विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
पुस्तक अंश

व्यापार–व्यवसायका नयाँ–नयाँ क्षेत्रमा प्रवेश गर्नुको आफ्नै अलग्गै आनन्द र जोखिम छन् । जीवनमा अघि बढ्न यस्ता चुनौतीको सामना गर्नुको विकल्प हुँदैन । धेरै विख्यात मानिसको जीवनमा पनि हामी यस्ता कुरा पाउँछौँ । देश र समयको आवश्यकतालाई बुझेर अघि बढे मात्रै मानिसको जीवन वास्तवमै सार्थक हुन्छ । 

समय र परिस्थितिले पनि हाम्रो समूहलाई नयाँ क्षेत्रमा प्रवेश गर्नुपर्ने बोध गराइरहेको थियो । एकातिर, परम्परागत आयात–निर्यातको व्यापार अनि सञ्चालित खाद्यान्न सम्बद्ध उद्योगमा समस्याहरू क्रमशः बढिरहेका थिए । अर्कोतिर, व्यवसायी र उद्यमीबीच पनि चर्को प्रतिस्पर्धा हुन थालेको थियो । यस्तो स्थितिमा मैले समूहको लगानीको क्षेत्रलाई क्रमशः विस्तार गर्दै विविधिकरणको दिशातिर अघि बढाउने सोच बनाएँ । मेरो चाहना नाफा कम भए पनि स्थायित्वको क्षेत्रतिर व्यापार–व्यवसायलाई रूपान्तरण गर्नु थियो । त्यसक्रममा लगानीको नयाँ क्षेत्र जलविद्युत् आयोजनामा लगानी गरेर अघि बढ्नुपर्ने आवश्यकता महसुस गरेँ । यो, वि.सं. २०६१/६२ तिरको कुरा हो ।

वास्तवमा यो ‘ड्रिम प्रोजेक्ट’ टिएम समूहमा आबद्ध हुँदादेखि नै सुरू भएको थियो । ठूल्दाइ, तोलाराम दुगडले परम्परागत रूपमा हुँदै आएको व्यापार– व्यवसायलाई विस्तार गर्नुभयो तर उमेर र अन्य कतिपय कारणले नयाँ क्षेत्रमा जाने जोखिम उठाउन चाहनु भएन । तथापि, जलविद्युत् क्षेत्रमा लगानी गर्नुपर्ने मेरो सोचलाई भने रोक्नु भएन, निरुत्साहित गर्नुभएन । उहाँ भन्नुहुन्थ्यो, ‘तिमीलाई यसमा लगानी गर्न उचित लाग्छ भने गर । ठूल्दाइको यस्तो सहमतिले पनि मलाई नयाँ क्षेत्रमा जान प्रोत्साहित गर्‍यो ।

जलविद्युत् आयोजनाको परिकल्पनादेखि निर्माण हुँदै उत्पादन प्रक्रियासम्म पुगेर पूर्णता प्राप्त गर्न कम्तीमा १० देखि १५ वर्षसम्म लाग्छ भन्ने थाहा थियो । वि.सं. २०६०/६१ ताका त यस्तो आयोजनामा लगानी गर्नुलाई उद्योगतिरको सबैभन्दा कठिन काम मानिन्थ्यो । आफूले लगानी गरेर छोरा–नातिको पालामा प्रतिफल पाउँदा पनि ठीकै ठान्नेहरूले मात्र जलविद्युत्‌मा लगानी गर्नुपर्छ भन्ने भनाइ थियो । तर, बहुसङ्ख्यक सेयर आफैँले राखेर आफ्नो एकल नेतृत्वमा मिहिनेत र समर्पणका साथ काम गर्ने हो भने आयोजना निर्माणको अवधि छोट्याउन सकिन्छ भन्नेमा म विश्वस्त थिएँ तर यसो भन्न सकिने ठोस आधार थिएन । तथापि, म जोखिम उठाउन तत्पर थिएँ ।

जलविद्युत् नै किन ?

मैले जलविद्युत् क्षेत्रमै लगानी गरेर अगाडि बढ्ने आवश्यकता महसुस गर्नुका धेरै कारणहरू थिए, त्यसबेला । वास्तवमा, नेपाल जलस्रोतका दृष्टिले धनी भए पनि विद्युत् उत्पादन भने अत्यन्त न्यून थियो । अझै पनि छ । नेपालमा जलविद्युत् आयोजना बनाएर विद्युत् उत्पादन गर्न सकिने नदीहरूको सङ्ख्या धेरै छन् । कतिपय नदीमा ठूलो बाँध बनाएर जलभण्डार (स्टोरेज) निर्माण गरी बाह्रै महिना विद्युत् उत्पादन गर्न  सकिन्छ भने अधिकांशबाट वर्षायाममा बढी र हिउँदमा कम उत्पादन गर्न सकिन्छ ।

जलविद्युत् नेपालको राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्र हो । यसकारण, राज्यले पनि यस क्षेत्रलाई प्रोत्साहन दिने नीति अख्तियार गरेको छ । अर्को कुरा, मैले जहिल्यै पनि सरकारले प्राथमिकतामा राखेका कामहरू गर्दै आएको थिएँ । जलविद्युत् क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेका कारण पनि म यसतर्फ आकर्षित भएँ ।
दोस्रो, बजारको अभाव छैन । किनकि, उद्योग स्थापना, भान्सासहितका घरेलु आवश्यकता, यातायात लगायत क्षेत्रमा विद्युत् खपत हुने प्रशस्त सम्भावना र स्थिति रहिरहेकै छ । साथै, यसको बजार मूल्यमा उत्ति साह्रो थपघट हुँदैन र आयोजनाबाट निश्चित आय भइरहन्छ । यसको निर्माणका लागि चाहिने ऋण स्वदेशी बैंकहरूबाटै उपलब्ध हुन सक्ने र बिनामूल्यको कच्चा पदार्थ स्वदेशी नै प्रयोग गर्न सकिने हुँदा यसतर्फ मेरो ध्यान गएको हो । यद्यपि, यो सबैभन्दा ठूलो लगानी र अत्यन्त जोखिमपूर्ण क्षेत्र हो । 

