विद्युत आपूर्ति : प्राधिकरण : ९९७० मे.वा.घन्टा / निजी क्षेत्र : १७९१० मे.वा.घन्टा / आयात : २११६ मे.वा.घन्टा / ट्रिपिङ : मे.वा.घन्टा / ऊर्जा माग : २९९९६ मे.वा.घन्टा/ उच्च माग : १४४० मेगावाट मे.वा.घन्टा/ निर्यात : मेगावाट
×

तामाकोसी निर्माण–शिलन्यासदेखि उद्घाटनसम्म; ११ वर्षमा घट्ट घुम्यो, बिजुली निस्क्यो !

२०७८ असार २१

काठमाडौं । निर्माणक्रममा अनेक समस्या झेल्दै, विवादमा तानिँदै र प्राकृतिक प्रकोपसँग जुध्दै आएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना अन्ततः उद्घाटनको चरणमा पुगेको छ । राष्ट्रिय गौरवको ४५६ मेगावाटको यो आयोजना आज सोमबार (असार २१ गते) प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट रिमोटको बटन थिचेर साँझ ४ बजे आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । भर्चुअल माध्यमबाट हुने कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका अर्थ मन्त्री विष्णुप्रसाद पौडेललगायत सरकारका उच्च पदाधिकारी सहभागी हुने कार्यक्रम छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी (कोभिड–१९) का कारण आयोजनास्थलमा जाने वातावरण बन्न सकेन । यसो हुँदा भर्चुअल उद्घाटनको कार्यक्रममा महत्त्वपूर्ण राजनीतिक दलका नेता उपस्थित हुने प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

ऊर्जा मन्त्री पौडेलसहित केही मन्त्री तथा सचिव देवेन्द्र कार्की हेलिकोप्टरबाट आयोजनास्थल जाने कार्यक्रम छ । तर, अवस्था प्रतिकूल रहेको हुँदा जाने कार्यक्रम निक्र्योल भइसकेको छैन । आयोजनास्थलमा भने केही स्थानीयलाई बोलाएर कार्यक्रम गर्ने तयारी छ ।

करिब एक महिना अगाडिदेखि परीक्षणका विभिन्न चरण पार गर्दै आयोजना विद्युत् उत्पादनको चरणसम्म पुगेको छ । ६ वटा युनिट जडित आयोजनाको विद्युत्गृहमा अहिले एउटा (७६ मेगावाट) मा सञ्चालनमा आउनेछ । यसपछि, हरेक १५ दिनको फरकमा अरू युनिटहरू सञ्चालन गर्ने योजना छ ।

उत्पादित विद्युत् गोंगरस्थित विद्युत्गृहबाट ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट खिम्ती सबस्टेसन पुर्याइन्छ । त्यहाँबाट ढल्केबरस्थित ४४०/२२० केभी सबस्टेसनमा पुर्याई वितरण हुनेछ । अहिले प्रसारण लाइनको काम समेत पूरा भएको छ ।

निर्माण–यात्रा

२०६७ भदौमा सिभिल निर्माण सुरु भएको आयोजनाले करिब ११ वर्ष समय व्यतित गरेको छ । सिभिल निर्माणदेखि उद्घाटनसम्मको समय हिसाब गर्दा यसले १० वर्ष ९ महिना २० दिन बितेको छ । शिलन्यासदेखिको समय गणना गर्दा १० वर्ष १ महिना १७ दिन हुन्छ ।

विगत लामो समयदेखि हरेक जलविद्युत् तथा प्रसारण लाइन निर्माणले एक दशक गुजारेको अभ्यास तामाकोसीले पनि निरन्तरता दिएको छ । तत्कालीन प्रधानमन्त्री झनाथ खनालले २०६८ जेठ ४ गते आयोजनाको विद्युत्गृह निर्माणस्थल दोलखाको गोंगर पुगेर आयोजना शिलन्यास गरेका थिए ।

त्यतिबेला नेकपा एमालेका प्रभावशाली नेता गोकर्ण विष्ट ऊर्जा मन्त्री थिए भने हालका अर्थ मन्त्री पौडेल सोही जिम्मेवारीमा थिए । यस मानेमा पौडेललाई शिलन्यास र उद्घाटन गर्ने महत्त्वपूर्ण संयोग जुरेको छ । यस पटक त उनले ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी पाएका छन् ।

