छोरी श्लिषा स्नातकोत्तरको उपाधिपछिको खाली समयमा हिमाली पदयात्रामा रमाउन थालिन् । गएको शरद ऋतुमा साथीहरूसँग गोसाइकुण्ड र वसन्त ऋतुमा मर्दी हिमालको आधार शिविर पदयात्रामा गइन् । उनको पदयात्राको भोक अरू जाग्यो । यस वर्षको शरद ऋतुमा (तिहारअघि) अन्नपूर्ण आधार शिविर (एबिसी) पुगेर आइन् । उनले यात्रा गरेका ती तीन स्थान समुद्री सतहबाट क्रमशः ४,३८० मिटर, ४,२०० मिटर र ४,१३० मिटरको उचाइमा छन् ।
उनका यी पदयात्राले उनलाई मात्र तानेन । त्यसैले तिहारलगत्तै विश्वकै सर्वोच्च स्थानमा रहेको र मनाङ जिल्लामा पर्ने तिलिचो ताल जान मलाई श्रीमती सुशीला सहित छोरीले कर गरिरहेकी थिइन् । आफूलाई पनि हिँडडुल गर्न मन लाग्ने तर छोटा पदयात्रामा मात्रै रमाएको छु, अहिलेसम्म । त्यसैले तिहार र छठ पर्वको बिदा सदुपयोग गर्न मन लाग्यो । त्यही समयलाई सदुपयोग गर्दै हामी बाबु–छोरी भाइटीकाको भोलिपल्ट बिहानै जाने तय भयो । जाडोको पदयात्रालाई आवश्यक झोला, ज्याकेट, जुत्ता, ट्राउजर र लौरा तिहार बिदामै किन्यौँ ।
प्रविधिले यात्रालाई सहज बनाइदिइको छ । हामीले पनि त्यसको सदुपयोग गर्यौँ । बास बस्ने ठाउँ अनलाइनबाटै अग्रिम बुक गरियो । सबै तयारी भएपछि कात्तिक १९ गते सोमबार बिहानै घरबाट निस्कियौँ । पृथ्वी राजमार्गको मुग्लिङ हुँदै डुम्रेबाट लमजुङको बेँसीशहरतर्फ लाग्नुपर्ने । त्यसै त धेरै सवारी चल्ने बाटो, केही हप्ताअघिको बाढी–पहिरोले बाटो बिगारेको थियो । हामी त्यो राजमार्ग पार गर्न समस्या होला कि भन्ने चिन्तामा थियौँ तर तिहार बिदा भएकाले होला, नागढुङ्गा–नौबीसे–मुग्लिङ सडकको बाटो खाली नै थियो । मलेखुमा हल्का नास्ता गरी खाना खान बेँसीशहर पुग्ने योजना थियो ।
बाटोमा पर्ने मध्यमर्स्याङ्दी जलविद्युत्गृहमा टर्बाइनको ओभरहलिङ कार्य सुरु गरिएकाले त्यो पनि निरीक्षण गर्दै बेँसीशहर पुगेर खाना खाइयो । एक दिनअघि (भाइटीकाको दिन) काठमाडौँमा दुई घण्टा जति पानी परेको थियो । बेँसीशहर पुग्दा पनि एक घण्टा जति निकै ठूलो पानी पर्यो । यात्रा अवधिमा मौसम बिग्रिने हो कि भनेर पीर पनि पर्यो तर खाना खाइसक्दा पानी रह्यो । अनि, बेँसीशहरबाट करिब एक बजे ७६० मिटर उचाइतिर लागियो, गाडी चढेर ।
बाटामा रामबजार, स्याँगे, जगत हुँदै प्रसिद्ध अक्टोपस झरना पुगियो । बाटामाथिबाट अक्टोपस आकारमा झरना झरिरहेको दृश्य मनोरम थियो । फोटा खिचेर लाग्यौँ चामेतिर । मनाङको सदरमुकाम चामे समुद्री सतहबाट २,६५० मिटर उचाइमा छ । यो देशभरिकै न्यून जनसङ्ख्या भएको जिल्ला पनि हो । बेँसीशहरबाट ६८ किलोमिटर दूरीमा रहेको चामे पुग्न करिब चार घण्टा लाग्यो । बजारको अलि परै पर्ने ‘इगल आई’ भन्ने होटेल काठमाडौँबाटै बुक गरिएको थियो । गाडी अलि तलै पार्किङ गरी कोठामा गयौँ । लुगा फेर्यौँ फ्रेस भयौँ तर चिसो मौसमले हामीलाई त्यसै ताजगी दिइरहेको थियो । काठमाडौँको फ्रेस हुने बानीले त्यहाँ पनि छाडेन ।
