विद्युत अपडेट

  • प्राधिकरण : ८७५८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ११४२७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७९९९ मे.वा.घन्टा
  • आयात : ४१०१ मे.वा.घन्टा
  • निर्यात : ६३१७ मे.वा.घन्टा
  • ट्रिपिङ : ६५ मे.वा.घन्टा
  • ऊर्जा माग : ५२३५१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३८० मे.वा.
२०८३ जेठ ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

क्काइसौँ शताब्दीको सुशासन भरपर्दो बिजुली, द्रुत गतिको इन्टरनेट र कर्मचारी–नागरिक दुवै पक्षको डिजिटल साक्षरताबिना अधुरो रहन्छ । बिजुली अर्थात् ऊर्जाबिना न मोबाइल चल्छ, न त घर र उद्योग चल्छ । अब त यातायात पनि नचल्ने हुँदैछ । कृषिमा आधुनिकीकरण त कल्पना पनि गर्न सकिँदैन । ऊर्जाबिना पर्यटन विस्तार हुँदैन । डिजिटल नेपाल बन्दैन । रोजगारी सिर्जना हुँदैन । शताब्दी सुहाउँदो र भावी पुस्ताको आकाङ्‌क्षा समेट्ने विकास असम्भव छ । खानेपानी र सिँचाइदेखि एआई र डाटा सेन्टरसम्म हरेक क्षेत्रको आधार ऊर्जा हो ।

नेपालका लाखौँ युवालाई विदेश पलायन हुनबाट रोक्न र उद्यमशीलतामा जोड्न प्रत्येक नागरिकको घर व्यवसाय र खेतबारीसम्म चौबिसै घण्टा गुणस्तरीय बिजुली र कनेक्टिभिटी नभई हुँदैन । ऊर्जा केबल एक क्षेत्रको होइन, समग्र विकासको ड्राइभिङ इन्जिन हो । नेपाललाई साँच्चिकै समृद्ध बनाउन हामीसँग भएको अपार जलस्रोत चिन्नै पर्दछ, जान्नै पर्दछ प्रयोग गर्नै पर्दछ ।

तत्काल ‘सनसेट ऐन’ ल्याएर यस क्षेत्रमा तीव्र लगानी, द्रुत निर्णय र दीर्घकालीन दृष्टिकोण कार्यान्वयन जरुरी छ । सुशासनसँगै पहिलो प्राथमिकता ऊर्जाको सन्तुलित उत्पादन र खपत हो र हुनुपर्दछ । देश धनी बन्न निर्यात बढाउनै पर्दछ । आयात घटाउनै पर्दछ । आज हामी उत्पादनभन्दा बढी उपभोग गरिरहेका छौँ । त्यसले व्यापार घाटा बढाएर अर्थतन्त्रलाई थिचिरहेको छ ।

डिजेल, पेट्रोल र पेट्रोलियम ग्यासलाई हरित ऊर्जाले विस्थापन गर्दा वार्षिक ३ खर्ब रुपैयाँ बचाउन सकिन्छ । धौबादीको फलाम खानी, दैलेखको प्राकृतिक ग्यास तथा सातै प्रदेशमा ठूलो परिमाणको सिमेन्ट, स्टिल, गिट्टीबालुवा जस्ता निर्माण सामाग्रीको उत्पादन गर्दा वार्षिक २ खर्ब रुपैयाँको स्टिल आयात प्रतिस्थापन हुनसक्दछ । साथै, समग्र निर्माण सामग्रीको उत्पादन लागत घट्न गई अर्को ३ खर्ब हाराहारीको अर्थतन्त्र चलायमान हुन्छ । यसले विद्युत् खपत बढाउनुका साथै अर्थतन्त्रलाई ह्वात्तै उकास्न सक्दछ ।

६० प्रतिशत नागरिक कृषिमा आधारित रहेको देश अझै खाद्यान्नमा आत्मनिर्भर छैन । यो विडम्बनापूर्ण अवस्था हो । तसर्थ सिँचाइलाई प्राथमिकताको केन्द्रमा राखिनुपर्दछ । अबको प्राथमिकता स्पष्ट हुनै पर्दछ– उत्पादन, आत्मनिर्भरता र स्वदेशी उद्योग । नत्र, व्यापार घाटाले देशलाई झन्झन् शिथिल बनाउँदै लैजान्छ ।