आयोजनाको निर्माण सुरु हुँदा एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री थिए । त्यसपछि, खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, पुष्पकमल दाहाल, शेरबहादुर देउवाले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले । वर्तमान प्रधानमन्त्री ओली दोस्रो पटक पदमा आसिन छन् ।

एउटा आयोजनाको निर्माण पूरा गर्दासम्म देशमा ८ जना प्रधानमन्त्रीले शासन गर्नु अचम्म र उदेकलाग्दो कुरा हो । ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हाल्ने नेताको संख्या पनि झन्डै दर्जन पुगेको देखिन्छ ।

यसैगरी, आयोजना अध्ययनको चरणमा प्राधिकरणमा अर्जुनकुमार कार्की कार्यकारी निर्देशक थिए । खासमा उनैले यो आयोजना स्वदेशी लगानीमा निर्माण गर्नुपर्छ भनेर सरकारदेखि विभिन्न निकायमा लबिङ गरेका थिए । आयोजना देशकै स्रोतबाट निर्माण गर्नुपर्छ भन्नेमा अडिग रहनेमा दोलखा काँग्रेसका नेता भीमबहादुर तामाङको नाम पनि आउँछ ।

याे पनि पढ्नुहाेस् : तामाकोसी शिलन्यासका १० वर्ष र थाति रहेका सपनाहरू !

तामाकोसी निर्माणको चरणमा आधा दर्जन जति कार्यकारी निर्देशकले जिम्मेवारी सम्हाले । अन्तमा हितेन्द्रदेव शाक्य उक्त पदमा हुँदा विद्युत् उत्पादन हुन पुग्यो । यसमा विगतदेखिका कर्मचारी, कार्यकारी निर्देशक वा सरकारका अन्य पदाधिकारीले आयोजना निर्माण चरणमा होस्टेमा हैंसे गरेकै हुन् । यद्यपि, समयमा पूरा हुन नसक्नु दुर्भाग्य नै हो ।

२०६७ भदौमा मुख्य संरचनाको निर्माण सुरु गरी ६ वर्ष अर्थात् २०७३ असारमा सम्पूर्ण काम पूरा गर्ने लक्ष्य थियो । तर, मुख्य सुरुङको डिजाइन परिवर्तन, २०७२ सालमा गएको भूकम्प, लगत्तै भारतले गरेको नाकाबन्दी, कामदारको अवरोध हुँदै कोरोना महामारीले निर्माणलाई झन्डै ५ वर्ष पछाडि धकेलिदियो ।

विद्युत् र लागत

आयोजनाले सबैभन्दा सुख्खा समयमा दैनिक कम्तीमा ४ घन्टा पूर्ण क्षमता (४५६ मेगावाट) उत्पादन गर्नेछ । रोल्वालिङ खोलाको पानी मिसाएर उत्पादन बढाउने योजना पनि कार्यान्वयन भइरहेको छ । यसो हुँदा विद्युत्को उच्च माग हुँदा दैनिक १ घन्टा पूर्ण क्षमतामा उत्पादन हुने आयोजनाले जानकारी दिएको छ ।

देशमा हाल सञ्चालनमा रहेको सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ‘ए’ को तुलनामा तामाकोसी ३ गुणाभन्दा ठूलो छ । जसबाट वार्षिक औसत २ अर्ब २८ करोड १० लाख युनिट उत्पादन हुनेछ । जबकि, कालीगण्डकीबाट वार्षिक ८५ करोड युनिट उत्पादन भइरहेको छ ।

सुरुमा निर्माण अवधिको ब्याजबाहेक आयोजनाको लागत ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएको थियो । तर, अहिले यो करिब ८० अर्ब रुपैयाँ पुगिसकेको छ । जसमा गोंगरदेखि खिम्तीसम्मको ४७.२ किलोमिटर प्रसारण लाइनको लागतसमेत जोडिएको छ ।