तेस्रो, मैले जलविद्युत् क्षेत्रमा लगानीको सोच बनाइरहेको समयमा कतिपय नेता एवम् उच्चपदस्थ कर्मचारीहरूको जलविद्युत् आयोजनाहरूमा लगानी वा बिनालगानीको सेयर रहेको सुनेको थिएँ । यसबाट मैले यो क्षेत्र पक्कै पनि सबैको प्यारो र संरक्षित क्षेत्र हो भन्ने आकलन गरेँ । आयोजना निर्माणका समयमा लेख्न नसकिने कतिपय अपारदर्शी खर्च हुन सक्ने भए पनि आयोजना सञ्चालनपछि ‘एकाउन्ट पेयी चेक, प्यान बिल, भ्याट बिल’को प्रयोग र बैंकहरूले अडिट, टेक्निकल अडिट गर्ने कारणले अपारदर्शी खर्च गर्ने गराउने गुन्जाइस अत्यन्त कम हुने स्थिति पाएँ । साथै, आयोजनाको निर्माणपछि कुनै किसिमको कर छल्ने ठाउँ पनि छैन । आयोजनाको हिसाबकिताब बैंकहरूको भन्दा पारदर्शी हुने हुँदा नयाँ पुस्ताले यस्ता कामलाई रुचाउने मेरो सोचाइ रह्यो ।

चौथो, जलविद्युत् लगानी अनुसार कम प्रतिफल दिने र प्रतिसेयर आम्दानी कम हुने क्षेत्र भए पनि घाटा हुने सम्भावना नभएको क्षेत्र हो । शुरूमा सोचेभन्दा बढी लागत लाग्ने भए पनि ऋण तिर्न सकिने र आम्दानीमा क्रमशः वृद्धिसँगै राजस्व पनि बढ्दै जाने स्थिति देखिन्छ । अनि ऋण तिरिसकेपछि आयोजनाको आम्दानीको ५० देखि ६० प्रतिशतसम्म ‘डिभिडेन्ट’ पाउन सकिने सम्भावना पनि रहेको छ ।

पाँचौ, जलविद्युत् क्षेत्रको विकासले आयोजना क्षेत्रको समग्र विकासमा महत्त्वपूर्ण सहयोग पुर्‍याउँछ । आयोजना निर्माण हुने भएपछि सडक, बजार, आधुनिक कृषि प्रणाली, पर्यटन, स्वास्थ्य–सेवा र विद्यालय लगायत क्षेत्रलाई अघि बढाउन यथेष्ट मद्दत पुग्ने गर्छ । आज प्रविधिको युग हो । प्रविधिका कारण आज पूरै संसार एउटा गाउँमा परिणत भएको स्थिति छ । हाम्रो देशका कतिपय ग्रामीण इलाकामा अझै विद्युत् उपलब्ध छैन । यसबाट प्राप्त हुने लाभबाट ती क्षेत्र उपेक्षित छन् ।

अर्को कुरा, जसरी पेट्रोलियम पदार्थ, कोइला, ग्यासको प्रयोगले पर्यावरणलाई अत्यन्त प्रतिकूल प्रभाव पार्छ । त्यसरी बिजुलीले पटक्कै पार्दैन । अहिले बढ्दो तापक्रमका कारण निम्तिएका समस्याहरूसँग विश्व जुधिरहेको छ । यसको न्यूनीकरण गर्न विश्वव्यापी रूपमा प्रयासहरू भइरहेका छन् ।

वास्तवमा ती समस्यालाई न्यून गर्ने एउटा महत्त्वपूर्ण उपाय जलविद्युत् आयोजनाहरूको निर्माण गरी अन्य प्रकारबाट उत्पादन हुने बिजुली र ऊर्जालाई कम गर्दै शून्यको स्थितिमा ल्याउनु पनि हो । विद्युत्‌काे प्रयोग बढाएर पेट्रोलियम पदार्थको खपत घटाउन सकियो भने वैदेशिक व्यापार घाटाको अहिलेको स्थितिमा पक्कै सुधार आउँछ । यसले राष्ट्रिय अर्थतन्त्रलाई समेत सबल बनाउँछ ।

जलविद्युत् यो शताब्दीकै सबैभन्दा महत्त्वपूर्ण र नभई नहुने अत्यन्त संरक्षित क्षेत्र हो । सोही कारण जलविद्युत्‌मा लगानी गर्न बैंकहरूबाट सस्तो ब्याजमा आवश्यक रकम पाइन्छ । यो यस्तो क्षेत्र हो, जसलाई कसैले कुनै पनि नाममा उपेक्षा गर्न सक्दैन । साथै, जलविद्युत् विकासले कार्बन उत्सर्जनलाई कम गर्छ । यसो हुँदा कार्बन उत्सर्जन कम गरेबापत पाइने रकम पनि हाम्रो जस्तो कम विकसित देशका लागि अत्यन्त लाभप्रद हुन्छ ।

अर्को विशिष्ट कारण हो– जैनधर्मका प्रवर्तक भगवान् महावीरले पर्यावरण र अहिंसालाई दिनुभएको महत्त्व ! प्रकृतिको दोहन कमभन्दा कम होस् भन्ने उहाँको उपदेश थियो । प्रकृतिप्रदत्त स्रोतहरू पानी र आहारका साथै मानिसले उत्पादन गर्ने कपडाको खपत पनि कमभन्दा कम गर्नुपर्नेमा मात्र उहाँको जोड थिएन । त्यसलाई व्यवहारि करूपमै उतार्न उहाँले त्यसलाई जैनधर्मसँग गाँस्नुभएको थियो । उहाँ आफैँ पनि जुत्ता, कपडा नलगाइकन विचरण गर्नुहुन्थ्यो ।

