विद्युत अपडेट

  • प्राधिकरण : ८८३८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३७०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३७८०३ मे.वा.घन्टा
  • आयात : ४०५ मे.वा.घन्टा
  • निर्यात : १६७९८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६०७५२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६०१ मे.वा.
२०८२ साउन ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

भोजपुर । भौगोलिक रूपमा विकट मानिने भोजपुरको षडानन्द नगरपालिका–१० साम्पाङमा केन्द्रीय विद्युत् विस्तार भएको छ । विगतमा टुकी बत्तीको भरमा रात कटाउँदै आएका यहाँका ८५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् विस्तार भएको हो ।

केन्द्रीय विद्युत् विस्तार भएपछि यहाँका नागरिकको वषौँदेखिको टुकीको सहारामा रात कटाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । वर्षौँदेखि टुकी तथा सोलारको उज्यालोमा जीवन गुजारा गरिरहेको अवस्थामा विद्युत्‌को केन्द्रीय लाइन विस्तार भएपछि दैनिकीमा परिवर्तन आएको स्थानीयवासी सिंहबहादुर तामाङले बताए ।

विद्युत् विस्तारले उज्यालोसँगै कुटानी, पिसानी तथा दैनिक कामकाजमा सहज भएको उनको भनाइ छ । अँध्यारोमा रात काट्नुपर्ने अवस्थामा अहिले विद्युतीय उपकरण जडान गरेर काम गर्नसक्ने वातावरण निर्माण भएको उनको भनाइ छ ।

‘अँध्यारोमा रात कटाइरहेको अवस्थामा केन्द्रीय विद्युत् लाइन जडान भएको छ’, उनले भने, ‘हाम्रो क्षेत्र भौगोलिकरुपमा निकै विकट भए पनि वडाले खेलेको भूमिकाका कारण बत्ती बल्यो । विद्युत्‌ले दैनिक जीवनयापनमा सहजता छ । ढिलै भए पनि विद्युत् उपभोग गर्न पाउँदा खुसी लागेको छ ।’

दुर्गम क्षेत्र भए पनि केन्द्रीय लाइन विस्तारले सूचनाको पहुँचमा जोडिन सहजता भएको स्थानीयवासी निर्मा शेर्पाले बताए । विद्युत् विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै गाउँमा बसेर देश विदेशको जानकारी लिनसक्ने अवस्था बनेको उनको भनाइ छ ।

‘विद्युत्‌ले हाम्रो दैनिकी फेरिदियो’, उनले भने, ‘विद्युत् नहुँदा दैनिकी निकै कष्टकर थियो । विद्युतले गाउँले जीवनशैलीलाई सहज बनाएको छ । राज्य तहबाट भएको यो काम प्रशंसायोग्य छ । वडाको सक्रियतामा भएको विद्युत् विस्तारको काम उदाहरणीय छ ।’

भौगोलिक रूपमा विकट रहेकाले धेरै प्रयासपछि यहाँका ८५ प्रतिशत नागरिकमा केन्द्रीय विद्युत् विस्तार गर्न सफल भएको वडाध्यक्ष पेमदोर्ची शेपाले बताए । निर्वाचनमा स्थानीयलाई विद्युतको उज्यालोमा राख्छु भनेर गरेको प्रतिबद्धता पूरा हुने चरण पुगेको उनको भनाइ छ । आफू वडाको जिम्मेवारीमा आउँदा केही स्थानमा मात्र विद्युत् पुगेको अवस्थामा अहिले अधिकांश गाउँमा विद्युत् विस्तार गर्न सफल भएको उनको भनाइ छ ।

‘म वडाको जिम्मेवारी आउँदा यहाँको केही स्थानमा मात्र विद्युत् पुगेको अवस्था थियो’, वडाध्यक्ष शेर्पाले भने, ‘अहिले ८५ प्रतिशत क्षेत्रमा विद्युत् विस्तार गर्न सफल भएका छौँ । बाँकी ठाउँमा पनि धमाधम विस्तारको काम गरिरहेका छौँ । अब चाँडै नै उज्यालो वडा घोषणा गर्ने लक्ष्य छ ।’

सीमित स्रोत साधनको अधिकतम उपयोग गर्दै विद्युत् विस्तारमा प्राथमिकताका साथ काम गरिरहेको वडाध्यक्ष शेर्पाको भनाइ छ । ९४१ घरपरिवार रहेको यो वडाको कुल जनसङ्ख्या ३ हजार २८३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३