काठमाडौं । पछिल्ला केही वर्ष यता बर्खामा बिजुली खेर जाने समस्या बढ्दै आएको छ । यस वर्ष बर्खा नलाग्दै र अहिलेको मध्यबर्खामा त्यो समस्या झन् विकराल बनेको छ । प्रसारण लाइनको अभावमा पूर्ण क्षमतामा जलविद्युतगृह सञ्चालन गर्न नपाएपछि निजी प्रवर्द्धकहरूले टाउको समाउनुपर्ने परिस्थिति बनेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले गरेको एक अध्ययन अनुसार गत वर्ष (२०७९) मात्र झण्डै डेढ अर्ब रुपैयाँ गुमाएको निजी क्षेत्रले यस वर्ष बर्खामा थप एक अर्ब गुमाउने प्रक्षेपण गरिएको छ । गत वर्ष १० जलविद्युत आयोजना कन्टिन्जेन्सीमा सञ्चालन भएकोमा यस वर्ष अरू १० थपिएका छन् । दिनहुँ यो समस्या भयावह बन्दै गएको देखिन्छ ।
प्रसारण लाइनको कमजोर क्षमताका कारण अधिकांश गण्डकी प्रदेशमा निर्माण भई सञ्चालनमा आएका अधिकांश आयोजनाको बिजुली खेर फाल्नु परेको छ । यो सँगै बागमती, कोसी र सुदूरपश्चिम प्रदेशमा समेत यस्तो समस्या थपिँदै गएको इपानले उल्लेख गरेको छ ।
इपानका अनुसार अहिलेसम्म २० जलविद्युत आयोजनाले विद्युत खेर जाने समस्या भोगिरहेका छन् । कतिपय ती आयोजनाको टेक एन्ड पे प्रावधानमा विद्युत खरिद सम्झौता (पिपिए) गरिएको छ भने त्यस्तो प्रावधान नरहेका आयोजनालाई समेत प्राधिकरणले ठाडो निर्देशनको भरमा विद्युतगृह बन्द गर्न निर्देशन दिँदै आएको इपानको आरोप छ ।
उल्लिखित समस्या भोगेका अधिकांश आयोजनाहरू लमजुङ जिल्लास्थित दोर्दी कोरिडोरका रहेका छन्; जहाँ प्रसारण लाइनको क्षमता भए पनि प्राधिकरणको दबाबमा विद्युतगृह बन्द गर्नु परेको प्रवर्द्धकहरूको गुनासो छ । यस्तै, पर्वत क्षेत्रमा सञ्चालनमा आएका आयोजनाको अवस्था पनि उस्तै रहेको छ ।
२०७९ सालमा निजी क्षेत्रका आयोजनाले करिब १ अर्ब ३७ करोड रुपैयाँ गुमाएको इपानले जानकारी दिएको छ । यस्तै, चालू वर्षको बर्खामा ५ अर्ब ८० करोड ४५ लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएकोमा २० आयोजनाबाट मात्र २ अर्ब ३२ करोड ३४ लाख रुपैयाँ हाराहारी आम्दानी गुम्ने अनुमान छ । यी अधिकांश आयोजनाहरू क्षमताको ५० प्रतिशतभन्दा बढी सञ्चालन हुन पाएका छैनन् ।
अवस्था जटिल बन्दै गएको इपानले अब के गर्छ त भन्ने प्रश्नको जवाफमा अध्यक्ष गणेश कार्कीले भने, ‘प्राधिकरण, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघसँग समानान्तर रूपमा छलफल भइरहेको छ । प्रसारण लाइनका कारण खेर गएको बिजुली बराबरको भुक्तानी प्राधिकरणले नगरी हुँदैन ।’ यदि, प्राधिकरणले बिजुली नकिनिदिने हो भने बजारमा नकारात्मक सन्देश त जान्छ नै सिंगो अर्थतन्त्र धराशायी हुन सक्ने उनले बताए ।