जैनधर्मका केही साधुहरूले आज पनि त्यसरी नै विचरण गर्ने गरेका छन् । म आफू पनि जैन हुँ र जैनधर्मको प्रमुख स्तम्भ अहिंसा हो । कोइलाको उत्खनन् गर्दा र कोइलाबाट विद्युत् निकाल्दा वायुमण्डलमा हुने असङ्ख्य जीव, कीरा–फट्याङ्ग्राको हिसाब नै गर्न नसकिने हिंसा हुन्छ । पानीबाट विद्युत् उत्पादन भएपछि कोइलाबाट विद्युत् उत्पादन गर्ने स्थितिको क्रमशः अन्त्य हुँदै जाने हुनाले हिंसा रोक्न पनि यो एक प्रभावकारी उपाय हो । अर्को कुरा, कोइला निकाल्नु नपर्ने अवस्थामा प्रकृतिको दोहन कम हुन्छ । जलविद्युत्‌काे विकासले प्रकृतिको दोहनलाई घटाउने हुँदा धार्मिक दृष्टिकोणले समेत म यसतर्फ आकर्षित भएको हुँ ।

जलविद्युत् आयोजनाको निर्माणका क्रममा रूखहरू काट्नुपर्ने हुन्छ । यो स्वाभाविक हो तर नेपालमा जलविद्युत् आयोजना बनाउने कम्पनीहरूले उपभोग गरेको जमिनमा भएका रूखबिरुवा काटेकोमा शोधभर्ना स्वरूप १ बिरुवाको सट्टा साधारण वनमा १० र संरक्षित वनमा २५ बिरुवा लगाएर ५ वर्षसम्म हुर्काउनुपर्ने कानूनी प्रावधान छ । यसले रूख बिरुवाको कटानबाट क्षति हुन पाउँदैन र बिरुवाको सङ्ख्या अझ बढ्ने नै देखिन्छ ।

जलविद्युत् आयोजनाको निर्माणपछि सरकारलाई प्रशस्त लाभ हुने निश्चित छ । सरकारले यसबाट राजस्व आर्जन त गर्छ नै, यसले देशको भुक्तानी सन्तुलनलाई पनि सघाउँछ । अनि, ३५ वर्षपछि आयोजना सरकारको सम्पत्ति हुनाले देश अत्यन्त धनी हुने निश्चित छ । यसरी, जलविद्युत् आयोजनाहरूबाट निर्माणकर्ता कम्पनी र लगानीकर्ता मात्र लाभान्वित हुने होइनन्, ज्ञण्ठ अन्ततोगत्वा यस्ता समग्र देश र सर्वसाधारणको सर्वपक्षीय हित हुने देखिन्छ ।

जैनधर्म र दर्शनले हिंसालाई वर्जित गरेको छ । जैन धर्मावलम्बी भएकोले पनि यस्तो क्षेत्रमा अघि बढ्नु उपयुक्त लाग्यो, मलाई । त्यसैले, मैले जलविद्युत् क्षेत्रमा लगानी गर्नुपर्ने जोखिमपूर्ण निर्णय लिएँ । साथै, जीवनको उत्तरार्धमा आफैँ अधिकांश (मेजोरिटी) लगानी गरी जलविद्युत्लाई भविष्यको प्रमुख उद्योग बनाउने दृढनिश्चय गरेँ । यसरी, एक प्रकारले मैले भीष्मप्रतिज्ञा नै गरेँ भन्दा हुन्छ ।

मैले यो निर्णय लिने बखत विशेषतः मारवाडी समुदायका कुनै व्यापारिक घरानाले जलविद्युत् क्षेत्रमा ठूलो एकल लगानी गरेका वा यसलाई लगानीको मुख्य क्षेत्र बनाएका थिएन । मैले यसै क्षेत्रमा लगानी गरेर अघि बढ्ने सोच बनाएँ । यसमा छोरा विवेकले पनि पूर्ण समर्थन दिएपछि मेरो हौसला अझ बढ्नु स्वाभाविक थियो । किनकि, छोराको समर्थन र सहमतिमा मैले नयाँ पुस्ताको जोश र जाँगर प्रतिविम्बित भएको देखेँ । यसले गर्दा आफूपछिको भविष्य सुरक्षित छ भन्ने मेरो विश्वास अझ दृढ भयो । 

नवीकरणीय ऊर्जाप्रति नातिको चाख

एकातिर, म जलविद्युत्‌मा लगानी गरेर अघि बढ्न चाहन्थे भने अर्कोतिर मेरो नाति (छोरीको छोरा) सम्राट मोघाको पनि सानै उमेरदेखि नवीकरणीय ऊर्जामा अत्यन्त चाख थियो । अमेरिकी नागरिक भए पनि ऊ छोरीसँग नेपाल आइरहन्थ्यो । यसै सिलसिलामा एकपटक उसले आफू पढ्ने विद्यालय अन्तर्गत ‘नेपालका साना जलविद्युत् आयोजनाबारे एउटा प्रोजेक्ट गर्‍यो । त्यो प्रोजेक्टमा ऊ न्यूयोर्कका चार राज्यका विद्यार्थीबीचको प्रतियोगितामा पहिलो मात्र भएन, त्यसबाट छात्रवृत्ति पनि पाउन सफल भयो । यो हामी परिवारकै लागि अत्यन्त खुसीको कुरा थियो ।

