एकछिन बिजुली जाँदा कस्तो छट्पट हुन्छ ? ग्यास सकिएर कहिलेकाहीँ भोकै पर्नु भएको पनि होला ! सवारीमा पेट्रोल सकिएर ठेल्दै पेट्रोलपम्पमा लगेको अनुभव छ ? अझ बन्द, हड्ताल अनि नाकाबन्दीको बेला ग्यास र तेललगायत इन्धनको हाहाकार पक्कै बिर्सिनुभएको छैन । यस्ता अरू पनि धेरै घटना होलान्, जुन तपाईं हाम्रा स्मृतिमा नबिर्सिने गरी बसेका छन् ।
यति स्मरण गरेपछि ऊर्जाले हाम्रो जीवनमा पारेको प्रभावबारे कुनै लामो ब्याख्याको आवश्यकता पर्दैन होला । किनभने, ऊर्जा अभाव भोगिसकेका हामी सबैले यसको महत्त्वबारे बुझेका छौँ ।
अहिलेको २१ औँ शताब्दी अर्थात् प्रविधिक युगका युवा, नयाँ अवसर खोज्न र उपयोग गर्न चाहन्छन् । युवा भन्नासाथ जोशिला, जाँगरिला, फुर्तिला मानिसको तस्बिर हाम्रा दृष्टिमा आउँछ । बूढापाकाले जिउँदो जाँगर भनेजस्तै शारीरिक तथा मानसिकरूपले पूर्ण सक्रिय मानिस नै युवा हुन् भन्नु अन्यथा हुँदैन ।
ऊर्जाले वा ऊर्जाको स्रोतले मुलुकको शक्ति, आर्थिक पक्ष र विकासको स्तरमा प्रत्यक्ष प्रभाव पार्छ । अझ अहिले अनुसन्धान भइरहेको ऊर्जाको नयाँ वैकल्पिक स्रोत सफल भए महाशक्ति राष्ट्रको श्रेणीको रूप परिर्वतन नहोला भन्न सकिन्न । यिनै कारणले ऊर्जाका विविध स्रोत आविष्कार गर्न होडबाजी चलिरहेको छ । ऊर्जाको विकासमा विश्वभरि अर्बाैं लगानी भइरहेको छ ।
युवाले बुझेको ‘ऊर्जा’
ऊर्जा विकसित, विकासशील र अविकसित जुनसुकै मुलुकको उन्नतिका निम्ति प्रमुख आवश्यकता हो । विकसित राष्ट्रहरूले त ऊर्जाको नयाँ स्रोतको खोज/अनुसन्धानमा ठूलो लगानी गरिरहेका छन् । अहिले हरित हाइड्रोजन लगायत ऊर्जा स्रोतहरू विकासको चर्चा छ । ऊर्जा यस्तो साधन हो, जसको माग कहिल्यै घट्दैन । वृद्धि मात्र हुन्छ । ऊर्जाको कमी भए वा सङ्कट परे प्रविधिकरूपमा अघि बढिसकेको हाम्रो समाजमा भोकमरी भएजस्तै हाहाकार मच्चिन्छ । पृथ्वीमा सीमित परिमाणमा रहेको खनिज ऊर्जाको विकल्पको खोजी भइरहेको छ । विकल्पका रूपमा उत्पादनको सम्भावना भएका स्रोत–साधनको अध्ययन र खोजी भइरहेको छ ।
हाल, खनिज ऊर्जाको प्रमुख विकल्पमा विभिन्न किसिमले उत्पादित ऊर्जा वा विद्युत् उपयोग हुने गरेको छ । सौर्य ऊर्जा (सोलार), हाइड्रोजन र वायु (विन्ड मिल) बाट उत्पादित ऊर्जा पनि प्रयोग हुँदै आएको छ । अहिले विद्युतीय र ग्यास गिजरको साटो सोलार गिजर प्रयोग हुन थालेको छ । ग्यास–चुलोको साटो इन्डक्सनको प्रयोग पनि बढ्दै छ । डिजेल र पेट्रोलले चल्ने सवारीको ठाउँमा विद्युतीयको उपयोग बढ्दै छ । अचेल बजारमा पेट्रोल र विद्युतीय ट्याक्सी बराबरजस्तै देखिने गरेका छन् । सौर्य ऊर्जाको प्रयोग पनि बढ्दो छ ।
