विद्युत आपूर्ति : प्राधिकरण : ९९७० मे.वा.घन्टा / निजी क्षेत्र : १७९१० मे.वा.घन्टा / आयात : २११६ मे.वा.घन्टा / ट्रिपिङ : मे.वा.घन्टा / ऊर्जा माग : २९९९६ मे.वा.घन्टा/ उच्च माग : १४४० मेगावाट मे.वा.घन्टा/ निर्यात : मेगावाट
×

फेरि भूमरीमा फस्तै माथिल्लाे तामाकाेसी, विद्युत् उत्पादनकाे समय अनिश्चित र अन्याेल

२०७८ जेठ ५

काठमाडौं । २०७७ सालकाे चैत पहिलाे सातादेखि नै विद्युत् उत्पादन हुन्छ, हुनेछ र भइहाल्छ भन्दै गरेकाे ४५६ मेगावाटकाे माथिल्लाे तामाकाेसी जलिवद्युत् आयाेजनामा अहिले फेरि अर्काे समस्या देखिएकाे छ । निर्माणका सबै काम पूरा गरेर परीक्षण चलिरहेकाे भूमिगत पेनस्टक पाइपकाे ‘म्यानहोल’ चुहिएपछि अहिले आयाेजना व्यवस्थापन तथा यससँग सम्बन्धित सबै पक्षकाे टाउकाे दुखाई बनेकाे छ ।

पेनस्टक पाइमा भएकाे म्यानहाेल राम्राेसँग नकसिएपछि त्यहाँबाट पानी लिक भएकाे (चुहिएकाे) आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले बताएका छन् । धेरैले यसलाई हतारमा काम गर्दा त्रुटी भएकाे भनेका छन् । कतिले प्रधानमन्त्रीकाे आयाेजना उद्घाटन माेहसँग जाेडेका छन् । कतिले आयाेजना व्यवस्थापनकाे कमजाेरी भन्दै औंला ठड्याएका छन् ।

'जब पर्याे राति अनि बूढी ताती' भन्ने नेपाली उखान यहाँ केही हदसम्म चरितार्थ हुने देखिन्छ । आयाेजना व्यवस्थापनले पनि समय बाँकी हुँदै कमजाेर ठेकेदारलाई तह लगाउने, निरन्तर अनुगमन गर्ने, समस्याहरू उच्च निकायमा जानकारी गराउने र समयमै समाधान खाेज्ने गरेकाे भए सायद अहिले याे समस्या आउने थिएन । सुरुमा व्यवस्थापन त्यहाँ उत्पन्न समस्या हाम्रै तहबाट पूरा गर्न सकिन्छ भन्ने साेचमा बस्याे । तर, त्याे हुन सकेन ।

समस्य जटिल बन्दै गएपछि मात्र उच्च निकायमा पुग्ने पद्दत्तिले काम छिटाे पूरा गर्ने प्रक्रियालाई कहीँ न कहीँ अवराेध पुर्याएकाे पक्ष नकार्न सकिँदैन । यसमाथि, निर्माणकाे सुरुमै डिजाइन परिवर्तन, भूकम्पकाे असर, भारतले गरेकाे नाकाबन्दी, स्थानीय अवराेध, सडक समस्याले आयाेजनालाई गिँजाेल्दै आयाे । याे पक्षमा पनि व्यवस्थापन तत्तत्का समस्या भन्दै बसिरह्याे र गम्भीर बन्न सकेन ।

लट-२ काे भारतीय ठेकेदार टेक्सम्याकाेले समयमा काम नगरेर सबैभन्दा बढी टाउकाे दुखायाे । यसलाई समयमै तह लगाएर काम गर्न वा गराउन सकेकाे भए पनि आयाेजना समस्यामा फस्दै जाने थिएन । पछिल्लाे समय प्रधानमन्त्री केपी शर्मा ओलीकाे दबाबपछि काम छिटाे सक्ने र विद्युत् उत्पादन गर्ने हतारमा लागियाे । यसले कहीँ न कहीँ केही त्रुटी भएकाे हुन सक्छ । यद्यपि, अब समस्या देखाउने वा काेट्याउने भन्दा राम्राेसँग संवेदनशील भएर काम पूरा गर्ने र विद्युत् उत्पादनतर्फ लाग्नुकाे विकल्प देखिँदैन ।

काम गर्दै जाँदा एकपछि अर्काे समस्या आउँछन् । याे प्राविधि क्षेत्र भएकाे हुँदा कतिपय अवस्थामा भविष्यमा यस्ता समस्या आउँछन् भनेर ठाेकुवा गर्न सक्ने अवस्था पनि रहँदैन । यद्यपि, आयाेजना व्यवस्थापन सधैं सचेत र चनाखाे हुनुपर्ने चुनाैती रहिरहन्छ । याे पक्षमा केही हदसम्म कमजाेरी भएकाे देखिन्छ । अहिले व्यवस्थापनका उच्च पदाधिकारी आयाेजनास्थलमै खटिरहेका छन् । सुरुदेखि नै याे पक्षमा अलि बढी संवेदनशील भइदिएकाे भए आजकाे परिस्थिति सम्हाल्न केही सजिलाे हुने थियाे ।

काम गर्दै जाँदा एकपछि अर्काे समस्या आउँछन् । याे प्राविधि क्षेत्र भएकाे हुँदा कतिपय अवस्थामा भविष्यमा यस्ता समस्या आउँछन् भनेर ठाेकुवा गर्न सक्ने अवस्था पनि रहँदैन । यद्यपि, आयाेजना व्यवस्थापन सधैं सचेत र चनाखाे हुनुपर्ने चुनाैती रहिरहन्छ । याे पक्षमा केही हदसम्म कमजाेरी भएकाे देखिन्छ । अहिले व्यवस्थापनका उच्च पदाधिकारी आयाेजनास्थलमै खटिरहेका छन् । सुरुदेखि नै याे पक्षमा अलि बढी संवेदनशील भइदिएकाे भए आजकाे परिस्थिति सम्हाल्न केही सजिलाे हुने थियाे ।