सोही कारण सम्राटले प्रतियोगितात्मक कार्यक्रमका लागि भएको समारोहमा आएका तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामासँग हात मिलाउने अवसर पायो । सम्राटमा यसै क्षेत्रमा भविष्यमा पनि केही गर्ने सोच विकसित हुँदै गयो । त्यसपछि, उसले मेकानिकल इन्जिनियरिङ गरेर स्विडेनबाट नवीकरणीय ऊर्जा सम्बन्धी विशेष कोर्स समेत पूरा गर्‍यो ।

नेपालमै आएर काम गर्ने र जलविद्युत् क्षेत्रमा लगानीसमेत गर्ने उसको दृढ इच्छा थियो । मलाई भने सङ्कोच लाग्यो । किनकि, छोरीपट्टीको एउटा मात्र नाति ! उसले लगानी गर्न चाहे मेरा सम्धीहरूले यसलाई कसरी हेर्लान् र स्वीकृति देलान् ? तर सम्राटको तीव्र इच्छालाई दृष्टिगत गरेर उसको पूरै परिवारले खासगरी हजुरबुबा र हजुरआमाले पूर्ण समर्थन गरे ।

सम्राटको चाख मेरा लागि भने अत्यन्त महत्त्वपूर्ण रह्यो । मेरो ड्रिम प्रोजेक्ट पनि जलविद्युत् नै भएकाले उसको साथले मलाई अझ उत्साहका साथ अघि बढ्न प्रेरित गर्‍यो । मैले आफ्नै परिवारभित्रबाट साथ दिने प्राविधिक साथी पाएँ । अहिले, जलविद्युत् परियोजना एमभी दुगड ग्रुप र नाति सम्राट मोघाको अधिकांश लगानीमा निर्माण भइरहेका छन् । यसमा केही स्थानीय व्यक्तिको पनि लगानी छ । पछि, सम्बन्धित क्षेत्रका जनताका लागि १० प्रतिशत र सर्वसाधारणका लागि १० प्रतिशत सेयरका लागि आइपिओ समेत जारी हुने छ । 
मेरा छोरी–ज्वाइँको परिवारले अमेरिकामा परम्परागतरूपमा जेम र ज्वेलरीको व्यापार गर्दै आएका छन् तर नाति सम्राटले अलग, एउटा इन्जिनियरको रूपमा आफूलाई उभ्याएको छ । जलविद्युत् आयोजना सुविधा–सम्पन्न ठाउँमा नभई अविकसित र दुर्गम ठाउँमा हुन्छ । उसले अमेरिकाको शानशौकत छोडेर नेपालमा बसेर काम गर्दै छ ।

सम्पन्न मारवाडी घरानाका अमेरिकी नागरिक सम्राटले सबै कुरा स्वीकारेर आयोजनास्थल भएको पहाडी भेगमा हप्तौसम्म बस्नु आफैँमा उदाहरणीय हुन पुगेको छ । बेलाबेला ऊ दुई दिनसम्म पैदलयात्रा गरेर टोलीका साथ आयोजनाको अध्ययन र निर्माण कार्य हेर्न जानुपथ्र्यो । उसको सक्रियता र समर्पणले हाम्रा लगानीकर्ता बैंकरहरूको हामीप्रतिको विश्वास पनि उच्च भएको मैले महसुस गरेको छु ।

नेपालका विभिन्न राजनीतिक दलका ठूला नेताहरू लगायत प्रधानमन्त्री, मन्त्रीहरूले समेत उसलाई भन्ने गरेका छन्, ‘तिमीले नेपाललाई सघाउनुपर्छ, कुनै अप्ठ्यारो परे हामीलाई भन्नू ।’ साँच्चै भन्ने हो भने, उसको संलग्नताले जलविद्युत् आयोजनालाई अघि बढाउन ठूलो सहयोग पुगेको छ ।

निर्णयसँगैका चुनौती 

जलविद्युत् क्षेत्रमा लगानी गर्ने निर्णय त गरेँ । अब कसरी अगाडि बढ्ने भन्ने चुनौती देखियो । हामीले गर्दै आएको परम्परागत व्यापार–व्यवसायभन्दा एकदमै फरक क्षेत्र थियो, यो । त्यसैले, आफैँले जलविद्युत् आयोजनाहरूबारे बुझ्ने र अध्ययन गर्ने काम थालेँ । सबैभन्दा पहिले जलविद्युत् कम्पनी दर्ता गर्नुपर्ने भएकोले त्यो काम पूरा गरेँ । कुनै नयाँ आयोजना निर्माण गर्ने कि कुनै आयोजनालाई किन्ने (अक्विजिसन) भन्ने दुविधा थियो ।

त्यसक्रममा धेरै आयोजनाको पहिचान र एक्विजिसनका लागि अथक प्रयासहरू भए । भने जस्तो सजिलो कहाँ हुन्थ्यो र ? कहिले एकथरि समस्या आउँथे, अर्कोपटक अर्कैले पिरल्थ्यो । कम्पनी दर्तापछि विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भइसकेका केही आयोजना विषय विज्ञबाट अध्ययन गराई टेक–ओभर गर्ने मूल्य र टम्र्स एन्ड कन्डिसन तय भइसकेको थियो । सम्झौता गर्ने बेलामा कुरा मिल्न नसकी छोड्नुपर्ने अवस्था आयो । यस्तै, एउटा निर्माण भइसकेको जलविद्युत् आयोजनामा बहुसङ्ख्यक सेयर लिने निश्चित भइसके पनि अन्तिममा टुङ्गो लाग्न सकेन ।

कालीगण्डकी नदीमा १६४ मेगावाटको कालीगण्डकी गोर्ज, खानी खोलामा एउटा, खारे खोलामा २४ मेगावाटको एउटा, इलामस्थित इङ्गवा खोलामा एउटा, बागमतीको माण्डू खोलामा २० मेगावाटको एउटा लगायत ६/७ वटा आयोजनासँग कुरा अघि बढे पनि अन्तिममा सम्झौता हुन सकेन । यसरी यो प्रयासमा असफल हुँदा म सारै हतोत्साहित भएँ तर मैले हिम्मत हारिनँ । पछि, दृढ–आत्मविश्वास र भगवानप्रति विश्वास गर्दै लामो प्रयासको फलस्वरूप अगाडि बढ्न सफल भएँ ।

इजाजतपत्र र निर्माणाधीन आयोजना

अन्ततः हामीले रामेछाप जिल्ला भएर बग्ने लिखु खोलामा तीन जलविद्युत् आयोजना निर्माण गर्ने निर्णय गर्‍यौँ । अधिकांश सेयर हाम्रो समूहले लिएर कम्पनीका पुराना सेयरहोल्डरहरूलाई पनि सम्मानपूर्वक बस्न आग्रह गर्दै हामी अन्ततः अगाडि बढ्यौँ । त्यसैक्रममा हामीले वि.सं. २०७२ असोज २२ गते लिखु–१ र लिखु–२ जलविद्युत् आयोजना विकास गर्न सरकारबाट इजाजतपत्र पायौँ । यी दुवै आयोजना रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका र सोलुखुम्बु जिल्लाको लिखु पिके गाउँपालिकामा पर्थे । पान हिमालय इनर्जी प्रालि कम्पनी अन्तर्गतको लिखु–१ जलविद्युत् आयोजनाको क्षमता ७७ मेगावाट छ ।

यस्तै, ग्लोबल हाइड्रोपावर एसोसिएट प्रालि अन्तर्गतको लिखु–२ को क्षमता ५५ मेगावाट छ । लिखु–१ मा लगानी गर्ने ‘लिड बैंक’ प्राइम कमर्सियल बैंक लिमिटेड रहेको छ भने कन्सोर्टियम बैंकहरूमा एनआइसी एसिया बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, एनसिसी बैंक लिमिटेड (हाल कुमारी बैंक), मेगा बैंक लिमिटेड (हाल एनआइएमबी बैंक), प्रभु बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, नेपाल एस वी आई बैंक छन् । यस्तै, लिखु–२ मा माछापुच्छ्रे बैंक लिमिटेडको नेतृत्वमा मेगा बैंक लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड (हाल नबिल बैंक), एभरेष्ट बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडको लगानी छ ।

ती दुई आयोजनाको इजाजतपत्र पाएको तीन सातापछि वि.सं. २०७२ कात्तिक १६ गते हामीले नुम्बुर हिमालय हाइड्रोपावर प्रालि कम्पनी अन्तर्गत लिखु खोला ‘ए’को पनि इजाजतपत्र प्राप्त गर्‍यौँ । इजाजतपत्र लिँदाको बेला यस आयोजनाको क्षमता २४ मेगावाट भए पनि पछि संशोधन गरेर २ ९.०४ मेगावाट बनाइयो । यो आयोजना पनि रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका र सोलुखुम्बु जिल्लाको लिखु पिके गाउँपालिका नै हो ।

लिखु खोला ‘ए’मा लगानी गर्ने बैंकहरूमा लक्ष्मी बैंक लिमिटेड (हाल लक्ष्मी सनराईज बैंक) ‘लिड बैंक’ र सिद्धार्थ बैंक लिमिटेड ‘को– लिड बैंकको रूपमा छन् । तत्कालीन सेन्चुरी कमर्सियल बैंक (हालको प्रभु बैंक), सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र तत्कालीन बैंक अफ काठमाण्डू लिमिटेड (हालको ग्लोबल आईएमई बैंक) पनि लगानी छ । तीन वटै आयोजना लिखु खोलामा बनाइने हुनाले लिखु खोला हाम्रा लागि आराध्यदेवी हुन पुगेकी छन् । त्यसपछि, पनि चुप लागेर बसिनँ । 

नासा हाइड्रोपावर प्रालि अन्तर्गत लाप्चे खोला निर्माण गर्न वि.सं. २०७४ पुस २ मा इजाजतपत्र लिइयो । यो आयोजना दोलखा जिल्ला अन्तर्गत लामाबगरभन्दा माथिल्लो भेगमा रहेको बिगू गाउँपालिकाको लप्ची भन्ने ठाउँमा पर्छ । लप्ची खोला माथिल्लो तामाकोसीभन्दा अझ माथि छ । यसमा लगानी गर्ने बैंकहरूको नेतृत्व नेपालकै सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडले गरेको छ भने अन्य लगानीकर्ताहरूमा तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक), कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक लिमिटेड, तत्कालीन लक्ष्मी बैंक लिमिटेड (हालको लक्ष्मी सनराइज), तत्कालीन बैंक अफ काठमाण्डू (हालको ग्लोबल आइएमई बैंक), कृषि विकास बैंक लिमिटेड र नेपाल एसबिआई बैंक लिमिटेड छन् ।

१६० मेगावाट क्षमता रहेको यो आयोजना निजीक्षेत्रबाट निर्माण हुने नेपालकै सबैभन्दा ठूलो आयोजना पनि हो । साथै, निजी क्षेत्रको पहिलो ६ घन्टा पिकिङ (आंशिकजलाशय, पि–आरओआर) योजना हुने गौरव प्राप्त गरेको छ । माथि उल्लिखित चार जलविद्युत् कम्पनीमध्ये सबैभन्दा पहिले ग्लोबल हाइड्रोपावर एशोसिएट्स प्रा.लि. २०५८ चैत २३ स्थापना भएको थियो । त्यसपछि, क्रमशः नुम्बुर हिमालय हाइड्रोपावर प्रालि २०६४ भदौ ४ मा, नासा हाइड्रोपावर प्रालि २०६४ असोज २४ मा र पान हिमालय इनर्जी प्रालि २०६५ पुस १२ मा स्थापना भएका हुन् ।

