भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी राजनीतिज्ञ हुन्, श्रीराम न्यौपाने । उनी प्रतिनिधिसभा सदस्य हुनु, एक व्यक्तिको चयनमात्र नभइ विवेक र प्रविधिको सन्तुलन देशको नीति निर्माणमा स्थापित हुनु हो । एक हातमा प्राविधिक ज्ञान र अर्कोमा जनताको भरोसा बोकेर अघि बढेका उनी, समकालीन राजनीतिमा आशाको दियो हुन् । नीति र थितिको खडेरी परेको समयमा विकासको नयाँ विम्ब कोर्ने सामथ्र्यवान व्यक्तिको रूपमा लिन सकिन्छ, उनलाई । जो भाषण वा गफभन्दा एक दूरदर्शी कर्मपूजकको रूपमा उभिएका छन् ।
आदिकवि भानुभक्त आचार्यको रामायणी श्लोकहरूले गुञ्जायमान चुँदी रम्घाको त्यो पवित्र सुगन्ध बोकेको माटोमा श्रीरामको जीवनको प्रारम्भिक चेतना जागृत भयो । जसरी भानुभक्तले नेपाली भाषाको जग बसालेर छरिएका मनलाई एउटै मालामा गाँसे, त्यसरी नै उनी विकास र समृद्धिको नयाँ आधुनिक रामायण लेख्न तम्सिएका छन् । उनको व्यक्तित्वमा भानुभक्तीय भूमिको ओजस्वी विरासत त छ नै, सँगै आधुनिक युगको प्राविधिक सामर्थ्य पनि ।
जुझारु इन्जिनियरको दृष्टिले उनले समाजका भत्किएका संरचना मात्र देखेका छैनन् । त्यहाँ निर्माणका सम्भावना केलाइरहेका छन् । उनको हकमा राजनीति केवल सत्ताको सिँढी होइन, मजबुत राष्ट्र निर्माणको ‘ब्लुप्रिन्ट’ समेत हो । व्यवसायीको रूपमा कर्मशीलता र जोखिम मोल्ने साहसले उनलाई सपना देख्ने नेता मात्र बनाएको छैन; भुइँ टेकेर विकासरूपी कला कुध्ने कुशल शिल्पीको आकारमा ढालेको छ ।
मस्र्याङ्दी नदीको अनवरत बहाव र मादीका छालबाट उत्पत्ति भएको बतासले परिवेशलाई सदा मनमोहक बनाउँछ । कुटनीतिज्ञहरू यदुनाथ खनाल (जसलाई राजदूतहरूका पनि राजदूत भनिन्छ), डा. भेषबहादुर थापा, राष्ट्रपति रामचन्द्र पौडेलजस्ता व्यक्ति जन्माएको तनहुँको माटोले धेरैलाई राज्यको उच्च तहमा पुर्याएको छ । तिनै मध्ये पछिल्ला अनुहार मान्न सकिन्छ, श्रीरामलाई ।
गोविन्दप्रसाद न्यौपाने र सीतादेवी न्यौपानेका सन्तान श्रीराम वि.सं. २०२६ साल असार २१ गते जन्मे – भानु नगरपालिका–५ (साविक बरभञ्ज्याङ गाविस–५) मा । उनको जीवन–सङ्घर्ष एउटा अविरल यात्रा जस्तो देखिन्छ । उनी कल्पना एवम् भावानात्मकभन्दा जीवनलाई इन्जिनियरिङ रेखाहरूसँग तादम्यता मिलाउन जन्मेका व्यक्ति लाग्छन् ।
उनमा भारतीय सेनाको अनुशासन, देहरादुनको एकान्तबास, पुल्चोक इन्जिनियरिङ क्याम्सको प्राविधिक राप र राजनीतिमा देखिने सफा एवम् हरित ऊर्जाको मिश्रण पाइन्छ ।
देहरादुन र लुइँटेल स्कुल
