विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ट्रान्सर्फमर र विद्युत् प्रवाह

जसरी विद्युत्‌गृहबाट उत्पादित विद्युत्‌शक्तिको क्षमता मेगावाट (मे.वा.) एकाइमा जनाइन्छ, खपत ऊर्जाको परिमाण उक्त विद्युत्‌शक्ति कति समयसम्म खपत भयो भन्ने विषय भएकोले मेगावाट घण्टा एकाइमा जनाइन्छ । त्यसैगरी प्रसारण तथा वितरण लाइन (तार) हरूको क्षमता भोल्टेजमा जनाइन्छ, जसको एकाई भोल्ट, केभी वा किलोभोल्ट  हुन्छ । यसअघि पनि भनिएको छ, उत्पादित विद्युत् लामो दूरीमा प्रसारण गर्नुपर्दा चुहावट (लस) न्यूनीकरणका लागि ट्रान्सर्फमर मार्फत विद्युत्‌को क्षमता (मेगावाट) परिवर्तन नगरी भोल्टेज अभिवृद्वि (स्टेप अप) गरिन्छ । त्यसो गर्दा करेन्ट प्रवाह (Ampere) घट्छ ।

अर्को लोड सेन्टर भएको ठाउँ (जहाँबाट वितरण गरिन्छ) मा भएको सब-स्टेशनमा राखिएको स्टेप-डाउन ट्रान्सर्फमरमार्फत यस अघि बढाएको भोल्टेजलाई घटाएर ३३ केभी वा ११ केभी वा ४०० भोल्टमा वितरण गरिन्छ । यसरी ६६ केभी र सोभन्दा माथिका विद्युत् लाइनलाई प्रसारण लाइन भनिन्छ भने ३३ केभी र मुनिका लाइनलाई वितरण लाइन भनिन्छ । नेपालमा हाल ६६ केभी, १३२ केभी, २२० केभी, ४०० केभीसम्मको प्रसारण लाइन छन् भने विदेशतिर धेरै क्षमताको विद्युत् प्रसारण गर्दा ७६५ केभी पनि प्रचलित छ । जति बढी केभी क्षमताको लाइन हुन्छ, त्यहीअनुरूप बढी क्षमता (मेगावाट) को विद्युत् त्यो तारबाट बग्न सक्छ । यसै सन्दर्भमा, हाल निकै चर्चामा रहेकाे लोडसेडिङका बेला प्रयोग भएको २ प्रकारका लाइनको छोटो परिचय यहाँ प्रस्तुत छ ।

डेडिकेटेड लाइन : विद्युत् प्राधिकरणका ग्राहक स्वयम् वा अन्य कुनै निकायको स्रोतबाट छुट्टै लाइन निर्माण भई प्राधिकरणको सब-स्टेशनबाट ग्राहकको घर/कम्पाउण्डसम्म अवछिन्न विद्युत् आपूर्ति गर्ने गरी निर्माण गरिएको लाइन बुझिन्छ । अस्पताल, विमानस्थल दूरसञ्चार कार्यालय, सुरक्षा केन्द्रहरू, राष्ट्रपति तथा प्रधानमन्त्री कार्यालय, सिंहदरबार जस्ता अविछिन्न विद्युत् आपूर्ति आवश्यक हुने संवेदनशील स्थान/क्षेत्रमा लोडसेडिङको अवधिमा लाइन नकाटी निरन्तर डेडिकेटेड आपूर्ति गर्ने गरिन्थ्यो ।

ट्रंक लाइन : एउटा सब-स्टेशनबाट अर्को सब-स्टेशनसम्म जोड्ने ३३ केभी वा सोभन्दा माथिल्लो क्षमताको लाइन बुझिन्छ । प्राय: औद्योगिक ग्राहकले नै यो लाइनको प्रयोग गरेका छन् ।

विद्युत् लाइनको सुरक्षाबारे विद्यमान कानून

विद्युतीय सुरक्षाबारे नेपालमा अलगै कानून नभए पनि विद्युत् नियमावली २०५० मा यसबारे केही मापदण्डहरू दिइएको छ । नियमावलीको परिच्छेद-५ मा उल्लेखित मापदण्डहरूमा देहाय विषयहरू छन् ।

•    सडकको वारपार विद्युत् लाइन लैजान परे घनाबस्ती भएको ठाउँमा ११ केभीभन्दा बढी क्षमताको विद्युत् लाइन भए डबल इन्सुलेटर प्रणालीको प्रयोग गर्नुपर्ने छ ।

