काठमाडौँ । ललितपुर धापाखेलकी सरु श्रेष्ठ कुशल गृहिणी तथा ब्युटिसियन हुन् । उनी कुशल गृहिणी पनि हुन् । दिउँसो ‘ब्युटी पार्लर’ चलाउने उनी आफ्नो व्यवसायमा उनी जति इमानदार र सिद्धहस्त छिन्, त्यति नै घरायसी काममा पनि । दोहोरो जिम्मेवारीको चापले उनको दैनिकी निकै व्यस्त बन्ने गर्छ । यो दैनिकी सहज बनाउन उनले भान्सामा आधुनिक विद्युतीय सामाग्रीको प्रयोग गरेकी छिन् ।
विद्युतीय चुलो, फ्रिज, राइस कुकर, मिक्सर, वाटर हिटरलगायत विद्युतीय सामग्रीले भान्साको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न सहज बनाइरहेको उनको अनुभव छ । भन्छिन्– ‘कतिपय विद्युतीय सामग्री अटोमेटिक मोडमा चल्छन् । तीनलाई हेरेर– कुरेर बस्नु पर्दैन । काम छिटो गर्छन् । समय बचत हुन्छ । फ्रिजमा हरियो तरकारी तथा पकाएका परिकार ताजै रहन्छन् । बिहान पकाएको परिकार ताजै रूपमा इन्डक्सनमा तताएर बेलुका खान सकिन्छ ।’
अचेल सरुजस्तै हरेक गृहिणीको यो साझा अनुभव बन्न थालेको छ । हरेक भान्सामा विद्युतीय सामग्रीको प्रयोग बढ्दो छ । त्यसमा पनि कामकाजी महिला वा पुरुषका लागि त झन् यस्ता सामग्री बरदान जस्तै बन्दै गएका छन् । धेरै समय, श्रम तथा सिप लगाएर कुरेर भान्सामा परिकार तयार गर्नुपर्ने कामलाई विद्युतीय शक्तिको माध्यमबाट एकैछिनमा गर्न सकिने भएपछि यसतर्फ गृहिणी तथा भान्सेहरू आकर्षित हुनु स्वाभाविक देखिन्छ ।
आर्थिक वर्ष २०७९/८० मा मात्र नेपालले ५३ अर्ब रुपैयाँ भन्दा बढीको एलपिजी आयात गरेको भन्सार विभागको तथ्यांक छ । अझ एलपिजीको मूल्य प्रतिदिन उकालो लाग्दा विद्युतीय चुलोको प्रयोग बाध्यात्मक जस्तै बन्दै गएको छ । अहिले प्रतिसिलिन्डर एलपिजीको मूल्य १८९५ रुपैयाँ छ । त्यसमाथि व्यापारीहरूले नेपाल आयल निगमले निर्धारण गरेभन्दा बढी मूल्यमा ग्यास बिक्री वितरण गरेको गुनासो पनि आइरहेका छन् ।
एकातिर आयातित एलपिजीको बजार भाउ बढ्दो छ, अर्कोतिर नेपालमै उत्पादित बिजुलीले बजार खोजिरहेको अवस्था छ । अहिले राष्ट्रिय ग्रिडमा २ हजार ८३७ मेगावाट विद्युत् जोडिएको छ । उपलब्ध र निकट भविष्यमा थप हुने विद्युत्को आन्तरिक खपत बढाउने विषयमा छलफल तथा बहस भइरहेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनको अध्ययनअनुसार विश्वमा परम्परागत चुलोको प्रयोगबाट हुने घरभित्रको धुवाँ प्रदूषणले निम्त्याउने स्वास्थ्य जोखिमका कारण बर्सेनी विश्वभर करिब ४० लाख मानिस अकालमै मर्ने गर्छन् । यही कारण नेपालमा वार्षिक झण्डै २४ हजारको मृत्यु हुने गरेको तथ्याङ्क छ । त्यसो हुँदा आम नेपालीको स्वास्थ सुधार्न पनि सरकारले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य पूरा गर्न स्वच्छ भान्सामा जानुको विकल्प देखिँदैन ।
