विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ मङ्सिर २, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
बल्ल सुरु भयो जलविद्युत प्रवर्द्धकहरूको अग्निपरीक्षा

काठमाडौं । विद्युत आयोजनाको समयमा विद्युत खरिद सम्झौता (पिपिए) नभएको भन्दै गुनासो गर्दै आएको निजी क्षेत्रका लागि सरकारले यसमा केही लचिलो व्यवस्था गरेको छ । पिपिएमा खुकुलो प्रावधान त राखिएको छ नै, सँगसँगै पिपिए गरिदिएर पनि तोकिएको समयमा लगानी जुटाउन नसके अनुमतिपत्र नै खारेज गर्ने कडा व्यवस्था समेत राखेको छ ।

‘विद्युत खरिद बिक्री सम्झौता गर्ने सम्बन्धमा नीतिगत व्यवस्था सम्बन्धी प्रतिवेदनमा उक्त व्यवस्थाहरू राख्दै बैंकमा राखिएको जमानत (ग्यारेन्टी) रकमसमेत जफत हुने व्यवस्था गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दिपकुमार देवको संयोजकत्वमा गठित समितिले तयार गरेको प्रतिवेदनमा थप पिपिए खुलाउने, सहजीकरण गर्ने लगायत व्यवस्था सिफारिस गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले २०७९ माघ २६ गतेको ९१८औं बैठकबाट ऊर्जा सम्मिश्रणको सीमा भन्दा बढाएर  पिपिए गर्ने सम्बन्धमा प्रतिवेदन तयार गरी पेश गर्न देवको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले यही साउन २१ गते प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई उक्त प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनले ऊर्जा सम्मिश्रण अनुसार यसअघि तय गरिएको नदी प्रवाही (आरओआर) र आंशिकजलाशय (पि–आरओआर) जलविद्युत आयोजनाको पिपिएको कोटा ३५ प्रतिशतसम्म वृद्धि गर्न सिफारिस गरेको छ । सोही आधारमा पिपिए हुने हो भने अब ३९३७ मेगावाट बराबरका आयोजनाको पिपिए गर्नुपर्ने हुन्छ । प्रतिवेदनले पि–आरओआर आयोजनाको हकमा यसअघि न्यूनतम १ घन्टा पिकिङ हुनुपर्ने प्रावधान परिवर्तन गरी २ घन्टा कायम गरेको छ ।

यसैगरी, हिउँदमा कूल उत्पादित ऊर्जाको ३० प्रतिशत पुग्नैपर्ने व्यवस्था खारेज गरी हिउँद र बर्खाको अवधि ६–६ महिना गणना हुने नयाँ व्यवस्था प्रस्ताव गरेको छ । पिपिए गर्दा ‘क्यू४०’को प्रावधानलाई पूर्णतः खुला गरी आयोजनाको अधिकतम सम्भाव्यता (प्रोब्याब्लिटी अफ एक्सिडेन्स–पिओई) लाई आधार मानिने उल्लेख छ ।

यसअघि पिपिए भई लगानी जुटाउन बाँकी रहेका १०० मेगावाटभन्दा माथिका आयोजना (आरओआर र पि–आरओआर) को हकमा अनिवार्य अधिकतम १७ प्रतिशत प्रतिफल (रिटर्न अन इक्विटी) को व्यवस्था हटाउने प्रस्ताव गरिएको छ । प्रतिवेदन अनुसार यो प्रावधान हालसम्म पिपिए भई लगानी जुटाउन बाँकी रहेका स्वदेशी लगानीका आयोजनाका लागि मात्र हुने उल्लेख छ ।

यी सबै व्यवस्था भएर पनि लगानी जुटाउन नसक्ने आयोजनाका प्रवर्द्धकको पिपिए, उत्पादन तथा सर्वेक्षण अनुमतिपत्र समेत खारेज गरिने उल्लेख छ । प्रतिवेदनको सिफारिस खण्ड ६ को १३ नम्बरमा भनिएको छ–  १०० मेगावाटसम्मका सबै प्रारूपका जलविद्युत आयोजनाहरूको हकमा पिपिए सम्पन्न भएको मितिले २ वर्षसम्ममा र १०० मेगावाटभन्दा माथिका सबै प्रारूपमा जलविद्युत आयोजनाहरूको हकमा पिपिए सम्पन्न भएको मितिले ३ वर्षसम्म वित्तीय व्यवस्थापन हुन नसकेमा उत्पादन अनुमतिपत्र र पिपिएका जुनसुकै दफामा जेसुकै लेखिएको भए तापनि नेपाल विद्युत प्राधिकरणले उक्त पिपिए खारेज गर्ने । उक्त आयोजनाका लागि राखिएको बैंक जमानत जफत गर्ने ।

यसैगरी, सिफारिस खण्डको १४ नम्बरमा ‘बुँदा नं. १३ मा गरिएको व्यवस्था अनुसार जलविद्युत आयोजनाको पिपिए खारेज भई सोको जानकारी नेपाल विद्युत प्राधिकरणबाट विद्युत विकास विभागलाई प्राप्त भएपश्चात् उक्त आयोजनाको सर्वेक्षण÷उत्पादन अनुमतिपत्र खारेज गर्ने’ उल्लेख छ ।

