विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज १, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

त्यो जमाना, जतिखेर ५/६ वर्षमै विवाह हुन्थ्यो। हाम्रा बा-आमाको पनि त्यस्तै बालविवाह भएको रहेछ। यो भनेको त विं. सं १९८५ सालतिर होला । किनकि, हामीले आमालाई "तपाईं कुन सालमा जन्मिनु भएको हो ?"  भनेर सोध्दा "साल त थाह छैन, त्यो भुइँचालो आको साल त्यस्तै ९/१० बर्खकी थिएँ नानी !" भन्नु हुन्थ्यो। अनि हाम्रा  बा र आमा एकै उमेरका रे। हुन पनि हो, ५/६ वर्षमै बिहे गर्दा त्यो भन्दा सानो उमेरको कसरी बिहे गर्नु ? पाँचथर मालबाँसेस्थित सिरानघरे डिल्लीराम उपाध्याय हजुरबाले आफ्नो  जेठो छोरा पुण्यप्रसादका लागि  तमोर तरेर  तेह्रथुम कोयाखोलाका ब्रह्मलाल गौतमकी ठूलीकान्छी छोरीलाई बिहे गरेर  भित्र्याउनु भएको र ६ वर्षकी कलिली नानीले बिहे गरेर आउँदा तमोरमा नाउ तर्दा आफ्नै बा सम्झेर ससुरा बाको पिँडुलाको रौ खेलाएको घटना आमाले पछि सुनाउनुहुन्थ्यो।

सानैमा बिहे गरेकोले त्यो बेला वयस्क नहुञ्जेल माईतमै बसेर १४/१५ वर्षको भएपछि मात्र फेरि माइती छोडेर घर आउने प्रचलन थियो । सोही अनुसार सायद ९८ सालतिर आमा घर आउनुभो र २००० सालमा पहिलो सन्तानको रूपमा जेठी छोरी (हाम्री जेठी दिदी) को जन्म भएको थियो। हाम्री घरकी हजुरआमा (आमाकी सासु) सारै कडा स्वभावकी रे । ४४/४५ सालतिर नेपाल टेलिभिजन आयो । त्यसमा रुद्रराज पाण्डेद्वारा लिखित रूपमति उपन्यासमा आधारित  टेलीश्रृंखला आउँथ्यो । त्यो हेर्दै आमाले रूपमती भन्दा कडा बुहार्तन आफूले खेपेर आएको कुरो सुनाउनु हुन्थ्यो।

बा पछि एकजना काका र बाँकी ४ जना फुपुहरू हुनुहुन्थ्यो तर काकाको कुन रोगले हो, १० सालतिरै देहान्त भएछ । बा-आमाका भने हामी ६ दाजुभाइ र ३ दिदीहरू जन्मियौँ। बाको संस्कृतमा राम्रो दख्खल थियो । छोराहरू मात्र होइन छोरीलाई पनि पढाउनुपर्छ भनेर  १०० सालमा जन्मिने जेठी छोरीलाई समेत पाठशाला पठाउनु भएको थियो रे । जुन दिदीको १३ वर्षको उमेरमा गोर्खाली पल्टनका  साना पण्डितजीसँग बिहे गर्दिनुभएको थियो । ठूलीदिदीले बिहेपश्चात् स्व-अध्ययन गर्नुभएको थियो,  जसको हस्तलेखन अहिले पनि लोभलाग्दा छन् ।

यसैगरी, माल्दाजुलाई बनारस र अरू दाजुहरूलाई एसएलसीपछि मधेश (विराटनगर) मा बसेर पढने व्यवस्था गर्नुभयो। आफूले नै पहाड र मधेशको घरव्यवहार सबै मिलाउनु हुन्थ्यो । विराटनगरदेखि मालबाँसे ओहोरदोहोर गरिरहनु हुन्थ्यो । विराटनगरको पूर्व-दक्षिण पर्ने सोहल (शीसबनी जहदा) भन्ने गाउँमा हाम्रो खेतीपाती र सानो कच्ची घर (कामत) पनि थियो । पहाडी मूलका २ परिवारबाहेक सबै मधेशी र सतार समुदायको बस्ती थियो, त्यहाँ। पहाडबाट विराटनगर आउन इलामसम्म ३ दिन हिँडेर त्यहाँबाट बल्ल गाडी लाग्दथ्यो । गाउँहरू मधेश झर्दा झापातिर झरेछन् । बाले भने हाम्रो परिवारलाई अलि सुविधा सम्पन्न  विराटनगर नै झार्नुभो । पहाडमा गाउँ छिमेकमा  खेतबारी एवम् बालीमा पानी लाउने विषयमा प्राय: झगडा भइरहन्थ्यो । मुद्दामामिला खेप्न सदरमुकाम फिदिमसम्म जानुपर्थ्यो । ३ दिदीहरूको बिहे सकियो । ३ भाइ मधेश नै झरिसकेका थिए । पछि बाँकी ३ भाइमात्र पहाडमा भएकोले ३५/३६ सालको विद्यार्थी आन्दोलनको समयमा साइँलो दाजु (फणीन्द्र) को प्रयासमा पहाडको श्री सम्पति बेचेर बाँकी हामी पनि विराटनगर बसाई झर्‍यौँ ।