चिसो भेकका होटलहरूमा हुने डाइनिङ हलमा राखिएका दाउराले तताउने फलामको चिम्नीले पुरै कोठा न्यानो हुन्छ । बिहान–बेलुका सबै यात्रु त्यहीँ बसेर गफ गर्ने र खाने गर्दा रहेछन् । केही औसधी, चकलेट र रेनकोट किन्न नजिकैको बजार र पसल झर्यौँ । औसधीबाहेक किनियो पनि अनि खाना खाएर सुत्यौँ । यसरी पहिलो दिन बित्यो ।
दोस्रो दिन, बिहान उठेर नित्यकर्म सकी ८ बजेतिर नास्ता गर्न त्यही डाइनिङ हल छिर्यौँ । यहाँ भने कोठाको शुल्क लागेन, खाना र नास्तामै जोडेको हुँदो रहेछ । नास्ता गरेर बिहानको ८ः३० बजेतिर हामीले ल्याएको गाडीमा निस्क्यौँ । सो दिनको खाँगसारसम्म करिब ४० किमिको अफ–रोड ड्राइभवाला बाटोलाई ३ घण्टा लाग्ने भए पनि बाटोमा पर्ने हरित ताल (ग्रिन लेक), मनाङ उपत्यका हेर्दै र घुम्दै जाने योजना अनुसार हामी अघि बढ्यौ । चामेको स्याउ–फार्म फर्किँदा हेर्ने योजना गरी बाटामा पर्ने उपत्यकका खोच र पहाडको रमाइलो दृश्यावलोकन गर्दै ग्रीन लेकका लागि गाडी छाडेर केहीभित्र पदलै गयौँ । हरित ताल साँच्चिकै मनोरम । बसेर टोलाइरहुँ लाग्ने तर हाम्रो त्यो चौतारी थियो, गन्तव्य त तिलिचो । त्यसैले, त्यहाँ केहीबेर घुमफिर गरी फोटो खिची अगाडि बढ्यौँ ।
३,५०० मिटर उचाइमा अवस्थित मनाङमा स्वागत छ भन्ने गेटबाट छिर्यौँ र त्यहाँको होटेलमा दिवाखाना खायौँ । खाना खाएर खाँङसारतर्फ जाँदा स्वास्थ्य चौकी भेटियो बाटामा । केही औसधी लिन बाँकी रहेको र चामेमा नभ्याइएकाले त्यहाँ किन्ने योजना भयो । चौकी खुला त थियो तर मान्छे कोही थिएन । ३–४ जनाको नाम र फोन नम्बर टाँसेको थियो । मैले फोन गरेँ । एक जना महिलाले उठाइन् । उनी घरमै भएकोले आइहालिन् । त्यो सेवा गजबको लाग्यो ।
जीवनजल, सिटामोल एजिथ्रो जस्ता औसधी लियौँ । सबै निःशुल्क रहेछ, नाम दर्ता गरे मात्र पुग्ने । दूर दराजमा यो सरकारी सेवा अझ राम्रो लाग्यो । हामी धन्यवाद दिएर अघि बढ्यौँ ।
अपराह्न ३ बजेतिर ३,७९० मिटरमा अवस्थित गाडी पुग्ने अन्तिम ठाउँ खाँङसार पुगियो । यहाँ भने अनलाइन बुकिङ थिएन तर बेँसीशरहबाटै साथीहरूले कोठा लिन कोसिस गरेका थिए तर मिलेको थिएन । पर्यटकको निकै भीड थियो । सवारी पार्किङका लागि त्यस्तै समस्या । सीमित ठाँउ भएकाले पोटाला होटलमा हामीले एउटा कोठा लियौँ । भोलिपल्ट आधार शिविर र तिलिचोसम्म जानका लागि मात्र आवश्यक लुगा पोको पारी ट्रेकिङ ब्यागमा राख्यौँ । नचाहिने गाडीमै राख्यौँ । चामेजस्तै न्यानो डाइनिङ हलमा रातिको खाना खाएर सुत्यौँ । भोलिपल्ट बिहान ७ बजे नास्ता खाने जानकारी पायौँ ।
