काठमाडाैं । जलविद्युतलाई विश्वभर न्यून कार्बन उत्सर्जन गर्ने विद्युत उत्पादनको आधारस्तम्भ र नवीकरणीय ऊर्जा स्रोतको रूपमा लिइन्छ । तर, यसको विकास सँगसँगै वातावरण र सामाजिक क्षेत्रमा हुने असरलाई पनि नजरअन्दाज गर्न मिल्दैन । जलविद्युत उत्पादनलाई वातावरणीय विनास र जलवायु परिवर्तनले नराम्ररी असर गरिरहेको छ ।
कुनै भौतिक पूर्वाधार विकासमा पक्कै पनि केही परिवर्तन अन्तर्निहित हुन्छ । जलविद्युत बाँधको निर्माण र त्यसले सिर्जना गर्ने कृतिम तालले भौतिक र सामाजिक पक्षमा सकारात्मक असर गरे पनि हाल नकरात्मक पक्षमा मात्र ध्यान केन्द्रित भएको पाइन्छ । जलविद्युत विकासले दिने अपार सकारात्मक पक्षलाई नजरअन्दाज गर्दै त्यस क्षेत्रको नकारात्मक पक्षको न्यूनीकरण र क्षतिपूर्तिमा मात्रै बढी ध्यान केन्द्रित भएको पाइन्छ ।
दिगो जलविद्युत विकास सम्भव छ तर उपयुक्त योजना र प्रणालीको विकासले मात्र अन्तर्निहित चुनौतीहरूको सामना गर्न सकिन्छ । योजनाबद्ध जलविद्युत आयोजनाको विकासले दिगो रूपमा ऊर्जाको आपूर्ति हुन सक्दछ तर यी भौतिक पूर्वाधारको निर्माण गर्न धेरै तत्त्वहरूमा भर पर्नुपर्छ । जसलार्ई आयोजना प्रवर्द्धकहरूले महसुस गर्नु पर्दछ ।
प्रवर्द्धकहरूले आयोजनाको कार्यान्वयन गर्न विविध पक्षहरूको विश्लेषण तथा त्यसअनुरूप उपयुक्त टिम निर्माण गर्ने र उनीहरूलार्ई क्षमता अनुसारको जिम्मेवारी दिनुपर्दछ । आयोजनाको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सम्भावित क्षति न्यून गर्न प्रवर्द्धकहरूमा इन्जिनियरिङ र पूर्वाधारको राम्रो ज्ञान हुनुपर्दछ । अन्तर्राष्ट्रिय जलविद्युत संस्थाले विश्वका विभिन्न क्षेत्रमा सञ्चालित आयोजनाको विस्तृत अध्ययन गरी प्रकाशन गरेको प्रतिवेदनले विश्वस्तरीय ऊर्जा प्रणालीमा जलविद्युतको प्रवृत्ति र अवस्था उजागर गर्ने गर्दछ । जसबाट, आयोजना प्रवर्द्धकहरू लाभान्वित हुन सक्छन् ।
प्रवर्द्धकहरू सेवाका सर्तहरू पूरा गर्न समन्वय गर्न उत्तिकै जिम्मेवार हुनु पर्दछ । आयोजनाको निर्माण निर्धारित समयमा पूरा गर्न प्रवर्द्धक वा पदाधिकारीहरूले सुरुदेखि अन्त्यसम्म संलग्न टिमका सबैको सामुहिक शक्तिलार्ई आत्मसात् गरी निर्देशित गर्नुपर्ने हुन्छ । आयोजनाले मुख्यरूपमा उच्च गुणस्तरको प्रतिवेदन तयार गरी त्यसमा आयोजना विकासको खाका, प्राविधिक र सामाजिक पक्ष समावेश गर्नुपर्दछ । आयोजना विकासका लागि आवश्यक जग्गा खरिदले पर्ने सामाजिक असर र निराकरणका उपायहरूसमेत समावेश हुनुपर्दछ ।
नेपालको सन्दर्भमा आयोजनाको मुख्य समस्या नै गुणस्तरीय प्रोटोकल नहुनु हो; जुन अत्यावश्यक तत्त्व हो । नेपालमा आयोजना प्रवर्द्धक र सम्बद्ध ठेकेदारहरूले गुणस्तरीय प्रोटोकललाई नजरअन्दाज गरेकोले नै जलविद्युत आयोजनाका संरचनाहरू सम्भावित भौगोलिक र भौगर्भिक खतरा थेग्न असफल भइरहेका छन् ।
उदाहरणका लागि विद्युतगृह क्षेत्रमा मेसिन राख्ने जगमा भाइब्रेसन विश्लेषण नहुनु अनि संरचनागत र भौगर्भिक पक्षलाई उचित ध्यान नदिनु, टर्बाइन र जेनेरेटरमा पर्ने बहुपक्ष भार विश्लेक्षण नहुनु साथै भूकम्पीय जोखिमको सुपरिवेक्षण नहुनुले विद्युतगृह क्षेत्रमा बढी क्षति भएको देखिन्छ । त्यस्तै, सुरुङ संरचना र हाइड्रो मेकनिकल रेखाको चट्टानबाट चुहावट हुने पानीको उचित विश्लेषण नहुनुले सुरुङ संरचना असफल हुन्छ र पछि मर्मत गर्दा निर्माण लागत बढेको पाइन्छ । गुणस्तरमा सम्झौता गर्दछ ।
अर्को उदाहरण सुरुङ ड्रिलिङ र ब्लास्टिङ गर्दा, विशेषतः ओभरब्रेकमा, एलिक्राफ्ट वा एलिमेक रेल प्रणाली मार्फत ठाडो साफ्ट र तेस्रो साफ्ट ब्लास्ट गर्दा सुरक्षा उपकरण जस्ता संवेदनशील चिजहरूको प्रयोगलार्ई विचार नगरेको देखिन्छ । लेग पुसरबाट सुरुङ खन्ने र ब्लास्ट गर्ने क्रममा र ब्लास्टिङ लगत्तै सुरुङभित्र विषाक्त ग्यासका कारण कर्मचारी र कामदारको जीवनमा असर पर्ने गरेको छ । सुरक्षित सिद्धान्तलार्ई अधिकांश ठेकेदारहरूले अपनाउन नसकेको पाइन्छ । साथै, सुरुङ र सतही ढुङ्गाहरू ब्लास्ट गर्दा, वातावरणमा धेरै प्रभावहरू देखिए; जसले वनस्पति र जीवजन्तुहरूको समूहलार्ई विस्थापित गर्यो ।
हामीले नियमित एउटै ब्लास्टिङ ढाँचा अभ्यास गर्यौं भने नियोक्ताहरूले कसरी नियन्त्रण ब्लास्टिङको योजना बनाएका छन्, त्यो गहन प्रश्न हो ?