सुरुमा प्रतिमेगावाट ९.३२ करोड रुपैया लागत अनुमान गरिएको आयोजना अहिले १८.६४ करोड रुपैयाँ पुगेको देखिन्छ । यद्यपि, यसलाई वास्तविक लागत अनुमान गर्न सकिँदैन । किनकि, आयोजनाको मात्र वास्तविक लागत निकाल्दा खिम्तीसम्मको प्रसारण लाइनको खर्च घटाउनुपर्ने हुन्छ ।

आयोजनाका अनुसार अहिले निर्माण लागत करिब ५५ अर्ब र बैंकको ब्याजमात्र ३४ अर्ब पुगेको छ । ६ वटै युनिट सञ्चालनमा आउँदासम्म ब्याजसहित लागत करिब ि१०० अर्ब पुग्ने आकलन पनि गरिएको छ ।

यद्यपि, तामाकोसीलाई हाल सञ्चालनमा रहेको कालीगण्डकीसँग तुलना गर्दा निकै सस्तो देखिन्छ । करिब ५ वर्षमा निर्माण पूरा भएको कालीगण्डकीको लागत ५० अर्ब रुपैयाँ पुगेको थियो । जसअनुसार यसको प्रतिमेगावाट लागत ३४.७२ अर्ब हुन जान्छ ।

आयोजनाको टेलरेसबाट निस्किएको पानी उपयोग गरी अर्को १०० मेगावाटको तामाकोसी पाँचौंको निर्माण अगाडि बढाइएको छ । उता तामाकोसीको जलाशयमा रोल्वालिङको पानी मिसाएपछि हिउँदका ८ महिनामा २२ करोड युनिट विद्युत् थपिनेछ ।

रोल्वालिङको पानी ल्याउन ७ किलोमिटर लामो सुरुङ र हेडवक्र्स निर्माण गर्न ठेक्का प्रक्रिया अगाडि बढाइएको छ । सुरुङबाट ल्याइएको पानीबाट अर्को २० मेगावाटको आयोजना निर्माण हुनेछ । जसबाट थप १० करोड युनिट विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ ।

प्रसारण लाइन

आयोजनाकै मुख्य अंशको रूपमा १२७ वटा टावरसहितको डबल सर्किट प्रसारण लाइन निर्माण भएको छ । खिम्ती नजिकै ५५ रोपनीमा २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको छ । जसको निर्माण लागत आयोजनामै जोडिएको छ । यो देशकै ठूलो ढल्केबर सबस्टेसनपछिको ठूलो हो । जसबाट १२०० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिनेछ ।

यस सबस्टेसनले दोलखा, रामेछाप, ओखलढुंगामा निर्माणाधीन विद्युत् प्रवाह गर्न सहज हुनेछ । तामाकोसी निर्माणका कारण यातायातमा पुगेको सुविधाले दोलखामा मात्र ७०० मेगावाटका २१ आयोजनाहरू निर्माणको विभिन्न चरणमा छन् ।

तामाकोसीले अबका आयोजनामा स्वदेशी इन्जिनियरिङ प्रयोग गर्नुपर्ने पाठ सिकाएको छ : अध्यक्ष शाक्य

अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडका अध्यक्षसमेत रहेका प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले अब निर्माण गर्ने जलविद्युत् आयोजनामा स्वदेशी जनशक्ति अर्थात् परामर्श सेवा (इन्जिनियरिङ) प्रयोग गर्नुपर्ने बताएका छन् ।

उद्घाटनकाे तयारी भइरहँदा उनले विदेशी ल्याउँदा महँगो हुने, विभिन्न समस्या आइपर्ने र समयमै आयोजना पूरा गर्न बाधा समेत देखा पर्ने भन्दै यस्तो बताएका हुन् । अबका दिनमा सरकार अर्थात् प्राधिकरणले मध्यम खालका आयोजना निर्माण गर्ने र त्यसमा स्वदेशी इन्जिनियरहरूको अधिकतम उपयोग गर्नुपर्ने उनले बताए ।