लिखु खोलामा तीन आयोजना

लिखु खोलामा निर्माण गरिने तीन वटै आयोजनाहरूको निर्माण कार्यको शुभारम्भ तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्मा (प्रभाकर) बाट २०७३ चैत ३१ (सन् २०१७ अप्रिल १३) का दिन काठमाडौँको नक्सालस्थित हाम्रो नयाँ भवनको चौथो तलमा रहेको प्रधान कार्यालयमा शिलालेख अनावरण गरेर गरिएको थियो ।

शुभारम्भ कार्यक्रमका अवसरमा मन्त्री शर्मा लगायत ऊर्जा सचिव, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक, आयोजनामा लगानी गर्ने लिड बैंकहरू प्राइम कमर्सियल बैंक लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतहरू लगायत विशिष्ट अतिथिहरूले सम्बोधनका क्रममा एउटै समूहबाट एकै पटक तीन ठूला जलविद्युत् परियोजना शुरू गर्ने साहस गरेकोमा एमभी दुगड ग्रुपको मुक्त कण्ठले प्रशंसा गरेका थिए । हामीले आयोजनाको निर्माण कार्यलाई अत्यन्त तीव्र गतिमा अघि बढायाैँ । 

जीवनकै राम्रो निर्णय र स्थानीयवासीको आशिर्वचन

अहिले पनि मलाई लाग्छ, जलविद्युत् आयोजना निर्माण क्षेत्रमा प्रवेश गर्ने मेरो निर्णय जीवनकै सर्वाधिक राम्रो निर्णय’ थियो । मलाई विश्वास छ, यसमा भएको लगानीले मेरो पछिल्लो पुस्तालाई अझ खुसी र सन्तुष्ट बनाउने छ । सुखी बनाउने छ । एमभी दुगड ग्रुप र नाति सम्राट मोघाको मुख्य लगानीमा निर्माण भइरहेका आयोजना निजी क्षेत्रतर्फ एकल ग्रुपको लगानीमा निर्माण हुने नेपालकै सबैभन्दा ठूला जलविद्युत् आयोजनाहरूमध्येका हुन् र यी छिट्टै सम्पन्न हुने मेरो विश्वास छ । 

जलविद्युत् आयोजनाको निर्माणका क्रममा मैले धेरै स्थानीय बूढापाका मानिसहरूसँग कुराकानी गर्ने अवसर पाएँ । कुराकानीका क्रममा आयोजनाको मुख्य लगानीकर्ता एमभी दुगड ग्रुप हो र त्यसको अध्यक्ष म हुँ भन्ने थाहा पाएपछि उनीहरूबाट प्राप्त प्रतिक्रिया र व्यवहारले मलाई झन् उत्साहित र सन्तुष्ट बनायो । उनीहरूले भित्री हृदयबाटै भने, ‘तपाईंको भलो होस्, तपाईंले गर्दा आज हाम्रो क्षेत्रमा यति विकास भएको छ, पहिलेभन्दा सुगम भएको छ । तपाईंको दृष्टि नपुगेको भए लिखु बगेर गइरहन्थ्यो र हामी पनि विकासबाट वञ्चित हुने थियौं ।’ यसरी स्थानीय व्यक्तिहरूबाट यस्ता आशिर्वचन सुन्न पाउँदा मलाई भगवानबाटै आशीर्वचन पाएसरह सन्तुष्टि मिल्यो । 

आयोजना निर्माणका क्रममा विभिन्न किसिमका समस्या, बाधा र अवरोध आउनु स्वाभाविकै हो । मलाई थाहा छ, काम गर्नेहरूले नै समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । बाधा–अड्चनहरूसँग जुध्नुपर्ने हुन्छ । कतिपय नकारात्मक कुराहरू पनि सुन्नुपर्ने हुन्छ । त्यस्ता कुराहरूले कहिलेकाहीँ निराश नबनाउने होइन । किनकि, म पनि अरूजस्तै सामान्य मानिस हुँ । जब म बूढापाकाहरूको आशिर्वचन सम्झन्छु, तब मेरो उत्साह पहिलेझैँ बढ्न थाल्छ । ममा आयोजनाको निर्माण कार्यमा अझ दत्तचित्त भएर लाग्ने ऊर्जा थपिन्छ । हिम्मत अझ बढ्छ । 
स्थानीयवासीहरूको आशिर्वादकै कारण कामका बीचमा आइपर्ने जस्तोसुकै ठूला कठिनाई र समस्याहरू समाधान हुँदै गए । स्थानीयबाट प्राप्त यो सहयोग र विश्वास वास्तवमा ‘मेरो कमाइ हो, मेरा लागि सर्वोच्च तक्मा हो भन्न पाउँदा मलाई आत्मसन्तुष्टि मिल्छ ।

जलविद्युत्‌ले ल्याएको विकास र ‘किन्जा सिटी’

लिखु र लाप्चे खोलामा निर्माण भइरहेका जलविद्युत् आयोजनासँगै रामेछाप र सोलुखुम्बु जिल्लाहरूमा निर्माण भएका सडक लगायत पूर्वाधारहरूका कारण स्थानीय वासिन्दाहरूले प्राप्त गरेको सुविधाले मलाई असीमित आत्मसन्तुष्टि दिएको छ । पहिले काठमाडौँबाट जिरी हुँदै जान ३/४ दिन लाग्थ्यो । बाटोकै कारण त्यस भेगका सयकडौँ मानिस समयमा उपचार सेवा नपाएर मर्नुपर्ने बाध्यता थियो तर अहिले स्थितिमा कायापलट भएको छ । बाटो निर्माण हुँदा ८/९ घन्टामा पुग्न सकिने स्थिति बनेको छ ।

