दोलखा । रामेछापको उमाकुण्ड गाउँपालिका–१ ल्हाछेवरमा निर्माणाधीन ५७.५ मेगावाटको नुप्चे-लिखु जलविद्युत् आयोजनाको बाँध संरचना (हेडवर्क्स) मा बाढी पसेर करोडौँ रुपैयाँ बराबरको क्षति पुर्याएको छ । शनिबार अपरान्ह लिखु खोलामा एक्कासी बाढी आउँदा बाँध संरचनामा क्षति भएको नुप्चे–लिखु जलविद्युत् आयोजनाले जनाएको छ ।
एक्कासी ठूलो बाढी आउनुको कारण हालसम्म यकीन नभए पनि माथिल्लो तटमा पर्ने दूधपोखरी छेबुक क्षेत्रमा भारी वर्षापछि पहिरोले खोला थुनिएर एक्कासी ठूलो बाढी आएको हुन सक्ने अनुमान गरिएको उनले बताए ।
निर्माण सकिएको उक्त बाँधमा क्षति पुगेपछि आयोजनाको विद्युत् उत्पादन गर्ने समय पछि सर्ने भएको छ । ३ हजार ३५० मिटर उचाइमा रहेको लिखु र नुप्चे खोलाको पानी जम्मा गरेर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माणाधीन यो आयोजनामा लिखु र नुप्चे खोलामा छुट्टाछुट्टै बाँध छ । दुवै बाँधको निर्माण कार्य करिब पूरा भएको थियो ।
बाँधमा बाढी छेक्न बनाइएको ७ मिटर अग्लो पर्खालसमेत नाघेर बाढीले आयोजनामा क्षति पुर्याएको हो । बाढी पसेर बाँधस्थलमा रहेका इन्टेक, बाँध र डिस्यान्डरका गेटहरूमा गेग्रान, लेदो, ठूला ढुङ्गाले भरिएको आयोजनाका जनसम्पर्क अधिकृत रामचन्द्र शर्माले जानकारी दिए । बाढीले बगाएर ल्याएका रुखहरू समेत गेटमा चेपिएका छन् ।
उनका अनुसार बाढीले ग्याबिन वालमा समेत क्षति पुगेको छ । त्यस्तै, २ वटा बेल्डिङ मेसिन, ग्यास सिलिण्डर, कटर ग्रान्डर मेसिन, तार लगायतका सामान र गिट्टी बालुवा बगाएको छ भने कति पुरेको छ । २०८२ को साउन अन्तिमतिरबाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम पूरा गरी सामान्य मर्मतपछि परीक्षणको चरणमा पुगेको थियो ।
बाढीबाट भएको क्षतिको मूल्याङ्कन गरी यकिन गर्न बाँकी रहे पनि प्रारम्भिक अनुमान अनुसार करोडौँको क्षति भएको छ । क्षतिग्रस्त संरचनाबाट गेग्रान, लेदो, ठूला ढुङ्गा र मुढा हटाउनै एक महिना लाग्ने अनुमान छ । क्षतिग्रस्त संरचना पुर्ननिर्माण गरी विद्युत् उत्पादन गर्न अब कम्तीमा ३ महिना बढी समय लाग्ने अनुमान छ ।
आयोजनाको निर्माण २०७८ असोजदेखि सुरु गरिएको थियो । भिजन इनर्जी एण्ड पावर लिमिटेडले निर्माण गरेको यो आयोजना रामेछापको सबैभन्दा उच्च स्थानमा निर्माणाधीन आयोजना हो ।