श्रीरामको प्रारम्भिक जीवन एवम् हुर्काइ आम नेपाली बालबालिकाको भन्दा भिन्न रह्यो । उनका पिता भारतीय सेनामा कार्यरत थिए । यही कारण उनको शिक्षाको जग भारतको देहरादुनमा बस्यो । सन् १९७६ मा देहरादुनको शालिनी प्रिपेरेटरी स्कुलमा भर्ना हुँदा उनी ६ वर्षका थिए । आमाको वात्सल्य, घरपरिवार, साथीसङ्गीसँगको बुर्कुसी, बाल खेलमैदान, गाउँका पाखा–पखेरा, खोलानाला र देउरालीमा रमाउने दिनमा उनी धेरै टाढा पुगिसकेका थिए । उनको बाल्यकालको त्यो अनमोल क्षणलाई उनका बुवाले भविष्यको सुन्दर विरुवाको रूपमा रोपिदिएका थिए ।
उनी बाल्यकाल सम्झिन्छन् – बुवाले शिक्षाको महत्त्व बुझ्नु भएको थियो । त्यही कारण म सानै उमेरमा देहरादुन पुग्नु पर्यो । परिवारबाट टाढा बस्नुपर्दाको त्यो एकान्तले सायद मलाई आत्मनिर्भर बन्न सिकायो ।
श्रीराम देहरादुनमा ५ वर्ष बसे । ५ कक्षासम्म पढे । त्यसले उनमा अनुशासन र अङ्ग्रेजी भाषाको जग बसाल्यो । ती दिनको कल्पना गर्दा उनी त्यो महत्त्वपूर्ण पाटो मान्छन् । मन भने तनहुँकै भिरपाखामा थियो ।
यही क्रममा बुवा सैनिक सेवाबाट निवृत्त भए । उनको पनि देहरादुने दैनिकीमा पूर्णविराम लाग्यो ।
नेपाल फर्किएपछि श्रीरामले तनहुँ चुँदीस्थित भानु संस्कृति निम्न माध्यमिक विद्यालयमा ६ र ७ कक्षा पढे । प्राकृतिकरूपमा मादी र मर्स्याङ्दीको धार जति तेज थियो, उनको पढाइ पनि त्यो भन्दा कम थिएन । त्यो प्रतिभाका अगाडि तनहुँ सीमित भूगोलजस्तै लाग्थ्यो । त्यतिबेला तनहुँ, लमजुङ र गोरखाका तीक्ष्ण विद्यार्थीका लागि एउटा मात्र गन्तव्य थियो, गोरखाको अमरज्योति जनता मावि (लुइँटेल स्कुल) । यो त्यही विद्यालय हो, जहाँबाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई २०२६ सालको एसएलसीमा नेपाल प्रथम भएर इतिहास रचेका थिए ।
श्रीराम पढाइमा तीक्ष्ण थिए, सिर्जनशीलताका दृष्टिले उतिकै अब्बल । एक हिसाबले डा. भट्टराईले जस्तै उनलाई पनि इतिहास रच्नु थियो । तथापि, लुइँटेल स्कुलमा प्रवेश पाउनु भनेको युद्ध जित्नु जत्तिकै कठिन थियो । सायद उनको परिपक्व हुँदै गएको बाल-मस्तिष्कले समेत अठोट गरेको थियो – मलाई असफल हुने छुट छैन । उनले प्रवेश परीक्षा दिए र सफल भए । विद्यालय शिक्षाका दृष्टिले धेरैका लागि सपना मानिने त्यस स्कुलको प्रवेश उनका लागि भने अत्यन्त सहज बन्यो । त्यो उनकै लगनशीलता, परिश्रम र सिर्जनशीलताको उपलब्धि थियो ।
८, ९ र १० कक्षा लुइँटेल स्कुलमा पढ्दै गर्दा उनले बुझे, मिहिनेतको विकल्प छैन । सोही विद्यालयबाट २०४२ सालमा एसएलसी दिए र २०४३ मा सफलताको प्रमाणपत्र हात पारे । यो एक शैक्षिक खुड्किलो मात्र थिएन, मध्यमवर्गीय परिवारभित्र हुर्किँदै गएको इन्जिनियरिङ शिक्षाको प्रस्थानविन्दुको सपना थियो ।