प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले निजी क्षेत्रले अनावश्यक हल्ला गर्दै हिँडेको आरोप लगाए । ‘उनीहरूको तथ्यांक के कति आधिकारिक छ, त्यो हामीले हेरेका छैनौं । अहिले बर्खाको समयमा बाढीका कारण धेरै आयोजना आधा क्षमतामै चलेका छन्’ उनले मंगलबार ऊर्जा खबरसँग भने, ‘पिपिए गर्ने बेलामा टेक एन्ड पे गर्ने अहिले समस्या आयो भन्न कहाँ पाइन्छ ।’ यद्यपि, बिजुली खेर जानु राम्रो पक्ष नरहेको उनको भनाइ थियो ।
निजी क्षेत्रले तथ्यांकका कुरामा धेरै बढाइचढाइ गरेर प्रसार गरेको भन्दै भट्टराईले प्राधिकरण पिपिए प्रावधान अनुसार नै चलिरहेको बताए । उनका अनुसार अहिले ५४ मेगावाटको सुपर दोर्दी २६–२७ मेगावाटमा र २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ ९ मेगावाट हाराहारीमा सञ्चालन भइरहेका छन् । बाढीले विद्युतगृहमा क्षति पुर्याउँदा धेरै आयोजनाका एक वा दुई युनिटमात्र सञ्चालनमा रहेको पनि उनले प्रस्ट्याए ।
खेर गएकाे जलविद्युत केन्द्रकाे सूची
कम्पनी | आयाेजना | प्रदेश | जिल्ला | क्षमता (मे.वा.) | नाेक्सान ऊर्जा (%) |
दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड | दोदी–१ | गण्डकी | लमजुङ | १२.१ | ५० |
लिवर्टी इनर्जी कम्पनी लिमिटेड | अप्पर दोर्दी–ए | गण्डकी | लमजुङ | २५ | ५० |
हिमालय पावर पार्टनर लिमिटेड | दोर्दी खोला | गण्डकी | लमजुङ | २७ | ५० |
पिपुल्स हाइड्रो पावर कम्पनी लिमिटेड | सुपर दोर्दी ‘ख’ | गण्डकी | लमजुङ | ५४ | ५० |
अप्पर स्याङ्गे हाइड्रो पावर लिमिटेड | माथिल्लो स्याङ्गे स्मल | गण्डकी | लमजुङ | २.४ | ५० |
न्यादी हाइड्रो पावर लिमिटेड | न्यादी खोला | गण्डकी | लमजुङ | ३० | ५० |
छ्याङ्दी हाइड्रो पावर लिमिटेड | माथिल्लो छ्याङ्दी | गण्डकी | लमजुङ | ४ | २० |
मोदी इनर्जी लिमिटेड | तल्लो मोदी | गण्डकी | पर्वत | २० | ५० |
मिडल मोदी हाइड्रो पावर लिमिटेड | मध्य मोदी | गण्डकी | पर्वत | १८ | ५० |
युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रो पावर | माथिल्लो मर्दी | गण्डकी | कास्की | ७ | ५० |
घलेम्दी हाइड्रो लिमिटेड | घलेम्दी खोला | गण्डकी | म्याग्दी | ५ | ५० |
माउन्टेन हाइड्रो नेपाल लिमिटेड | मिस्ट्री खोला | गण्डकी | म्याग्दी | ४२ | ३५ |
माउन्ट कैलाश इनर्जी कम्पनी प्रा.लि | थापा खोला | गण्डकी | मुस्ताङ | १३.६ | २० |
आँखु खोला जलविद्युत कम्पनी लिमिटेड | आँखु खोला १ | बागमती | धादिङ | ८.४ | ३० |
तेह्रथुम पावर कम्पनी लिमिटेड | माथिल्लो खोरुङ्गा | कोसी | तेह्रथुम | ७.५ | ३० |
अपि पावर कम्पनी | नाैगाड गाड | सुदुरपश्चिम | दार्चुला | ८.५ | २० |
टक्सार पिखुला खोला हाइड्रो पावर लिमिटेड | टक्सार पिखुवा | कोसी | भोजपुर | ८ | २० |
नुम्बुर हिमालय हाइड्रो पावर लिमिटेड | लिखु खोला ए | बागमती | रामेछाप | २९.०४ | २० |
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड | सिप्रिङ खोला | बागमती | दोलखा | ९.६ | २० |