विद्युतीय चुलोको प्रयोगले खाना पकाउन लाग्ने समयको बचत, स्वास्थ्यमा हुने लाभ, कार्बन उत्सर्जनमा कटौती, आर्थिक बचत जस्ता बहुआयामिक लाभ छन् । तर, राष्ट्रिय जनगणना २०७८ ले भने नेपालमा ०.५ प्रतिशत अर्थात् ३३ हजार ३३५ घरधुरीले मात्र खाना पकाउन बिजुलीको प्रयोग गरेको देखाउँछ ।
अझै पनि ५४ प्रतिशत घरधुरीले खाना पकाउन परम्परागत ऊर्जा (दाउरा, गुइँठा, खर–पराल) प्रयोग गरेको देखिन्छ । त्यसैगरी ४४.३ प्रतिशतले एलपिजी, १.२ प्रतिशतले बायोग्यास, ०.०५ प्रतिशतले मट्टीतेल र ०.१ प्रतिशत घरधुरीले अन्य इन्धनको प्रयोग गरेको देखिन्छ । त्यसो हुँदा सरकार, निजी क्षेत्र, व्यापारी सबै विद्युतीय चुलोको प्रयोगलाई जोड दिन थालेका छन् ।
पछिल्लो समय विद्युत् उत्पादनमा वृद्धिभएसँगै इन्डक्सन चुलोको आयात र प्रयोग पनि बढेको छ । विभिन्न अध्ययनलाई आधार बनाउने हो भने विद्युतीय चुलो प्रयोग गर्ने घरधुरी सङ्ख्या बढेर अहिले करिब ४ प्रतिशतसम्म पुगिसकेको अनुमान गर्न सकिने नेपाल इनर्जी फाउन्डेसनका व्यवस्थापक डिल्ली घिमिरेले बताउँछन् ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल विद्युतीकरण ९८ प्रतिशत भइसकेको छ । २ प्रतिशत जनसङ्ख्यामा मात्र विद्युत्काे पहुँच पुग्न बाँकी छ तर विद्युतीकरण भएका क्षेत्रमा १५ एम्पिएरसम्म क्षमताको बिजुली प्रवाह थाम्न सक्ने ‘हाउस वायरिङ’ नहुँदा भने विद्युत् खपत गर्ने इन्डक्सनजस्ता सामग्री प्रयोगमा समस्या भएको प्रयोगकर्ताहरू बताउँछन् । ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा आपूर्ति भरपर्दो भएकोले विद्युतीय सामग्रीको प्रयोग बढ्दै गएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशकल कुलमान घिसिङले ग्रामीण क्षेत्रमा पनि परपर्दो विद्युत् सेवा दिन प्रसारण तथा वितरण लाइन सुदृढीकरण भइरहेकोले भान्सामा विद्युतीय सामग्रीको प्रयोग गाउँगाउँसम्म व्यापक हुँदै जाने बताएका छन् । भर्खरै विद्युतीकरण भएको सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर २, सिर्थौलीकी स्थानीय सरिता मगरले पनि आफ्नो भान्सामा विद्युतीय चुलो, वाटर हिटर, मिक्सचर जस्ता सामग्रीको प्रयोग गर्ने इच्छा बढेको सुनाइन् ।
उनी भन्छिन्, ‘हाम्रो गाउँमा राष्ट्रिय ग्रिडको बिजुली आएको एक महिना मात्र भयो, त्योभन्दा पहिले धेरैले रुफटप सोलारको बिजुली प्रयोग गर्थे । त्यहीबाट बत्ती बाल्ने, मोबाइल चार्ज गर्नेलगायत काम हुन्थ्यो । अब भने विद्युतीय चुलो, राइसकुकर, इलेक्ट्रिक जग जस्ता सामग्री प्रयोगबारे बुझ्दै छु ।’
आयात वृद्धि