इन्जिनियरिङ र विद्यार्थी राजनीति
एसएलसीपछि उनको शैक्षिक यात्रा पोखरातर्फ मोडियो ।
सेती नदी पोखरा छोडेर तनहुँ हुँदै दक्षिणी दिशामा बगिरह्यो । उनी सेतीका गहिरा गल्छीसँग सामना गर्दै शिक्षाको चुली टेक्न हतारिँदै थिए । चुली पुग्ने आधारको रूपमा जोडियो – पोखराको लामाचौरस्थित पश्चिमाञ्चल क्याम्पस (डब्लुआरसी) । त्यहाँ उनले ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङको पढाइ पूरा गरे । उनी सो कलेजको पहिलो ‘ब्याच’का विद्यार्थी थिए । पहिलो ब्याच हुनुको चुनौती र अवसर दुवै थियो । उनले ती चुनौतीलाई अवसरमा बदले र सिङ्गो ब्याचमा टप गरे । यसर्थमा उनी शिक्षारूपी माछापुच्छ्रेको आधारशिविर पुगे ।
पढाइमा मात्र होइन, उनी नेतृत्वमा पनि उत्तिकै प्रखर थिए । पोखरामा रहँदा उनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा भाग लिए । उनको मिलनसार स्वभाव र स्पष्ट वक्ताको छविका कारण सम्भवतः सर्वाधिक मत ल्याएर सहसचिवमा विजयी भए ।
त्यसपछि श्रीरामको गन्तव्य बन्यो — इन्जिनियरिङ शिक्षाको चारधाम मानिने पुल्चोक क्याम्पस । त्यतिबेला नेपालभरिबाट केवल २४ जनाले मात्र सरकारी कोटामा बिई सिभिल इन्जिनियरिङ पढ्न पाउँथे । उनी यहाँ पनि कोटाभित्र आफ्नो नाम सुरक्षित गर्न सफल भए ।
पुल्चोक पढ्दै गर्दा उनी नेपाल विद्यार्थी संघमा आवद्ध भए र स्ववियुको निर्वाचन लडे । एक कार्यकाल नेविसंघ इकाइको सहसचिव र अर्को कार्यकाल अध्यक्षको जिम्मेवारीमा रहेर विद्यार्थी हकहितका लागि काम गरे । पुल्चोक क्याम्पसले उनलाई इन्जिनियर मात्र बनाएन, समाज र व्यवस्था बुझ्ने राजनीतिक चेतना पनि दियो । खासमा त्यो स्ववियु कार्यकाललाई नै उनको राजनीतितर्फको नयाँ घुम्ती समेत मान्न सकिन्छ ।
सरकारी जागिर र राजीनामा
बिई सिभिल इन्जिनियरिङ पूरा गर्ने वित्तिकै उनले सरकारी सेवामा प्रवेश गरे । तत्कालीन खानेपानी मन्त्रालयको खानेपानी विभागअन्तर्गत तनहुँमा इन्जिनियरको नियुक्ति लिएर गए । त्यो गृहजिल्लामै सेवा गर्ने अवसर थियो । ९ महिनाको छोटो अवधिमा उनले निमित्त कार्यालय प्रमुखको जिम्मेवारी समेत सम्हाले ।
अपसोच ! सरकारी कर्मचारीको स्थिर र सीमित दायरामा उनको ऊर्जा अटाउन सकेन । उनी जकडिएको सरकारी कार्यशैली, भुत्ते चेतना, आर्थिक अपारदर्शीताभित्र चेपिएर बस्न सकेनन् । अझ यसो भनौँ – उनको चारित्रिक विशेषताका लागि सरकारी सेवा सुहाउँदो भएन ।
उनी स्मृतिमा पुग्छन् – मलाई लाग्यो, म यहाँ फाइल मात्र मिलाउन जन्मिएको होइन । म त केही सिर्जना गर्न र देशलाई प्राविधिकरूपमा गति दिन जन्मिएको हुँ ।
