काठमाडाैं । त्रिभुवन विमानस्थलको आन्तरिक उडान परिसरमा कफी समेत पाउने नयाँ पसल खुलेको देखेको थिएँ । कुनै दिन ‘मौका परे यसलाई पनि मेरो गन्तव्य बनाउँछु’ भन्ने लागेको थियो । आन्तरिक उडान प्रवेश द्वारको दाहिनेतिर आगमन कक्ष र झोला संकलन गर्ने ठाउँ छ । यी सुविधा भएको भवन पुग्नुअघि अग्रिम भुक्तानी गर्न मिल्ने ट्याक्सीको पुर्जी लिने ठाउँ छ । म यो सँगै खुलेको नयाँ कफी पसलमा झोला लिएरै पुगेँ ।
किशोरवय पार गर्न लागेका उही उमेर समूहका तीन युवतीहरूले मलाई स्वागत गरे । संयोगवस म पुगेको समयमा अरू ग्राहक थिएनन् ।
‘अमेरिकानो सिङ्गल सट । बाहिर लैजाने कपमा ।”
मेरो मागलाई सम्बोधन गर्दै काउन्टरमा बसेकी युवती बोलिन्, ‘ला ! बाहिर लैजाने कप पो छैन । यो ठूलो ३५० जाने मात्रै छ ।’
म एक छिन अलमलिएँ तर मष्तिस्क स्वचालित हुन बेर लागेन । अब के गर्ने भन्ने निर्णय लिने काम मिलिक्कै भयो ।
‘त्यही ठूलो कपमा दिए भै हाल्छ नि !’
‘हिसाब गरेर ल्याएको हुन्छ ।’
‘एक जना राजकुमार जस्तो व्यक्तित्व भएको ग्राहक आउनुभयो । उहाँको कुराले हामीलाई मोहनी लाग्यो । अनि ठूलै कपमा नदिई नहुने भयो । सोधीखोजी भयो भने यसो भन्दिनुस् न ।’
तीनै जना युवतीको मुहारमा एकाएक हाँसो विस्फोट भयो । सामान्यतः बिक्रेताको मुद्रा गम्भीर प्रकृतिको हुन्छ तर मेरो कुरो घुमाईले आगोको फिलिङ्गोको काम गर्यो । मलाई यो कुराकानीपछि उनीहरूको मुडमा व्यापक परिवर्तन आएको अनुभूति भयो; सुकेको खरमा आगो लगाएजस्तो । यही फरक छ, युवा र पाको उमेरमा । युवाको मुड सुकेको खर जस्तो हुन्छ । पाको उमेरको मुड पानीले भिजेको खर जस्तो हुन सक्छ । फिलिङ्गोले काम नगर्दा अगुल्टो नै चाहिन सक्छ ।
‘ठूलो कपमा नै दिए हुन्छ ।’
पसलको भित्री भागमा केही सामान मिलाई रहेकी युवतीले भनिन् । मेरो काम भयो । मैले एउटा मफिन पनि किने ।
कफी र मफिनको मुल्य ३५० रुपैयाँ भएकोले मैले खुद्रा मिलाएर १०५० रुपैयाँ काउन्टरकी युवतीतिर बढाएँ । उनलाई किनबेचको जापानी तरिका सिकाउने लहड चल्यो ।
‘हजुरले ३५० दिनुपर्ने भयो । हजुरले मलाई १०५० दिनुभयो, यो फिर्ता ७०० लिनुहोस् । यसो भनेर ग्राहकले ७०० रुपैयाँ फिर्ता लिएपछि मात्र उसले दिएको १०५० घर्रामा राख्नुहोस् ।’
‘कस्तो राम्रो तरिका सिकाउनुभयो । यसो भयो भने त विवाद हुने सम्भावना नै रहेन ।’
मलाई पैसा फिर्ता गर्दै काउन्टर सम्हालेकी युवतीले भनिन् ।
सामान खरिद गर्दा धेरै वटा काउन्टरमा मैले यो तरिका सिकाएको छु । दोस्रो पटक भेट्दा कतिपयले सम्झेर भन्ने गरेका छन्, ‘हजुरले सिकाउनुभएको तरिका सही रहेछ । आजभोलि म त्यसको प्रयोग गर्छु ।’
बुद्ध एयरको ८ बजेको उडानबाट पोखरा जाने कार्यक्रम थियो । एसियाली विकास बैंक (एडिबी) का दुई परियोजना अधिकृत पनि मसँगै जाने तय भएको थियो । टिकट जाँच गरी बोर्डिङ पास लिँदै गर्दा मैले ती मेरा सहयात्री भित्र गए नगएको सोधेँ । उनीहरू भित्र गइसकेका रहेछन् । मेरो स्वल्पहार लिने काम सुरक्षा जाँच गर्नुभन्दा अगावै गर्नु मनासिब हुने ठाने । त्रिदेवीहरूको कफी पसलमा किनेको मफिन, अमेरिकानो कफी तथा घरबाट ल्याएको एक कोसो केराले मेरो बिहानी भोजनको काम गर्यो ।
८ बजेको उडान भए पनि हामी १० बजे मात्र जहाजसम्म ओसार्ने बसमा चढ्यौँ । मौसमको खराबीले उडान प्रभावित भएका थिए । जहाजमा बसिसकेपछि पनि आधा घण्टा थप ढिलाई गरी बल्लबल्ल साढे दश बजे मात्र जहाजले काठमाडौँको धर्ती छोड्यो ।
पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको यो मेरो पहिलो अनुभव थियो । आ–आफ्ना झोला टिपेर हामी बाहिर निस्कियौँ । तनहुँ जलविद्युत परियोजनाका एक चालक हामीलाई लिन आएका थिए ।
मध्यान्ह भोजन गर्ने बेला भइसकेको थियो । हामीसँग पोखरा गएर आनन्ददायक तवरले यो काम गर्ने समय थिएन । खैरेनीटारको सबस्टेसनमा पसेर निरीक्षणसमेत गर्नु थियो । यसैले, मैले दिमाग चलाउन थालेँ । मेरो लक्ष्य बन्यो– खैरेनीटारतिरै कुनै होटलमा बनिबनाउ खाना खाने । एडिबीका एक अधिकृत भने आकस्मिकरूपमा विमानस्थलबाटै फर्केछन् । यसैले, हामी चालकसहित ३ जना मात्र सहयात्रीको रूपमा सवार थियौँ ।
मैले दमौलीमा कर्मक्षेत्र बनाएर सञ्चार क्षेत्रमा काम गर्ने सुनिता आचार्यलाई सम्पर्क गरेँ । उनले हामीलाई केही बेर लगाएर दुलेगौंडाको रिमाल गेष्ट हाउसको नम्बर उपलब्ध गराइन् । हाम्रा लागि खाना तयार हुने भयो । हामी १२ बजे दुलेगौंडा पुग्यौँ । साहुजीले दिएको जानकारी र हाम्रो ठम्याईमा फेरो पर्यो । केही अलमल भयो तर एकछिनको प्रयासपछि रिमाल गेष्ट हाउस फेला भेटियो । हामीले स्वादिष्ट भोजन गयौँ ।
‘अर्को पटक आउँदा अलि लामो समय लिएर आउनेछु । यस्ता फरासिला व्यक्तिहरूसँग त थप भलाकुसारी गर्नु पर्यो नि !’