•    एउटै पोलबाट विभिन्न भोल्टेज लेभेल लैजान परे हाइभोल्टेजको लाइनमाथि र लो भोल्टेजको लाइन तलबाट गरी मिलाउनु पर्नेछ । ती दुई फरक भोल्टेज लेभेल बीचमा कुनै प्रकारको लिकेज, चार्ज वा जोखिम नहुने गरी प्राविधिक रूपमा उपयुतक्त फरक पनि कायम गर्नुपर्ने छ ।

विभिन्न भोल्टेज लेभेलका तारहरूदेखि भुइँ (जमिन) सम्मको न्यूनतम दुरी देहायबमोजिम हुने गरी कायम गर्नुपर्छ ।

(१ मिटर = ३.२८फीट, १ केभी = १०००भोल्ट )

१)    तारदेखि भुइँसम्म हुनुपर्ने न्यूनतम उचाई (मिटरमा) –

(क)    २३०/४०० भोल्टका लागि

सडक वारपार गर्दा – ५.८ मिटर, सडक छेउ - ५.५ मिटर, पैदल यात्रु वा ग्रामीण सडक भएका        स्थानमा – ४.६ मिटर

२)    ११ केभी र ३३ केभी लाइनको लागि

सडक वारपार गर्दा – ६.१ मिटर, सडक छेउ  - ५.८ मिटर, पैदल यात्रु वा ग्रामीण सडक स्थानमा – ५.२ मिटर

३)    ६६ केभी लाइनको लागि 

सडक वारपार गर्दा – ६.४१ मिटर, सडक छेउ  - ६.११ मिटर, पैदल यात्रु वा ग्रामीण सडक स्थानमा– ५.५४५ मिटर

४)    १३२ केभी लाइनको लागि

सडक वारपार गर्दा – ७.०२ मिटर, सडक छेउ - ६.७२ मिटर, पैदल यात्रु वा ग्रामीण सडक स्थानमा– ६.११५ मिटर

५)    २२० केभी लाइनको लागि

सडक वारपार गर्दा – ७.८३ मिटर, सडक छेउ - ७.६३ मिटर, पैदल यात्रु वा ग्रामीण सडक स्थानमा– ७.०३ मिटर

६)    ४०० केभी लाइनको लागि

सडक वारपार गर्दा – ९.४९ मिटर, सडक छेउ - ९.४६ मिटर, पैदल यात्रु वा ग्रामीण सडक स्थानमा– ८.८६ मिटर

त्यसैगरी, घरमाथिबाट कुनै विद्युत् लाइन लैजान पाइँदैन तर ग्यारेज, टहरा वा पर्खालमाथिबाट विद्युत् लाइन लैजानु परे ४००/२३० भोल्टसम्मको लाइन लैजान सकिने छ । यसरी लगिएको विद्युत् लाइन ग्यारेज, टहरा वा पर्खालको सबैभन्दा अग्लो ठाउँबाट कम्तिमा ३ मिटरको दूरीमा पर्ने गरी लैजानुपर्ने छ ।

वितरण लाइनको तारदेखि घर वा रूखसम्म दायाँ/वायाँ दुवैतर्फ न्यूनतम दूरी देहाय बमोजिम कायम गर्नुपर्छ ।

२३०/४०० भोल्टदेखि ११ केभीसम्मको भोल्टेज लाइनका लागि - १.२५/१.२५ मिटर

३३ केभी लाइनका लागि - २/२ मिटर

प्रसारण लाइनको तार तान्ने काम गर्दा हावाको चापले उत्पन्न हुने तारको उच्चतम उचाईकाे समेतको हिसाब गरी देहायबमोजिम तारको केन्द्रबाट दायाँबायाँ छोड्ने गरी राइट अफ वे (मार्गधिकार) कायम गरिन्छ ।

६६ केभी / १३२ केभी :     ९/९ मिटर

२२० केभी :                     १५/१५ मिटर

४०० केभी :                    २३/२३ मिटर

उपरोक्त अनुसार मार्गधिकार भएको जग्गा/जमिनमा प्रसारण लाइन निर्माण गर्ने संस्था वा निकायले जग्गाधनीलाई क्षतिपूर्ति स्वरूप उचित मूल्य दिने गरेको छ ।

विद्युत् नियमावली, २०५० मा माथिका अतिरिक्त देहायका विषयसमेत उल्लेख गरिएको छ ।

•   विमानस्थलतिर विद्युत लाइन लैजाने सम्बन्धः विमास्थलतिर विद्युत् लाइन लैजान सम्बन्धित विमानस्थल प्रमुखसँग छलफल गरी निर्णय भएअनुसार लैजानुपर्ने छ ।

•    विद्युत् लाइन र टेलिफोन लाइन नजिकबाट लैजाने सम्बन्धमाः विद्युत लाइनको नजीकबाट टेलिफोन लाइन वा टेलिफोन लाइनको नजीकबाट विद्युत लाइन लैजानु परेमा अनुमतिपत्र प्राप्त व्यक्ति तथा सम्बन्धित दूरसञ्चार निकायबीच आपसमा छलफल गरी विद्युत् वा टेलिफोन लाइनलाई प्राविधिक दृष्टिकोणबाट बाधा वा चार्ज नहुने गरी लैजानुपर्ने छ ।