यसरी म आफूले भने बासँग धेरै समय बिताउन पाइनँ । जति पाएँ, उहाँ पढाइमा राम्ररी ध्यान दिनु है भन्नु हुन्थ्यो। कक्षा ६ मा हुँदा संस्कृत विषय भने उहाँले सिकाउनु भएको अझै याद छ ।

विराटनगर झरेपछि बा-आमा र ठूल्दाजुको परिवार बजारबाट करिब ४/५ किमी टाढा पर्ने त्यै कामतमै बसेर खेतीपातीतिरै लाग्नुभो भने पञ्चालीमा अस्थायी बसोबास गरी तिनटोलियामा २०२६/२७ सालतिर नै ६ हजार रुपैयाँमा किनेको डेढ कठ्ठा जग्गामा घर बनाउने काममा फणीन्द्र (साइँलो) दाजु लाग्नु भयो । उहाँ मोरङ क्याम्पसमा स्नातक पढ्दै विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो।

बसाइँ सरेर आएपछि हाम्रो परिवारमा एकपछि अर्को बज्रपातको श्रृंखला नैं चल्यो । २ वर्षभित्र ३ वटा ठूला दुर्घटना भए,  जसमा २ जना अभिभावक गुमाउनु पर्‍यो । पहाडबाट भर्खर तराई झरेको हाम्रो परिवारमा आमा र भाउजूहरूले कामतमा बसोबास गर्दा पनि स्वाभाविकरूपमा नाक, कान र गलामा पहाडे तरिकाले नै सुनका गहनाहरू लाउनु भएको रहेछ। दिउँसो घाँसदाउरा गर्न   अलि परसम्म जाने क्रममा भारतीय सीमातिरका चोर डाकाहरूको गलत  नजर परेछ । बसाइँ सरेर आएकाले कामत घरमा अरू पनि धनसम्पति पक्कै होला भनेर २०३८ साल वैशाखको एक साझ त्यहाँ भालाछुरी जस्ता हतियारसहितका डाकाहरूको जत्थाले एक्कासी हमला गर्न आयो ।

ठूली भाउजू ७ दिनकी सुत्केरी हुनुहुन्थ्यो । आमा, भाउजूहरूले लगाएका सबै गरगहना नाक/ कानबाट नै लुछेर  लगे भने बालाई पेटमा चक्कु घोपे र मरणासन्न पारी छोडेर भेटेसम्मका सबै नगद/जिन्सी लुटेर भागे । सँगै बस्ने कान्छी फुपू र दिदी खाटमुनि लुकेर बच्नु भएछ । छिमेकीहरू डरले कोही आएनन् भने अलि पर्तिर बस्ने सतारहरू भने लडाकु स्वभावका भएकोले सुइँको नपाएर नआएको भन्ने सुनिन्थ्यो । डाकाहरू फर्किएपछि बालाई उपचारको लागि गाउँलेहरूले तुरुन्तै गोरुगाडाको व्यवस्था गरी कोशी अञ्चल अस्पताल ल्याए।

राती अस्पताल पुग्दा फणीन्द्र दाजु बाको पेटबाट रगत बगेको देखेर एकछिन बेहोस हुनुभएछ। धन्न, त्यो बेलाका चिकित्सक डा. लोकविक्रम थापाले फियो फालेर अप्रेशन गरी हाम्रा बालाई बचाए । त्यसबेला, म कक्षा ५ मा पढ्थेँ । २/३ महिनामा तीनटोलियाको हाम्रो घर निर्माण पनि सम्पन्न भई हामी त्यो नयाँ घरमा सर्‍यौँ । त्यो घर करिब ८० हजार रुपैयाँमा बनेको मलाई सम्झना छ । बा नयाँ घरमा आराम गर्दै नयाँ जीवन जिइरहनु भएको थियो ।