तल मर्स्याङ्दी नदी सुसाएर एकनासले बगिरहेको छ, छेउको हिमालबाट हिउँ पग्लेर । पहाड फुटाएर ससाना हिमनदी बगेर तल मूलनदीमा मिसिएका खोल्सी मनोरम देखिन्थे ।
तेस्रो दिन, बिहान थर्मसको तातोपानीले हातमुख धोई, नास्ता गरी ८ः३० बजे तीन जना निस्क्यौँ पैदल यात्रामा । डाउन ज्याकेट, उनीको टोपी सबै लगाएका थियाँै जाडोबाट बच्न तर केही उकालो हिँडेपछि गर्मी हुन थाल्यो । त्यहाँबाट घोडाको सुविधा पनि थियो तर हामीले लिएनौँ । अलि गर्मी भएपछि लुगा छाँटकाट गरियो र उकालो लागियो । बाटोमा फर्किने मान्छेहरू भेटिन्थे, घाम लागेको सफा मौसम थियो । केही बेरमा बौद्ध गुम्बा आयो । अनि, २ घण्टा जतिमा ४,०७० मिटरको उचाइमा श्रीखर्क आयो । त्यहाँ होटेल र रेस्टुरेन्ट थिए, हामीले पनि त्यहाँ दिवा खाना खायौँ । यहाँदेखि तातोपानी पनि किनेर मात्र पाइने । फ्रि वाइफाई प्रयोग गरी, यात्राबारे फेसबुक पोस्ट गरेर १०ः३५ बजे त्यहाँबाट हिँडियो । थोरै माथि झोलुङ्गे पुल आयो । त्यस अगाडि पहिरो र ढुङ्गा झर्ने भीर । बाटो अलि अप्ठेरो साँगुरो थियो ।
तल मर्स्याङ्दी नदी सुसाएर एकनासले बगिरहेको छ, छेउको हिमालबाट हिउँ पग्लेर । पहाड फुटाएर ससाना हिमनदी बगेर तल मूलनदीमा मिसिएका खोल्सी मनोरम देखिन्थे । यात्रामा विभिन्न व्यक्ति भेटिने । गफ गर्दै जाँदा हिउँसो २ः३५ मा ४,२०० मिटर उचाइमा अवस्थित बेसक्याम्प पुगियो । यहाँ धेरै होटल रहेछन् । राष्ट्रिय विद्युत् प्रणाली पनि पुगेको रहेछ, टेलिफोन सेवा भने थिएन । इन्टरनेट काम चलाउ थियो । साँझ पख त त्यो पनि गयो । किन ? भनी सोध्दा धेरै मान्छेले चलाएकाले भन्थे ।
हामीले मुन लेक होटेल बुक गरेका थियौँ, काठमाडौँबाटै । यो त खाँङसरमा बसेको होटलवालेकै दाजुभाइको रहेछ । होटेलको आँगनबाटै हिउँले ढाकेको हिमाल छेउमै देखिन्थ्यिो । तातोपानीका लागि बाथरुममा ग्यास गिजर जोडिएको थियो, चामेदेखि नै प्रायः होटलमा । मिनरल वाटर १ लिटरको बोतलको रू २५० र उमालेको पानीको रू ३५० सम्म लिँदा रहेछन् । साँझ लुगा फेरियो । फ्रेस भएर खाना खाएपछि बिहानै हिँड्ने योजना अनुसार लाएर हिँड्ने लुगा ठिक्क पारियो । तापक्रम १–२ डिग्री सेन्टिग्रेड देखिन्थ्यो ।
प्रायः मानिसहरू बिहान ३ बजे नै हिँड्दा रहेछन्, ताल जान । फर्किँदा १२ बजेपछि भयो भने हावा चलेर भीरको बाटोमा ढुङ्गा झर्छन् र गाह्रो हुन्छ भनेर । ब्रेकफास्ट ४ः३० पछि मात्र तयार हुने र धेरै बिहान हिँड्नु उपयुक्त नहुने ठानी हामी भने ४ बजे उठी तयार भएर होटेलकै उपलब्ध ब्रेकफास्ट खाएर ५ः३० तिर हिँड्यौँ ।