हामीले त्यस क्षेत्रमा २० फुट चौडा करिब राजमार्गजत्तिकै चौडा बाटो बनाएका छौँ । सडकको लम्बाइ १३० किलोमिटर रहेको छ भने त्यससँग जोडिएको सहायक मार्गको लम्बाइ करिब ८० किलोमिटर छ । त्यसमा पाँच वटा पुलसमेत बनेका छन् । साथै, त्यस क्षेत्रमा हामीले नै एउटा स्वास्थ्यचौकीको मर्मत–सम्भार गरेका छौँ । बाटामा पर्ने मन्थली, शिवालय, बाम्ती भण्डार, प्रीति र किन्जा गरी ५ ठाउँमा सनराइज बैंकका शाखा कार्यालयहरू स्थापना गरिसकिएको छ । एउटा पशु नश्ल सुधार केन्द्र पनि स्थापना गरिएको छ, जसमा हाम्रो पनि सहयोग रहेको छ ।

किन्जा बजारको रूपरेखामा थुप्रै परिवर्तन देखिएका छन् । हिजोको सुविधाविहीन किन्जामा अनेक सुविधा उपलब्ध हुन थाल्नुले किन्जाको भविष्य अत्यन्त उज्यालो देखिएको छ । हिजो सीमित सामानमात्र पाइने किन्जा बजारमा अहिले सबै किसिमका सामानहरू पाइन थालेको छ । त्यहाँ, इन्टरनेटको समेत सुविधा उपलब्ध छ । कृषि क्षेत्रमा पनि परिवर्तनका स्पष्ट सङ्केतहरू देखिन थालेका छन् ।

परम्परागतरूपमा हुने खेतीका ठाउँमा नगदे बालीतिर कृषकको रुचि मोडिएको छ । अहिले चिया, अलैंची र फलफूल खेतीका अतिरिक्त माछापालबाट स्थानीय कृषकहरूले लाभ लिन थालेको देखिएको छ । तरकारी र दही दूधको उपलब्धता बढेको छ । अहिले हाम्रा कर्मचारी र कामदारहरू गरी २ हजार जनाले ती तरकारी, दूध, दही उपभोग गरिरहेका छन् । किन्जाको मुख्य बजारको करिब १ किलोमिटर क्षेत्रमा हाम्रो जलविद्युत् कम्पनीले सडक– बत्तीको व्यवस्था गरिदिएकोले यो ग्रामीण बजार झिलिमिली हुन पुगेको छ । त्यसले गर्दा धेरै मानिसले अहिले यस गाउँलाई ‘किन्जा सिटी’ भन्न थालेका छन् । यसले मलाई चरम खुसी र आत्मसन्तुष्टि दिएको छ । 

आकर्षक ‘किन्जा सिटी’ 

जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक पूर्वाधारका रूपमा चाहिने आवासीय भवन बनाउन हामीले किन्जा गाउँलाई छनोट गरेर निर्माण थालेपछि किन्जा गाउँ किन्जा सिटीमा रूपान्तरण हुन पुग्यो । यी पूर्वाधारहरू निर्माण गर्न ३३ रोपनी जग्गा लिइएको छ र त्यसमा तीन वटै आयोजनाका उच्च अधिकृतहरू बस्नका लागि एक र दुई तले स्थायी भवनहरूको ‘कोलानी’ निर्माण गरिएको छ ।

उच्चस्तरीय व्यक्ति र पाहुनाहरू आएको बेलामा पनि यी ब्लकका कोठामा बस्ने व्यवस्था मिलाइने गरिएको छ । प्रत्येक कोठामा टेलिभिजन र डिस सिस्टमको सुविधा छ । यस कोलोनीमा आधुनिक सुविधायुक्त कार्यालय र सभाकक्षका अतिरिक्त करिब ३०० जनालाई खान र बस्नको सुविधा उपलब्ध छ । कोलोनीमा शाकाहारी तातो खाना उपलब्ध हुने व्यवस्था छ भने खाना पकाउन र तातो राखिरहन बिजुलीका आधुनिक उपकरणहरू पनि राखिएका छन् । यहाँ दुइटा डाइनिङ हल पनि छन् ।

यसैगरी, लिखु–१ र लिखु–२ आयोजनास्थलका साथै पेकरनासमा ठूला गोदामघर, अन्य ६ वटा कोलोनी पनि निर्माण गरिएको छ । त्यस क्षेत्रमा उपलब्ध भएसम्मका घरहरू लिएर २ हजार मानिसले खाना खाने र बस्नसक्ने व्यवस्था गरिएको छ । साथै, ६ वटा ठाउँमा खाना पकाउने र खाने व्यवस्था छ । तीन वटै आयोजनास्थलमा हेलिप्याड निर्माण गरिएको छ ।

कर्मचारी र मजदुरलाई नुहाउनका लागि सबै ठाउँमा तातोपानी र तातो/चिसो पानी खानका लागि सोही अनुसार फिल्टरको व्यवस्था छ । जाडोयाममा ओछ्यान तताउन सबैका लागि ‘हिटिङ प्याड’को व्यवस्था पनि छ । साथै, स्वास्थ्योपचारका लागि चिकित्सक, नर्सको आपतकालीन सेवा, स्वास्थ्य परीक्षण र प्रारम्भिक उपचार केन्द्र, आइसोलेसन सेन्टर, अक्सिजन र एम्बुलेन्ससमेतको व्यवस्था छ । ती क्षेत्रमा विद्युत् प्राधिकरणको विद्युत् लाइन जोडिएको छ ।

