विद्युत आपूर्ति : प्राधिकरण : ९९७० मे.वा.घन्टा / निजी क्षेत्र : १७९१० मे.वा.घन्टा / आयात : २११६ मे.वा.घन्टा / ट्रिपिङ : मे.वा.घन्टा / ऊर्जा माग : २९९९६ मे.वा.घन्टा/ उच्च माग : १४४० मेगावाट मे.वा.घन्टा/ निर्यात : मेगावाट
×

माथिल्लो तामाकोसी कोरोना चपेटामा, यस्ता छन् लागत दोब्बर हुनुका कारणहरू !

२०७८ ब‌ैशाख २९

काठमाडौं । बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुने समय नजिक आइरहेको छ । तर, व्यापकरूपमा फैलिएको कोरोना महामारी (कोभिड–१९) ले यसलाई प्रभावित बनाइरहेको छ ।

अहिले सुरुङमा पानी छिराएर विभिन्न संरचनाको परीक्षण (वेट टेस्ट) भइरहेको छ । यो परीक्षण सकेर आगामी जेठ दोस्रो सातासम्म पहिलो युनिट (७६ मेगावाट) बाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । तर, कोरोनाका कारण धमाधम आयोजनाका कर्मचारी संक्रमित हुन थालेपछि निर्धारित समयभित्र पहिलो युनिट सञ्चालन हुने सम्भावना कम देखिएको छ ।

संक्रमित भएर उपचारकै क्रममा दोलखामै बिरामीहरूको निधन भइरहेकोले आयोजनास्थलमा काम गर्ने वातावरण बनिरहेको देखिँदैन । अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठ लगायत उच्च अधिकारीहरू अहिले आयोजनास्थलमै खटिएका छन् । अधिकांश कर्मचारी निर्माण क्षेत्रमै भए पनि प्रतिकूल समयका बावजुत कामलाई तीव्रता दिने अवस्था देखिएको छैन ।

त्रासको वातावरण फैलिरहेको हुँदा विद्युत् उत्पादन अवधि प्रभावित अर्थात् २–४ दिन ढिलो हुने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । निर्माणको सुरुबाटै विभिन्न समस्या तथा प्राकृतिक विपद् झेल्दै आएको आयोजना पछिल्लो एक वर्षदेखि कोरोनाका कारण प्रभावित भइरहेको छ । यसैले जेठ दोस्रो साताभित्र पहिलो युनिटबाट विद्युत् उत्पादन गर्ने लक्ष्य पनि प्रभावित हुने निश्चित देखिएको छ ।

सुरुङको डिजाइन परिवर्तन, २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्प, त्यसलगत्तै भारतले गरेको नाकाबन्दी, लट–२ को भारतीय ठेकेदार टेक्सम्याकोको कमजोर कार्यसम्पादन लगायत कारणले निर्माण अवधि झन्डै ३–४ वर्ष धकेलिएको छ । अहिले फेरि, कोरोनाले आयोजनालाई समस्यामा पारेको छ ।

२०६८ साल जेठ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल र ऊर्जा मन्त्री गोकर्ण विष्टले शिलन्यास गरेको आयोजना निर्माणले अहिलेसम्म १० वर्ष गुजारिसकेको छ । निर्माणका गतिविधि भने आर्थिक वर्ष २०६५/६६ देखि नै सुरु गरिएको थियो । निर्माण अवधि लम्बिँदै जाँदा आयोजनाको लागत त्यही अनुसार थपिँदै गएको छ ।

लागत बढ्नुका ५ कारण
१. सुरुङको डिजाइन परिवर्तन
२. लट–२ को कमजोर कार्यसम्पादन
३. विनाशकारी भूकम्प
४. भारतले गरेको नाकाबन्दी
५. कोरोना महामारीको असर

निर्माण सुरु हुँदा आयोजनाको कूल लागत ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएको थियो । जुन, निर्माण अवधिको बैंक ब्याजबाहेकको थियो । ब्याजसहित आयोजनाको लागत करिब ४२ अर्ब ५० करोड रुपैयाँ थियो । यो आधारमा आयोजनाको प्रतिमेगावाट लागत करिब ९ करोड ३२ लाख रुपैयाँ हुन आउँछ ।