खनिज ऊर्जाको विकल्पमा प्रयोग गर्न सकिने सबै प्रकारका सम्भावित स्रोतको अध्ययन, अनुसन्धान र उपयोग पनि हुँदैछ । अनेकौँ ऊर्जाका नयाँ प्रकार र प्रयोग निरन्तर विकसित र आविष्कार हुने क्रम रोकिएको छैन ।
प्रविधिको विकाससँगै नयाँ कुरा क्रमशः प्रयोगमा आइरहेका छन् । एआई (आर्टिफिसिएल इन्टेलिजेन्स) को प्रयोग मानव सभ्यताका लागि लाभदायक वा हानिकारक जस्ता विषयमा बहस विर्मश चलिरहेको छ । भौतिक निर्माणदेखि दैनिक जीवनयापनसम्म नभई नहुने ऊर्जाले हरेक प्रविधिको क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका निर्वाह गरिरहेको छ । ऊर्जाले वा ऊर्जाको स्रोतले मुलुकको शक्ति, आर्थिक पक्ष र विकासको स्तरमा प्रत्यक्ष प्रभाव पार्छ । अझ अहिले अनुसन्धान भइरहेको ऊर्जाको नयाँ वैकल्पिक स्रोत सफल भए महाशक्ति राष्ट्रको श्रेणीको रूप परिर्वतन नहोला भन्न सकिन्न । यिनै कारणले ऊर्जाका विविध स्रोत आविष्कार गर्न होडबाजी चलिरहेको छ । ऊर्जाको विकासमा विश्वभरि अर्बाैं लगानी भइरहेको छ ।
प्राविधिक क्षेत्रमा नेपाल पनि क्रमशः अघि बढ्दै छ । आर्थिक वर्ष २०७९/८० मा विदेशी मुद्रा भियभयाउन प्राविधिक क्षेत्रको ठूलो योगदान रहेको कुरा हामीलाई अवगत छ । प्रविधिको मेरुदण्ड नै ऊर्जा हो । जलस्रोतको धनी राष्ट्र नेपालमा जलस्रोतलाई सिँचाइ, ढुवानी, खानेपानी, पर्यटन र जलविद्युत् उत्पादनमा उपयोग भइरहेको छ । जुन परिणाममा उपलब्ध जलस्रोत प्रयोग भइरहेको छ, त्यो हामीसँगको स्रोतको केही प्रतिशत वा सानो अंशमात्र हो ।
नेपालमा जलविद्युत् उत्पादनको सम्भाव्यता १ लाख मेगावाट रहेको अनुमान गरिएको छ । त्यस्तै, सौर्य विद्युत् र वायु ऊर्जाको समेत प्रचुर सम्भाव्यता देखिन्छ । यद्यपि, आजसम्म देशको प्रसारण प्रणालीमा अहिलेसम्म करिब ३ हजार मेगावाट जडित क्षमता पुगेको छ । केही वर्ष यता लोडसेडिङ हटेको छ । वर्षायाममा विद्युत् उत्पादन बढी भएर निर्यात र हिँउदमा विद्युत् आपूर्ति कम भएर भारतबाट महँगोमा आयात गर्नुपर्ने अवस्था भने अझै छ ।
कुनै बेला चरम लोडसेडिङको अनुभवले हाम्रो दैनिक जीवनमा ऊर्जाको महत्त्व देखाएको छ । यसले दैनिक जीवन कति सहज बनाएको छ, प्रष्ट पारेको छ । अझ कोभिड–१९ संक्रमण र लकडाउनको समयमा अध्ययन अध्यापनदेखि सरकारी कार्यालय तथा निजी कम्पनीका सबै काम–कारबाही डिजिटल भएको अनुभवले पनि हामीलाई ऊर्जा हाम्रो जीवनको अत्यन्त अपरिहार्य अङ्ग भएको देखाएको छ ।
