पूर्वी नेपालको पहाडी भूगोल, जहाँ बिहानी घामका किरणले धनकुटाका पाखापखेरामा पहिलो स्पर्श गर्छन् । सिँदुवाको डाँडामा कुदिरहने कुहिरो र चिसो बतासले सिर्जनाका नयाँ–नयाँ पालुवा हालेको अनुभूत हुन्छ । त्यही परिवेशमा एउटा सपनाको बीजारोपण भयो । मध्यमवर्गीय परिवारमा रोपिएर पलाएको त्यही बिउ थियो, टि.एन. आचार्य ।
चेतनाको उडान
वि.सं. २०३१ सालको एक बिहान जहाँ टि.एन. जन्मिए । प्रकृतिले काँचुली फेर्दै थियो । छथर जोरपाटीको एक मध्यमवर्गीय परिवारमा नयाँ सन्तान थपिएको थियो । त्यो जन्ममात्र थिएन, भविष्यको सुन्दर सिर्जना थियो । समाज र देश निर्माणको एउटा आशालाग्दो आधार । आज त्यही व्यक्तिले नेपाली वित्तीय परामर्श र जलविद्युत् क्षेत्रमा आफूलाई स्थापित गरेको छ । ऊ सबैका नजरमा एक इमानदार सारथिको रूपमा परिचित हुँदै गएको छ ।
टि.एन.को व्यक्तित्व नियाल्दा लाग्छ, उनी कुनै शान्त तलाउ हुन् । गहिराइमा वित्तीय अनुशासनका गम्भीर प्रकृतिका कमलका थुँगा फक्रिँदैछन् । शालिन, निडर र सौम्य उनको व्यक्तित्वले निजी क्षेत्रमा कहीँ सुशासनको जग हालिरहेको आभास पनि हुन्छ । एकातिर उनी वित्तीय र ऊर्जा क्षेत्रको प्राविधिक दुनियाँसँग जोडघटाउ गरिरहेका हुन्छन् । अर्कोतिर, साहित्यिक कोमलताको तरङ्गमा पौडिरहेका भेटिन्छन् ।
धनकुटाको पहाडी हावापानीमा जन्मे हुर्के पनि प्रकारान्तरमा अभिभावकले मोरङको लेटाङमा स्थायी बास बनाए । धनकुटाको उकाली–ओराली र लेटाङको समथर भू–भागले उनलाई जमिनमात्र चिनाएनन् । जीवनको आरोह–अवरोहलाई सन्तुलनमा राख्ने कला सिकाए । यसर्थमा उनको जीवनको पहिलो भाग सिँदुवा र लेटाङबीचको पुल वारपार गरेर बितेको अनुभूत हुन्छ ।
शिक्षा र सफलता
दाजुभाइ र दिदीबहिनी गरेर सात सन्तान । तेस्रो सन्तान हुनुको आफ्नै गरिमा र जिम्मेवारी थियो । दाजुभाइमा दोस्रो अर्थात् माहिला टि.एन.को बाल्यकाल त्यसरी नै बित्यो, जसरी आम मध्यमवर्गीय बालकले गुजार्ने गर्छ । विलासितामा होइन, मूल्य र मान्यताको पाठशालामा शैशवकालका पातहरू छिप्पिए । उनले स्थानीय शान्ति भगवती माध्यमिक विद्यालयको आँगनमा कखरा सिके । त्यहीँ बुझे – शिक्षा नै त्यो हतियार हो, जसले भविष्यको अँध्यारो चिर्न सक्छ । आफ्नो पैतालामा आफैँ टेकेर उभिन सक्ने बन्नुपर्छ ।
स्कुले दिन पूरा गरेर उच्च शिक्षातिर लम्किए । उनको शैक्षिक यात्रा प्रमाणपत्रको सङ्कलन थिएन । त्यसले आरम्भदेखि नै पढाइ इस्पातमा धार लाउँदै गए । त्यसैको परिणाम थियो, धरान महेन्द्र बहुमुखी क्याम्पसमा वाणिज्य शास्त्र (विकम) पढ्दाको ‘क्याम्पस टपर’ बन्नु । उनको मिहिनेतमा ‘नम्बर’ र ‘नियम’प्रतिको लगाव थियो । एउटा मूर्तिकारले ढुङ्गा कुँदेर आकृति दिएजस्तै वाणिज्य शास्त्रले उनको मस्तिष्कमा विश्लेषण, विचार र दर्शनको विजारोपण गर्यो । चेतनाको पिँधमा रोपी छोडेको थियो, एउटा व्यावसायिक जातको बिउ ।
चेन्नाईको तपस्या
धरान क्याम्पसबाट ‘विकम’मा टप गरेपछि उनमा अलग्गै खालको आत्मविश्वास बढायो । यही ‘सफ्ट स्किल्स’ र आत्मविश्वासले उनले सूर्य नेपालजस्ता प्रतिष्ठित संस्थामा मार्केटिङ सुपरभाइजरको जिम्मेवारी कुशलताका साथ पूरा गरे । छोटो अवधि त्यहाँ काम गरे पनि यस अनुभवले उनलाई बजारको नाडी छाम्ने अवसर दियो । यो अनुभवले उनलाई चार्टर्ड एकाउन्टेन्ट (सिए) अध्ययन गर्न घच्घच्यायो । त्यसका लागि उनी भारत प्रस्थान गरे ।
