विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माण सुरु भएको एक दशकभन्दा बढी समयदेखि विवाद, झमेला र अनेक समस्या झेल्दै आएको सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइन अन्ततः ‘चार्ज’ भएको छ । नेपाल विद्युत् प्राधिकरण र त्यस क्षेत्रमा निर्माण भइरहेका निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धकको समन्वय र सहकार्यमा लाइन चार्ज हुन पुगेको हो ।

डबल सर्किट लाइन तानिने यो प्रसारण लाइनको आज (असार ३१ गते) सिंगल सर्किट चार्ज भएको छ । चालू आर्थिक वर्षभित्रै निर्माण पूरा गर्नुपर्ने भन्दै दबाब, सहजीकरण र समन्वय गरेकै कारण लाइन चार्ज गर्न सकिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

‘१४ वर्ष अगाडि अध्ययन सुरु भएको र ठेक्का लागेर निर्माण थालिएकै १२ वर्ष बितिसेकेको छ,’ उनले बिहीबार ऊर्जा खबरसँग भने, ‘भारतीय ठेकेदार आर्थिक रूपमा टाट पल्टिएपछि, नेपाली अर्थात् निजी प्रवद्र्धकले नै पेटी ठेक्का लिएर काम सकेका छन् ।’

दोलखामा २५ मेगावाटको सिंगटी खोला निर्माण गरेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडका अध्यक्ष बटु लामिछानेले प्रसारण लाइन पूरा गर्न विशेष भूमिका खेलेको शाक्यले बताए । यसमा ४० मेगावाटको खानी खोला–१ निर्माण गरिरहेको ग्रिन लाइफ इनर्जी हाइड्रो पावर कम्पनी लिमिटेडले पनि केही सहयोग गरेको उनको भनाइ छ ।

शाक्यका अनुसार ४० किलोमिटर लामो यो प्रसारण लाइन चार्ज भएपछि २५ मेगावाटको सिंगटी सहित ११ मेगावाटको तल्लो खारे खोला, १० मेगावाटको सिप्रिङ खोला र ५ मेगावाटको घट्टे खोलाको बिजुली प्रवाह हुन सकेको छ । अब डबल सर्किट लाइन तान्न भारतीय ठेकेदारले काम गरेन भने ठेक्का तोडेर नेपालीबाट गराउने उनले प्रस्ट पारे ।

पुरानो अर्थत् भारतीय ठेकेदारको हैरानी खेपेर स्थानीय जनता र प्रशासनसँग समन्वय गर्दै काम गर्दा लाइन चार्ज गर्न सकिएको सिंगटी इनर्जीका अध्यक्ष लामिछानेले बताए । प्रसारण लाइन निर्माण गर्न ४२ करोड र लामोसाँघुमा बनेको सबस्टेसनका लागि १७ करोड रुपैयाँ भारतको अरावली इन्फ्रा पावरसँग ठेक्का सम्झौता भएको थियो ।

कम्पनी भारतमा टाट पल्टेपछि यताको काम लथालिंग हुँदै आएको थियो । यो प्रसारण लाइन निर्माणका क्रममा निजी क्षेत्रले निजी क्षेत्रकै खुट्टा तानेको अवस्था समेत देखियो । खानी खोलाको निर्माण सुस्त भएको र प्रसारण लाइन निर्माणपछि जरिवाना तिर्नुपर्ने हुँदा यस आयोजनाको प्रवर्द्धकले नै काममा अवरोध पुर्याएको दाबी पनि गरिएको छ ।

ग्रिन लाइफका सञ्चालक भुषण थापाले अरावलीबाट स्वीकृति लिएर कम्पनीका प्रबन्ध निर्देशक जम्पे छिरिङ लामालाई काम अगाडि बढाउन दिएका थिए । लामाले खानी खोला ढिलो भइरहेको हुँदा यस आयोजनालाई अनुकूल हुने गरी प्रसारण लाइन तयार होस् भन्ने हेतुले पनि घुमाउरो तरिकाले अवरोध गरेको स्रोतले दाबी गर्यो ।