टाउकोमा अड्काउने टर्च लाइट पनि थियो, छोरी र म सँग । सवारी चालक साथी बिसीको हिँडाइको चाल अलि छिटो थियो । चौथो दिनको यो हिँडाइमा हामी माथि चढ्दा केही यात्रु नसकेर (लेक लागेर) फर्किँदै थिए । बिच बाटोमा कुनै खाने र बस्ने ठाउँ नभएकाले अँध्यारोमा भोकै हिँड्नु उचित नभएको बुझेर नै हामी केही खाएर ५ः३० तिर निस्केका थियौँ । ६ः१५ पछि बल्ल उज्यालो हुन थाल्यो । यो बाटोमा पनि पहिरो खस्ने स्थान थिए । ती पार गर्दै अलि माथि २२ घुम्ती भन्ने ठाउँ आउँछ । ठाडो उकालोलाई २२ वटा ससाना घुम्ती बाटोले सहज बनाएको थियो । सो ठाउँमा पनि घोडा पाइने रहेछ ।
त्यहाँबाट लेक पुग्न रू ७,००० लिने रहेछन् । छोरीले घोडामा जाने रहर गरिन् भने म र बिसी पैदलै हिँड्यौँ छेउका हिमालको पृष्ठभूमिमा फोटा खिच्दै । बेसक्याम्पमा फोन नलागे पनि बाटोमा कतैकतै भने टेलिफोन लाग्दो रहेछ, श्रीमतीले म र छोरीलाई फोन गरेर हाम्रो खबर लिइरहेकी हुन्थिन १ हामी १०ः१५ बजे तालमा पुग्यौँ ।
आहा तिलिचो ! लाग्यो हामीलाई नै पर्खेर बसेको । परै आकाशे नलो रङको बर्को ओढेर । समुद्री सतहबाट ४९१९ मिटरको उचाइमा अवस्थित तिलिचो तालको किनारामा महादेव र बुद्धका मूर्ति यात्रुलाई अध्यात्मिक ऊर्जा दिन बसेजस्ता देखिन्थे । सुन्दरता यति थियो कि फर्किन मनै मान्दैनथ्यो तर फर्किनै पर्ने बाध्यता । केही फोटा खिचेपछि फर्किँदा दायाँतिर ससाना दुई पोखरी (कुण्ड) र माथितिर हिउँले ढाकिएको पहाड (हिमाल नै होला) थियो । त्यहाँ हामीले करिब १ घण्टा बितायौँ फोटो, भिडियो खिचेर अनि १२ः१० बजेतिर फर्केर बेसक्याम्प आइपुग्दा २ः५० बजेको थियो ।
उनी नर्स, स्वास्थ्यकर्मी भएर मात्र के गर्नु ? लेक लागेजस्तो भएर अलि गाह्रो भएपछि समूहलाई छोडेर बेसक्यम्पतर्फ एक्लै झरेकी रहिछन् । हामीसँग गफ गर्दै झर्दा उनलाई धेरै सहज भएछ ।
हामीलाई माथि जाँदा ४ घण्टा लागेछ । फर्किँदा करिब पौने ३ घण्टा मात्र । त्यस दिनको हिँडाइको पदचाप २७,८०० देखियो । बेसक्याम्मतिर झर्दा बाटामा एक जना युवती अलि थाकेर सुस्तरी हिँड्दै थिइन् । दोबाटो आउँदा कुन छोटो र सजिलो होला भनेर सोधिन् । उनीहरू भक्तपुरस्थित एक अस्पतालबाट डाक्टर र नर्सको ८–१० जनाको समूहमा ट्राभल एजेन्सीमार्फत गएका रहेछन् । उनी नर्स, स्वास्थ्यकर्मी भएर मात्र के गर्नु ? लेक लागेजस्तो भएर अलि गाह्रो भएपछि समूहलाई छोडेर बेसक्यम्पतर्फ एक्लै झरेकी रहिछन् । हामीसँग गफ गर्दै झर्दा उनलाई धेरै सहज भएछ । कसैलाई पनि लेक (हाइ अल्टिच्युड) को लक्षण देखियो भने उकालो नलागी तलै झर्नु पर्ने सल्लाह दिइँदो रहेछ । करिब ४० प्रतिशत यात्रु नसकेर माथि नजाने वा बिचबाटै फर्किने गर्दा रहेछन् । पौने ३ घण्टाको हिँडाइले बेसक्याम्ममा फर्केपछि धुलोले ट्राउजर र जुताको रङ पूरै बदलिएको थियो ।