सकेसम्म छिटाे मर्मत गरेर काम अगाडि बढाइने र म्यानहाेलकाे समस्या ठूलाे नरहेकाे पनि प्रवक्ता न्याैपानेले बताए । ‘म्यानहोल भनेको पेनस्टक पाइपकाे बिर्को जस्तै हो,’ उनले बुधबारऊर्जा खबरसँग भने, ‘त्यही बिर्को खुकुलो भएकाले पानी चुह्याे ।’ उनले आयोजनाको परीक्षणका क्रममा यस्तो समस्या देखिनु सामान्य भएको बताए । आयोजनाको परीक्षण नै संरचनामा कुनै समस्या छ कि छैन भनेर हेर्न गरिने हुँदा यसलाई ठूलोरूपमा लिन नहुने उनकाे भनाइ छ ।

अन्तिम समयमा डिजाइनमा गरिएको परिवर्तनका कारण अहिलेको समस्या आएको भन्ने पक्षलाइ उनले अस्वीकार गरे । 'आयोजनाको डिजाइनमा भएको परिवर्तनका अहिलेको समस्या आएको भन्ने धेरैको बुझाई हुनसक्छ तर त्यो करणले समस्या आएको होइन,’ उनले भने । समस्या देखिएको ठाउँमा मर्मत कार्य सुरु गरिएको छ । मर्मत सम्पन्न गर्न बढीमा आइतबारसम्मको समय लाग्ने न्यौपानेले जानकारी दिए । बाँध र डिसेन्डिङ बेसिन (बालुवा ग्रिाउने पोखरी) को भने सफल परीक्षण भइसकेको छ ।

गत बैशाख १६ गतेदेखि आयोजनाको सुरुङमा पानी भरेर परीक्षण सुरु गरिएको थियो । सुरुङको परीक्षण गर्न सरकारको एक उच्च स्तरीय टोली आयोजनास्थल पुगेको थियो । सुरुङमा पानी भरेर परीक्षणका गर्ने क्रममा समस्या आएपछि जेठ दोस्रो साताबाट आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउन सम्भव नहुने देखिएको छ ।

समस्याग्रस्त म्यानहोलको मर्मत गरेर पुनः परीक्षण सुरु गर्न समय लाग्ने हुँदा विद्युत उत्पादन पनि धकेलिने देखिएको हो । आयोजनाको उपकरण परीक्षण गर्न बढीमा २ साताको समय लाग्छ । उपकरणको परीक्षण सफल भएपछि मात्रै औपचारिकरूपमा बाँधबाट पानी सञ्चालन गरी विद्युत उत्पादन सुरु गर्न सकिन्छ ।

अहिले देशैभरि फैलिएकाे काेराेना महामारीकाे त्रास, परीक्षणक्रममा देखिइरहेकाे समस्या, काम गर्ने कर्मचारीकाे मनाेविज्ञानले पनि आयाेजनाबाट ताेकिएकाे समयभित्रै विद्युत् उत्पादन हुने सम्भावना न्यून देखिएकाे छ । यसाे हुँदा जेठ दाेस्राे सातासम्म पहिलाे युनिट (७६ मेगावाट) बाट विद्युत् उत्पादन गर्ने नेपाल विद्युत् प्राधिकरण तथा आयाेजनाकाे तालिका पर सर्ने पक्का भएकाे छ ।

ऊर्जा क्षेत्रका कतिपय विश्लेषक तथा इन्जिनयरहरू असाेज कात्तिक नभई आयाेजनाबाट विद्युत् उत्पादन हुन नसक्ने ठाेकुवा गरिरहेका छन् । आयाेजनामा ६ वटा युनिट छन् । एउटा युनिट परीक्षण गरी सञ्चालनमा ल्याउन एक महिना लाग्ने आयाेजनाले बताइरहेकाे छ । यसै पनि जेठभित्र पहिलाे युनिट चल्याे भने पूरै आयाेजनाबाट विद्युत् उत्पादन हुन असाेज-कात्तिक नै पुग्नुपर्ने देखिन्छ । याे सामान्य अवस्था हाे । अझ, अहिले जस्तै परीक्षणका क्रममा समस्या देखिए त्यसले कति समय लिन्छ ? यकिन गर्न सक्ने अवस्था रहँदैन ।

माथिल्लाे तामाकाेसी परीक्षणसम्बन्धी थप समाचार

१. माथिल्लो तामाकोसी कोरोना चपेटामा, यस्ता छन् लागत दोब्बर हुनुका कारणहरू !

२. सबै युनिट सञ्चालन हुन अझै ४ महिना लाग्ने, श्रेष्ठ भन्छन् : सुरुङमा पानी हाल्दैमा विद्युत् उत्पादन हुँदैन

३. उच्चस्तरीय सरकारी टोलीद्वारा तामाकोसीको अवलोकन, सेटलिङ बेसिनमा पानी छोडियो

४. तामाकोसीको सुरुङमा आजबाट पानी भर्न सुरु, सचिवसहितको टोली आयोजनास्थलतर्फ

५. तामाकोसीको सुरुङ परीक्षण गर्न पानी भर्ने तयारी, लागत सय अर्ब छेउछाउ पुग्यो

प्रतिक्रिया

सम्पादकः लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Degit