मैले खानाको बिल चुक्ता गर्दै भने । होटल सञ्चालक एक पुरुष र दुई महिला तीनै जनाले भव्य मुस्कानले मेरो चाहनालाई स्वीकारे ।
खैरेनीटार सबस्टेसनको अवलोकन गरी रिसिङ गाँउपालिकाको झ्यापुटार पुगेर झोला थन्क्याई स्थलगत भ्रमणमा निस्कियौँ । मादी र सेतीको दोभान नजिकै प्रख्यात व्यास गुफा छ । दोभानबाट सेती नदीको सिरानतिर दुई किलोमिटरमाथि बाँध बाँधेर जलाशाय बनाउने योजना छ । अहिले त्यहीँ बाँध बनाउनका लागि भियतनामको निर्माण कम्पनी र नेपालको कालिका कन्स्ट्रक्सनले संयुक्तरूपमा पहाड काट्ने र पथान्तरण सुरुङको निर्माण कार्य अघि बढाइरहेका छन् । हामीले सतही विस्फोट (जनजिब्रोको भाषा बम पड्काउने) गर्नका लागि तयार गरिएको निर्माणस्थलको भ्रमण गर्यौँ ।
म आजभोलि काठमाडौँ विश्वविद्यालयमा वातावरण इन्जिनियरिङमा स्नातकोत्तर तहका विद्यार्थीलाई वातावरण प्रभाव मूल्याङ्कन विषयको अध्यापन गराइरहेको छु । निर्माण कार्य वा सतह विस्फोटबाट निस्कने धुलोको कुहिरोलाई नजिकबाट अध्ययन गर्ने चाहाना आज पूरा हुने भयो भन्ने लाग्यो । यतिबेला, मैले मेरा अनन्य मित्र डा. कृष्ण मुरारी न्यौपानेलाई सम्झन पुगेँ । उनी लन्डनको एईकम ईन्टरनेशनल भन्ने कम्पनीमा काम गर्छन् । केही समयअघि नेपाल आएको बेला मैले उनका लागि एक प्रवचन कक्षा राखेको थिएँ, मेरा विद्यार्थीहरू भेला गरेर ।
उनको एउटा भनाइ अहिले पनि ताजै छ– ‘मलाई यो भन्दा बढी जानकारी छैन भन्न सक्नु ठूलो विद्वता हो ।’
उनका कुरा सुनेर मेरा विद्यार्थीहरू मन्त्रमुग्ध भएका थिए ।
सतही विस्फोटको कुरा हुँदा उनले भनेका थिए, अहिले संसारमा रसायन प्रयोग गरेर पनि ठूलो आवाज ननिकाली चट्टानलाई टुक्याउन सकिन्छ । केही समयपछि हाम्रो मुलुकमा पनि यो प्रविधि भित्रिएला ।
विस्फोट हुने स्थानबाट लगभग १.५ किलोमिटर परको पथान्तरण सुरुङको निकास बिन्दुमा हामीले अवलोकन स्थान निर्धारण गर्यौँ । साँझको ६ बजे नेपाली सेनाको रोहवरमा विस्फोट भयो । धुलोको मुश्लो आकाशियो तर केही सय मिटर माथि गएर त्यो मुश्लो नदीको वायाँ किनारको बेतिनी गाउँ हुँदै पुर्वोत्तर दिशामा फैलिँदै गयो । मैले मेरो क्यामेरामा त्यो दृष्य कैद गरेँ ।
भोलिपल्ट हामी बिहान आठ बजे लगातारको विस्फोटले प्रभावित गोपर्मा गाउँको भ्रमणार्थ निस्कियौँ । दमौलीको पश्चिम दक्षिणमा अवस्थित पर्यटकीय आकर्षणको एक गन्तव्यको रूपमा परिचित हुँदै गएको मनुङकोट शिखर छ । शिखरमा उभिएर हेर्दा बादलको तहले दमौली उपत्यका लगायतका वरिपरिका स्थानहरू छपक्कै छोपिएको देखिन्छ । हाम्रो गन्तव्य सेती नदीको वायाँ किनारमा अवस्थित यो पर्वतशृङ्खलासँग समानान्तर उभिएको दायाँ किनारको अर्को शिखरको काखमा अवस्थित लोक्मा गाउँसम्म थियो ।
हामी दुई सवारी साधन लिएर झ्यापुटारबाट दमौली निस्कने सडकलाई दाहिने पारेर उकालो उक्लिन थाल्यौँ । ग्याजा, समिडाँडा हुँदै धारापानी पुग्दा पुरै दमौली बजार हाम्रो दृष्टिको कब्जामा परिसकेको थियो । सडकको दाहिनेतिर लामकीरोझैँ नागबेली आकारमा अविरल बगिरहेको सेती नदी देखियो । तनहुँ जलविद्युत आयोजनाको बाँध निर्माणस्थल पनि स्पष्ट देखियो । हाम्रा क्यामेराहरूले उछिनाउछिन गरेर ती दृश्यहरू कैद गरे ।
