सौर्य ऊर्जा क्षेत्रको सम्भाव्यता र अवसरलाई हेर्दा नेपालमा औसत सौर्य ऊर्जा उत्पादन क्षमता (सोलार रेडिएसन) प्रतिदिन प्रतिवर्ग किलोमिटरमा ४.६६ किलोवाट घन्टा रहेको छ । नेपालमा वार्षिक सरदर ३०० दिन घाम लाग्ने अध्ययनहरूले देखाएका छन् । सन् २०२२ मा अनुसन्धानकर्ता दीपेन्द्र न्यौपाने सहितको समूहले गरेको एक अध्ययनअनुसार सौर्य ऊर्जाबाट व्यावसायिक रूपमा अनुमानित विद्यत् उत्पादन क्षमता ४७,६२८ मेगावाट रहेको देखिन्छ ।
हाम्रा दुइ छिमेकी देशहरू भारत र चीनको सौर्य ऊर्जाबाट विद्युत् उत्पादनको सम्भाव्यतालाई हेर्दा सन् २०२४ को एक अध्ययनअनुसार भारतको ६०६,४७२ वर्गकिलोमिटर क्षेत्रफलमा १६,८४६ गिगावाट रहेको छ भने चीनको ३० करोड वर्गकिलोमिटर क्षेत्रफलमा १०८,२२० गिगावाट रहेको छ । नेपालको कुल क्षेत्रफलको ०.५ प्रतिशत जग्गामा सौर्य ऊर्जा उत्पादन गर्दा उत्पादन क्षमता करीब ४,३०,००० मेगावाट पिक देखिन्छ भने ०.१ प्रतिशत जग्गामा सौर्य ऊर्जा उत्पादन क्षमता करीब ८६,००० मेगावाट पिक देखिन्छ ।
नेपालमा सौर्य ऊर्जा उत्पादनको यात्रालाई दृष्टिगत गर्दा सन् १९८० को दशकलाई सुरुवातको रूपमा लिन सकिन्छ ।सन् १९८० मा फ्रान्स सरकारको सहयोगमा तातोपानी, कोदारी, सिमीकोट र गमगढीमा १३० किलोवाट पिक क्षमताको सौर्य ऊर्जा जडान गरिएको थियो । सौर्य ऊर्जा प्रवर्द्धनको संस्थागत सुरुवात भने सन् १९९६ मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको स्थापनापश्चात् भएको पाइन्छ ।
सन् २०१० मा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले काठमाडौँको धोबिघाटमा जडान गरेको ६८० किलोवाट पिक क्षमताको सौर्य ऊर्जा प्रणालीलाई यस क्षेत्रको विकासमा महत्वपूर्ण कोशेढुँगा मानिन्छ ।यो परियोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको नेपालको पहिलो सौर्य ऊर्जा परियोजनाको रूपमा लिइन्छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७३ मा ग्रिड कनेक्टेड वैकल्पिक विद्युत् विकास कार्यविधि ल्याएपछि यस क्षेत्रले व्यावसायिक वातावरण पाएको बुझाई रहेको छ । सौर्य ऊर्जा क्षेत्रको विकासक्रम एवम् प्रविधिको स्तरोन्नतिलाई हेर्दा वाट पिक क्षमताका घरायसी सौर्य विद्युत् प्रणालीबाट सुरुवात भई किलोवाट क्षमताका मिनीग्रिड तथा सौर्य पम्पिङ प्रणाली हुँदै हाल मेगावाट क्षमताका राष्ट्रिय प्रसारण लाइनमा जडान हुने आयोजना विकासको चरणमा पुगेको देखिन्छ जसलाई तलको चित्रले समेत उजागर गर्छ ।
चित्र नं. १ : नेपालमा सौर्य ऊर्जाको विकासक्रम
सौर्य ऊर्जाबाट उत्पादित विद्युत् विश्वप्यापी रूपमै किफायती र भरपर्दो ऊर्जाको स्रोतको रूपमा रहेको छ ।सौर्य ऊर्जा उत्पादनमा प्रयोग हुने सोलार फोटोभोल्टेक प्रविधिको मूल्य वर्षैपिच्छे घट्दो क्रममा रहेको छ । सन् १९८६ मा प्रति वाट मूल्य १०६ अमेरिकी डलर रहेको थियो । सन् २०१९ को प्रतिवाट मूल्य ०.३६ अमेरिकी डलर रहेकोमा सन् २०२४ को अवस्थालाई हेर्दा प्रतिवाट ०.११ अमेरिकी डलरमा आएको देखिन्छ । जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता बमोजिम नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय ढाँचा महासन्धिमा पेश गरेको दोस्रो राष्ट्रिय निर्धारित योगदानले सन् २०३० सम्म कुल ऊर्जा मागको १५ प्रतिशत ऊर्जा नवीकरणीय ऊर्जाका स्रोतबाट आपूर्ति गर्ने लक्ष्य लिएको छ ।
