विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

विराटनगरको सरस्वती हाइस्कुलबाट दिएको एसएलसीमा जम्मा ४ जना मात्र प्रथम श्रेणीमा पास भएको मध्ये एकजना म पनि थिएँ । त्यो सरकारी स्कुलको उतीर्ण प्रतिशत पनि निक्कै न्यून थियो (२०% जस्तो लाग्छ) । २०४३ को कुरो हो, सो बेलासम्म पनि एसएलसीमा अलि राम्रो नतिजा आए कलेजमा कि त साइन्स लिएर आइएस्सी पढ्ने अनि स्नातकमा भरसक “प्लान” पाएर इन्जिनियर वा डाक्टर हुने l

अर्को विकल्प चै प्राविधिक विषय पढेर ओभरसियर वा हेल्थ असिस्टेन्ट (एचए) वा वन, कृषि विज्ञान पढ्ने पनि चलन थियो । तेस्रो विकल्प आइएस्सी बिएस्सी हुँदै अरू विषय पढ्ने । आर्टस, कमर्शतिर जाने अलि कमै हुन्थे l सोही बमोजिम हाम्रो फस्ट ब्वाई किशाेर बराल रेन्जर (वन विज्ञान) पढ्न हेटौंडा गए भने बाँकी हामी ३ मध्ये उर्मीसेन, म फिजिकल ग्रुप र अर्को साथी किरन सुवेदी बायो ग्रुपमा महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरमा आवेदन दिई नाम निकालेर आइएस्सी पढन सुरु गर्याे ।

साथी सुमनकुमार कर्णले पनि फिजिकलमा र नविन के शर्माले बायो ग्रुपमा नाम निकाले । त्याे बेला विदेशमा बिई (इन्जिनियरिङ) मा नाम निकाल्न आइएस्सीको प्रतिशत, पिसिएम (फिजिक्स, केमेस्ट्री, म्याथ) को औसत मार्कको बढी महत्त्व हुने हुँदा परीक्षा सन्तोषप्रद नभए पुन: दोहोर्याएर पढ्ने ट्रेन्ड थियो । सोही बमोजिम मैले पनि पहिलाे वर्षकाे परीक्षा अलि चित्त बुझ्दो नभएकोले ड्रप गरेर पुन: पढे (तर पछि नतिजामा ५६-५७% सहित पास भएको रहेछु) ।

पुल्चोक इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङमात्र थियो, त्यो पनि सिमित सिट र सित्तैमा (पूर्ण छात्रवृतिमा) पढ्न त केही सिटमात्र होला । आफूलाई त केही आइडिया नै थिएन र त्यता छिर्ने सोच्दै सोचिएन । यसो गर्दा अन्तिम नतिजा ७०% ल्याएर आएस्सी पास गरियो र पिसिएम पनि राम्रै थियो । सो क्याम्पसमा एकै ब्याचमा ७०% प्लस मार्क ल्याई आइएस्सी पास गर्ने हामी ९-१० जना थियौं जस्तो लाग्छ, जुन केही वर्ष यताकै ठूलो संख्या थियो ।

त्यो नतिजा आएलगत्तै देशमा पञ्चायत विरोधी ठूलो जनान्दोलन सुरु हुन लागेको थियो । केही साथीहरू सर्टिफिकेट बोकेर राजधानीमै अड्डा जमाइसकेका थिए भने मैले कमजाेर आर्थिक अवस्था र घरबाहिर कहिल्यै नबसेको कारण विराटनगरबाटै बरु बिईको फर्म भर्न/अन्तर्वार्ता दिनमात्र काठमाडौं आउने सोच बनाएँ । स्कुलदेखि आइएस्सी पढुञ्जेल स्कुल र क्याम्पसले छात्रवृति दिएको थियो (फिस मिनाहा थियो) ।