करिब २० करोड रुपैयाँ खर्च गरेर ३३ केभी प्रसारण लाइन ४० किलोमिटर टाढाबाट ल्याइएको छ । यसबाट डिजल जेनेरेटर प्रयोगबाट हुने वातावरण प्रदूषण र विदेशी मुद्राको अनावश्यक व्यय रोकिएको छ । वातावरणमैत्री काम गर्ने र विदेशी मुद्राको बचत गर्ने उद्देश्यले नै यसो गरिएको हो । अहिलेसम्म प्राधिकरणबाट करोडौँ रुपैयाँको विद्युत् खरिद गरिसकिएको छ र आयोजना निर्माणको काम नसकिएसम्म अझै करोडौँ रुपैयाँको विद्युत् खपत हुने छ । यसबाट प्राधिकरणसमेत लाभान्वित हुन पुगेको छ ।

आयोजनाहरूमा मेरो अभिभावकत्व 

एमभी दुगड ग्रुपअन्तर्गतका चार जलविद्युत् आयोजनाको निर्माण पूरा गर्नु नै मेरो अहिलेको लक्ष्य हो । यी आयोजनाहरूबाट कुल ३२१ मेगावाट विद्युत् उत्पादन हुनेछन् । लिखु बेसिनका दुइटा योजनाबाट ८५ मेगावाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जोडी सकिएको छ र ७७ मेगावाटको लिखु–१ आयोजनाको निर्माण २०८० साल फागुनसम्म सम्पन्न भई जोडिने छ । १६० मेगावाटको ल्याप्चे खोला तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यको साथ द्रुत गतिमा निर्माण भइरहेको छ । उमेर र स्वास्थ्यले साथ दिएमा जलविद्युत् आयोजना भएको जिल्ला रामेछाप र बुबाले किन्नुभएका जग्गाहरूमा आधुनिक कृषिखेतीका लागि उन्नत प्रविधिको प्रयोग, यान्त्रिकीकरणको प्रवर्द्धन र त्यससम्बन्धी ज्ञानको प्रचारप्रसारमा लाग्ने मेरो इच्छा छ । किनकि, परम्परागत कृषि प्रणालीका कारण नेपाली किसानहरूले उत्पादन र उत्पादकत्व दुवै बढाउन नसकेको अवस्था रहेको छ ।

मिहिनेत अत्यधिक गर्नुपर्ने तर आर्थिक लाभ भने मिहिनेत अनुसार नहुने विडम्बनापूर्ण स्थितिको अन्त्य नभएसम्म कृषि क्षेत्र र कृषक दुवैको विकास हुन सक्दैन । यससँगै स्वास्थ्य क्षेत्रको प्रवर्द्धनका लागि सहयोग गर्ने मेरो इच्छा छ । यति गर्न सके भने मलाई थप आत्मसन्तुष्टि प्राप्त हुने छ र यही कारणले स्थानीय वासिन्दाहरूले मलाई सम्झिएमा मेरो जीवन सार्थक हुनेछ । 

गङ्गारूपी लिखु र लाप्चे मेरो अन्तिम इच्छा

जलविद्युत् आयोजनाको निर्माणसँगै त्यस क्षेत्रका वासिन्दाहरूसँग मेरो सामिप्यता मात्र बढेको होइन, आत्मीयता पनि बढेको छ । त्यस क्षेत्रको विकासमा सानो सहयोग गर्न पाएकोमा मैले आफूलाई धन्य सम्झन्छु । हामीले परम्परागतरूपमा गर्दै आएको व्यापार– व्यवसायमा यस प्रकारको सौभाग्य प्राप्त हुँदैनथ्यो । त्यसैले, मानिसको उन्नत जीवनसँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा जोडिन पाउनुको आनन्द वास्तवमै वर्णनातीत छ । 

अब ती क्षेत्र मेरो कर्मभूमिमा रूपान्तरित भएका छन् । मलाई ती क्षेत्रसँग उहिलेदेखि सम्बन्ध थियो जस्तो लाग्छ । त्यहाँको भूगोल र प्रकृतिले मलाई लोभ्याउँछ । शालीन र सरल दाजुभाइ दिदी–बहिनीहरू देख्दा अपार खुसी अनुभव हुन्छ । यसो भन्दा धेरैलाई अति भावुकताजस्तो लाग्ला तर यो मेरो भित्री हृदयकै आवाज हो । मृत्युपछि मेरो अस्तु लिखु (यसलाई श्वेतगङ्गा पनि भनिन्छ) खोलामा, थोरै लाप्चे खोलामा र एमभी दुगड परिवारले बनाउने अरू आयोजनाका नदीहरूमा विसर्जन गरियोस् । किनकि, मेरा लागि यी नदीहरू गङ्गाजत्तिकै पवित्र छन् । यिनीहरूप्रति मेरो अत्यन्त श्रद्धा छ । मेरो परिवारका सबै सदस्यहरूले यो कुरालाई अन्तरहृदयले मनन गरी मेरो इच्छा पुर्‍याउने छन् भन्नेमा विश्वस्त छु ।

मेरो शेषपछि मेरा छोरा–नाति एवम् वंशजहरूले मैले गरी–आएको जलविद्युत् क्षेत्रको विकासका साथै आधुनिक कृषि प्रणालीका लागि आवश्यक पहल र स्वास्थ्य क्षेत्रमा सहयोगको कामलाई निरन्तरता दिएमा मलाई लाग्छ, त्यो नै मप्रतिको साँचो श्रद्धाञ्जलि हुनेछ । 

लेखक, एमभी दुगड ग्रुपका अध्यक्ष हुन् । यो आलेख लेखककै पुस्तक ‘कृषि उद्यमदेखि जलविद्युत्‌सम्म’बाट साभार तथा सम्पादन गरी यहाँ प्रकाशन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३