काठमाडौं । दोलखाका गौरीशंकर गाउँपालिका वडा नम्बर ७ मार्बूका फुर्लाक्पा शेर्पा १० वर्ष अघिसम्म गाउँमा सामान्य कामबाट जीविका चलाउँथे । रोजगारीका सिलसिलामा सिक्किम पुगे । त्यहाँ सुरुङ काम थाले । गाउँमै ४० मेगावाट क्षमताका खानी खोला-१ जलविद्युत आयोजना निर्माण हुने भएपछि गाउँ फर्किए । गाउँमा आयोजनाले सडक र सुरुङको काम सुरु गर्यो । शेर्पाले पनि केही सीप जानेका मान्छे लिएर सुरुङकै काम थाले ।
गाउँमै कामसँगै अनुभव बढ्दै गयो । त्यसपछि सिन्धुपाल्चोकमा अर्को जलविद्युत आयोजनाकै काम लिए । ३ वर्ष त्यहाँ विताएपछि अहिले अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको रोल्वालिङ जलविद्युत आयोजनाको सुरुङकै काम गर्दै छन् । सामान्य कामबाट सुरु गरेका शेर्पा अहिले ठूला सुरुङको ठेक्का लिनेसम्मका भएका छन् । रोल्वालिङमा शेर्पाले कामको जिम्मा लिएपछि कामले गति लिएको छ । परीक्षण सुरुङको रूपमा निर्माण भइरहेको २ वटा सुरुङकाे ५ सय मिटर तयार भइसकेको छ ।
विगू गाउँपालिका १ लामाबगरका सोनाम शेर्पा पनि अहिले सुरुङकै काम गर्दै छन् । नासा हाइड्रो पावरले निर्माण गरेको ११०० मिटर लामो लामाबगर सुरुङमार्ग उनले ठेक्का लिएर सम्पन्न गरे । सोनामको पनि सुरुङमा काम गरेको पुरानो अनुभव होइन । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठेकेदार कम्पनी सिनो हाइड्रोमा सामान्य जागिर खाँदा सुरुङ निर्माणको काममा भित्र जाँदा आउँदा नै उनलाई सुरुङ बनाउने आँट आएको हो ।
सुरुङ निर्माणमा यी दुई शेर्पा प्रतिनिधि उदाहरण मात्र हुन् । गाउँमा जलविद्युत आयोजनाले काम सुरु गरेपछि सामान्य मजदुर भएर काम गर्नेहरू केही व्यक्तिहरू सुरुङकै ठेक्का लिने र काम पूरा गर्न सक्ने भएका छन् । यसरी दोलखाको लामाबगर, गौरीशंकर, मार्बू लगायतका ठाउँमा निर्माण भएका र निर्माणाधीन जलविद्युत आयोजनाले धेरै नागरिकमा जागिरसँगै अनुभव र सीप हस्तान्तरण भएको छ ।
केही वर्षसम्म सुरुङ नै नदेखेकाहरू अहिले सुरुङमा अभ्यस्त हुन थालेका छन् । सुरुङ भन्ने नेपालीले पनि बनाउन सक्छ र ? भन्ने अवस्था थियो । जलविद्युत आयोजनाहरूकै कारण सुरुङ निर्माण दिनप्रतिदिन थपिदो अवस्थामा छ ।
१० वर्षमा १६ किलोमिटर सुरुङ निर्माण गरेको माथिल्लो तामाकोसीले लामाबगरको काब्रे भीरमा ३४० मिटर लामो सुरुङमार्ग निर्माण गरेको छ । सुरुङभित्र नछिरेकाहरूलाई लामाबगर यात्रामा यही सुरुङ प्रयोग गर्नु पर्छ । केही महिनापछि लप्ची जानेहरूका लागि पनि लामाबगरमै निर्माण भएको ११०० मिटर लामो लामाबगर सुरुङमार्ग प्रयोग हुन्छ । यो नेपालको हालसम्मको लामो सुरुङमार्ग हो ।
दोलखामा निर्माण भएको माथिल्लो तामाकोसीमा स्थानीय जनशक्तिको रुपमा नेपालीले सुरुङमै काम गरे । निर्माणाधीन खानी खोला, लप्ची, खिम्ती २ जलविद्युत आयोजनामा नेपालीहरू नै ठेकेदार वा श्रमिकको रुपमा काम गर्दै छन् ।
पछिल्लो समय सडकमा पनि सुरुङमार्ग सुरु भएको छ । जलविद्युत आयोजनहरू वा नदी फर्काउने आयोजना धेरैतिर सुरुङ निर्माणको कामले तिब्रता पाउँदा सुरुङमा काम गर्न सीप जानेकाहरूको कामको अभाव पनि नहुने र कमाइ पनि राम्रो हुने गुल्मीबाट खिम्ती २ मा आएर बुमर चलाउँदै गरेका हरिबहादुर थापाको अनुभव छ ।
थापाले सुरुङभित्र काम थालेको ३७ वर्ष भयो । रोजगारीका सिलसिलामा भारतका विभिन्न स्थानमा पुगेका थापा भारतीय भुमी जम्बु कास्मिर, गडवाल, मनिपुर, दिल्ली लगायतका ठाउँमा पुगे त्यही सुरुङ र रेलमार्गमा काम सिके । अहिले स्वदेशकै जलविद्युत आयोजनाहरूमा सुरुङ खन्ने काम गर्दै आएका छन् ।
पिपुल्स इनर्जी लिमिटेडले निर्माण गरिरहेको खिम्ती–२ जलविद्युत आयोजनामा सबै किसिमका ८ किलोमिटर सुरुङ निर्माण गर्नुपर्छ । डेढवर्षमा २ किलोमिटर सुरुङ निर्माण भइसकेको छ । ६ ठाउँबाट खन्न थालिएको सुरुङको ४ ठाउँमा भने मानवीय पाखुराकै बलमा खनिन्छ ।
जलविद्युत आयोजनाका सुरुङमा काम गर्ने विदेशी मात्र हुन्छन् भन्ने मान्यता अहिले जलविद्युत आयोजनाहरूकै कारण स्वदेशी जनशक्ति उत्पादन हुँदै आएको छ । सुरुङमा ड्रिलिङ गर्ने, खनिएका प्वालमा बारुद हाल्ने, विस्फोट गराउने, सफा गर्ने र बालुवा र सिमेन्टको घोल छर्किने काममा मानवीय जनशक्ति प्रयोग हुन्छन् । यस्ता सिप सिकेकाहरूको कामको पनि अभाव नहुने र पारिश्रमिक पनि राम्रो पाउँछन् । तिनै मध्येका एक दैलेखदेखि आएको दिपक शाही पनि एक हुन् । दिपक जस्तै धेरै जना सुरुङ भित्रको काम गर्छन् ।
दोलखा र रामेछापको सिमाना भएर बग्ने खिम्ती खोलामा निर्माणाधिन आयोजनामा स्थानीयहरू समेतको लगानी छ । आयोजनाले सीप अनुसारको स्थानीयलाई रोजगारीमा प्राथमिकता दिएको छ । २२ वर्ष अघि नै ६० मेगावाटको निजी क्षेत्रकै ठूलो खिम्ती १ जलविद्युत आयोजना निर्माण भएर सञ्चालनमा आएको दोलखामा त्यसैको केही माथि खिम्ती–२ निर्माण भइरहेको छ । अहिले महिलाहरू समेत सुरुङभित्र काम गर्न थालेका छन् ।