सार्वजनिक खरिद: सार्वजनिक निकायहरूले सार्वजनिक कोषको प्रयोग गरी कानुनले तोकेका विधि, प्रक्रिया तथा मापदण्डवमोजिम गर्ने जुनसुकै किसिमका वस्तु तथा सेवाको खरिदलाई सार्वजनिक खरिद भनिन्छ। त्यस प्रक्रियामार्फत सार्वजनिक निकायले मालसमान, परामर्श सेवा, निर्माण कार्य तथा अन्य सेवा खरिद गर्ने गर्दछन्।
सार्वजनिक खरिद ऐन, २०६३ ले सार्वजनिक खरिदलाई देहायवमोजिम परिभाषित गरेको छ: खरिद भन्नाले सार्वजनिक निकायले यस ऐनवमोजिम कुनै मालसमान, परामर्श सेवा वा अन्य सेवा प्राप्त गर्ने वा निर्माण कार्य गर्ने वा गराउने कार्य सम्झनुपर्दछ।
• सार्वजनिक खरिद सार्वजनिक निकायले प्रतिस्पर्धा मार्फत वस्तु वा सेवाको खरिद गर्ने विषयसँग सम्बन्धित छ। यस कार्यलाई गाइड गर्ने व्यवस्थाका लागि नेपालमा एकीकृत छाता कानुनको रूपमा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमवाली, २०६४ कार्यान्वयनमा रहेको छ। प्राधिकरणले आफ्नो खरिद प्रक्रियालाई व्यवस्थित गर्न ऐनसँग सादृष्यता कायम हुने गरी आर्थिक प्रशासन विनियमावली, २०६८ मा खरिद सम्बन्धी विभिन्न व्यवस्था गरेको छ।
• विश्वको कुल गार्हस्थ उत्पादनको करिब २० प्रतिशत रकम सार्वजनिक खरिदको काममा खर्च हुने गर्दछ भने नेपालको कुल बजेटको करिब दुई तिहाई रकम पनि यसै मार्फत खर्च हुने गर्दछ।यसर्थ सार्वजनिक खरिद सार्वजनिक वित्त व्यवस्थापनको एक महत्त्वपूर्ण पक्षको रूपमा रहेको हुन्छ।
सार्वजनिक खरिदका सिद्धान्तहरू
• पारदर्शिता
• प्रतिष्पर्धा
• समान व्यवाहार
• मूल्य सार्थकता
• जवाफदेहिता
• नैतिकता
• निष्पक्षता
• स्वच्छता
सार्वजनिक खरिदका विधिहरू
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ अनुसार सार्वजनिक खरिदका विधिहरू देहायवमोजिम रहेका छन्
क) मालसमान, निर्माण कार्य वा अन्य सेवा खरिद गर्नुपर्दा
• अन्तराष्ट्रिय स्तरमा खुल्ला वोलपत्र
• राष्ट्रिय स्तरमा खुल्ला वोलपत्र
• सिलवन्दी दरभाउपत्र आह्वान
• सोझै खरिद
• उपभोक्ता समिति वा लाभग्राही समुदायलाई सहभागी गराई
• अमानतव
• एकमुष्ठ दर विधि
• क्याटलग सपिङ विधि
• लिमिटेड टेण्डरिङ विधि
• पुरानो दिने र नयाँ लिने विधि
ख) परामर्श सेवा खरिद गर्नुपर्दा
• प्रतिस्पर्धात्मक विधि
• सोझै वार्ताद्वारा
ग) विशेष परिस्थितिमा गरिने खरिद (सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ वमोजिमको खरिद)
प्राधिकरणमार्फत हुने खरिद प्रक्रियाका प्रमुख समस्याहरू
• खरिद कार्यमा संलग्न जनशक्तिमा खरिद सम्बन्धी यथेष्ट ज्ञान तथा सीपको अभाव
• खरिद कार्यमा संलग्न पक्षहरूमा नैतिकता र सदाचारिताको अभाव
• कानुनी अस्पष्टताले खरिद कार्यमा कठिनाई र अन्योलता
• खरिद कार्यमा संलग्न जनशक्तिको योग्यता सम्बन्धमा अस्पष्ट व्यवस्था
• खरिद कार्यमा संलग्न पक्षले ऐनमा उल्लिखित आचरणका प्रावधानको पालना नगर्ने
