विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

द्वन्द्वको परिभाषा तथा अवधारणा

संगठन/समाजमा रहेका दुई वा दुईभन्दा वढी व्यक्ति वा समूहबीच कुनै कारणले एक आपसमा उत्पन्न हुने आपसी विवाद, मनमुटाव, कलह, आक्रोश, रिस, द्वेष, मनोमालिन्य, सङ्घर्ष एवं झगडाको अवस्था नै द्वन्द्व हो । द्वन्द्व दुई वा दुईभन्दा बढी पक्षबीचको प्रतिद्वन्द्विताको अवस्था समेत हो । द्वन्द्वको अवस्थामा द्वन्द्वरत पक्षहरू एक–अर्कालाई असहयोग र वाधा व्यवधान पुर्‍याएर आफ्ना स्वार्थ पूरा गर्न प्रयासरत रहेका हुन्छन् । द्वन्द्व एउटा यस्तो अवस्था हो जहाँ फरक–फरक बीचार र आवश्यकता बोकेका व्यक्ति वा समूहहरू एक–अर्कालाई असुविधा र व्यवधान पुर्‍याएर आफ्ना स्वार्थहरू पूरा गर्न प्रयासरत हुन्छन् ।

द्वन्द्व व्यवस्थापनका अवधारणा/दृष्टिकोण

१. परम्परावादी दृष्टिकोण (Traditional Approach) ः द्वन्द्व व्यवस्थापन सम्बन्धी परम्परावादी दृष्टिकोणले द्वन्द्वलाई जसरी पनि दवाउनुपर्छ भन्ने मान्यता राख्दछ । यस अवधारणाले द्वन्द्व सदैव नकारात्मक हुन्छ, द्वन्द्वले समाजलाई हानी नोक्सानी पुर्याउने भएकाले द्वन्द्वलाई जसरी पनि दवाइनुपर्छ, देखापर्न दिनुहुँदैन भन्ने मान्यता यस अवधारणाले बोकेको हुन्छ । द्वन्द्वसम्बन्धी परम्परावादी दृष्टिकोणले सन् १९३० को दशकसम्म मान्यता पाएको देखिन्छ ।

२. मानव सम्बन्धवादी/व्यवहारवादी दृष्टिकोण (Behavioral Approach) : द्वन्द्वसम्बन्धी व्यवहारवादी (मावन सम्बन्धवादी) दृष्टिकोणले द्वन्द्वलाई स्वभाविक प्रक्रियाका रूपमा लिनुपर्ने मान्यता राख्दछ । यस दृष्टिकोणका अनुसार द्वन्द्वको सिर्जना हुनु स्वभाविक हो र कतिपय अवस्थामा द्वन्द्वलाई लाभमा रूपान्तरण गर्न पनि सकिन्छ भन्ने मान्यता बाेकेको हुन्छ । व्यवहारवादी दृष्टिकोणले सन् १९७० सम्म प्रभाव जमाएको पाइन्छ । 

३. अन्तरक्रियात्मकतावादी दृष्टिकोण (नवीनतम अवधारणा) : द्वन्द्व व्यवस्थापनको यो दृष्टिकोण सन् १९७० पछि विकास भएको हो । यसले संगठनमा द्वन्द्व शून्य भएको अवस्थामा द्वन्द्वलाई निश्चित हदसम्म प्रोत्साहित गरिनुपर्ने मान्यता राख्दछ । यस अवधारणाले द्वन्द्वलाई प्रभावकारी तवरले व्यवस्थापन गर्नुपर्ने मान्यता राख्दछ ।

द्वन्द्वका सकारात्मक पक्ष  

  • निश्चित हदसम्मको द्वन्द्व संगठनमा परिवर्तन,गतिशीलता,नवीनता र सुधारका लागि अनिवार्य छ।
  • द्वन्द्वका क्रममा द्वन्द्वरत पक्षहरू एकले अर्कोलाई पराजित गर्ने होडवाजीमा थप अध्यन गर्ने भएकाले द्वन्द्वले व्यक्तिगत र बौद्धिक वृद्धिलाई प्रोत्साहन गर्छ।
  • विभिन्न अवसरको सृजना गराउँछ ।
  • नयाँ सोचाइको विकास हुन्छ ।
  • समस्याको समयमै समाधान हुन्छ ।
  • सृजनशीलता बढाउँछ ।
  • नेतृत्वको क्षमता परीक्षण हुन्छ ।
  • गुणस्तरीय निर्णय निर्माणमा सहयोग पुर्‍याउँछ ।
  • संगठनमा सहकार्य र साझेदारीको संस्कृती प्रवर्द्धनमा सहयोग पुर्‍याउँछ ।

  द्वन्द्वका नकारात्मक पक्ष

  • संगठनको अमूल्य समय र स्रोत साधनको दुरुपयोग हुन्छ ।
  • संगठनको प्रतिष्ठामा आँच आउँछ ।
  • सांगठनिक क्रियाकलापमा असमझदारी बढ्छ ।
  • संगठनको ख्याति र उत्पादकत्व घट्छ ।
  • कर्मचारीमा असन्तुष्टि बढ्छ ।
  • तनाव र नकारात्मक सोचको विकास हुन्छ ।
  • संगठनको कार्यहरूमा अवरोध खडा हुन्छ ।
  • चरम द्वन्द्वको अवस्थामा धनजनको क्षति हुन सक्छ ।
  • संगठनमा कार्यरत कर्मचारीहरूको कार्यसम्पादन कमजोर बन्छ ।
  • संगठनको प्रतिष्ठामा आँच आउँछ ।
  • संगठनमा तनाव सिर्जना गर्छ ।
  • द्वन्द्वले संगठनको परिवर्तन व्यवस्थापनमा अवरोध सिर्जना गर्दछ ।

नेपाल विद्युत्‌ प्राधिकरणमा रहेका द्वन्द्वका विभिन्न स्वरुप

१. वृत्ति विकासमा द्वन्द्व : समान दर्जाका फरक फरक सेवा, समूह र उपसमूहमा अवसर र सेवा सुविधामा असमानता छ। जस्तै, प्रशासन र प्राविधिक सेवामा सेवा सुविधा र अवसरमा विभेद छ । 

२. सेवा प्रवाह गुणस्तरीय नभएका कारण सेवाग्राही र कर्मचारीबीच द्वन्द्व छ ।

३. तालुक मन्त्रालय र विद्युत्‌ प्राधिकरण बीच पछिल्लो समयमा विभिन्न मामलाका कारण  द्वन्द्व देखिएको छ ।

४. व्यवसायी र विद्युत्‌ प्राधिकरणबीच डेडिकेटेड र ट्रङ्क लाइनको विषयलाई लिएर द्वन्द्व छ ।

५. विद्युत्‌ प्राधिकरण र स्थानीय तहबीच सडक बत्तीको महसुललाई लिएर द्वन्द्व छ ।

६. विद्युत्‌ प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच पोल भाडाको सम्बन्धमा द्वन्द्व छ ।

७. विद्युत्‌ प्राधिकरण र विभिन्न कन्ट्रयाक्टरबीच समेत विवाद रहेको पाइन्छ ।

८. विद्युत्‌ प्राधिकरण र ट्रेड युनियनबीच समय–समयमा द्वन्द्व भएको देखिन्छ । 

९. सुपरीवेक्षक र कर्मचारीबीच द्वन्द्व देख्न सकिन्छ ।

१०. कर्मचारी–कर्मचारीबीच व्यक्तिगत अहमताको कारणले द्वन्द्व बढेको देखिन्छ ।

११. विभिन्न राजनीतिक दर्शनमा विभाजित कर्मचारीका कारणले समेत कर्मचारीबीच द्वन्द्व रहेको देखिन्छ ।

द्वन्द्व व्यवस्थापन

संगठनमा द्वन्द्व शून्य रहेको अवस्थामा द्वन्द्वलाई निश्चित हदसम्म प्रोत्साहित गर्ने र हदभन्दा माथिको द्वन्द्वलाई उपयुक्त विधि प्रयोग गरी समाधान गर्ने व्यवस्थापकीय कलालाई द्वन्द्व व्यवस्थापन भनिन्छ ।

नेपाल विद्युत्‌ प्राधिकरणमा रहेको द्वन्द्व व्यवस्थापनका उपाय देहाय बमोजिम रहेका छन् :

१. द्वन्द्व प्रोत्साहन : संगठनमा द्वन्द्व शून्य रहेको अवस्थामा वाञ्छिततस्तरको द्वन्द्व सिर्जना गर्न संगठनमा यसलाई प्रोत्साहित गरिनुपर्दछ । संगठनको सिर्जनशीलता, नवीनता, परिवर्तन, गतिशीलता र प्रभावकारिताका लागि निश्चित हदसम्मको द्वन्द्व अनिवार्य मानिन्छ । संगठनको कार्य सञ्चालनमा ऊर्जा प्रदान गर्न यस्तो द्वन्द्वलाई प्रोत्साहित गर्न निम्नलिखित उपाय अवलम्वन गर्न सकिन्छ : 