नेपालको सीमा नाघेर भारतको चेन्नाई पुग्नु टि.एन.का लागि एउटा ठूलो फड्को थियो । समुद्री किनारको त्यो तातो सहरमा उनले जीवनको सबैभन्दा कठिन – सिएको तयारी गरे । सन् २००३ मा ‘इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्स अफ इन्डिया’बाट अध्ययन पूरा गरे । उनी सिए मात्र बनेनन्, वित्तीय अनुशासनका एक ‘कमाण्डर’को रूपमा उभ्भिन समर्थ भए । नेपाली वित्तीय क्षेत्रमा सुशासन र पारदर्शीताको जग बसाउने योजनाका साथ देश फर्किएका थिए ।
चेन्नाईको अध्ययनले उनलाई अन्तर्राष्ट्रिय लेखापरीक्षणका सुक्ष्मताहरू सिकायो । विभिन्न संस्कृति र कार्यशैलीका मानिसहरूसँग निकट पुर्यायो । सहकार्यका विधि, पद्धति र अनुशासन सिकायो । यो वित्तीय अनुशासनको एक नवीन क्षितिज पनि बन्दै गयो ।
साख, सुशासन र ऊर्जा
टि.एन. सूर्य नेपालको जिम्मेवारीबाट अलग भए । उनका लागि वि.सं. २०६१ साल एउटा कोशेढुङ्गा सावित भयो । उनले ‘टि.एन. आचार्य एण्ड कम्पनी’ स्थापना गरे । यही संस्था नै पेशागत नैतिकताको नयाँ पारिचायक बन्यो । धेरैका लागि लेखापरीक्षण अङ्कहरूको जोड–घटाउमात्र हुन सक्छ । टि.एन.का लागि भने ‘सुशासनको दर्पण’ थियो ।
बैंक, वित्तीय संस्था, सहकारीदेखि पर्यटन र ऊर्जासम्म उनको फर्मको पहुँच पुग्यो । नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) जस्ता नियामक निकायसँगको सहकार्यले उनलाई प्रणालीको भित्री तहसम्म पुग्न मद्दत गर्यो । नोबेल मेडिकल कलेज र न्युरो अस्पतालजस्ता स्वास्थ्य संस्थामा उनको वित्तीय परामर्शले सेवा र नाफाबीचको सन्तुलन मिलाउने नयाँ मोडल प्रस्तुत गर्यो ।
देशमा मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा समेत टि.एन. आचार्यले आफ्नो छबि बलियो बनाएका छन् । डब्लुडब्लुएफ, केयर नेपाल र मर्सी क्रप्सजस्ता विश्वप्रसिद्ध संस्थासँगको आबद्धताले उनलाई ‘ग्लोबल माइन्डसेट’ प्रदान गरेको छ । विकास परियोजनाको प्रभाव विश्लेषण र अनुगमन गर्दा उनले बुझे, पैसाको सही परिचालनले मात्र समाजमा दिगो परिवर्तन ल्याउन सक्छ । उनले अन्तर्राष्ट्रिय मापदण्डलाई नेपाली माटो सुहाउँदो गरी प्रयोग गर्ने प्रयास गरिरहेको देखिन्छ ।
विकास परियोजनाको प्रभाव विश्लेषण र अनुगमन गर्दा उनले बुझे, पैसाको सही परिचालनले मात्र समाजमा दिगो परिवर्तन ल्याउन सक्छ । उनले अन्तर्राष्ट्रिय मापदण्डलाई नेपाली माटो सुहाउँदो गरी प्रयोग गर्ने प्रयास गरिरहेको देखिन्छ ।
टि.एन.को व्यक्तित्वको अर्को चम्किलो पाटो हो – जलविद्युत् । उनी कागजी एकाउन्टेन्टमात्र रहेनन्, ‘ऊर्जा उद्यमी’का रूपमा समेत देखा परे । भिजन इनर्जी एन्ड पावर लिमिटेडको कार्यकारी अध्यक्षको रूपमा ५७.५ मेगावाटको नुप्चे लिखु जलविद्युत् आयोजना अगाडि बढाउनु चानचुने थिएन । १००५ मिटरको ‘ग्रस हेड’ भएको यो आयोजना प्राविधिक र वित्तीय दुवै हिसाबले एक अग्निपरीक्षा हो । यो आयोजना आज निर्माणको अन्तिम चरणमा छ ।
टि.एन.सँग क्रेडिबल होल्डिङ्स फण्ड मार्फत खिम्ती–२, इसुवा खोला र सुपर न्यादी जस्ता करिब दुई दर्जन आयोजनामा लगानी र नेतृत्वको सञ्जाल छ । उनको दृष्टिकोण प्रष्ट छ – नेपालको समृद्धि जलविद्युतमै छ, यसका लागि निजी क्षेत्रको साहस र वित्तीय अनुशासन अनिवार्य छ ।