हरेक व्यक्ति, समुदाय वा स्थानीयसँग परामर्श गर्दै लकडाउनको समयमा पनि कैलालीको अत्तरियाबाट कामदार ल्याएर काम सम्पन्न गरेको लामिछानेले बताए । यसमा दोलखा र सिन्धुपाल्चोकका जिल्ला प्रशासन तथा प्रमुख जिल्ला अधिकारीले महत्त्वपूर्ण सहयोग गरेको उनको भनाइ छ ।

साथै, सिन्धुपाल्चोक सुनकोसी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसीले यस जिल्लाको समस्याको गाँठो फुकाउन निकै सहजीकरण गरेको लामिछानेले बताए । काम पूरा भइसकेर चार्ज हुने अवस्थामा पुगेको लाइनमा अमूक व्यक्ति तथा समूहको अवरोधका कारण झन्डै एक महिना ढिलो भएको देखिन्छ ।

निर्माण पूरा भएका १२४ वटा टावरमध्ये अन्तिम समयमा ८५, ९६ र १०५ नम्बर टावरमा समस्या देखिएको थियो । तारलाई टावरसँग जोडेर सर्ट गराइएको, जम्पर चुडालिएको अवस्था पत्ता लगाएर मर्मत गरिएको थियो ।

निजी क्षेत्र (सिंगटी हाइड्रो) को सक्रियता र निरन्तरको काम गराइको प्रतिफलका कारण प्रसारण लाइन पूरा हुन सकेको देखिन्छ । यसअघि इलाममा निर्माण भएको २२ मेगावाटको माइखोलाको प्रवद्र्धक सानिमा हाइड्रोले समेथ काबेली कोरिडोरको गोदक–दमक खण्ड पूरा गर्न निकै मिहिनेत गरेको थियो ।

सिंगटी–लामोसाँधु प्रसारण लाइन समयमा पूरा नहुँदा सबैभन्दा बढी मर्का सिंगटी खोलालाई परेको देखिन्छ । २०७६ फागुनमै आयोजना पूरा भए पनि प्रसारण लाइन नहुँदा प्रणालीमा जोडिन सकेको थिएन । यस अवधिमा आयोजनाले करिब १ अर्ब रुपैयाँ भन्दा बढीको नोक्सानी बेहोर्नुपरेको लामिछाने बताउँछन् ।

सुपर सिक्समध्येकाे याे आयाेजनाबाट वार्षिक १३ कराेड ३९ लाख युनिट (१३३.९३२ गिगावाट घन्टा) विद्युत् उत्पादन हुन्छ । यसबाट वर्षकाे ७२ कराेड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएकाे छ । वार्षिक ऊर्जा उत्पादन आकर्षक भएकाे हुँदा विद्युत् उत्पादन भएकाे पहिलाे वर्ष नै संस्थापक तथा सर्वसाधारण सेयरधनीलाई १० प्रतिशत लाभांश दिन सकिने कम्पनीले जनाएकाे छ ।

याे पनि पढ्नुहाेस् (थप समाचार)

सिंगटी–लामोसाँघु प्रसारण लाइन सिंगल सर्किट तानियो, विद्युत् प्रवाह हुन अझै एक महिना लाग्ने

१२ वर्षमा सकियो सिंगटी–लामोसाँघुको कहर, एक सातामा सिंगटीको बिजुली जोडिने

प्रवर्द्धक आफैं कस्सिए प्रसारण लाइन निर्माणमा, एक महिनामा पूरा गर्न ‘टास्क फोर्स’

सिंगटी-लामोसाँघु प्रसारण लाइन असारसम्म धकेलियो 

एक दशकदेखि घिस्रिँदै आएको सिंगटी–लामोसाँघु प्रसारण लाइन पूरा हुँदै 

स्थानीयसँगै प्रजिअ नै निर्माणको बाधक, एमडी भन्छन् : एक महिनाभित्र सिंगटीको बिजुली जोडिन्छ

प्रवर्द्धक आफैं कस्सिए प्रसारण लाइन निर्माणमा, एक महिनामा पूरा गर्न ‘टास्क फोर्स

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit