पछिल्लो समय नेपालमा पुराना पेट्रोल तथा डिजेल गाडीलाई विद्युतीय सवारी (इभी) मा रूपान्तरण गर्ने विषयले निकै चर्चा पाइरहेको छ । धेरैले यसलाई भविष्यको सम्भावनाको रूपमा हेरिरहेका छन्, जुन सकारात्मक हो । यद्यपि, यो पुराना पेट्रोलियम सवारी साधनबाट इन्जिन निकालेर मोटर र ब्याट्री राख्ने सामान्य काम मात्र होइन ।
यो वास्तवमा गाडीको सम्पूर्ण प्राविधिक संरचना तथा प्रणालीमा परिवर्तन गर्ने प्रक्रिया हो । यसले गाडीको संरचना, विद्युतीय प्रणाली, ताप व्यवस्थापन, ब्रेकिङ, सस्पेन्सन, सन्तुलन तथा समग्र सुरक्षामा प्रत्यक्ष असर पार्दछ ।
मेरो प्राविधिक अनुभव र बुझाइका आधारमा नेपालका सवारी साधनलाई सुरक्षित, भरपर्दो तवरले इभीमा रूपान्तरण गर्न मुख्य रूपमा निम्न १० प्रमुख चुनौतीहरू देखिन्छन् :
१. संरचनात्मक मजबुती र सुरक्षा : ब्याट्री प्रणाली थपिएपछि गाडीको तौल वितरण, गुरुत्व केन्द्र र सन्तुलन परिवर्तन हुन्छ । यसबाट ब्रेकिङ, ह्यान्डलिङ र समग्र सुरक्षामा प्रत्यक्ष असर पार्छ ।
२. परीक्षण तथा प्रमाणीकरण पूर्वाधारको अभाव : इभीमा रूपान्तरण गरिएका सवारीको सुरक्षा, टिकाउ र दिगोपन वैज्ञानिक रूपमा परीक्षण गर्ने पर्याप्त पूर्वाधार र प्रमाणीकरण प्रणालीको नेपामा अझै अभाव छ ।
३. उपयुक्त सवारी छनोट : पुरानो तथा पेट्रोलियम इन्धनबाट चल्ने भन्दैमा हरेक गाडी ईभी बनाउन उपयुक्त हुँदैनन् । त्यसैले, चेसिसको अवस्था, खिया, मेटल फ्याटिग तथा संरचनात्मक मजबुती राम्रोसँग परीक्षण गर्नुपर्छ ।
४. सवारीहरूको विविधता : नेपालमा रहेका सबै सवारीको डिजाइन, संरचना र प्रयोग फरक हुन्छ, त्यसैले एउटै विधि सबैमा लागु हुँदैन ।
५. पावरट्रेनको उचित निर्धारण : ब्याट्री, मोटर, कन्ट्रोलर तथा ड्राइभ प्रणालीको क्षमता सवारीको तौल, भूगोल, भार तथा आवश्यक कार्यक्षमताका आधारमा प्राविधिक हिसाबले निर्धारण हुनुपर्दछ ।
६. ब्याट्री सुरक्षा तथा ताप व्यवस्थापन : गलत ब्याट्री इन्टिग्रेसन वा कमजोर ताप व्यवस्थापनले अत्यधिक ताप, विद्युतीय खराबी, क्षमता ह्रास वा थर्मल रनअवे जस्ता जोखिम निम्त्याउन सक्छ ।
७. उच्च भोल्टेज विद्युतीय सुरक्षा : विद्युतीय सवारीमा उचित इन्सुलेसन, ग्राउन्डिङ, सर्ट–सर्किट सुरक्षा तथा इमर्जेन्सी आइसोलेसन प्रणाली अत्यन्त आवश्यक हुन्छ ।
८. ब्रेक, सस्पेन्सन तथा सवारी सन्तुलन : भारी ब्याट्री प्रणाली जडान गरेपछि ब्रेकिङ क्षमता, सस्पेन्सनको व्यवहार, स्टेरिङ प्रतिक्रिया र सवारीको स्थिरतामा ठूलो परिवर्तन आउन सक्छ ।
९. सडक पूर्वाधार, मौसम र सवारी चाप : सडक पूर्वाधारको अवस्था (उकालो–ओरालो, घुम्ती, कच्ची, धुलो–हिलो) मौसम (वर्षा, तापक्रमको उतारचढाव) सवारी चापको अवस्था (ट्राफिक जाम) जस्ता कुराले विद्युतीय प्रणालीमा थप प्राविधिक चुनौती सिर्जना गर्दछन् ।
१०. मापदण्ड तथा प्राविधिक प्रणालीको अभाव : प्राविधिक मापदण्ड, परीक्षण केन्द्र, दक्ष जनशक्ति, प्रमाणीकरण प्रणाली तथा स्पष्ट नियमावली बिना ठूलो स्तरमा सवारी साधनलाई इभीमा रूपान्तरण गर्नु सुरक्षित र दिगो हुन सक्दैन ।
र, एउटा महत्त्वपूर्ण प्रश्न :
यदि रूपान्तरण गरेर बनाइएको इभीमा केही वर्षपछि ब्याट्री वा विद्युतीय खराबी आयो भने त्यसको जिम्मेवारी निर्धारण गर्ने प्राविधिक मापदण्ड, प्रमाणीकरण प्रणाली तथा बीमा संरचना नेपालमा तयार छ ?
यसको अर्थ नेपालले रूपान्तरण गरेर इभी बनाउन रोक्नुपर्छ भन्ने होइन । वास्तवमा छोटो दूरीका सहरी प्रयोगका लागि यसको ठूलो सम्भावना छ तर दिगो उद्योग केवल उत्साहले बन्दैन । त्यसका लागि प्राविधिक क्षमता, अनुसन्धान, परीक्षण पूर्वाधार, मापदण्ड र दीर्घकालीन प्रणाली विकास आवश्यक हुन्छ ।
त्यसैले, सावधानी अपनाउनु नकारात्मक सोच होइन, यो त प्राविधिक जिम्मेवारीभित्र पर्ने विषय हो ।