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ को कात्तिकसम्ममा ३४ हजार ५५७ इन्डक्सन र १७ हजार ४५८ इन्फ्रारेट चुलो भित्रिएको छ । यसैगरी, २०७८/७९ मा १ लाख १६ हजार ८१० इन्डक्सन, ४१ हजार ४५४ इन्फ्रारेड चुलो भित्रिएको छ । त्यस्तै, २०७९/८० मा १ लाख ३० हजार ७४५ इन्डक्सन र ७३ हजार ६४८ इन्फ्रारेड भित्रिएको विभागको तथ्याङ्कमा छ ।
‘चुलोको प्रयोग र आयात व्यापक रूपमा बढ्यो,’ व्यवस्थापक घिमिरे भन्छन्, ‘नेपालमा नै उत्पादन गर्न भने सकिएन । अन्य देशबाट आयात गर्नुभन्दा आफ्नै देशमा उत्पादन गर्न सकेको भए झन् ठूलो लाभ हुने थियो ।’ केही व्यवसायीले उत्पादन गर्ने योजना अघि बढाए पनि लगानीकर्ता र सरकारले चासो नदिँदा अघि बढ्न नसके उनको भनाइ छ ।
सचेताना र मर्मत केन्द्रको अभाव
ललितपुरको महाकाल गाउँपालिकाका सबै घरमा विद्युतीय चुलो पुगेको छ । गाउँपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहकार्यमा पालिकाको सम्पूर्ण घरमा विद्युतीय चुलो वितरण गरिएको हो । तर, चुलो वितरण भए पनि अधिकांश नागरिकले यसलाई प्रयोगमा ल्याउन सकेनन् । विद्युतीय चुलो प्रयोग गर्ने ज्ञान, सिप र तरिका थाहा नभएकोले पनि यसको प्रयोग हुन नसकेको घिमिरेको दाबी छ । प्रयोग गरेका परिवारको चुलोमा समेत समस्या आएपछि अहिले उनीहरू पुनः एलपिजीमै फर्किन लागेका छन् । मर्मत सम्भार गर्ने ठाउँ र दक्ष जनशक्ति तथा जनचेतना पनि आवश्यक भएको उनको बुझाइ छ ।
सोही कुरालाई ध्यानमा राखी ऊर्जा र वातावरणको लागि महिला सञ्जाल (ओनी) ले युएसएआइडी ऊर्जा नेपालसँग सहकार्य गरेर विद्युतीय चुलोलगायतका सामग्रीको मर्मत सम्भारसम्बन्धी विभिन्न तालिम दिँदै आएको छ ।
भान्छामा काम गर्नेहरूको स्वास्थ्य सुधार गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि भान्साम प्रयोग हुने विद्युतीय सामग्रीको मर्मत तालिम दिँदै आएको ओनीका अध्यक्ष कला तिमल्सिनाले बताइन् । ओनीले पहिलो चरणमा काठमाडौं उपत्यकाका ५ जना (महिला/पुरुष) लाई तालिम दिएको थियो । दोस्रो चरणमा उपत्यका बाहिर ९ जिल्लाका २१ जना महिलालाई तालिम दिएको छ ।
‘तालिम लिनेएकाहरूले अहिले आफ्नै क्षेत्रमा सेवा दिइरहेका छन्,’ उनले भनिन् । ओनीले २०७५ सालदेखि भान्सामा काम गर्ने महिलाको स्वास्थ्यमा सुधार गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरणमा सरकारले राखेको लक्ष्य पूरा गर्न यस्ता तालिम प्रदान गर्दै आएको उनले बताइन् ।
विद्युतीय चुलो प्रवर्द्धनका प्रयासहरू
सरकारले खाना पकाउने ऊर्जाको रूपमा विद्युत्काे प्रयोग बढाउने नीति र योजना अघि सार्दै आएको छ । आर्थिक वर्ष २०७९/८० को सरकारी बजेट तथा कार्यक्रममा ‘एलपिजी छोडौँ, बिजुली जोडौँ,’ भन्ने अभियानलाई व्यापकरूपमा कार्यान्वयन गरी गुइँठा र एलपिजी विस्थापित गर्ने उल्लेख छ ।