ऊर्जा सम्मिश्रण तथा ऊर्जा सुरक्षाको दृष्टिकोणले सौर्य ऊर्जा सबैभन्दा भरपर्दो ऊर्जाको स्रोत रहेको पाइन्छ। कम ऊर्जाको उत्पादन हुने सुख्खा याममा सौर्य ऊर्जालाई ऊर्जा आपूर्तिको पूरक स्रोतको रूपमा उपयोग गर्न सकिन्छ । नेपालमा फ्लोटिङ सोलार (जलाशयमा जडान गरिने सौर्य ऊर्जा प्रणाली) तथा क्यानलटप सोलार (सिँचाइको नहरमाथि जडान गरिने सौर्य ऊर्जा प्रणाली) को समेत सम्भाव्यता रहेको देखिन्छ ।
नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको विद्यत् पहुँच पुग्न बाँकी भौगोलिक क्षेत्र तथा घरधुरीहरूको एकीकृत कार्ययोजना (Last mile electrification plan) को हालैको अद्यावधिक विवरण अनुसार राष्ट्रिय प्रसारण लाइन नपुगेका घरधुरीहरूको संख्या २७,००० भन्दा बढी रहेको देखिन्छ ।यी घरधुरीहरूमा तत्काल राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् पहुँच पुर्याउन सम्भव नहुने भएकोले यस्ता भौगोलिक क्षेत्र तथा घरधुरीहरूमा अफग्रिड सौर्य ऊर्जा प्रणाली (घरेलु सौर्य विद्युत् प्रणाली, सौर्य मिनीग्रिड आदि) बाट विद्युतीकरण गर्नुपर्ने आवश्यकता समेत रहेको देखिन्छ ।
सौर्य ऊर्जा क्षेत्रको वर्तमान अवस्था र उपलब्धीलाई हेर्दा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सौर्य ऊर्जासँग सम्बन्धित विभिन्न प्रविधि (घरेलु सौर्य विद्युत् प्रणाली, सौर्य मिनीग्रिड, सौर्य रुफटप प्रणाली) बाट हालसम्म ९० मेगावाट भन्दा बढी विद्युत् उत्पादनमा सघाउ पुर्याइसकेको छ भने केन्द्रको सहयोगमा कार्यान्वयनमा रहेका सौर्य मिनीग्रिड, सौर्य रुफटप आयोजनाहरू निर्माणका विभिन्न चरणमा रहेका छन् । आर्थिक वर्ष २०८०/८१ को आयातको तथ्याङ्कलाई हेर्दा करीब ६० मेगावाट सौर्य ऊर्जा प्रविधि आयात भएको देखिन्छ ।
विद्युत् विकास विभागको तथ्याङ्कअनुसार हालसम्म विभागमा सर्भेक्षण अनुमतिको लागि आवेदन दिएका सौर्य ऊर्जा परियोजनाको संख्या २७ (६६८ मेगावाट), निर्माण अनुमतिको लागि आवेदन दिएका परियोजना ९ (४९.६ मेगावाट), सर्भेक्षण अनुमति प्रदान गरिएका आयोजनाहरू ३५ (७१७.४ मेगावाट), निर्माण अनुमति प्रदान गरिएका आयोजनाहरू ९ (७७ मेगावाट) र सञ्चालनमा रहेका आयोजनाहरू २१ (१०६.७४ मेगावाट) रहेका छन् ।साथै नेपाल विद्युत् प्राधिकरणले ९६० मेगावाट क्षमता बराबरको सौर्य ऊर्जा आयोजनाहरू विकासको लागि प्रक्रिया अघि बढाएको छ ।
सौर्य ऊर्जाबाट उत्पादित विद्युत्को विद्युत् खरिद दर (पिपिए रेट) प्रति युनिट अधिकतम रु .५.९४ तोकिएकोमा नेपाल विद्युत् प्राधिकरणबाट अगाडि बढाइएका उक्त परियोजनाहरूमा निजी क्षेत्रले प्रति युनिट विद्युत्को बिक्री मूल्य रु. ४.९९ देखि रु. ५.५५ सम्म प्रस्ताव गरेको देखिएको छ । आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट तथा कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले राष्ट्रिय प्रसारण लाइनबाट बिद्युतको पहुँच नभएका क्षेत्रमा ७०० किलोवाट पिक सौर्य मिनिग्रिड आयोजना निर्माण गर्ने तथा १० वटा सौर्य मिनीग्रिड आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्ने लक्ष्य लिएको छ ।