बाबा–छोरीले पुछपाछ गरी सुकायौँ र फ्रेस भएपछि पुनः न्यानो कोठा (डाइनिङ हल) मा गयौँ । तातो सुप, खाजा खाएर बसेपछि नानीलाई टाउको दुखेजस्तो भएकाले छेउको हेल्थपोस्ट गयौँ । यो चाहिँ स्थानीय होटलहरू मिलेर सञ्चालन गरेकाले केही शुल्क लिइँदो रहेछ । उनको अक्सिजन नाप्दा ९२ देखायो । हिजो साँझ त ९८ देखाएको थियो । चिसोले दुखेको हुन सक्ने भनेपछि फर्केर खाना खायौँ । अब अर्काे दिन हामी सुरुमा चामेतिर बस्ने योजना भए पनि समयमै हिँडे लमजुङस्थित मध्य–मर्स्याङ्दी विद्युत्गृहको आवासमै पुगिने भनेर प्रमुख पवनजीले म्यसेन्जरमा भन्नु भयो । त्यसैले, बिहानै ४ः३० मै खाजा बनाउन अर्डर दिएर कोठामा आई सुत्यौँ ।
पाँचौ दिन, समयमै उठेर तयार भई खाजा खाई त्यहाँको दुई दिनको बसाई खुवाइको भुक्तानी गरी ५ः४५ तिर तल झर्यौँ । पूरै उज्यालो भइसकेको थिएन । ड्राडभर साथीको हिँडाइको गति छिटो भएको र गाडी स्टार्ट गर्न समस्या हुने भनेकाले उनलाई छिटै गएर गाडीको व्यवस्थापन गर्न सुझाएँ । बाबा–छोरी भने श्रीखर्क पुगेर सामान्य विश्रामसहित चिया पिएर हिँड्दा १०ः४५ बजे खाँङसार पुगियो । ५ घण्टा अनि १८,३०० पदचाप हिँड्दा गाडी चढ्ने ठाउँ खाङसार पुगिएछ । अस्ति बसेकै होटलमा गएर छोरीले तातोपानीले नुहाउने भनेपछि रू २०० तिरेर तातो सावरले नुहाउने सुविधा पाइन् । करिब १ घण्टामा खाना पनि तयार भयो । उता गाडी पनि एकछिनको प्रयासपछि स्टार्ट भएछ ।
खाना खाएर लेकको आलु, एक टिनको रू ८०० मा किनेर गाडीमा राखी मध्याह्न १२ः१५ बजे हामी गाडी चढ्यौ । १ः४५ बजे चामेको स्याउ बगैँचामा पुगेर वाइन कारखानाको अवलोकन गरेर स्याउ किनी लमजुङतिर लाग्यौँ । माथि जाँदा जति रोमाञ्चक र उत्साह हुन्छ, फर्किँदा कमै हुने रहेछ । फोटो पनि कम खिचिने रहेछ ।
साँझ ६ः४५ मा भोटेओडारस्थित मध्य–मर्स्याङ्दी विद्युत्गृहमा पुगियो । त्यहाँ सो दिन बृहत् मर्मत–संभारका क्रममा टर्बाइनको हेड कभर र प्लेट जडान गर्ने दिन रहेछ । ती दुई पार्टस् मिल्छन् कि मिल्दैनन् भन्ने दुविधासाथ साथीहरू रातिसम्मै काममा लागिरहेका थिए । राति ९ बजेतिर त्यो काम सम्पन्न गर्न मर्मत टोली सफल भयो । हामी पनि सन्तोष मानेर इन्जिनियरहरूको टिमसँग खाना खाएर भोलि काठमाडौँ फर्किने गरी त्यो दिनलाई शुभरात्री भन्यौँ ।
छैटौँ दिन आवासगृहमा नास्ता खाएर, तल्लो–मर्स्याङ्दी विद्यत्गृहको बाँधस्थल पनि निरीक्षण गर्यौँ । इन्जिनियरहरूसँग छलफल गरी, त्यहीँ दिवा–खाना खायौँ । अनि, पृथ्वी राजमार्ग हुँदै धार्के–काठमाडौँ वैकल्पिक बाटोबाट सितापाइला निस्कियो । यसरी चामेकाे स्याउबारी डुल्दै तिलिचो तालको मनोरम दृश्यपान गरेर हामी अपरान्ह लोकन्थली निवास आइपुगियो ।