यो व्यवस्था कार्यान्वयनमा आयो भने साँच्चै निजी जलविद्युत प्रवर्द्धकलाई अप्ठ्यारो पर्ने देखिन्छ । यद्यपि, केही सक्षम प्रवर्द्धकलाई यसले समस्या पारे पनि अनुमतिपत्र लिएर लगानी खोज्ने भन्दै दशकौंसम्म अल्मलिएर बस्नेलाई भने २ वा ३ वर्षपछि छुट नहुने व्यवस्थालाई अन्यथा मान्न सकिँदैन । सरकारले ल्याएको यस्तो व्यवस्थालाई भने निजी क्षेत्रले सरासर अस्वीकार गरेको छ ।

अध्ययन समितिले पिपिएको दरमा भने कुनै पुनरावलोकन गर्ने कुरा सिफारिस गरेको छैन तर सरकार र प्राधिकरणका सहायक कम्पनीले निर्माण गर्ने आयोजनाको पिपिए गर्दा त्यसलाई पहिलो प्राथमिकता दिने भनिएको छ । यस्तै, १० मेगावाटसम्मका आयोजनाको पिपिए गर्दा समेत सो भन्दा बढी क्षमताका लागि भन्दा बढी प्राथमिकतामा राखी पिपिए गर्ने समेत उल्लेख छ । यसबाट साना आयोजना विकासमा लागेका प्रवद्र्धकहरूलाई लाभ हुने देखिन्छ ।

सरकारले ०७५ मा ऊर्जा श्वेतपत्र जारी गर्दै १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको थियो । सोही कोटामै पिपिए गर्ने सरकारी नीति छ । अब त्यसलाई ३५ प्रतिशत बढाएर २० हजार २५० मेगावाट पुर्याउने समितिको सिफारिस छ । त्यसअनुसार आरओआर, पिआरओआर, जलाशय, सोलारतर्फ पाँच हजार २५० मेगावाट कोटा थप्न समितिले सिफारिस गरेको प्रतिवेदनमा उल्लेख छ ।

आरओआरको पिपिए ९ हजार पुग्ने

समितिको उक्त प्रावधान (३५ प्रतिशत वृद्धि) कार्यान्वन हुँदा आरओआर आयोजनाहरूको पिपिएको सीमा ९११२.५० मेगावाट पुग्ने देखिन्छ । र पिआरओआर आयोजनातर्फ मात्रै झन्डै चार हजार कोटा थपिने देखिन्छ । जबकि, अहिलेसम्म यस्ता प्रारूपमा आयोजनाको पिपिए सीमा ६७५० मेगावाट छ र यो पूरा भइसकेको छ । यस्तै, पि–आरओआरतर्फ यसअघिको सीमा ४५०० मेगावाटमा १५७५ मेगावाट थपिई ६०७५ मेगावाट पुग्नेछ ।

प्रतिवेदन अनुसार समग्रमा आरओआर र पिआरओआर गरी क्रमशः २३६२.५ मेगावाट र १५७५ मेगावाट गरी ३९३७.५० मेगावाट बराबरका आयोजनाको पिपिए हुने देखिन्छ । यद्यपि, निजी क्षेत्रका आयोजनासँग पिपिए गर्दा बजारको माग र निर्यातको सम्भावनाका आधारमा गरिने उल्लेख छ । यसलाई पनि निजी क्षेत्रले अस्वीकार गरेका छन् ।

जलाशय आयोजनाको अवधि ५० वर्ष

समितिको सिफारिसमा जलाशय तथा पम्प स्टोरेज आयोजनाको उत्पादन अनुमतिपत्रको अवधि सुरुमा ४५ वर्ष कायम गरिएको छ । यद्यपि, काबुबाहिरको परिस्थिति सिर्जना भई विद्युत आयोजना निर्माणमा बाधा पर्ने देखिएमा अनुमतिपत्रको म्याद ५ वर्षसम्म थप गर्ने भन्ने छ । यो व्यवस्था अहिले विचाराधीन अवस्थामा रहेको नयाँ विद्युत ऐनमा समेत समेटिएको छ ।

जलाशय तथा पम्प स्टोरेजको पिएि गर्दा आयोजनाको अनुमानित लागत, ऋणको स्रोत तथा ब्याजदर, ऋणको सावाँ ब्याजको भुक्तानी प्रक्रिया, निर्माण तथा सञ्चालनमा प्राप्त हुने अनुदान लगायत विषयलाई आधार मानिने भएको छ । आरओआर र पि–आरओआर आयोजनाको पिपिए सीमा बढाउँदा जलाशयतर्फको कोटा खुम्चिएको छ । यद्यपि, यो प्रावधान २०७५ साल बैशाख २५ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जारी गरेको श्वेतपत्रमा टेकेर गरिएकोले यही नै पूर्ण नियम भन्ने हुँदैन । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३