आपूर्ति तथा खपत
जल तथा ऊर्जा आयोगको सचिवालयले प्रकाशन गरेको ऊर्जा क्षेत्र सारांश प्रतिवेदन, २०२४ अनुसार सन् २०२३ मा नेपालमा झण्डै १८ अर्ब युनिट बराबरको ऊर्जा खपत भएको छ । अभैm पनि झण्डै ६४ प्रतिशत ऊर्जा खपत परम्परागत इन्धन, काठको दाउरा, पशुको गोबर र कृषि अवशेष नै भएको देखिन्छ । त्यस्तै, व्यावसायिक जीवाश्म इन्धन करिब २६ प्रतिशत खपत हुँदा विद्युत् भने जम्मा ७ प्रतिशत खपत भएको देखिन्छ । नवीकरणीय ऊर्जा, सौर्य, वायु, लघुजलविद्युत्, जैविक ग्यास लगायत कुल खपतको झण्डै ३ प्रतिशतमा पुगेको छ ।
चित्र १ : नेपालको ऊर्जा खपत (२०२३)
नेपालको ऊर्जा आपूर्ति को मिश्रण अरू देशको तुलनामा पृथक देखिन्छ । हाम्रो जीवाश्म इन्धनको खपत घटाउनु त छदैँछ । त्यो भन्दा पनि यहाँ परम्परागत ऊर्जाको खपतलाई आधुनिक नवीकरणीय ऊर्जाले प्रतिस्थापन गर्ने मुख्य चुनौती रहेको छ । करिब शतप्रतिशत विद्युत् नवीकरणीय ऊर्जाबाट उत्पादन गर्ने नेपालले अझै आवासीय, उद्योग तथा यातायात क्षेत्रमा ठूलो मात्रामा जीवाश्म इन्धन प्रयोग गरिरहेको छ । देशको कुल ऊर्जा खपतमा करिब ६१ प्रतिशत आवासीय प्रयोजनमा खपत हुने हुँदा हाम्रो ऊर्जा रूपान्तरण हाम्रो जीवनशैलीमा प्रत्यक्ष निर्भर छ । त्यसैले, ऊर्जा रूपान्तरण थप चुनौतीपूर्ण बनेको छ ।
व्यापार तथा निर्यातका अवसर
नेपाल राष्ट्र बैंकको सन् २०२३ को तथ्याङ्कअनुसार नेपालले कुल १६१२ अर्ब रुपैयाँ बराबरको आयातमध्ये ३४५ अर्बको ऊर्जा तथा ऊर्जा स्रोत भारतबाट आयात गरेको देखिन्छ । जुन कुल आयातको २१.४ प्रतिशत हो । ऊर्जा आयातमा सबैभन्दा बढी ३०७ अर्ब बराबरको पेट्रोलियम आयात भएको छ । जुन, कुल ऊर्जा आयातको ८९ प्रतिशत हो । त्यसपछि सन् २०२३ मा बढी खरिद गरिएको ऊर्जा स्रोत कोइला हो । विगत वर्षहरूमा कम आयात हुने कोइला सन् २०२१ को तुलनामा झण्डै ४ गुणाले बढी अर्थात् करिब २१ अर्ब पुगेको देखिन्छ । नेपालले १६.८ अर्बको विद्युत् आयात गरेको थियो । सोही वर्ष नेपालले इतिहासमै पहिलो पटक करिब १६.९ अर्ब रुपैयाँको विद्युत् भारत निर्यात गरेको थियो । यसरी सन् २०२३ मा नेपालको कुल व्यापारको झन्डै २०.४५ प्रतिशत ऊर्जाको थियो ।
चित्र २ : नेपालको ऊर्जा व्यापारको अवस्था (२०२३)
नेपालको विद्युत् निर्यातका अवसरहरू
क) जलविद्युत् सम्भाव्यता
नेपालको जलस्रोतका आधारमा नेपालमा करिब ४३ हजार मेगावाट जलविद्युत्को सम्भाव्यता रहेको भनिन्छ । अर्को एक अनुसन्धान अनुसार उच्च आर्थिक वृद्धि कायम रहने तथा विभिन्न क्षेत्रमा विद्युत्को व्यापक प्रयोग हुँदै जाने उच्च वृद्धिको परिदृश्यअनुसार सन् २०५० सम्म देशको कुल ऊर्जा माग ८४७ पेटा जुल (करिब २८,६०० मेगावाट बराबर) मात्रै पुग्ने देखिन्छ । तसर्थ, आर्थिक तथा प्राविधिकरूपमा सम्भव जलविद्युत् आयोजना निर्माण गर्न सके ठूलो मात्रमा ऊर्जाको अन्तर्राष्ट्रिय निर्यात व्यापार सम्भव देखिन्छ ।
ख) अतृप्त माग