नेपाल वायुसेवा निगम, नेपाल विद्युत् प्राधिकरण र नागरिक लगानी कोषजस्ता राज्यका गौरवका संस्थामा सञ्चालक रहँदा उनले सधैँ पारदर्शिताको मुद्दा उठाए । संस्थागत सुशासन उनका लागि लेखिने शब्द मात्र होइन । आचरण पनि बनेको छ । सार्वजनिक संस्थानमा हुने वित्तीय विचलन रोक्न उनले गरेका नीतिगत कामहरू आज पनि प्रभावकारी देखिएका छन् । सरकारी संस्थामा मात्र होइन, निजी क्षेत्रले समेत सुशासनमा उतिकै तत्परताका साथ काम गर्नुपर्नेमा उनी सधैँ प्रतिबद्ध छन् ।
बहुआयामिकता
तथ्याङ्क र यसको प्रशोधनमा एवम् परीक्षणमा हराउने मानिस कसरी कवि र गीतकार हुन सक्छ ? धेरैलाई यस्तै लाग्न सक्छ तर टि.एन. यसका अपवाद हुन् । उनले व्यावसायिक निष्ठा, साहित्य र सिर्जनालाई एकसाथ अघि बढाएका छन् । उनी गीतका शब्दहरूमा रमाउँछन्, कविताका फूलहरूमा झुलिरहेका हुन्छन्, नियात्रा तथा निबन्धमा सामाजिक चेतना भर्छन् । उनका कवितामा समाजको विम्ब पाइन्छ, गीतमा जीवनको लय ।
सिर्जनाको फरक धार सिनेमा दुनियाँको पनि उनीसँग अलग्गै अनुभव छ । उनले ‘श्री ५ अम्बरे’ निर्माण गरे । यसलाई उनको समग्र कला क्षेत्रप्रतिको गहिरो अनुराग मान्न सकिन्छ । शब्द अभिव्यञ्चनाका अनुपम प्रस्तुतिको रूपमा लिन सकिन्छ । उनको लेखनमा शब्दमात्र हुँदैनन् । जिम्मेवार नागरिकको मनोचिन्तन प्रस्फुटित हुन्छन् ।
टी.एन. व्यक्ति होइनन् । एक संस्थाको धरोहरसमेत मान्न सकिन्छ । धनकुटाको पखेराबाट सुरु भएको यात्रा देशको नीति निर्माण र ऊर्जा क्रान्तिको केन्द्रमा आइपुगेको छ । वित्तीय अनुशासन, ऊर्जा नेतृत्व र साहित्यिक चेतको यो त्रिवेणीले आगामी दिनमा नेपाली ऊर्जा क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास राख्न सकिन्छ ।
उनको जीवनले सिकाउँछ — सफा नियत र मिहिनेतमा इमानदारी छ भने जुनसुकै निम्न वा मध्यमवर्गीय युवाले राष्ट्रकै आर्थिक भविष्यको रेखा कोर्न सक्छ । उनको यो अटुट यात्रा आगामी दिनमा अझ सुन्दर र प्रकाशमय हुनेमा ढुक्क हुन सकिन्छ ।
इपान र सङ्कल्प
टि.एन. अहिले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) को आगामी तीन वर्षे कार्यकालमा महासचिवको दाबेदारका रूपमा मैदानमा उत्रिएका छन् । लगनशीलता, सुशासनप्रतिको दृढता र पारदर्शी विशेषताले आउँदा तीन वर्ष उनकालाई निकै महत्वपूर्ण मान्न सकिन्छ । देशको अर्थतन्त्रको खाका कोर्न सरकारको बलियो सहयात्रीको पुष्ठभूमिमा निजी क्षेत्रलाई उभ्याउन उनी क्षमता राख्छन् । कार्यसमिति सदस्यको रूपमा आजसम्म निजी क्षेत्रका पीडा सरकारको ढोकासम्म पुर्याए । अबका दिनमा नीति निर्माणको मञ्चसम्म पुर्याउने हुटहुटी लिएर अघि बढिरहेका छन् ।
आगामी जेठ २९ गते हुने निर्वाचनमा ‘महासचिव’ पदको उम्मेदवारी दिँदै गर्दा, उनले एउटै मन्त्र बोकेका छन् – इपान–मार्गमा सँगै हिँडौँ र सँगसँगै अघि बढौँ ।
महासचिवको दाबेदारी पदका लागि नभई ऊर्जा क्षेत्रमा व्याप्त नीतिगत झमेलालाई वित्तीय विशेषज्ञताको कसीमा राखेर समाधान गर्ने ‘टि.एन. हुटहुटी’को रूपमा बुझ्न सकिन्छ । उनी चाहन्छन् – ऊर्जा विकासमा एउटा यस्तो निजी क्षेत्र, जहाँ लगानीकर्ता सुरक्षित महसुस गरुन् । राष्ट्रले समृद्धिका पाइला चाल्दै जावस् ।
जलस्रोत, ऊर्जा तथा समसामयिक आर्थिक क्षेत्रमा केन्द्रित रहेर कलम चलाउने वियोगी सम्पादक हुन् ।