त्यस्तै औद्योगिक तथा व्यावसायिक क्षेत्रमा करीब ८ मेगावाट क्षमता बराबर रुफटप सौर्य विद्युत् आयोजना जडान गर्ने लक्ष्य राखेको छ भने विद्यालय, स्वास्थ्य चौकी लगायत सार्वजनिक संस्थाहरूमा २०० भन्दा बढी संस्थागत सौर्य विद्युत् प्रणाली जडान गर्ने लक्ष्य लिएको छ । यसका अतिरिक्त केन्द्रले करीब ३०० सौर्य खानेपानी तथा सौर्य सिँचाइ पम्प जडान एवम् १०० भन्दा बढी सामुदायिक, सार्वजनिक एवम् धार्मिक स्थानमा सौर्य बत्ति जडानका लक्ष्य समेत लिएको छ ।
सौर्य ऊर्जा क्षेत्रको अवस्था र विकास सम्बन्धमा यस क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको विभिन्न चासो र सरोकार रहँदै आएको छ । अफ ग्रिड क्षेत्रमा जडान गरिने सौर्य ऊर्जा प्रणाली अनुदानमा निर्भर रहँदै आएकोले अनुदानमाथिको बढी निर्भरताले यसको दिगो विकासमा असरपर्न सक्ने सरोकार एकातिर देखिन्छ भने अर्कोतर्फ अफग्रिड सौर्य ऊर्जा आयोजनाहरूमा जडानपछिको सहयोग र महसुल व्यवस्थापनको अभावको कारणले यस्ता प्रणालीको दीर्घकालीन सञ्चालनमा प्रभाव पार्न सक्ने देखिन्छ ।
त्यसैगरी सौर्य ऊर्जा आयोजनाहरूलाई जलविद्युत् आयोजनाको प्रतिस्पर्धीको रूपमा लिइने अवधारणा विद्यमान छ । यस्तो अवधारणाले नीतिगत व्यवस्था तथा लगानीको वातावरणामा अवरोध पुर्याउने देखिन्छ । तसर्थ सौर्य ऊर्जा आयोजनालाई जलविद्युत् आयोजनाको प्रतिस्पर्धीको रूपमा नलिई परिपूरक आयोजनाको रूपमा लिन सके यस क्षेत्रको विकास द्रुत गतिमा हुने देखिन्छ ।
त्यस्तै नीतिगत अवस्थालाई दृष्टिगत गर्दा राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने विद्युत् सम्मिश्रणमा सौर्य ऊर्जाको हिस्सा १० प्रतिशत तोकिएको छ जुन हिस्सा कम रहेको सरोकारवालाहरूको बुझाइ रहेको छ ।नेपाल विद्युत् प्राधिकरणबाट नेटमिटरिङ्ग पद्धतिबाट ग्रिडमा जडान गरिने सौर्य ऊर्जा प्रणालीको सीमा अधिकतम ५०० किलोवाट तोकिएकोमा उक्त क्षमता कम रहेकोले यसलाई बढाएर ५ मेगावाट सम्म पुर्याउनुपर्ने सरोकारोलाहरूको धारणा रहेको पाइन्छ ।
हालको नेट मिटरिङ्ग प्रक्रिया समेत लामो र झण्झटिलो रहेको गुनासो समेत सुनिन्छ । आयोजनाको लागि जग्गा उपयोग सम्बन्धी व्यवस्था समेत चुनौतीको रूपमा रहेको निजी क्षेत्रका उत्पादकहरूको बुझाई रहेको छ । कृषियोग्य/सिँचाइयोग्य जमिन सौर्य ऊर्जा आयोजनाको लागि उपयोग गर्न प्रतिबन्धित छ ।पहाडी तथा उच्चपहाडी भूभागमा सौर्य आयोजनाको विकास गर्दा आयोजना लागतमा उल्लेख्य वृद्धि हुने भएकोले उक्त स्थानहरूका लागि हालको "पिपिए दर" वस्तुपरक बनाई देशव्यापी रूपमा सौर्य ऊर्जाको विकास गर्नुपर्ने देखिन्छ ।
ऊर्जा भण्डारणमा आधारित सौर्य ऊर्जा आयोजनाको लागि विद्युत् खरिद दरसम्बन्धी व्यवस्था नभएको अवस्था छ । आर्थिक कार्यविधि ऐन तथा प्रचलित भन्सार महसुल ऐनबमोजिम विदेशबाट आयात गरिने सौर्य ऊर्जा आयोजनाका उपकरण तथा निर्माण सामाग्रीमा दिइँदै आएको भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर छुटसम्बन्धी व्यवस्थामा अष्पष्टताको कारणले कठिनाई भएको आयोजना लगानीकर्ताको गुनासो देखिन्छ । तसर्थ, वाटबाट किलोवाट हुँदै मेगावाट स्तरका आयोजना विकासको चरणमा पुगिसकेको नेपालको सौर्य ऊर्जा क्षेत्रमा विद्यमान समस्या तथा चुनौतीलाई समाधान गर्दै ऊर्जा सुरक्षा र ऊर्जा सम्मिश्रणमा योगदान पुर्याउने यस क्षेत्रको विकासको गतिलाई अझै द्रुत गतिमा विस्तार गर्नुपर्ने आवश्यकता रहेको छ ।
लेखक, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका उपनिर्देशक हुन्