काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले 'ऊर्जा सम्मेलन-२०८२ (पावर समिट-२०२५)’ को प्रतिक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । आगामी असोज २९ र ३० गते (१५–१६ अक्टोबर,२०२५) काठमाडौँमा आयोजना हुन लागेको नवौँ संस्करणको सम्मेलनका लागि नेपालको समग्रह ऊर्जा क्षेत्रलाई दर्शाउने दृश्यसहितको प्रतिक चिन्ह सार्वजनिक गरेको हो ।
'अभियान २८५०० मेगावाट : नेपाललाई ऊर्जावान बनाउँदै, क्षेत्रलाई सशक्त बनाउँदै, (मिसन २८,५०० मेगावाट : पावरिङ नेपाल, इनर्जाइजिङ रिजन)’ भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनकाे प्रतिक चिन्हमा नेपालको ऊर्जा क्षेत्रमा भइरहेको तीव्र विकास र भविष्यको उच्चस्तरको सम्भावना देखाइएको छ ।
यसको मूलखण्डमा रहेको हरियो पातजस्तै संरचनाले दिगोपनको सङ्केत गरेको छ भने, यहाँबाट नेपालको ऊर्जा उत्पादनका विभिन्न स्रोतहरू जस्तो जलविद्युत्, साैर्य विद्युत्, वायु ऊर्जालगायत पनि देखाइएको इपानले जनाएको छ ।
इपानका अनुसार प्रतिक चिन्हमा ठूलो आकारमा देखाइएको जलविद्युत् आयोजनाले नेपालको विशाल जलस्रोत क्षमता र स्वच्छ ऊर्जाको मुख्य आधार नै जलविद्युत हो भन्ने दर्शाउँछ । यसको छेउमा देखिएका आधुनिक ब्याट्री ऊर्जा भण्डारण प्रणालीहरूले नेपालको ऊर्जा सुरक्षातर्फको यात्रालाई झल्काएको छ । त्यस्तै, सौर्य ऊर्जा लगायतले नवीकरणीय ऊर्जातर्फको विविधीकरणको पनि एकसाथ सङ्केत गरेको छ ।
पहाड र हिमालभर देखिएका प्रसारण लाइनले नेपालमको विद्युत् सीमापारका बजारमा बिक्री गर्ने अन्तरदेशीय विद्युत् व्यापारको तयारीलाई झल्काएको छ ।
विद्युतीय सवारी चार्जिङ केन्द्र, औद्योगिक क्षेत्र र सडक बत्तीहरूले उत्पादन भएको ऊर्जा देशका विभिन्न क्षेत्रमा कसरी प्रयोग भइरहेको छ भन्ने देखाएको छ । प्रतिक चिन्हमा प्रयोग भएका यी कुराले नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउँदै दक्षिण एशियाली क्षेत्रलाई ऊर्जा निर्यात गर्ने सम्भावनातर्फ लैजाने राष्ट्रको दूरदर्शी यात्रालाई प्रतिबिम्बित गरेका छन् ।
पावर समिटको संरक्षकत्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरेको छ भने देशीय मित्रकाे रूपमा भारतीय राजदूतावास रहेको छ । सम्मेलनमा १० वटा विभिन्न समसामयिक सत्रहरूमा छलफल हुने छन् । ३० देशका १ हजार भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने अनुमान गरिएको छ ।