न्याय ढिलो दिनु अन्याय हो भने विकास ढिलो हुनु राष्ट्रले अवसर गुमाउनु हो । काठमाडौँदेखि भारतको कोलकाता बन्दरगाह र चीनको कोरोला नाका जोड्ने विद्युतीय रेलमार्ग, सडक सञ्जाल, सुरुङमार्ग, प्रसारण लाइन, डिजिटल नेटवर्क तथा एयर कनेक्टिभिटीबिना विकासको प्रतिफल आम नागरिकको घरदैलोसम्म पुग्न सक्दैन । 

ठूला र राष्ट्रिय गौरवका आयोजनाहरू स्रोतको कमीले मात्र होइन, कानुनी झण्झट, कमजोर समन्वय र ढिलो प्रशासनले रोकिँदा लागत बढेको छ । त्यस्ता रणनीतिक आयोजना तोकिएको समय, बजेट र गुणस्तरमा सम्पन्न गर्न विशेष सहजीकरणसहित एक दशकका लागि ‘सनसेट ऐन’ अपरिहार्य छ । वार्षिक कार्यदिन २४० होइन, ३४० हुनुपर्छ । विकास निर्माणका काम दैनिक एकै सत्र (सिफ्ट) मा होइन, दुई या तीन सत्रमा चल्नुपर्दछ । अब ढिलाइको संस्कृति अन्त्य गरौँ । विकास फाइलमा होइन, फिल्डमा देखिनुपर्दछ ।

संविधानले स्वच्छ खानेपानीलाई मौलिक हकको रूपमा व्यवस्था गरेको एक दशक बितिसक्दा पनि लाखौँ नेपाली अझै दूषित पानी पिउन बाध्य छन् । हालसम्म ३० प्रतिशत भन्दा बढीले डब्लुएचओ स्ट्यार्डर्डको स्वच्छ र सुरक्षित पिउने पानी पाएका छैनन् । सुगम मानिएको मेरो निर्वाचन क्षेत्र तनहुँ २ का अग्ला डाँडाका बस्तीहरूमा कतिपय आमा–दिदीबहिनी अझै पनि सयौँ वर्षअघिको बाल्टिन, गाग्रो, डोको र नाम्लो प्रयोग गरी खानेपानीको जोहो गर्न बाध्य छन् ।

आज पनि गाउँ, मधेश र दुर्गम क्षेत्रमा जलजन्य रोगले नागरिकको जीवन जोखिममा छ । सरकारले उपचारमा अर्बौं खर्च गर्ने तर खानेपानीको बजेट घटाउँदै जाने प्रवृत्ति दीर्घकालीन समाधान होइन । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्ने नदिने नीति बढी सस्तो, प्रभावकारी र दिगो हुन्छ । त्यसैले, आगामी ३ वर्षभित्र प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी सुनिश्चित गर्ने स्पष्ट कार्ययोजना, पर्याप्त बजेट र प्रभावकारी कार्यक्रम प्राथमिकताका साथ ल्याउन आवश्यक छ ।

सुशासन र ऊर्जा पहिलो प्राथमिकतामा, स्वदेशी कच्चा पदार्थमा आधारित ठूला उद्योग दोस्रो, द्रुत पूर्वाधार र कनेक्टिभिटी तेस्रोमा तथा खानेपानी र सिँचाई चौथो प्राथमिकतामा राखी बजेट विनियोजन गरियोस् भन्ने दृढ अपेक्षा छ । यी प्राथमिकताले देशको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउने छन् । साथै डा. स्वर्णिम वाग्लेलाई सफल अर्थ मन्त्रीका रूपमा स्थापित गर्नेछ । 

आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक (बजेट) का सिद्धान्त र प्राथकिताबारे प्रतिनिध सभा बैठकमा सांसद न्यौपानले राखेको धारणा ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३