काठमाडौँ । भारतको केरल राज्य विद्युत् बोर्ड (केएसइबी) ले १२५र५०० मेगावाट घण्टा क्षमताका ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बिइएसएस) विकास गर्ने भएको छ । यसका लागि बोर्डले केरल राज्य विद्युत् नियमन आयोग (केएसइआरसी) बाट स्वीकृति समेत पाएको छ ।
बोर्डको प्रस्ताव अनुसार बोर्डले आफ्ना विद्युत् ग्रिडका सबस्टेसनहरूमा ग्रिडस्तरका ४ वटा ब्याट्री ऊर्जा भण्डारण प्रणाली स्थापना गर्ने छ । अलप्पुझा जिल्लाको श्रीकान्तपुरम, थिरुवनन्तपुरमको पथेनकोड, कसारगोडको मुल्लेरिया र मलप्पुरमको एरियाकोडस्थित सबस्टेसनहरूमा ती प्रणाली स्थापना गरिनेछन् । यी ऊर्जा भण्डारण प्रणालीमार्फत ठूलो मात्रामा राज्यमा उत्पादन भइरहेको दिउँसो बढी हुने सौर्य विद्युत्को व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ ।
श्रीकान्तपुरम र पथेनकोडमा स्थापना गरिने बिइएसएस आयोजनाहरु प्रत्येकको क्षमता ४० मेगावाट/१६० मेगावाट घण्टा हुनेछ । मुल्लेरियामा १५ मेगावाट/६० मेगावाट घण्टा र एरियाकोडमा ३० मेगावाट/१२० मेगावाट घण्टा क्षमताको स्थापना गरिने छ ।
केएसइबीले यी आयोजनाहरू राष्ट्रिय जलविद्युत् निगम लिमिटेड (एनएचपिसी) मार्फत कार्यान्वयनमा लाने प्रस्ताव गरेको छ । संघीय विद्युत् मन्त्रालयले बिइएसएस प्रणाली विकासका लागि भायबलिटी ग्याप फण्डिङ (भिजिएफ) योजना अन्तर्गत एनएचपिसीलाई बिइएसएस कार्यान्वयन एजेन्सी (बिआइए) का रूपमा नियुक्त गरेको हो ।
एनएचपिसीले १५ महिनाभित्र यी आयोजना निर्माण सम्पन्न गर्नुपर्ने छ तर आयोगले केएसइबी र एनएचपिसीलाई परियोजनाहरू तोकिएको समयभन्दा अघि सम्पन्न गर्न सकिने सम्भावना खोज्न पनि निर्देशन दिएको छ ।
यसैगरी, आयोगले एनएचपिसीद्वारा छनोट गरिएका ४ आयोजना विकास कम्पनीहरूले तोकेको मासिक क्षमता शुल्कलाई पनि स्वीकृति दिएको छ ।