विश्वमै विद्युत्को खपत मुख्यतः आवासीय क्षेत्रमा बढिरहेको छ । विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएका देश चीन र भारतमा ऊर्जा मागको वृद्धिदर तुलनात्मक रूपमा बढि देखिन्छ । यी देशहरूमा अमेरिका र युरोप भन्दा नवीकरणीय ऊर्जा, आणविक ऊर्जा र प्राकृतिक ग्यासबाट उत्पादित विद्युत् कम छ । आफ्नो अधिकांश विद्युत् माग कोइला बाट परिपूर्ति गरिरहेका विश्वकै ठूला देश हाम्रा छिमेकमा रहेकोले नवीकरणीय ऊर्जा व्यापारका लागि एउटा राम्रो सम्भावना देखिन्छ । विश्वको ऊर्जा रूपान्तरणको लक्ष्य प्राप्तिकै सूचकहरूमा ठूलो प्रभाव पारिरहेका चीन र भारतको ऊर्जा रूपान्तरण सहज छैन । तसर्थ, नेपालका लागि नवीकरणीय ऊर्जा निर्यात तथा व्यापार दिगो बन्न सक्ने सम्भावना छ ।
ग) सीमित बजार
देशको ऊर्जा खपतमा देशको अर्थतन्त्र, प्रतिव्यक्ति आय, विद्युत् विस्तार, आधुनिक जीवनशैलीको ग्राह्यता, व्यापारिक तथा औद्योगिक क्षेत्रको बिस्तार, यातायात तथा कृषिको विद्युतीकरणले मुख्य प्रभाव पारिरहेका हुन्छन । नेपाल हाल प्रतिव्यक्ति ऊर्जा खपतका आधारमा एक न्यून ऊर्जा खपत गर्ने देशमा पर्दछ । वास्तवमा राजनीतिक अस्थायित्व, पर्याप्त लगानी पुँजीको अभाव, युवा तथा दक्ष जनशक्तिको बहिर्गमन जस्ता विविध विषयले देशमा उद्योगधन्दा, व्यवसाय चलायमान सकेका छैनन् । त्यसो हुँदा विद्युत्को माग अपेक्षाकृतरूपमा बढ्न सकेको छैन । अझ सन् २०२२ को तुलनामा सन् २०२३ मा कुल ऊर्जा खपत झण्डै १७ प्रतिशतले घटेको छ । विद्युत् शक्तिलाई सर्वसुलभ तथा भरपर्दो बनाई परम्परागत ऊर्जा प्रतिस्थापन गर्न प्रोत्साहित गर्दा–गर्दै पनि विद्युत्को माग १०
प्रतिशतभन्दा बढीले बढ्न सकेको छैन ।
घ) प्रयोगको बाध्यता
वायुमण्डलमा हरितगृह ग्यासको उत्सर्जन सीमित गर्न तथा जलवायु परिवर्तन सम्बन्धी लक्ष्य प्राप्ति नवीकरणीय ऊर्जा प्रयोगबाट मात्रै सम्भव छ । यो महसुस गरी अन्तर्राष्ट्रिय नीति नियम बाध्यात्मक बनिरहेका छन् । मुख्यतः जुन देशमा परम्परागत तथा जीवाश्म इन्धनको प्रयोग बढी भइरहेको छ, ती देशमै नवीकरणीय ऊर्जामा लगानी तुलनात्मक रूपमा बढी भएको देखिन्छ । जसले गर्दा पनि पछिल्ला वर्षहरूमा नवीकरणीय तथा स्वच्छ ऊर्जाबाट विद्युत्को उत्पादन उल्लेखनीयरूपमा बढिरहेको छ । वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जनलाई सीमित गर्न तथा जलवायु परिवर्तन नियन्त्रण गर्न विश्वले राखेका लक्ष्यको प्राप्तिको कार्यसम्पादन निरन्तर अपेक्षित नभएपछि नवीकरणीय ऊर्जामा अन्तर्राष्ट्रिय निकायहरू थप कठोर बन्न सक्ने छन् ।
विद्युत् उत्पादन तथा निर्यातका चुनौतीहरू
नेपालको ऊर्जा निर्यात सन्दर्भमा निम्न चुनौतीहरू देखिन्छन् :
क) कमजोर अर्थतन्त्र
ऊर्जा क्षेत्र एक ठूलो लगानी चाहिने र बिस्तारै प्रतिफल आउने क्षेत्र हो । नेपालसँग पर्याप्त जलविद्युत्को सम्भाव्यता हुँदा–हुँदै पनि पर्याप्त लगानी अभावमा चाहे जति विद्युत् ऊर्जा उत्पादन सकिरहेको छैन । ऊर्जा उत्पादनका लागि बाह्य देशसँग साझेदारी गर्दा विविध विषयमा सम्झौता गर्नुपर्ने हुन्छ । यसो हुँदा दीर्घकालीन बजारमा समेत असर परिरहेको हुन्छ । एक प्रतिवेदनका अनुसार प्रतिमेगावाट जलविद्युत् उत्पादन करिब २२ करोड रुपैयाँ लाग्ने देखिन्छ । जलाशय आयोजनामा यो रकम अझ बढी हुने गर्दछ । अतः कमजोर अर्थतन्त्रयुक्त नेपालका लागि पर्याप्त लगानी जुटाउनु नै ऊर्जा उत्पादनको प्रमुख चुनौती रहेको छ ।