  • भिन्न मतलाई पुरस्कृत गर्ने
  • संगठनका सदस्यबीच द्विविधापूर्ण सन्देशको प्रवाह
  • संगठनबाहिरका व्यक्तिलाई संगठनमा भित्र्याउने
  • संगठनका सदस्यलाई संगठनबाट निष्काशन गर्ने
  • संगठनको पुनर्संरचना गर्ने
  • आलोचकको नियुक्ति गर्ने
  • विद्यमान प्रणालीलाई चुनौती दिने

२. द्वन्द्व समाधान : संगठनमा देखिएको निश्चित हदभन्दा माथिको द्वन्द्वलाई समयमै उचित तवरले समाधान गरिनुपर्दछ । समयमै समाधान गर्न नसकिए द्वन्द्व बढ्दै गएर त्यस्तै विध्वंसात्मक स्वरूप लिनसक्छ । यसर्थ संगठनमा रहेको अवाञ्छितस्तरको द्वन्द्वलाई  निम्न लिखित उपायको अवलम्वन गरी समाधान गर्न सकिन्छ ।

  • द्वन्द्वलाई पन्छाउने (Avoidance)
  • द्वन्द्वलाई निष्क्रिय पार्ने (Diffusion)
  • द्वन्द्वलाई सीमित तुल्याउने (Containment)
  • द्वन्द्वको सामना गर्ने (Facing)

नेपाल विद्युत्‌ प्राधिकरणमा रहेको द्वन्द्व व्यवस्थापनका लागि निम्न लिखित अन्य उपाय समेत अवलम्वन गर्न सकिन्छ :

  • कर्मचारीको गुनासोको प्रभावकारी रूपमा व्यवस्थापन गर्ने
  • नेतृत्वको शैलीमा सुधार गर्ने
  • स्रोतसाधनको वितरणमा न्याय कायम गर्नुपर्ने 
  • सेवा, सुविधा, अवसर र वृत्ती–विकासमा समानता कायम गर्नुपर्ने
  • व्यवस्थापकहरूमा द्वन्द्व व्यवस्थापनका सीपको विकासका लागि तालिम तथा प्रशिक्षणको विकास गर्नुपर्ने
  • संगठनका नीति नियममा समयानुकुल परिवर्तन गर्ने
  • संगठनमा परिवर्तन व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने
  • व्यवस्थापकको द्वन्द्वप्रतिको परम्परागत धारणालाई परिवर्तन गर्नुपर्ने
  • समन्वय र सहकार्यलाई प्रभावकारी बनाउँदै संगठनका विभिन्न मामलामा बुझाइमा एकरूपता कायम गर्नेलगायत अन्य ।
  • स्थानीय तह र नेपाल विद्युत्‌ प्राधिकरणबीच सडक वत्तीको विषयमा रहेको विवाद समाधानका लागि दुवै पक्षका प्रतिनिधि सम्मिलित कमिटी गठन गरी संयुक्त रूपमा सडक बत्तीको संख्या, खपत युनिट र महशुलको टुङ्गो लगाउने ।

नेपाल विद्युत्‌ प्राधिकरणमा रहेको द्वन्द्व व्यवस्थापनका लागि निम्नलिखित रणनीति अवलम्वन गर्न सकिन्छ :

१.  पन्छाउने रणनीति
२.  प्रतिस्पर्धात्मक रणनीति
३.  समायोजनमूलक रणनीति
४.  सम्झौतामुखी रणनीति 
५.  सहकार्यमूलक रणनीति 

माथि उल्लेखित विभिन्न उपाय तथा रणनीतिको अवलम्वन गरी नेपाल विद्युत्‌् प्राधिकरणभित्र विभिन्न स्वरुपमा रहेका द्वन्द्वको प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ । द्वन्द्व शून्य भएको संगठनको परिकल्पना गर्न सकिँदैन । संगठनमा कुनै न कुनैरूपको द्वन्द्व रहिनै रहन्छ । यसर्थ संगठनमा रहेको द्वन्द्वको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने आजको आधुनिक संगठनको एक प्रमुख चुनौती हो ।

लेखक केसी नेपाल विद्युत्‌ प्राधिकरणका सहायक निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३