अन्ततः ९ महिनामै उनले सरकारी जागिरबाट राजीनामा दिए । यो निर्णय धेरैका लागि आश्चर्यजनक थियो । श्रीरामका लागि भने एउटा नयाँ युगको थालनी थियो ।
शैक्षिक उद्यमशीलता
सरकारी सेवाबाट विदा लिँदै गर्दा उनको मनमा एउटा नयाँ योजनाको विरुवा टुसाइसकेको थियो - निजी स्तरबाट इन्जिनियरिङ कलेज स्थापना गर्ने । यो सोचको विजारोपणसँगै इन्जिनियरिङ शिक्षामा जागरणरूपी अभियान सुरु गरे । सन् १९९७ मा उनले 'काठमाडौँ इन्जिनियरिङ कलेज' स्थापनामा सक्रिय भूमिका खेले, जुन अहिले कालीमाटीमा सञ्चालनरत छ । सोही कलेजमा पहिलो बिई कोअर्डिनेटरको रूपमा उनले जिम्मेवारी पनि सम्हालेका थिए । करिब डेढ वर्षपछि उनलाई ठूलो संस्थापन समूहसँग घुममिल हुन गाह्रो भयो । त्यो अनुभव उनले जोडेको बौद्धिक पुँजी थियो, यसलाई कतै लगानी गर्न चाहन्थे । त्यसैको सार्थक रूप बन्यो - एडभान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट ।
यो कलेज उनले केवल १५ दिनभित्र अनुमति लिएर सञ्चालनमा ल्याएका थिए । उनको आफ्नै लगानी र भिजनमा चलेको यसले छोटो समयमै ख्याति कमायो । ९ वर्षसम्म संस्थापक प्रिन्सिपलको रूपमा काम गर्दा उनले कलेजलाई यस्तो उचाइमा पुर्याए कि पुल्चोक क्याम्पसपछि निजी क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउनेमा 'एडभान्स' नै थियो । स्थापनाकालमा कुपोण्डलमा रहेको यो शैक्षिक संस्था हाल बल्खुमा सञ्चालनरत छ ।
समय सधैँ अनुकुल रहेन । तत्कालीन समयमा माओवादी द्वन्द्व उत्कर्षमा थियो । उनले धेरै मानसिक तनाव र असहज वातावरण भोग्नुपर्यो । गुणस्तरीय एवम् प्राविधिक शिक्षामार्फत देश निर्माणमा चालिएका पाइला अवरोध हुँदै गए; जहाँ राजनीति हावी हुँदै गयो । चन्दा आतङ्क र कारबाहीका घटना बढ्न थाले । त्यसले उनलाई थकित बनायो । त्यति मात्र होइन, उनले देशै छोड्नुपर्ने परिस्थिति उत्पन्न भयो । केही समय विश्राम नै लिने निर्णय गरेर उनले नेपाल छोडे । करिब डेढ वर्ष बेलायत बसे, थप अध्ययन र अनुभव बटुले ।
'डिजिटल नेपाल'को सपना
जसै उनी नेपाल फर्के, त्यति बेला २०६२/६३ को जनआन्दोलनको समय थियो । आन्दोलनपछि देशमा संविधानसभाको निर्वाचन भयो । ६०१ जना सभासदले नयाँ नेपालको भाग्य लेख्नुपर्ने थियो । नेताहरूले मञ्चबाट 'नेपाललाई सिङ्गापुर र स्वीट्जरल्याण्ड बनाउँछौँ' भन्थे । श्रीरामलाई यिनै भाषण र योजनाले तान्यो तर ती सपना देख्ने आँखासँग आधुनिक संसार हेर्ने चस्मा (प्रविधि) थिएन ।