उद्योग, कल काराखानालगायतका लागि विद्युत् मुख्य पूर्वाधार हो । ऊर्जाको प्रयोग गरेर वस्तु उत्पादन गरी, कच्चा पदार्थको साटो उपभोगका लागि तयार वस्तु निर्यात गर्नसके अर्थतन्त्रमा समेत टेवा पुग्छ । उपलब्ध विद्युत्मध्ये बढी भएको विद्युत् थोरै मूल्यमा निर्यात गर्नुभन्दा देशमा रहेका उद्योग, कलकारखानालाई सहुलियत दरमा दिएर विद्युत् खपत बढाउन सकिन्छ, यसले अर्थतन्त्र सबल बनाउन सघाउँछ ।
हामी ऊर्जाको उपयोग परम्परागत कृषिलाई आधुनिक बनाउन पनि उपयोग गर्न सक्छाैँ । मेसिन, उपकरण, सिँचाइ, प्रशोधन, ढुवानीमा ऊर्जाको उपयोगले कृषि उत्पादनको लागत घटाउन र समयमै बजारमा पुर्याएर कृषिमा आमूल परिर्वतन गर्न सकिन्छ । यस्ता सम्भावनाका क्षेत्र प्रचुर छन् ।
ऊर्जा क्षेत्रका समस्या
नेपालमा पिकआवर (विद्युत् खपत उच्च हुने समय) मा बत्ती गइरहनेबाहेक पनि अनेकौँ समस्या आइरहेका हुन्छन्, जसले विद्युत् आपूर्तिको विश्वसनीयतामा नै शंका उत्पन्न गराउँछ । यसरी निरन्तर बत्ती जाँदा विभिन्न पक्षबाट घाटा लाग्छ । आफ्नो घर वरिपरि बाटोमा कुरूप देखिने अव्यवस्थित तारका गुच्छा, ढल्किएका खम्बा, असहज ठाउँमा राखिएका विद्युतीय सामाग्री तथा काटिएर, लत्रिएका तार असरल्ल यत्रतत्र देख्छाैँ । समाचार हेर्दा सुन्दा र पढ्दा पनि विद्युत्का कारण जनधनको क्षति भएका खबर दैनिकजसो आइरहेका हुन्छन् । दैनिक देखिने भोगिने समस्या हुन् यी सबै । यी समस्याका कारणहरू र प्रभाव पार्ने धेरै पक्षहरूमध्ये केही निम्नानुसार छन्ः
उपभोक्ताः हामी उपभोक्ता पनि यी समस्याका एक कारक हौँ । हामीले आफ्नो घरका विद्युत्को वायरिङ गर्दा विद्युत् प्रवाह क्षमता वा शक्तिभन्दा पनि खर्च कटौतीलाई प्रधानता दिएर कमसल तार, सामान प्रयोग गर्छौँ र हेलचेक्रयाईं गर्छौँ । हाम्रो घरमा आउने विद्युत्को शक्ति र प्रयोग गरिएका उपकरणको क्षमताबारे कमैलाई माात्र जानकारी होला । के तपाईँलाई जानकारी छ ? यस्ता कुरालाई खासै वास्ता गर्दैनाैँ हामी । विद्युत्को क्षमताअनुरूप वायरिङ गरिएका घर आवास न्यून सङ्ख्यामा मात्र होलान् । यो पनि दुर्घटनाको एउटा कारक हो ।
