काठमाडौं । नेपालको स्वच्छ तथा हरित ऊर्जा रूपान्तरणको क्रमले एउटा ऐतिहासिक फड्को मारेको छ । 'हाइड्रोजन-इम्पावर्ड हाइड्रो-इलेक्ट्रिक ग्रिड्स' परियोजनाले स्थानीय स्तरमै उत्पादन गरिएको हरित हाइड्रोजन ग्यासको सफल प्रयोग गरी हाइड्रोजन चुल्हो बाल्न सफलता प्राप्त गर्नुले यस क्षेत्रमा नवीन प्रविधि स्थापित भएको हो ।
बागलुङको बडिगाड गाउँपालिकामा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले जेठ १ गते (शुक्रबार) यस ऐतिहासिक पाइलट परियोजनाको औपचारिक उद्घाटन गरेका थिए । उक्त समारोहमा बडिगाड गाउँपालिकाका पदाधिकारीहरू, छिमेकी स्थानीय तहका प्रमुख तथा अध्यक्षहरू र स्थानीय समुदायको ठूलो उपस्थिति रहेको थियो ।
बागलुङको बडिगाड गाउँपालिका वडा नं. २ स्थित गिरिङ्दी खोला लघुजलविद्युत् आयोजनामा जडित यस प्रविधिमा ९९.९ प्रतिशत शुद्धताका साथ हाइड्रोजन उत्पादन गर्ने ५ किलोवाटको एनिओन एक्सचेन्ज मेम्ब्रेन इलेक्ट्रिलाइजर प्रयोग गरिएको छ । प्रणालीले दैनिक करिब २ केजी हरित हाइड्रोजन उत्पादन गर्छ, जसलाई १५० बार क्षमताको सिलिन्डरको क्यास्केडमा ३० बारको चापमा सुरक्षित रूपमा भण्डारण गर्न सकिन्छ ।
परियोजनामा एकल बर्नर, डबल बर्नर र ग्रामीण क्षेत्रका परम्परागत माटोको चुल्होमा सिधै राख्न मिल्ने गरी डिजाइन गरिएका नवीन र लचिलो हाइड्रोजन चुल्होहरू प्रदर्शनमा राखिएका छन् । स्थानीय अपरेटरलाई इलेक्ट्रिलाइजर र हाइड्रोजन चुल्हो चलाउने तालिम पनि दिइएको जनाइएको छ । उनीहरूले अन-साइट प्रयोगात्मक भान्सामा खाना पकाएर यसको सफल अभ्यास गरिरहेका छन् ।
नेपालमा खाना पकाउने इन्धनको रूपमा हरित हाइड्रोजनको प्रयोग गरिएको यो पहिलो पटक हो । यस अभूतपूर्व विकासले नेपालको ऊर्जा आत्मनिर्भरताको क्षेत्रमा एउटा नयाँ र क्रान्तिकारी पाइला अघि सारेको छ । हाल नेपालको खाना पकाउने ऊर्जाको परिदृश्य निकै चुनौतीपूर्ण र विभाजित छ ।
राष्ट्रियरूपमा हेर्दा अझै आधाभन्दा बढी जनसङ्ख्या परम्परागत ठोस बायोमास, विशेषतः दाउरा, गुइँठा र कृषिजन्य अवशेषमा निर्भर छ । ग्रामीण तथा हिमाली भेगमा यसको सहज उपलब्धताका कारण यो बाध्यता बनेको छ, जसले घरभित्रको वायु प्रदूषण अत्यधिक बढेको छ । महिला र बालबालिकामा कार्यबोझ थपिएको छ ।
अर्कोतर्फ, सहरी र अर्ध-सहरी क्षेत्रका घरधुरीहरू आयातित एलपी ग्यासमा पूर्ण रूपमा निर्भर छन्, जसले देशको व्यापारघाटा र ऊर्जा परनिर्भरता दुवै बढाएको नेपाल इनर्जी फाउन्डेसन (एनइएफ) का प्रबन्ध निर्देशक डिल्ली घिमिरे बताए ।
'नेपालमा तीव्र जलविद्युत् विकास भइरहेकाले विद्युतीय चुल्हो (इलेक्ट्रिक कुकिङ) तर्फको रूपान्तरण क्रमशः अघि बढिरहेको छ तर पूर्वाधारको कमी छ,' घिमिरेले भने, 'देशैभरका नागरिकले एकै पटक विद्युतीय चुल्हो प्रयोग गर्न थालेमा हालको राष्ट्रिय तथा स्थानीय प्रसारण र वितरण प्रणालीले धान्न नसकी ग्रिड ओभरलोड हुने गम्भीर जोखिम छ ।'