राष्ट्रिय निर्धारित योगदान (एनडिसी) ले सन् २०३० सम्म २५ प्रतिशत उपभोक्ताको पहुँचमा विद्युतीय चुलो पुर्याउने लक्ष्य राखेको छ । सोही अनुरुप विद्युतीय चुलोमा खाना पकाउने घरपरिवारको सङ्ख्या पनि क्रमशः बढ्दै आएको देखिन्छ ।
विद्युतीय चुलो प्रवद्र्धन गर्न सरकारले बजेटमार्फत योजना तथा कार्यक्रमसमेत ल्याएको छ । राजनीतिक दलले निर्वाचनका बेलामा घोषणा गरेका दस्तावेजमा पनि विद्युत् खपत र विद्युतीय चुलो प्रवर्द्धन गर्ने विषय समावेश छन् । यसैगरी, नेपाल सामुदायिक विद्युत् महासंघले विभिन्न संस्थाहरूसँग समन्वय गरी सामुदायिक विद्युतीय चुलो वितरण तथा प्रवर्द्धन गरिरहेको छ ।
त्यस्तै, सशस्त्र प्रहरी तथा नेपाली सेनाको भान्सामा विद्युतीय चुलोको प्रयोग हुन थालेको छ । केही स्थानीय तहले समेत बिजुलीको राष्ट्रिय खपत बढाउन विद्युतीय सामग्रीको प्रयोग बढाउन विभिन्न योजनामा काम गरिरहेका छन् ।
नेपाली भान्सा : पहिले र अहिले
विगतको तुलनामा अचेल नेपाली भान्सा निकै भिन्न हुँदै गएको छ । माटोको चुलोचौको बनाउने र दाउरा बालेर खानाका विविध परिकार पकाउने पुरानो चलन हराउँदै छ । त्यस्तो चुलोमा खाना पकाउँदा घरभरि धुवाँ रङ्गाउँथ्यो । विस्तारै सुधारिएको चुलो आयो । चिम्नीको प्रयोगले धुँवा बाहिर जाने बनाउन थालियो । बायोग्यास चुलो आयो । त्यसपछि गाउँगाउँसम्म एलपिजी ग्यासको चुलो पुग्यो ।
अहिले भने विस्तारै सहरदेखि गाउँसम्म विद्युतीय चुलोको प्रयोग बढ्न थालेको छ । धेरैजसो सामग्री स्वचालित हुने हुँदा भान्सेले कुरेर बस्नुपर्ने बाध्यता हटेको छ । खाना पकाउने चुलो पनि थरिथरीका आएका छन् । माटे हिटर, इन्डक्सन, इन्फ्रारेड, राइसकुकर, मिक्सचर, डिसवासर, माइक्रोओभन लगायत अनेक छन् । यी विद्युतीय सामानले समग्र मानिसको दैनिकी नै सहज बनाउँदै लगेको छ ।
भरपर्दो विद्युत् आपूर्ति समस्या
घरमा विद्युतीय चुलो भए पनि त्यो निर्विकल्प बन्न सकेको भने छैन । खाना बसालेपछि बत्ती जाने समस्या धेरै ग्रामीण क्षेत्रमा देखिन्छ । कहिलेकाँही सहरी क्षेत्रमा पनि यस्तो अवस्था आउने गरेको छ । त्यसो हुँदा विद्युतीय चुलोका साथै सहरमा ग्यास चुलो र ग्रामीण क्षेत्रमा दाउराको समेत प्रयोग गर्नुपर्ने बाध्यता छ । यस्तो अवस्थाको अन्त्य गरी विद्युत् वितरण प्रणालीलाई भरपर्दो र गुणस्तरीय बनाउँदै लानुपर्ने देखिएको छ ।
ठूलो परिमाणको विद्युत् प्रसारण धान्न सक्ने संरचना नहुँदा विद्युतीय सामग्रीको उपयोग वृद्धि हुन नसकेको व्यवस्थापक घिमिरेको दाबी छ । सबै परिवारले एकै समयमा विद्युतीय चुलोमा खाना पकाउँदा पनि धान्ने प्रसारण तथा वितरण संरचना विकास गर्नुपर्छ । देशैभरि ट्रान्सफर्मरको क्षमता विस्तार र वितरण प्रणालीमा सुधार तीव्र पार्नुपर्ने उनको भनाइ छ । त्यस्तै, नेपालमै विद्युतीय चुलो तथा पार्टपूर्जाको उत्पादन गर्ने नीतिगत व्यवस्था गर्नसके यस क्षेत्रको विकास र राष्ट्रिय विद्युत् खपत बढ्ने घिमिरे बताउँछन् ।