करिब ६/७ महिनापछि क्याम्पसमा स्ववियुको चुनाव थियो । राजनीतिक पार्टीहरू प्रतिबन्धित भएको सो समयमा तत्कालीन मालेको विद्यार्थी फाँट अनेरास्ववियुमा सक्रिय  फणीन्द्र दाजु लगायतको नेतृत्वपङ्क्तिका केहीलाई प्रतिस्पर्धी पञ्च-काँग्रेसको टिमले कुनै पनि बेला जे पनि गर्न सक्छ भनेर धम्की आएको कुरो दाजु स्वयम्‌ले बेला-बेला सुनाउनुहुन्थ्यो। घरमा राती राती सङ्गठन र आन्दोलनका अनेकन भूमिगत बैठक हुन्थे । नभन्दै,  मंसिर ९ गते मोरङ क्याम्पस हाताभित्र दुई पक्षबीच भएको भिडन्तमा विजयकुमार गच्छदारले नेतृत्व गरेको नेपाल विद्यार्थी संघको समूहले चलाएको गोली  अग्रपङ्तिमा हुने हाम्रै दाजुलाई लागेछ । सहकर्मीहरूले उहाँलाई रिक्सामा तत्काल अस्पताल लगे पनि अस्पतालले मृत घोषणा गर्यो ।

विराटनगरमा कर्फ्यू लागेको थियो, उहाँको शवलाई नगर परिक्रमा गराउँछन भनेर । प्रहरी प्रशासनको आतङ्क थियो । हाम्रो घर वरिपरि पुलिसको निगरानी थियो । पोस्टमार्टममा चक्कु प्रहारले मृत्यु भएको भनेर बालाई जबर्जस्ती सही गर्न लगाएर अन्तिम संस्कारका लागि शवलाई घर पनि ल्याउन नदिई तत्कालीन प्रहरी प्रशासनले आफैँ चतरासम्म लगेर राम्रोसँग दाहसंस्कार नगरी शव दहन गरेर फर्काएको कुरो बाले घर फर्केपछि सुनाउनुभयो । बा-बाहेक परिवारका अरू कसैलाई शवदाहमा जान दिइएन ।  भखर अप्रेशन गरेर बाँच्नु भएको बालाई कति पीडा भयो होला  २७ वर्षको पुत्र-वियोगले ।

घरमूली भएपछि आफूले जति पीडा कष्ट सहेर पनि परिवारको जिम्मेवारी बाको काँधमै थियो । ठूल्दाजुले खेती सम्हाल्नु हुन्थ्यो भने माइलोदाजु अलग भइ टाढै इटहरातिर अलि वर्षअघिदेखि नै शिक्षण पेशामा हुनुहुन्थ्यो । बाँकी हामी ३ भाइ स्कूलतिरै पढ्दै थियौँ । दाजुको घटनाको केही महिनापछि बा काम विशेषले फेरि पहाड जानु भो । इलामदेखि त हिँड्नैपर्थ्यो, एकतर्फी पनि ३ दिन । सायद आराम पुगेको थिएन र तनाव पनि भएर होला विराटनगर फर्केपछि बा फेरि बिरामी भइ थला पर्नुभयो। पुन: डा. लोकविक्रम थापाकोमा लगियो तर यो पाली सकेनन् । अन्तत: २०३९ सालको साउनमा बाले समेत हामीलाई टुहुरो पारेर स्वर्गे हुनुभो ।

जीवनभरि शाकाहारी भएर जीवन बिताउनुभएका मेरा बाले उपाध्याय बाहुन भएकोले मधेश होस् वा पहाड बस्दा नियमित ध्यान र पूजापाठ गर्नुहुन्थ्यो । मेरो मावली (आमा समेत) र केही दाजुहरू मांसाहारी भए पनि बाले थाह पाउञ्जेल सबै शाकाहारी  थियौँ । आमा त विवाह भएर आएपछि शाकाहारी बन्नुभएको रहेछ ।

यसरी म आफूले भने बासँग धेरै समय बिताउन पाइनँ । जति पाएँ, उहाँ पढाइमा राम्ररी ध्यान दिनु है भन्नु हुन्थ्यो। कक्षा ६ मा हुँदा संस्कृत विषय भने उहाँले सिकाउनु भएको अझै याद छ । यसपटकको कुसे औंशीमा बा समृतिमा तैरिएर आउनुभयो । मैले समृतिलाई अक्षरमा उतारेँ । आगामी दिनमा बासँगका सम्झनाहरू यसरी नै लेख्ने प्रेरणा र आशिर्वाद मिलिरहोस् । पुज्यनीय बा हृदयभरिबाट कोटी कोटी नमन ।

लेखक, नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक हुन्

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३