यही समस्याको उपयुक्त विकल्पको रूपमा उक्त परियोजना अगाडि ल्याइएको उनको भनाइ छ । यस प्रविधि अन्तर्गत विद्युत् माग कम भएको समय (अफ-पिक आवर) मा उत्पादन हुने अतिरिक्त जलविद्युत् हरित हाइड्रोजन ग्यासको रूपमा भण्डारण गरी ग्रिडलाई थप भार नपारी सिधै चुल्होमा बालेर खाना पकाइने उनले बताए ।
यो दूरगामी दृष्टिकोण सन् २०२३ मार्चदेखि सुरु भएको एक सघन र बहु-चरणीय प्रक्रियापछि अन्ततः वास्तविकतामा परिणत भएको छ । कन्सोर्टियमको प्रणाली डिजाइनद्वारा हाइड्रोजन चुल्होको विकास गरिएपछि स्विट्जरल्याण्डमा यसको सुरक्षा र कार्यक्षमताको विस्तृत परीक्षण गरिएको थियो । त्यसपछि काठमाडौं विश्वविद्यालयको हरित हाइड्रोजन ल्याबमा यस प्रविधिको सञ्चालन परीक्षण गरियो र बडिगाड गाउँपालिकामा विभिन्न प्रदर्शनहरू मार्फत समुदायको स्वीकार्यताको मूल्याङ्कन गरिएपछि मात्र यसलाई फिल्डमा उतारिएको एनइएफले जनाएको छ ।
नेपालमा हाल खाना पकाउने इन्धनको रूपमा हाइड्रोजनको प्रयोग सम्बन्धी कुनै कानुनी ढाँचा र सुरक्षा मापदण्ड छैन । यो प्रणाली दक्ष प्राविधिकको प्रत्यक्ष निगरानीमा नियन्त्रित प्रदर्शन वातावरणमा मात्र सञ्चालन गरिएको छ । परीक्षणले हरित हाइड्रोजन प्राविधिक रूपमा सम्भव र सांस्कृतिक रूपमा स्वीकार्य छ भन्ने प्रमाणित भने गरेको छ ।
हरित हाइड्रोजनलाई प्रयोगशाला र प्रदर्शनबाट उठाएर आम नेपालीको घर-घरमा व्यावसायिक रूपमा पुर्याउन अब राज्यको नीतिगत सहयोग अनिवार्य देखिएको छ । यसको सफल परीक्षणले नेपालका नीति निर्माता सामु एउटा गम्भीर प्रश्न छाडेको छ: के नेपाल सरकारले यो ऐतिहासिक उपलब्धिको महत्त्वलाई बुझेर आवश्यक नीति र नियमहरू तर्जुमा गर्दै हाइड्रोजनलाई स्वच्छ भान्साको भविष्यका रूपमा अगाडि बढाउन अग्रसरता देखाउला ?
इन्नोभेट युकेको 'ऊर्जा उत्प्रेरक कार्यक्रम'को आर्थिक सहयोगमा सञ्चालित यस अत्याधुनिक परियोजनालाई ६ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारको बलियो साझेदारीमा अघि बढाइएका थिए । जसमा एस एन्ड एओ लिमिटेड, लुसर्न युनिभर्सिटी अफ एप्लाइड साइन्सेज एन्ड आर्ट्स स्विट्जरल्याण्ड, नेपाल एनेर्जी फाउन्डेसन, ऊर्जा र वातावरणमा महिला सञ्जाल नेपाल, इन्भेष्टइन हरित लिमिटेड र जेट इन्जिनियरिङ सर्भिसेज लिमिटेड रहेका छन् ।
एनइएफका अनुसार परियोजनालाई स्थानीय स्तरमा सफल बनाउन वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, बडिगाड गाउँपालिका र गिरिङ्दी खोला लघुजलविद्युत् आयोजनाले महत्त्वपूर्ण सहयोग पुर्याएका छन् ।