उनी ती दिन स्मरण गर्छन् - मैले एडभान्स कलेजमा भएका ९६ वटा कम्प्युटर र ४ वटा ल्याब प्रयोग गरेर सभासदलाई तालिम दिने योजना बनाए । प्रमुख ७ दलका नेताहरू गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द र चित्रबहादुर केसीलाई भेटेँ । प्राविधिक शिक्षाको महत्व बुझाउने कोसिस गरेँ ।
उनलाई लागेको थियो - २१औँ शताब्दीको संविधान लेख्ने हातहरूले इमेल। इन्टरनेट र गुगल सर्च गर्न (चलाउन) जान्नुपर्छ । आधुनिक सूचना–प्रविधिको ज्ञानबिना 'नयाँ नेपाल' बन्दैन । त्यही सन्दर्भ उनले सबै नेताहरूलाई सम्झाउँदै गए । यसबाट राजनीतिक तहमा उत्साहसमेत बढेको पाइयो । नेताहरू खुसी भए ।
'हामी ह्विप नै जारी गरेर यसमा सहभागी गराउँछौँ' भन्दा श्रीराम आफ्नो योजनाले सार्थकता पाएकोमा हर्षित भए । उद्घाटनका दिन रामचन्द्र पौडेल, सुशील कोइराला र कृष्णबहादुर महरा जस्ता हस्तीहरू कलेजमा पुगे । विडम्बना ! १४ दिने तालिमको दोस्रो दिनदेखि जम्मा ५१ जना मात्र सभासद उपस्थित भए ।
श्रीरामले पछि बुझे — धेरै सभासदलाई कम्प्युटरको किबोर्ड छुन समेत आउँदो रहेनछ । अङ्ग्रेजी 'एबीसीडी' समेत आउँदो रहेनछ । माओवादी जनयुद्ध, १९ दिने आन्दोलन हुँदै संविधानसभामा प्रवेश गरेका सभासदमा शिक्षाको आधारभूत ज्ञानसमेत नभएको पाएपछि उनी केही निराश पनि भए । उनलाई लाग्यो, यो कमजोर चेतना, अल्पविद्या र आवेशले सार्भभौम संविधान कसरी लेखिएला ?
हिजो ६०१ सभासदमा कम्तीमा शिक्षा र सामान्य प्राविधिक ज्ञान भएको भए आज देश एसिया प्रशान्तको गरिब हुने थिएन
‘हिजो ती ६०१ सभासदमा कम्तीमा शिक्षा र सामान्य प्राविधिक ज्ञान भएको भए आज देश एसिया प्रशान्तको गरिब हुने थिएन,’ यो श्रीरामको निष्कर्ष हो ।
पाइला पूर्वाधार विकासतर्फ
श्रीरामले शैक्षिक क्षेत्रमा एक तहसम्म काम गरेपछि विकास निर्माणका ठोस् कामतर्फ पाइला चाले । उनको व्यावसायिक जीवनको सबैभन्दा सफल पाटो 'पूर्वाधार' नै बनेको देखिन्छ; जुन मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने कामबाट आरम्भ भयो । त्यस क्रममा युरोपका अत्याधुनिक मेसिनहरू नेपालमा पहिलो पटक भित्र्याउन सफल भए । तिनै उपकरणमार्फत आयोजनाको 'अम्बाथान खण्ड'मा उनले सब-कन्ट्र्याक्टरको रूपमा काम गरे । सुरुमा घाटा भए पनि यसबाट उनलाई ठूलो प्राविधिक ज्ञान एवम् अनुभव हासिल भयो ।
त्यही अनुभवको आधारमा उनलाई 'नागढुङ्गा सुरुङ मार्ग' निर्माणमा जापानी कम्पनीले छनोट गर्यो । सुरुङभित्रको सिभिल इन्जिनियरिङको काम उनकै नेतृत्वमा समयमै सम्पन्न भयो । कोभिडको समयमा संसार ठप्प हुँदा पनि काम रोकिएन । उनले प्रमाणित गरे कि सही व्यवस्थापन भए कामदारलाई १३ दिनमात्र छुट्टी दिएर वर्षभरि काम गर्न सकिन्छ ।