• आर्थिक प्रशासन विनियमावलीमा खरिद योजना स्वीकृत नगराई खरिद गर्न नहुने स्पष्ट व्यवस्था हुँदा हुँदै सम्पूर्ण कार्यालयले खरिद योजना स्वीकृत नगराई कार्य गर्ने
• बजेट हुँदा हुँदै समयमै खरिद प्रक्रिया अघि नबढाउने
• अस्वाभाविक लागत अनुमान तयार गर्ने
• कार्यालयहरूले सम्पूर्ण खरिद प्रक्रिया अनलाइन प्रणालीमा आवद्ध नगर्ने
• प्रतिस्पर्धालाई सीमित पार्ने गरी निश्चित कम्पनी तथा ब्राण्डलाई मात्र मिल्ने गरी स्पेसिफिकेसन तयार गर्ने
• खरिद कार्यमा संलग्न अधिकारीहरूको निर्णय निर्माण र जोखिम वहन गर्ने कमजोर क्षमता
• खरिद प्रक्रियामा देखिएका विवादको समयमै समाधान हुन नसकी खरिद प्रक्रिया नै अलपत्र पर्ने
• नियमनकारी निकायको अनावश्यक चासो तथा हस्तक्षेपले खरिद प्रक्रियामा संलग्न कर्मचारीको मनोबल कमजोर हुने
• खरिद प्रक्रिया प्रभावकारी नभएकोले विद्युतीय पूर्वाधार निर्माणका कामहरूसमेत द्रुत गतिमा अघि बढ्न नसकेको
• सोझै खरिदका नाममा खरिदलाई टुक्रा-टुक्रा बनाई सोझै खरिद गर्ने प्रवृत्ति
• खरिद प्रक्रियामा देखिएका कमीकमजोरी सुधार गर्नका लागि आन्तरिक लेखा परीक्षण तथा अन्तिम लेखापरीक्षणबाट दिइएका सुझावको फितलो कार्यान्वयन
• खरिद कार्यमा भएको सम्झौता अनुसार समयमै कार्य सम्पन्न हुन नसक्दा आयोजनाको लागत बढ्दै गरेको
समाधानका उपायहरू
• सार्वजनिक खरिद कार्यका समस्याको पहिचान तथा समाधानका लागि प्रोक्योर्मेन्ट क्लिनिकको अवधारणा लागु गर्ने।
• विद्यमान खरिद प्रणालीका सबल र दुर्बल पक्षको पहिचानका लागि 'मेथोडोलजी फर एसेसिङ पब्लिक प्रोक्योर्मेन्ट सिस्टम' लागु गर्ने।
• खरिद कार्यमा संलग्न जनशक्तिको क्षमता विकासका लागि तालिम तथा प्रशिक्षणको व्यवस्था गर्ने ।
• प्रचलित खरिद कानुनको उल्लङ्घन गरी खरिद कार्यमा संलग्न कर्मचारीलाई विभागीय कारवाही गर्ने कार्यलाई थप प्रभावकारी बनाउने ।
• खरिद कानुनमा रहेका अष्पष्टतालाई थप प्रष्ट पार्ने ।
• आर्थिक प्रशासन विनियमावलीमा रहेका खरिद सम्बन्धी व्यवस्थालाई समयानुकूल संसोधन गर्दै जाने ।
• खरिद सम्बन्धी विवादको समयमै समाधान गर्ने ।
• असल खरिद अभ्यासलाई पुरस्कृत गर्ने तथा प्रचलित खरिद कानुनको उल्लङ्घन गर्नेलाई कानुन वमोजिमको कारवाही गर्ने ।
• प्रत्येक कार्यालयमा खरिद एकाईको गठन गर्ने ।
• खरिद प्रक्रियामा देखिएका कमीकमजोरी सुधार गर्न आन्तरिक लेखा परीक्षण तथा अन्तिम लेखापरीक्षणबाट दिइएका सुझावको अनिवार्य कार्यान्वयन गर्ने।
• वस्तुगत आधारबिना खरिद कार्यको भेरिएसन गर्ने कार्यलाई निरुत्साहित गर्ने।
विद्युत् उत्पादन, प्रसारण, वितरण र व्यापारको मुख्य लक्ष्य रहेको विद्युत् प्राधिकरणमा खरिद सम्बन्धी विविध समस्या रहेका छन्।माथि उल्लिखित सुझावहरूको प्रभावकारी कार्यान्वयन गर्न सके खरिद प्रक्रियामा थप सुधार ल्याई प्रभावकारी कार्यसम्पादन हुनेमा आशावादी हुन सकिन्छ।