‘२२ मेगावाटको चिलिमे निर्माण गरिसकेपछि त्यसबाट उत्साहित भएर २०६३ सालतिर तामाकोसी निर्माण गर्न कम्पनी बनाइएको हो,’ उनले ऊर्जा खबरसँग भने, ‘तर, तामाकोसीमा स्वदेशी लगानी भए पनि जनशक्ति अर्थात् इन्जिनियरिङ विदेशी भयो । त्यसैले हामीले भने अनुसार समयमा काम गर्न नसकेको पक्ष स्वीकार्नुपर्छ ।’

स्वदेशी जनशक्ति प्रयोग गर्न स्वदेशी लगानी चाहिन्छ भन्ने सोच रहे पनि तामाकोसीमा यसबाट केही विचलित भएको शाक्यको भनाइ छ । उनका अनुसार २०५० सालतिर प्राधिकरणले २०० किलोवाटसम्मका आयोजना निर्माण गथ्र्यो । बाँकीमा विदेशी आउँथे । चिलिमे बनेपछि ठूला आयोजना स्वदेशीले पनि निर्माण गर्न सक्ने रहेछन् भन्ने मान्यता स्थापित भयो ।

‘चिलिमेबाट सुरु भएको स्वदेशी लगानीको दायरा २० गुणा ठूलो आयोजना निर्माणमा पुग्यो, अब हामी यही मोडल बेतन कर्णालीमा प्रयोग गर्छौं तर इन्जिनियरिङ सेवा स्वेदशी नै हुनेछ,’ उनले भने, ‘स्वदेशी इन्जिनियरिङ अन्तर्गत विदेशी राख्नुपर्ने रहेछ भन्ने सिकियो ।’

‘नेपालीको पौरख, नेपालीको गौरव’को नारा स्वदेशी लगानी र स्वदेशी जनशक्ति उपयोगबाट मात्र सिद्ध हुने शाक्यको भनाइ छ । आफूले नै चिलिमे निर्माण गर्दा यो अवधारणा कायम गरेको उनले बताए ।

माथिल्लाे तामाकाेसी परीक्षणसम्बन्धी थप समाचार

१. गोंगर–खिम्ती प्रसारण लाइन सञ्चालनमा, तामाकोसीको बिजुली राष्ट्रिय प्रणालीमा जाेडिँदै

२. असार २० गते तामाकोसीको परीक्षण उत्पादन, पहाडको बिजुली तराई घुमेर काठमाडौं सहर भित्रिँदै

३. एक सातामा तामाकोसीको ७६ मेगावाट प्रणाली आउने, असारभित्रै दोस्रो युनिट जोड्ने तयारी

४. असार दोस्रो सातासम्म तामाकोसीबाट १५२ मेगावाट उत्पादन गर्ने लक्ष्य

५. माथिल्लो तामाकोसीको टर्बाइन घुमाइयो, तर फेरि भेटियो गलत डिजाइन !

६. म्यानहोलको मर्मत आज सकिने, साँझदेखि पानी भर्ने काम सुचारु गरिँदै

७. व्यवस्थापन भन्छ : ७–८ दिनभित्र सिभिल संरचना र हाइड्रो मेकानिकल उपकरणको परीक्षण सकिन्छ

८. फेरि भूमरीमा फस्तै माथिल्लाे तामाकाेसी, विद्युत् उत्पादनकाे समय अनिश्चित र अन्याेल

९. माथिल्लो तामाकोसी कोरोना चपेटामा, यस्ता छन् लागत दोब्बर हुनुका कारणहरू !

१०. सबै युनिट सञ्चालन हुन अझै ४ महिना लाग्ने, श्रेष्ठ भन्छन् : सुरुङमा पानी हाल्दैमा विद्युत् उत्पादन हुँदैन

११. उच्चस्तरीय सरकारी टोलीद्वारा तामाकोसीको अवलोकन, सेटलिङ बेसिनमा पानी छोडियो

१२. तामाकोसीको सुरुङमा आजबाट पानी भर्न सुरु, सचिवसहितको टोली आयोजनास्थलतर्फ

१३. तामाकोसीको सुरुङ परीक्षण गर्न पानी भर्ने तयारी, लागत सय अर्ब छेउछाउ पुग्यो

प्रतिक्रिया

सम्पादकः लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Degit