‘अचेल ग्यास चलाउनै मन लाग्दैन’
लक्ष्मी न्यौपाने : काठमाडौँको किर्तीपुर बस्दै आएकी गृहिणी लक्ष्मी न्यौपानेले पछिल्लो २ वर्षदेखि विद्युतीय चुलो प्रयोग गर्दै आएकी छिन् । उनले एलपिजीभन्दा विद्युतीय चुलो प्रयोग गर्न धेरै सहज रहेको अनुभव सुनाइन् ।
उनी भन्छिन्– ‘विद्युतीय चुलो एलपिजीभन्दा निकै सजिलो, सस्तो र छिटो छ । विद्युतीय चुलो प्रयोग गर्न थालेपछि ग्यासतिर ध्यान नै जाँदैन । पहिले ग्यास मात्र प्रयोग गर्दा एक सिलिन्डर ग्यास एक महिनालाई पनि पुग्दैनथ्यो । अहिले विद्युतीय चुलो प्रयोग गर्न सुरु गरेपछि एक सिलिन्डर ग्यास ४÷५ महिनामा सकिन्छ, बिजुलीको बिल धेरै उठ्दैन । विद्युतीय चुलो प्रयोग गर्दा ‘टाइम सेट’ गरेर अन्य काम पनि गर्न सकिन्छ । चुलोको प्रयोग गर्न थालेको २ वर्ष भएपनि अहिलेसम्म समस्या देखिएको छैन । गुणस्तर चुलो प्रयोग गरियो भने निकै सहज हुन्छ ।’
‘ग्यास भन्दा इन्डक्सन दुई गुणा सस्तो’
अनिता कार्की : काठमाडौँको काँडाघारीमा बस्दै आएकी अनिता कार्कीले २०७२ साल असोजदेखि विद्युतीय चुलो (इन्डक्सन) प्रयोग गर्दै आएकी छन् । ७ वर्षको अनुभवमा उनी ग्यास भन्दा विद्युतीय चुलो २ गुणा सस्तो पर्ने दाबी गर्छिन् । उनी भन्छिन्– ‘मैले ७ वर्षदेखि इन्डक्सन चुलो प्रयोग गरिरहेकी छु । राम्रो गुणस्तरको चुलो परेछ । हालसम्म कुनै समस्या देखिएको छैन ।’
‘भरपर्दो विद्युत् आपूर्तिको समस्या छ’
सरु श्रेष्ठ : सरु श्रेष्ठ ललितपुरको धापाखेलमा बस्छिन् । उनले पनि अहिले विद्युतीय चुलोको प्रयोग गर्न थालेकी छिन् । खाना तताउन र दूध तताउन जस्ता कुराहरूमा मात्र चुलोको प्रयोग गर्दै आएकी छिन् । उनी भन्छिन्– ‘विद्युतीय चुलो प्रयोग गर्दा समयको बचत हुने, स्वास्थ्यमा पनि असर नपर्ने र कम खर्च लाग्ने भनेको सुनेर मैले पनि विद्युतीय चुलो खरिद गरी प्रयोग गर्न थालेकी छु, तर बत्ती आउने जाने गर्दा यसैमा पूर्ण रूपमा निर्भर हुन भने सकेको छैन ।’
'विद्युतीय चुलो प्रयोग गर्न मन छ'
अनिता नेपाली : ललितपुर धापाखेलकी अनिता नेपाली अहिले एलपिजी नै प्र्रयोग गर्छिन् । विद्युतीय चुलोबारे सामाजिक सञ्जालमा अनेक विज्ञापन तथा प्रचारप्रसार देखेपछि अहिले उनलाई विद्युतीय चुलोको प्रयोग गर्न मन लागेको छ । भन्छिन्– ‘इन्डक्सन चुलो र त्यही अनुसारको पकाउने भाँडा किन्दा पहिलो चरणमा अलि बढी खर्च लाग्ने भएकोले विद्युतीय चुलोमा जान सकेको छैन । अब विस्तारै जाने योजना बनाएको छु । एलपिजी प्रयोग गर्दा ग्यास लिग भएर पड्किन सक्ने जोखिम छ । विद्युतीय चुलो सहज हुने अनुमान गरेकी छु ।’
याे फिचर खबर २०८० पुसमा प्रकाशित ऊर्जा खबर अर्धवार्षिक पत्रिकाबाट साभार गरिएकाे हाे ।