हाल उनी कास्कीको सिकलेसमा ४३ मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्दैछन् । यो नेपालकै पहिलो यस्तो आयोजना हो, जहाँ विद्युत्गृहदेखि सबस्टेसनसम्म सबै भूमिगत छन् । सम्भवतः यो देशकै आधुनिक एवम् नमुना आयोजना हुने छ ।
राजनीतिमा जनअनुमोदन
शैक्षिक क्षेत्र, समाजसेवा र पूर्वाधार विकासमा सफल हुँदै आएका श्रीराम आफैँलाई लाग्न थाल्यो – कहीँ केही पुगिरहेको छैन । राजनीति, विकासनीति, समाजनीति र व्यवहारिक शैलीमा केही त खाडल छ । जबसम्म कार्यान्वयनयोग्य कानुन हुँदैन, तबसम्म हुने काम यस्तै-यस्तै हुन् । यही बोधले उनलाई प्रत्यक्ष राजनीतिको मैदानतिर धकेल्यो ।
हुनत, उनी विद्यार्थीकालदेखि प्रत्यक्ष परोक्ष राजनीतिभन्दा टाढा थिएनन् । यतिबेला भने उनले सोचे – अहिलेसम्मका काम र उपलब्धिको समीक्षा गर्दै प्रत्यक्ष राजनीतिमै होमिने ।
'नीति निर्माणको तहमा नपुगी देशको दुर्गति बदलिँदैन' भन्ने अठोठ लिएरै आफू यसतर्फ मोडिएको उनी बताउँछन् । तब उनी रास्वपामा आवद्ध भए । २०८० सालको उप–निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट स्वर्णीम वाग्लेलाई जिताउन लागे । लगत्तै पार्टीको ऊर्जा नीति बनाउन उनले ७ वटै प्रदेशमा पुगेर करिब २ दर्जन जनसंवाद भए । नेपाली राजनीतिक वृत्तमा यसरी जनतासमक्ष पुगेर छलफल, विमर्श र सरसल्लाह गरी नीति बनाएको इतिहास छैन । त्यो श्रीरामले नै गरे, रास्वपालाई उन्नत लोकतन्त्रको आधारभूमिका उभ्याउन ।
जब उनलाई रास्वपाले तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेद्वार बनाउने योजना बनायो । त्यसअघि उनले जनसमक्ष गएर ‘आफू प्रत्यक्ष राजनीतिको हकदार हुन सक्छु कि सक्दिनँ’ भन्ने प्रमाणित गर्ने सोच बनाए । जिल्लाका ४३ वटै वडामा पुगेर जनता र कार्यकर्ताको राय लिए । सरकारी विद्यालयमा स्मार्ट बोर्ड बाँडेर अध्ययन अध्यापनलाई डिजिटलाइज गर्नुपर्ने प्रशिक्षण दिँदै हिँडे । विद्यार्थी र नागरिकलाई जलविद्युत् आयोजनाको भ्रमण गराए । उनले प्रमाणित गरे कि राजनीति भनेको गाली गर्नु होइन, विकासको मोडेल देखाउनु हो । जनताले उनको विकासवादी छविलाई स्वीकार गरे । नेपालको इतिहासमै दुर्लभ मानिने त्यो 'स्व-परीक्षण'मा उनी सफल ठहरिए ।
नागरिक तहबाट अनुमोदन भएको त्यो पक्ष उनले पार्टीमा पेश गरे । रास्वपाले उनलाई उम्मेद्वार पक्का गर्यो । त्यही जनअनुमोदनको प्रमाण हो श्रीराम तनहुँ–२ बाट सानदार मतका साथ विजयी भए ।
समृद्धिको शताब्दी
श्रीराम अब प्रतिनिधिसभाको ढोकामा पुगेका छन् । त्यहाँ बसेर उनले कोरा भाषण र पुराना सपनाहरूको पुनरावृत्ति गर्नु छैन ।
सांसदको ५ वर्षे कार्यकालमा तपाइँको योजना के हो त ?
