० वटा बैंकले सहवित्तीयकरणमा ५२ अर्ब ५० करोड रुपैयाँ (७५ प्रतिशत) लगानी गर्ने र बाँकी १७ अर्ब ५० करोड रुपैयाँ (२५ प्रतिशत) स्वपुँजीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको हो ।
बिहीबार एक समारोहकाबीच आयोजनामा सहवित्तीयकरणमा लगानी गर्ने बैंकहरू र प्रवर्द्धक कम्पनीबीच ऋण लगानी सम्झौता भएको हो । सम्झौता पत्रमा प्रवर्द्धक कम्पनीका सञ्चालक सुशील थापा र बैंकहरूका तर्फबाट लगानीको नेतृत्व गर्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार आयोजनामा नेतृत्वकर्ता नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १० अर्ब, नबिल बैंकले ८ अर्ब, सह–नेतृत्वकर्ता लक्ष्मी सन्राइज बैंकले ८ अर्ब, सह–नेतृत्वकर्ता ग्लोबल आईएमई बैंकले ७ अर्ब, हाइड्रो इलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनीले ४ अर्ब, माछापुच्छ्रे बैंकले ४ अर्ब, सिटिजन्स बैंकले ३ अर्ब, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ३ अर्ब, प्रभु बैंकले ३ अर्ब र कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।
निजी क्षेत्रले निर्माण गर्न लागेको हालसम्मकै ठूलो यस आयोजनाको प्रवर्द्धक कम्पनी टाइम्स इनर्जी प्रालिमा साहस ऊर्जाको ५१ प्रतिशत सेयर स्वामित्व छ । सोहीअनुसार साहस ऊर्जाले ५१ प्रतिशत स्वपुँजी लगानी गर्नेछ ।
कम्पनीले निर्माण गर्ने आयोजनाको बाँध क्षेत्र गोरखाको चुमनुब्री गाउँपालिकाको वडा नं ३ र १० किलोमिटर तल तटीय क्षेत्रमा भूमिगत विद्युत्गृह धार्चे गाउँपालिकाको वडा नं ३ मा निर्माण हुनेछ । हालसम्म आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ भने विद्युत् विकास विभागबाट २०८० साल पुस ५ गते नै उत्पादन अनुमतिपत्र प्राप्त गरेको छ ।
यस आयोजनाको मुख्य संरचना बुढीगण्डकी नदीको दायाँ किनारामा रहने गरी डिजाइन गरिएको छ । आयोजनाको दैनिक ६ घन्टाको दरले पिकिङ हुने गरी पोखरी निर्माण गरिने छ । यसको डिजाइन बहाव १००.२७ घनमिटर प्रतिसेकेण्ड र कुल हेड ३९८ मिटर रहने छ ।
बूढीगण्डकी नदीमा बाँध बाँधी खोलाको दायापट्टि निर्माण हुने इन्टेकबाट पानीलाई फर्काइ आयोजनाको मुख्य संरचनाहरूः सेटलिङ बेसिन, हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक पाइप हुँदै विद्युत्गृहमा पुर्याउने गरी डिजानइ तयार भएको कम्पनीले जनाएको छ । भूमिगत विद्युत्गृहमा ५७ मेगावाटका ६ वटा भर्टिकल एक्सिस पेल्टोन टर्बाइनमार्फत विद्युत् उत्पादन गरिने छ ।
आयोजनाबाट २०८७ साल पुस १५ गतेदेखि व्यावसायिक उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको छ । जसबाट वार्षिक १८६७ गिगावाट घन्टा विद्युत् उत्पादन हुने छ । उत्पादित विद्युत् विद्युत्गृहदेखि करिब ४५ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण गरी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) द्वारा निर्माण हुने ४०० केभीको नुवाकोटको रातमाटे सबस्टेसनमा जोडिने छ ।
निजी क्षेत्रले यसअघि पूर्वको तमोर नदीमा २८५ मेगावाटको माथिल्लो तमोरमा लगानी व्यवस्थापन गरी निर्माण गरिरहेको छ । जसको कुल लगानी ५५ अर्ब रुपैयाँ अनुमान गरिएको छ । एभरेष्ट बैंक लिमिटेडको नेतृत्वमा प्रवर्द्धक तमोर इनर्जी प्राली र अन्य बैंकहरूबीच २०८१ साल जेठ २४ गते लगानी सम्झौता भएको थियो ।
८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको साहस ऊर्जाकै सहायक कम्पनीले यो आयोजना निर्माण गर्ने भएकोले विगतकै अनुभवको आधारमा यो आयोजना पनि समयमै सञ्चालनमा ल्याउने जनाएको छ ।
वित्तीय व्यवस्थापन समारोहमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेले नेपालमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोज्नेहरूका लागि साहज ऊर्जा र यसले लगानी गरी निर्माण गरेका आयोजना गतिलो जवाफ भएको बताए । उनले विगतकै अनुभवका आधारमा यो आयोजना पनि समयमै निर्माण पूरा हुने अपेक्षा रहेको बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले निजी क्षेत्रको क्षमता वृद्धि हुँदै यो स्तरको आयोजना विकास हुने आफैँमा खुसीको कुरा भएको बताए । उनले ५ वर्षभित्रै लगानी उठ्ने अनुमान गरिएको यो आयोजना आकर्षक भएको र समयमै निर्माण सम्पन्न हुने अपेक्षा रहेको बताए ।
कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रलाई सरकारले सहजीकरण गर्ने काम मात्र गरे पनि ठूला आयोजनाहरू निर्माण गर्न सकिने बताए ।
लगानीकर्ता बैंकहरूका तर्फबाट सम्बोधन गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डेले साहस ऊर्जाले यसअघि ८६ मेगावाटको सोलु दूधकोशी समयमै निर्माण पूरा गरेर सञ्चालनमा ल्याएकोले यो नेतृत्वको अनुभव र काम गर्ने शैलीका कारण यो आयोजनामा लगानी गर्न बैंकहरू तयार भएको बताए ।
टाइम्स इनर्जीका प्रालिका अध्यक्ष हिमप्रसाद पाठकले आयोजनाको विषयमा विस्तृत जानकारी दिँदै निजी क्षेत्रको यति ठूलो आयोजनामा लागानी जुट्नु आफैँमा खुसी र गर्वको कुरा भएको बताए । त्यस्तै, आयोजनाका सञ्चालक सुशील थापाले आयोजना समयमै निर्माण सम्पन्न हुने विषयमा कसैले कुनै संशय नराख्न आग्रह गर्दै विगतको अनुभवका आधारमा यो आयोजना पनि समयमै निर्माण पूरा गरी सञ्चालनमा ल्याउने बताए ।