ख) जलवायु परिवर्तनको असर
जलवायु परिवर्तनको असर ऊर्जाका स्रोतमध्ये सबैभन्दा बढी जलविद्युत्मा पर्ने देखिन्छ । जलवायु परिवर्तनले अनावृष्टि, अतिवृष्टि तथा बेमौसमी झरी भई जलविद्युत् उत्पादन तथा तथा नदी–किनारमा हुने भौतिक संरचनामा ठूलो असर पर्ने देखिन्छ । विशेषतः प्रमुख नदीहरू हिमालबाटै आउने हुँदा उच्च तापक्रम वृद्धिले हिमालमा हिउँ घट्दै गई नदीको जलप्रवाह कम हुने देखिन्छ । एक अध्ययनअनुसार पृथ्वीको उच्च तापक्रम वृद्धिले तीव्र गतिमा हिउँ पग्लिएका कारण यो शताब्दीको अन्त्यसम्म उच्च उत्सर्जन परिदृष्टिमा हिमालबाट हालको तुलनामा ८० प्रतिशत हिउँ पग्लने छ ।
ग) भौगोलिक अवस्थिति
भौगोलिक अवस्थितिका कारण पनि नेपालको ऊर्जा व्यापार चुनौतीपूर्ण छ । भूपरिवेष्ठित राष्ट्र नेपालले तेस्रो मुलुकसँग कुनै प्रकारका व्यापारिक सम्झौता गर्न भारतको सहमति आवश्यक रहन्छ । त्यसकारण, नेपालको अन्तर्राष्ट्रिय ऊर्जा व्यापारको बजार भारतमा सिमित छ ।
घ) परनिर्भरता
नेपालसँग जलविद्युत् उत्पादनमा झण्डै सय वर्ष बढीको अनुभव भए पनि ठूला आयोजना निर्माण नहुदा दक्ष जनशक्ति तथा पुँजीमा पूर्णतः बाह्य देशमा निर्भर रहनु परेको छ । यो परनिर्भरता, समयमा आयोजना सम्पन्न नहुने, लगानी सुनिश्चितता नहुने, प्रविधि हस्तान्तरण उचित ढङ्गले समयमा नहुने जस्ता समस्या देखिरहेका छन् । दूरदर्शी राजनीतिक नेतृत्व र अभ्यासको कमीका कारण दीर्घकालीन सम्झौतामा चुक्न पुग्दा विद्युत् उत्पादन थप सुस्त बनेको छ ।
निष्कर्ष
विद्युत्को दक्षताका कारण सकेसम्म विद्युत् स्वरूपको प्रयोग बढाउने विश्वको ऊर्जा प्रवृत्ति रहेको देखिन्छ । एकातिर विश्वमा विद्युत् शक्तिको माग दिनानुदिन बढिरहेको छ । अर्कोतिर वायुमण्डलीय प्रदूषण तथा जलवायु परिवर्तनविरुद्ध विश्वले लिएका लक्ष्य हासिल गर्न नवीकरणीय ऊर्जा स्रोतबाट स्वच्छ विद्युत्को उत्पादन बाध्यात्मक भइरहेको छ । यस्तो अवस्थामा जलविद्युत्को राम्रो सम्भाव्यता भएको हाम्रो जस्तो देश जसको नजिक जीवाश्म इन्धनमा निर्भर रहेका विश्वकै सबैभन्दा बढी अतृप्त ऊर्जाको माग भएका दुई ठूला देश भएका कारण पनि नेपालमा विद्युत् निर्यातको राम्रो सम्भावना भएको तथ्य नकार्न सकिँदैन ।
विश्वकै ऊर्जा रुपान्तरणका सूचकमा प्रभाव पार्ने यी देशमा नवीकरणीय ऊर्जामा ठूलो लगानी नभएर अन्तर्राष्ट्रिय नियामक निकाय थप बाध्यात्मक बन्दा नेपालको ऊर्जाको बजार विस्तार हुन सक्छ । तर हाम्रो देशमा ऊर्जा उत्पादनको भविष्य सुनौलो देखिए पनि यसको वर्तमान सन्तोसजनक छैन । कमजोर अर्थतन्त्र, दक्ष जनशक्ति तथा प्रविधिमा परनिर्भरता, कमजोर राजनीतिक रणनीति, बढ्दो जलवायु परिवर्तनको प्रभाव जस्ता कारणले नेपालको जलविद्युत्को विद्यमान सम्भाव्यतालाई नै चुनौती दिइरहेको छ । दुई ठूला देशहरूको बिचमा रहेको नेपाल ऊर्जा व्यापारका लागि पनि राजनीतिक तटस्थताको सिद्धान्त आत्मसात गर्दै कूटनीतिक हुनुपर्ने बाध्यता छ । तसर्थ, सम्भव देखिने जलविद्युत्को सुनौलो भविष्यको सपनालाई ध्यानमा राखी विद्यमान चुनौतीको सामना गर्नुपर्ने खाँचो छ ।
लेखक नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर तथा ऊर्जा अध्ययता हुन् ।