आयोजनाबाट २०७० सालभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य थियो । सुरुको लक्ष्यको तुलनामा आयोजनाको निर्माण अवधि ७ वर्षभन्दा बढी लम्बिएको छ । यसबीचमा सबैभन्दा बढी असर बैंकको ब्याज र अमेरिकी डलर सटहीमै परेको देखिन्छ । आयोजनाका एक उच्च अधिकारीका अनुसार अहिले आयोजनाको लागत करिब ५५ अर्ब र ब्याज झन्डै ३४ अर्ब रुपैयाँ पुगेको छ ।

उक्त तथ्यांकका आधारमा आयोजनाको कूल लागत ८९ अर्ब रुपैयाँ पुग्ने देखिन्छ । जसअनुसार प्रतिमेगावाट लागत करिब १९ करोड ५१ लाख रुपैयाँ पुग्ने देखिन्छ । यद्यपि, निर्माणका सबै काम पूरा भएर ६ वटै युनिट सञ्चालनमा आउँदासम्म लागत १०० अर्ब रुपैयाँ पुग्ने आयोजनाकै अधिकारीहरूको दाबी छ ।

यदि, लागत १०० अर्ब रुपैयाँ पुग्यो भने प्रतिमेगावाट लागत झन्डै २२ करोड रुपैयाँ हुन जान्छ । प्रतिमेगावाट ९ करोड ३२ लाख रुपैयाँमा पूरा हुने अनुमान गरिएको आयोजनाको लागत दोब्बरभन्दा बढी हुनु एउटा गम्भीर विषय हो । यद्यपि, अहिलेको प्रक्षेपण अनुसार आगामी असारसम्म जम्मा लागत ८५ अर्ब रुपैयाँ पुग्ने बताइएकाे छ ।

आयोजनाको लागत ८५ अर्ब रुपैयाँमै रोकियो भने प्रतिमेगावाट लागत करिब १८ करोड ६४ लाख रुपैयाँ हुन्छ । यही आधारमा पनि सुरुको ९ करोड ३२ लाख रुपैयाँको तुलनामा १८ करोड ६४ लाख रुपैयाँ हुनु दोब्बरभन्दा बढी भयो । यसो हुँदा विद्युत् उत्पादन भएको दुई वर्षसम्म आयोजनाले प्रतिफल दिन नसक्ने कम्पनीकै उच्च अधिकारीहरूले बताइरहेका छन् ।

अझ आयोजनाको बर्खामा उत्पादित विद्युत् पूर्ण रूपमा खपत हुने आधार छैन । यदि, बर्खाको विद्युत् अर्थात् सञ्चित पानी खेर फाल्नुपर्ने स्थिति देखियो भने आयोजनाबाट हुने आम्दानीमा थप असर पर्नेछ । उता विद्युत् प्राधिकरण भारतीय एक्सचेन्ज बजारको सदस्य भएकोले सुरुमा तामाकोसीको बर्खाको बिजुली बेच्न प्रस्ताव गरेको छ ।

माथिल्लाे तामाकाेसी परीक्षणसम्बन्धी थप समाचार

१. सबै युनिट सञ्चालन हुन अझै ४ महिना लाग्ने, श्रेष्ठ भन्छन् : सुरुङमा पानी हाल्दैमा विद्युत् उत्पादन हुँदैन

२. उच्चस्तरीय सरकारी टोलीद्वारा तामाकोसीको अवलोकन, सेटलिङ बेसिनमा पानी छोडियो

३. तामाकोसीको सुरुङमा आजबाट पानी भर्न सुरु, सचिवसहितको टोली आयोजनास्थलतर्फ

४. तामाकोसीको सुरुङ परीक्षण गर्न पानी भर्ने तयारी, लागत सय अर्ब छेउछाउ पुग्यो

प्रतिक्रिया

सम्पादकः लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Degit