आषुतोश इनर्जी लिमिटेड | चेपे खोला | गण्डकी | लमजुङ | ८.६३ | ५० |
जम्मा | २० | ३९९.०७ |
स्राेत: इपान
असारको आपूर्ति थप चिन्ताजनक
इपानले संकलन गरेको तथ्यांकअनुसार असारमा विद्युत उत्पादन गरी प्राधिकरणलाई आपूर्ति गरेका आयोजनाहरूको अवस्था थप चिन्ताजनक छ । म्याग्दीमा सञ्चालनरत ४२ मेगावाटको मिस्ट्री खोलादेखि रामेछापको २९ मेगावाटको लिखु ‘ए’ले सम्म कन्टिन्जेन्सीको समस्या भोगेको देखिएको छ । गत असार १७ गते ७ मेगावाटको युनाइटेड इदी मर्दीले १ मेगावाट बिजुली पनि प्राधिकरणलाई प्रवाह गर्न नसकेको देखिन्छ ।
यसैगरी, कन्टिन्जेन्सी प्रावधान अनुसार १७ गते नै २० मेगावाटको तल्लो मोदी एक मेगावाट पनि प्रवाह गर्न पाएन । उता असार १८ गते ८.४ मेगावाटको आँखु खोला र तल्लो मोदीले शून्य परिमाणको ऊर्जा प्रवाह गरेको इपानले जानकारी दिएको छ ।
असार १८ गते नै २७ मेगावाटको दोर्दी खोलाले २७.४९ प्रतिशतमात्र विद्युत आपूर्ति गर्न पाएको छ । दुगड समूह अन्तर्गतको नुम्बुर हिमालय हाइड्रो पावर लिमिटेडले प्रवद्र्धन गरेको लिखु खोला ‘ए’ ले प्राधिकरणको दबाबका कारण १८ मेगावाट (६१.९८%) मात्र सञ्चालन गरिरहेको जनाएको छ ।
अवस्था भयावह हुँदै
प्राधिकरणले अहिलेसम्म बिजुली खेर गएर समस्या नभएको बताए पनि व्यवस्थापन हुन सकेन भने यो वर्ष झण्डै हजार मेगावाट खेर जाने अवस्था देखिएको छ । ५०० मेगावाट त गत वर्ष नै खेर गएको प्राधिकरणले बताउँदै आएको छ ।
अहिलेसम्म प्रणालीमा ३००० हजार मेगावाट विद्युत जडित क्षमता पुगिसकेको छ भने उच्च माग करिब १८०० मेगावाट हाराहारी रहेको छ । रातीको समयमा त यो माग १२०० मेगावाटसम्म झर्ने प्राधिकरणले नै बताउने गरेको छ । कूल जडित क्षमताको ४०० मेगावाटसम्म उत्पादन हुन नसके पनि उच्च मागको समयमा ८०० मेगावाट र रातीको समयमा १४०० मेगावाट विद्युत बढी हुन्छ ।
उता, प्राधिकरणले अहिलेसम्म भारतको ऊर्जा एक्सचेन्ज बजारमा १० वटा आयोजनाको ४५२ मेगावाट बराबरको परिमाणमात्र बेच्ने अनुमति पाएको छ । थप परिमाण बेच्न एक दर्जन आयोजना स्वीकृतिका लागि भारतसमक्ष पठाइए पनि त्यसको अहिलेसम्म कुनै प्रतिक्रिया नआएको प्राधिकरणले जानकारी दिएको छ ।
अतः बर्खामा २६०० मेगावाटमात्र उत्पादन भएको खण्डमा पनि २४ सै घन्टा ४५२ मेगावाट भारतमा निर्यात हुँदा २०४८ मेगावाट प्रणालीमा हुन्छ, १८०० सय मेगावाट उच्च मागको समयमा ३४८ मेगावाट खेर जाने देखिन्छ । यस्तै, रातीमा ९४८ मेगावाट खेर जानेछ । यसको प्रत्यक्ष असर भनेको निजी ऊर्जा प्रवर्द्धकलाई नै पर्ने हो । किनकि, प्राधिकरणले कम्तीमा पनि आफू सुरक्षितरूपमा चलेको हुन्छ ।
जलस्रोत, ऊर्जा तथा समसामयिक आर्थिक क्षेत्रमा केन्द्रित रहेर कलम चलाउने वियोगी सम्पादक हुन् ।