काठमाडौँ । ऊर्जा खबरले हरेक शुक्रबार प्रकाशन गर्दै आएको ज्ञानवर्द्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत यो साता हामीले ‘विद्युतीय सवारी साधन : स्वीकार्यता, चुनौती र समाधान’का विषयमा जानकारी प्रस्तुत गरेका छौँ । अघिल्लो साता हामीले वातावरण तथा जलवायुमा ऊर्जा क्षेत्रको असर र समधानका विषयमा जानकारी दिने प्रयास गरेका थियौँ ।
१. विद्युतीय सवारी साधन (इभी) के हो ?
उत्तरः विद्युतीय सवारी साधन (इलेक्ट्रिक भेइकल–इभी) भनेको यस्तो सवारी साधन हो जुन पेट्रोल, डिजेल जस्ता जीवाश्म (फोसिल) इन्धनको सट्टा पूर्ण वा आंशिक रूपमा बिजुलीबाट पुनः चार्ज गर्न सकिने ब्याट्रीबाट चल्दछ ।
२. विद्युतीय सवारी मुख्य कति प्रकारका हुन्छन् ?
उत्तरः विद्युतीय सवारी मुख्य रूपमा ३ प्रकारका हुन्छन् । ती निम्न छन्:
- ब्याट्रीबाट चल्ने विद्युतीय सवारी: यस्ता सवारीलाई केवल ब्याट्री र इलेक्ट्रिक मोटरबाट चलाउन सकिन्छ ।
- प्लग–इन हाइब्रिड विद्युतीय सवारी: यस्ता विद्युतीय इलेक्ट्रिक मोटर र आन्तरिक दहन इन्जिन दुवैबाट सञ्चालन हुन्छन् ।
- हाइब्रिड इलेक्ट्रिक भेहिकल: यस्ता सवारी साधन इन्धन र सानो ब्याट्रीबाट चल्दछन् । यस्ता सवारी साधनमा लाग्ने ब्याट्रीलाई प्लगबाट नभई पुनःउत्पादनशील (रिजनरेटिभ) ब्रेकिङबाट चलाउन चार्ज गर्न सकिन्छ ।
३. विद्युतीय सवारी साधनका मुख्य अङ्गहरू के के हुन्छन् ?
उत्तर: विद्युतीय सवारी साधनका मुख्य अङ्गहरू निम्न छन्:
- ब्याट्री प्याक (लिथियम–आयोन वा समान)
- इलेक्ट्रिक मोटर
- पावर इलेक्ट्रोनिक्स (इन्भर्टर, कन्ट्रोलर)
- अनबोर्ड चार्जर
४. विद्युतीय सवारी साधनको स्वीकार्यता के के विषयमा भर पर्दछ ?
उत्तर : मानिस र उद्योगहरू कति छिटो र व्यापक रूपमा जीवाश्म इन्धनबाट चल्ने सवारी साधनबाट विद्युतीय सवारी साधनको प्रयोग गर्न थालेका छन् वा यस्ता साधन अपनाउन थालेका छन् भन्ने विषय नै यसको स्वीकार्यता हो । यसको स्वीकार्यता निम्न कुराहरूमा भर पर्दछ:
- सरकारका नीति (कर छुट, अनुदान, आयातमा लाग्ने भन्सार शुल्कको दर)
- चार्जिङ पूर्वाधारको उपलब्धता
- खरिद लागत
- पर्यावरणीय लाभबारे उपभोक्तामा सचेतना तथा जागरूकता
- ब्याट्रीको टिकाउ, चार्जिङमा लाग्ने समय जस्ता प्राविधिक विषय
५. नेपालको सन्दर्भमा विद्युतीय सवारी साधन प्रयोगको अवस्था कस्तो छ ?
उत्तर: नेपालमा विद्युतीय सवारी साधन प्रयोगको अवस्था निम्नानुसार देखिन्छ:
- सरकारले विद्युतीय सवारी साधानमा लगाउने कर घटाएपछि र पेट्रोल मूल्य बढेपछि सन् २०२० देखि ईभी आयात तुलनात्मक रूपमा उच्च बनेको छ ।
- विशेष गरी काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रमा लोकप्रिय देखिएको छ ।
- पछिल्लो समय निजी मात्र नभई मझौला सार्वजनिक यातायातका क्षेत्रमा पनि विद्युतीय कार, जीप, भ्यानको प्रयोग बढेको छ ।
६. विद्युतीय सवारी साधन प्रयोगका चुनौती के–के छन् ?
उत्तर : विद्युतीय सवारी साधनको प्रयोगमा निम्नानुसारका चुनौती छन्:
प्राविधिक चुनौतीहरू
- ग्रामीण र राजमार्ग क्षेत्रमा चार्जिङ पोइन्टको कमी ।
- इन्धन जस्तै छिटो चार्ज गर्न नसकिने ।
- ब्याट्रीको वर्षौंमा क्षति र महँगो प्रतिस्थापन ।
- दिनदिनै बढ्दो दुर्घटना ।
आर्थिक चुनौती
- सुरुमै बढी लागत, यद्यपि चलाउन सस्तो ।
- आयातमा निर्भरता (ब्याट्री, पाट्र्स), आपूर्ति साख संकट जोखिम ।
- ग्राहकलाई वित्तीय सुविधा कम ।
नीति र पूर्वाधार
- सरकारको अनिश्चित प्रोत्साहन (कर नीति परिवर्तनले असर) ।
- राष्ट्रिय चार्जिङ नेटवर्कको अभाव ।
- ग्रिड क्षमताको सुधार आवश्यक ।
सामाजिक र जागरूकता
- जनताको सोच कमजोर र केवल शहरका लागि भन्ने ।
- मर्मतका लागि प्रशिक्षित मेकानिक्स कम ।
७. चुनौती समाधान र आगामी दिशा के हुन सक्छन् ?
उत्तर: विद्युतीय सवारी प्रयोगका चुनौती समाधानकाका लागि आगामी दिनमा निम्न उपाय अपनाउन सकिन्छः
नीति र प्रोत्साहन
- कर छुट र अनुदान बढाउने÷लामो समयका लागि कायम राख्ने ।
- देशभित्र उत्पादन तथा संयोजन (एससेम्बल) उद्योगहरू सञ्चालनमा ल्याउन विदेशीसमेत प्रोत्साहन गर्ने नीति बनाउने ।
पूर्वाधार विकास
- देशव्यापी रूपमा छिटो चार्जिङ नेटवर्क बनाउने (ग्रामीण क्षेत्रमा समेत) ।
- व्यावसायिक विद्युतीय सवारी साधनहरू (जस्तै, ट्याक्सी, बसहरू) का लागि ‘ब्याट्री स्वापिङ स्टेसन’ (चार्ज सकिएका ब्याट्री राखेर चार्ज भएका ब्याट्री प्रयोगका लागि दिने प्रणाली अपनाउने वा अदलावदली गर्ने केन्द्र) हरूको प्रवर्द्धन गर्ने ।
प्रविधि र नवप्रवर्तन
- ब्याट्रीको क्षमता र नवीकरणीय ऊर्जासँग एकीकरण गर्न अनुसन्धानलाई प्रोत्साहन गर्ने ।
- सौर्य विद्युत्बाट चल्ने चार्जिङ स्टेसन बनाउने, ग्रिडमा दबाव कम गर्ने ।
जागरूकता र तालिम
- लागत बचत र पर्यावरणीय लाभबारे जनचेतना अभियान सञ्चालन गर्ने ।
- मर्मत र सेवा दिने कर्मचारीलाई तालिम दिने ।