हामी टपरहरूमध्ये राजेश सापकाेटा र मबाहेक सबै काठमाडौं आए । यसरी सोभियत संघ, अस्ट्रेलिया लगायत देशबाट शिक्षा मन्त्रालय, केशरमहलमार्फत आउने प्लानका कोटामा फर्म भरियो; अन्तर्वार्ता दिइयो तर नाम भने निस्केन । यस बेला विदेशबाट आउने छात्रवृत्तिको कोटालाई हाम्रो जनजिब्रोले “प्लान” पाएर पढ्न जाने भन्थ्यो । एक पटक कुनै यस्तै फर्म भर्न आउँदा जनान्दोलन २०४६ को चरम बेला थियो । अनि, म काठमाडौंमा फसेँ, फर्किन सकिनँ, रमाइलो पनि थियो आन्दोलनको ।

आन्दोलन चरमोत्कर्षमा पुग्दा र पञ्चायत ढल्दाको बेलामा राजधानीमै दिदीको घर महाराजगञ्ज चुनदेवीमा बसेको थिएँ । चैत २७ गते बिहान ९ बजेदेखि राति ७-८ बजेसम्म भान्जा सुदेश शर्मासँगै विजय-जुलुस र टुँडीखेलाको चर्चित आमसभा (गणेशमान, मनमोहन, पद्मरत्न, गिरिजाबाबु, झलनाथ आदिले सम्बोधन गरेको) अनि पैदलै घर फर्केको क्षणको प्रत्यक्ष सहभागी म पनि हुँ ।

यसबीच केही साथीहरूले नाम निकालेर पढन गए, कोही काठमाडौंमै बिएस्सी पढ्दै प्रयास गर्दै बसे; म भने गृहनगर फर्केर बिएस्सी भर्ना गरेर पढ्न थालेँ । जोश जाँगर सेलाउँदै गएको थियो l यसैबीचमा साथी राजेशले २०४७ साल असोज कात्तिकतिर मलाई भने, "भारतीय दूतावासले कोलम्बो प्लान खोलेको छ रे, फारम नभर्ने ?"

"खोइ, होला र ?" भन्दै फारम भर्न नाइट बस चढेर पुन: काठमाडौं आएँ ।

स्कुले बच्चालाई ट्युसन पढाएको पैसाले गाडी-भाडा पुगीहाल्थ्याे । भारतीय दूतावास लैनचौर गएर फारम ल्याइयाे । सम्झना भएसम्म एलएलसी, आइएस्सी र पिसिएम प्रतिशतकाे आधारमा चयन हुनेरहेछ अनि अन्तिममा २ जना कोही वरिष्ठको सिफारिस पनि सलग्न गर्नुपर्ने थियो । मलाई यस विषयमा केही थाहा थिएन । अनि, डिल्लीबजारमा एकजना दाजु बस्नुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्ने, उहाँको सहयोगमा फारम भरेर बुझाएँ । उहाँले एक जना त्रिविकै प्रोफेसर र अर्को एकको सिफारिसपत्र संलग्न गरिदिएजस्तो लाग्छ । फारममा सम्पर्क फोन चाहिन्थ्यो, जसमा मैले काठमाडौंमा दिदीको घरको नम्बर दिएको थिएँ, कारण न त विराटनगर आफ्नो घरमा फोन थियो न त अर्को कसैको घर/अफिसको भरपर्दो फोन नम्बर ।

विराटनगर फर्केर पुन: बिएस्सीकाे पढाइ निरन्तरता दिएँ । पहिलो वर्षको परीक्षा नजिक आउँदै थियो तर जिन्दगीमा पहिलाे पटक पढाइमा ल्याङफ्याङे ताल सोही बेला भयाे । गम्भीर भएर पढिएकै थिएन ।

यतिकैमा एक दिन आयो; २०४८ साल असार २६ गते बुधबार भान्जी जुनिला भट्टराईलाई इलामबाट कुनै अपरेशन गर्न कोसी अञ्चल अस्पताल ल्याइएको थियो ।

उनलाई हेरेर घर फर्किँदा आमाले भन्नुभो- ....

पुनश्च: यो मितिसम्म हामीमध्ये वेद काफ्ले, महेश शर्मा र द्राेण रेग्मी लाहोर (पाकिस्तान), प्रकाश भट्टराई रुड्की युनिभर्सिटी र गणेश पोख्रेल सोभियत रुसमा "प्लान" पाएर पढन गइसकेका थिए ।

क्रमशः

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३