•    आकाश बिजुलीबाट बचावटः अनुमतिपत्र प्राप्त व्यक्तिले सुहाउँदो ठाउँहरूमा आकाश बिजुलीबाट हुने नोक्सानी र विद्युत् शक्तिको घटबढ हुन नदिनका लागि आकाश बिजुली रक्षक यन्त्र वा अरू सुहाउँदो साधनको व्यवस्था गरी उक्त साधनहरूबाट आकाश बिजुलीको भूयोजन हुने व्यवस्था समेत गर्नुपर्ने छ ।

•   अदलीबदली सञ्चालन यन्त्र (चेन्ज ओभेभर स्वीच) राख्नुपर्नेः आकस्मिक प्रयोगका लागि विद्युत् उत्पादन यन्त्र राख्ने प्रत्येक व्यक्तिले सो यन्त्र राख्ने ठाउँमा अनुमतिपत्र प्राप्त व्यक्तिको सल्लाहअुनसार अदलीबदली सञ्चालन यन्त्र राख्नुपर्ने छ ।

•   भूयोजन गर्नुपर्नेः (१) हार्ड भोल्टेज प्रसारण प्रणाली अन्तर्गत सबै प्रकारका धातु निर्मित सपोर्टहरूलाई अविछिन्न अर्थ वायर प्रयोग गरी स्थायी तथा प्रभावकारी भूयोजन गर्नुपर्ने छ ।

(२) प्रसारण तथा वितरण प्रणालीको सपोर्टहरूमा प्रयोग हुने स्टे वायरमा भुइँबाट ३ मिटर उचाईभन्दा घटी नहुने गरी इन्सुलेटर राख्नुपर्ने छ ।

कटआउट राख्नुपर्नेः

(१) अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकको घरमा जडान गरिने ऊर्जामापक यन्त्रको साथमा सुरक्षा तथा लोड लिमिटेडको हिसाबले कटआउट वा सर्किट ब्रेकर जडान गरी ऊर्जामापक यन्त्रसँग सिल गरी राख्नुपर्ने छ ।

(२) ऊर्जामापक यन्त्रको नजिकै ग्राहकको तर्फबाट एउटा आइसोलेटिङ स्वीच जडान गर्नुपर्ने छ ।

ग्राहक कहाँ प्रयोग गरिने विद्युत् सामग्रीको भूयोजनः

(१) ग्राहकको घरभित्र प्रयोग गरिने वाटर–हिटर, वातानुकूलित यन्त्र (एअर–कन्डिसनर) जस्ता उपकरणहरू जडान भइराखेकोमा त्यस्ता उपकरणहरूका लागि छुट्टै सुहाउँदो विद्युत् परिपथ (सर्किट) बाट विद्युत् आपूर्ति गरी भूयोजनको व्यवस्था गर्नुपर्ने छ ।

(२) ग्राहककहाँ विभिन्न किसिमको धातु मिसिएको विद्युत् सामग्री प्रयोगमा ल्याउने भएमा थ्रीपिन प्लग सकेट प्रयोग गर्नु पर्नेछ र यस्तो प्लग सकेट भूयोजन प्रणलीसँग जोड्नु पर्नेछ ।

(३) ग्राहकहाँ जडान गरिएको भूयोजन प्रणाली प्राविधिक विधि अनुसारको हुनुपर्ने छ ।

•    आन्तरिक वायरिङको सुरक्षाः ग्राहकले आफ्नो आन्तरिक वायरिङगको सुरक्षाका लागि राखेको विद्युत् सामानहरू तथा वायरिङ तरिका प्रचलित प्राविधिक मापदण्डबमोजिम हुनुपर्ने छ ।

•      इन्सुलेसन भएको तार गर्नु पर्नेः ग्राहकको घरमा विद्युत् लाइन लैजाँदा इन्सुलेसन भएको तारको प्रयोग गर्नुपर्ने छ ।

•     विद्युतको लाइन लठ्ठाबाट दिनुपर्नेः

(१) ग्राहकको घरमा विद्युत लाइन दिंदा विद्युतको लठ्ठाबाट मात्र दिनु पर्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि इन्सुलेटेड केबुलबाट ग्राहकको घरमा विद्युत् लाइन दिनुपर्दा प्रचलित प्राविधिक मापदण्ड बमोजिमको सुरक्षाको व्यवस्था गरी दिनुपर्ने छ ।

लेखक, नेपाल विद्युत् प्राधिकरण उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३