प्रश्नलाई उनले यसरी सरलीकरण गर्छन् – हिजो विकास निर्माणका काम हुँदै भएनन् भन्ने पक्षमा म छैन तर गुणस्तरीय काम हुन सकेनन् । त्यसको कारण स्थायी सरकार, स्थायी कानुन र समयानुकुल प्रविधिसम्मको पहुँचको अभाव रह्यो ।
उनको तर्कमा घोरिँदा हो पनि लाग्छ; गाउँ-गाउँमा बाटो पुग्यो, बिजुली, खानेपानी, इन्टरनेट पुग्यो तर नागरिकको आयस्तर बढेन । जीवनस्तरको पुरानो ढाँचामा परिवर्तन आएन । बदलिँदो प्रविधि शिक्षा, स्वास्थ्य र रोजगारसँग जोडिएन ।
अतः अबको ५ वर्ष स्थायी नीति बनाएर त्यसको कार्यान्वयन गर्ने समय हो भन्छन्, श्रीराम ।
उनी सुनाउँछन् – इतिहासका ८०–९० वर्ष अरबले पेट्रोलियममा एकछत्र राज गर्यो । प्रतिव्यक्ति आय पनि निकै वृद्धि भयो । हामीसँग ५ वर्षको मार्गचित्र स्पष्ट छ । नेपालको भाग्य पानीमा छ । वार्षिक १०० अर्ब घनमिटर सफा पानी बगेर जाने यो देशमा हाइड्रोजन ऊर्जा र एमोनिया उत्पादन गरी नेपाललाई विश्वको 'ग्रीन इनर्जी हब' बनाउन सकिन्छ ।
श्रीरामले हिजो ५१ जना सभासदलाई कम्प्युटर सिकाउन खोजे; आज सिङ्गो देशलाई 'नेक्स्ट जेनेरेसन इनर्जी (जेनजी पुस्ताको ऊर्जा)' को पाठ सिकाउन तल्लीन छन् । भ्रष्टाचारको दलदल, बेरोजगारीको पीडा र गरिबीको चक्र तोड्न उनी जुर्मुराएका छन् । यसको अन्त्य गर्न नीतिगत तहमै काम गरेर देशलाई समृद्धिको उचाइमा पुर्याउने उनको अठोट छ । यसलाई जेनजी पुस्ताको माग भन्दा अत्योक्ति हुँदैन । यो नै समृद्धिको शताब्दी बन्न सक्छ ।
श्रीराम राजनीतिको नाममात्र होइन, जो विकासको एउटा गतिशील इन्जिन बन्दैछ । उनी त देशलाई अँध्यारो सुरुङबाट निकालेर हरित ऊर्जाको उज्यालोमा पुर्याउने सङ्कल्प बोकेका योद्धा हुन्; जसले अब बन्ने सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारी कुशलता पूर्वक सम्हाल्न सक्ने हैसियत राख्छन् ।
जलस्रोत, ऊर्जा तथा समसामयिक आर्थिक क्षेत्रमा केन्द्रित रहेर कलम चलाउने वियोगी सम्पादक हुन् ।