अहिले हाम्रो जीवनको अत्यावश्यक अंश बनेको इन्टरनेट नजोडेका सायदै कोही होला । अझ हामी शहरका बासिन्दा भए कैयाैँ इन्टरनेट सेवा प्रदायकका सेवाको भुक्तभोगी पनि छाैँ । परिर्वतन भइरहने इन्टरनेटको प्रविधि र उपकरणसँग यसका लागि प्रयोग हुने तार (अप्टिकल फाइबर) पनि हामीले नयाँ प्रयोग गरिरहेका हुन्छौँ । पुरानो वा प्रयोग नभएको तार हटाउने र चुड्यो भने पनि त्यस्तो ठाउँ खोजेर जोड्न भन्दा पनि नयाँ तार हाल्न प्राथमिकता दिइन्छ । नयाँ तार थपिँदै जाने तर पुराना नहटाउँदा लत्रिएका तारले घर, टोल र सडक कुरूप बनाएको छ नै तारको उचित व्यवस्थापन नगर्दा दुर्घटनाको जोखिम पनि बढेको छ ।
प्रणाली वा सरोकारवालाः विद्युतीय प्रणालीको विश्वसनीय व्यवस्थापन गर्न उपयुक्त नीति नियम आवश्यक छ । जलविद्युत् आयोजना निर्माणदेखि उत्पादित विद्युत् मुख्य प्रशारण प्रणालीमा जोड्न र निर्यात गर्नका लागि सहज र छिटोछरितो प्रक्रियाबाट हुने किसिमका नीति अवलम्बन गर्नुपर्ने हुन्छ, झन्झटिलो र लामो प्रक्रियाले लगानीकर्तालाई निरुत्साहित बनाउँछ । विद्युत् वितरण, व्यवस्थापन प्रणाली र कारबाही प्रक्रिया पनि चुस्तदुरुस्त हुन आवश्यक छ । जसले गर्दा सेवाग्राहीले सेवा र दुरूपयोग गर्ने वा नियम मिच्नेले उति सजाय पाउनेछन् ।
यहाँ उत्पादित विद्युत् देशका उद्योग, कलकारखानालाई प्राथमिकतामा राखेर तिनको ऊर्जा आवश्यकता पूर्ति भएपछि मात्र निर्यात गरिनुपर्छ । विद्युत्को महशुल दरमा सहुलियत दिएर उद्योग, कलकारखानाको उत्पादन वृद्धि गर्न सकेमा रोजगारी सिर्जना हुनुका साथै निर्यात बढ्ने र आयात प्रतिस्थापन भएर अर्थतन्त्रमा सुधार हुन्छ ।
भूगोलः भौगोलिक विकटता पनि विद्युतीय प्रणालीको एउटा ठूलो चुनौती हो । नेपालको क्षेत्रफल सानो भए पनि हिमाल, पहाड र तराई ३ भौगोलिकस्वरूपमा बाँडिएको छ । हरेक भूगोलका आ–आफ्नै विशेषता छन् । यी सबै ठाउँमा भूगोल अनुरूप जलविद्युत्गृह, प्रसारण लाइन लगायतको व्यवस्थापन गर्नु चुनौतीपूर्ण छ । यी बाहेक प्राविधिक वा दक्ष जनशक्ति तथा अध्ययन र अनुसन्धानको अभाव, विद्युत् चोरी, राजनीतिकरण र भष्ट्राचार लगायत समस्या पनि छन् ।
यी सबै समस्याका बाबजुद पनि हामी लोडसेडिङ अन्त्य गरी निर्यातको अवस्थासम्म पुगेका छौँ । समस्या र चुनौती रहे पनि क्रमशः विद्युत् उत्पादन बढ्दै छ । विद्युत् प्रणाली पनि व्यवस्थित हुँदैछ । तार भूमिगत गर्ने लगायत काम भइरहेका छन् । ऊर्जा नेपालको विकासको मेरुदण्ड भएकाले यसको गुणस्तरमा वृद्धि गर्नुपर्छ । समग्रमा अहिले नेपालको आवश्यकता र विकासको मेरुदण्ड हो, ऊर्जा ।
यो आलेख २०८१ साल असारमा प्रकाशित ‘ऊर्जा खबर’ अर्धवार्षिक पत्रिकाबाट साभार गरिएको हो ।