इन्जिनियरिङको सन्दर्भमा, जलविद्युत सबैभन्दा व्यापक प्रयोग हुने ऊर्जा मध्ये एक हो । विश्वभर बिजुली उत्पादनमा जीवाश्म इन्धनहरू हावी भए पनि ६० भन्दा बढी देशहरूले आफ्नो अधिकांश विद्युतको आवश्यकता पूरा गर्न जलविद्युत प्रयोग गर्छन् । यही कारण, बिजुलीको मागलार्ई संसारमा सबैभन्दा लोकप्रिय गैर–प्रदूषणकारी स्रोत मानिन्छ । आइएचए (अन्तर्राष्ट्रिय हाइड्रो पावर एसोसिएसन) को एक प्रतिवेदनले पनि जलविद्युत विश्वव्यापी रूपमा सबैभन्दा लोकप्रिय नवीकरणीय ऊर्जा स्रोत मानेको छ ।
जलविद्युत सस्तो स्रोतमध्ये पनि एक मानिन्छ । सन् २०३० सम्म धेरैजसो क्षमता एसिया र अफ्रिकाका ठूला परियोजनाहरूबाट आउने अपेक्षा गरिएको छ । अफ्रिकामा विशेषगरी, इथियोपिया, मोजाम्बिक र युगान्डाद्वारा सञ्चालित, स्थापित क्षमता सन् २०१७ देखि २०२३ सम्म २.५ प्रतिशतको संयुक्त वार्षिक वृद्धि दरमा बढ्ने अपेक्षा गरिएको छ । अनुमानित रूपमा जलविद्युत खपतको सबैभन्दा बढी हिस्सा भएका यिनै देशहरू मानिन्छन् ।
क्षेत्रको आधारमा, एसिया–प्रशान्तले सन् २०२१ मा जलविद्युतको विश्वव्यापी कूल क्षमताको ४५ प्रतिशत ओगटेको छ, जसमा ३९०.९ गिगावाटको सञ्चय क्षमताका साथ चीनको प्रभुत्व छ । विश्वका सबैभन्दा ठूला सक्रिय जलविद्युतगृहहरू चीनमै छन् । आगामी दिनमा सबैभन्दा ठूला जलविद्युतगृहहरू पनि या त चीनमा छन् या वा पाकिस्तान, कङ्गो र म्यानमार लगायत देशहरूमा चिनियाँ कम्पनीहरूले निर्माण गरिरहेका छन् । भारत, जापान र भियतनाम एसिया–प्रशान्त क्षेत्रका पछिल्ला ठूला देश हुन् ।
युरोपले विश्वव्यापी जलविद्युत क्षमताको २३ प्रतिशत हिस्सा ओगटेको छ र संसारको दोस्रो जो जलमै निर्भर छ । अन्य नवीकरणीय प्रविधिहरूको दु्रत विकासका कारण सन् २०३५ मा कूल उत्पादन क्षमतामा जलविद्युतको अंश १३ प्रतिशतमा घट्ने प्रक्षेपण छ । यद्यपि, एसिया–प्रशान्त र मध्यपूर्वमा जलविद्युतको वृद्धि जारी रहनेछ । अफ्रिकाले विश्वव्यापी जलविद्युत क्षमताको ५५ प्रतिशत ओगट्नेछ । दिगो विकास लक्ष्य भेट्ने विश्वव्यापी साझा योजनामा सन् २०१५ पछिको विकासको मुद्दामा जलविद्युतको महत्त्वपूर्ण भूमिका रहिआएको छ ।
लेखक, गोल्यान ग्रुप अन्तर्गतको इनर्जी विभागमा अनुबन्ध प्रबन्धकको रूपमा कार्यरत छन् ।