छाप पुग्नु भन्दा अघि सम्म परेको बाटो देखियो । केही घर पनि भेटिए । लगभग ८०० मिटर अग्लो टाकुरो भएको र नजिक अर्को टाकुरो नभएकाले मैले अड्कल काटेँ, यहाँ खानेपानीको दुःख हुनुपर्छ । मेरो अनुमानकारिता सही निस्क्यो । तलबाट पम्प गरी टाकुरामा रहेको पानीटंकीमा जम्मा गरी पानी वितरण गरिँदो रहेछ । त्यहाँ आकाशे पानी जम्मा गर्ने पोखरी पनि देखियो ।
सवारी साधनलाई त्यहीँ रोकिन निर्देश गरेर हामी ओरालो झर्यौं । लोक्मा पुग्नु अघि एउटा पहिरो छिचोल्नुपर्ने रहेछ; त्यस गाउँमा जम्मा ८–१० घरमात्र रहेछन् । तर, तिनलाई सतही विस्फोटको प्रत्यक्ष असर परेको भेटियो । विस्फोटको कम्पनले घरहरू चर्केका रहेछन् । मान्छे नै तर्सिने गरी सुनिने विस्फोटको आवाज र वोटविरुवा र छानै ढाक्ने गरी उत्पन्न हुने धुलोको प्रकोप विशेष समस्याको रूपमा देखियो ।
सही हिसाबले वातावरण प्रभाव मूल्याङ्कन गर्दा यी सबै प्रभावहरूको दस्तावेजीकरण हुन्छ । हरेक परियोजनाले कर्मचारी र कामदारका लागि आवासगृह, प्रवेश मार्ग र अस्थायी संरचना निर्माण गर्न केही जमिन अधिग्रहण गरेको छ तर अधिग्रहणमा बढी रकम खर्च हुन्छ भनी सस्तो वा ऐलानी र सकेसम्म कम जग्गा लिने प्रवृत्ति हावी छ । जग्गा अधिग्रहण गर्ने मूल्यभन्दा क्षतिपूर्ति दिने मुल्य कैयौँ गुणा बढी हुन सक्छ । यी विषयलाई प्रभाव मूल्याङ्कनको प्रतिवेदन तयार गर्दा नै समेट्नुपर्ने हो तर यो विषयमा हामीले अझै धेरै गर्नुपर्ने छ ।
दिउँसो हामी प्रसारण लाइन निर्माणस्थलतिर लाग्यौँ । झ्यापुटारको भूमिगत जलविद्युतगृहबाट उत्पादित १४० मेगावाट बिजुली २२० केभीको लाइनमार्फत चितवन लैजाने कार्ययोजना छ । सोही अनुरूप सेती नदीको वायाँ किनारामा सराङ्घाट जाने सडक भन्दा केही मिटर माथि एउटा टावरको जग खन्ने काम भइरहेको थियो । हामीले त्यहाँ पुगेर पेटी ठेकेदार र कामदारहरूसँग अन्तरक्रिया गर्यौँ ।
दमौली पुगेको तेस्रो दिन हामी चिनियाँ ठेकेदारले निर्माण गरिरहेको भूमिगत संरचनाको अवलोकन गर्ने योजना थियो । सोही बमोजिम हामी सुरुङवाट प्रवेश गरी जलविद्युत केन्द्रसम्म गयौँ । पहाड खोपेर झण्डै काठमाडौंको भृकुटीमन्डपमा अवस्थित राष्ट्रिय सभागृह जत्रो संरचना अट्ने ठाउँको ओडार बनाउनु इन्जिनियरिङकै एक नमूना हो भन्दा अन्यथा हुँदैन । त्यहाँ पेनस्टक र टर्बाइन जोड्नका लागि आधारभूत काम भइरहेको रहेछ ।
साँझ आवासगृहको नजिकै एक युवाले मलाई अभिवादन गरे ।
‘नमस्ते सर ! म हजुरको पूर्वविद्यार्थी ।’
म हर्षले गदगद भएँ । काठमाडौं विश्वविद्यालयमा मैले उनलाई एउटा विषय पढाएको रहेछु ।
मैले विद्युत उत्पादन केन्द्रमा भइरहेको कामको प्रसंग निकालेँ र एक प्रश्न सोधेँ ।
‘मैले तिमीलाई पढाएको पक्कै सम्झेका हौला । पावरहाउसमा अहिले भइरहेको काम तिम्रो पढाइसँग कसरी जोडिन्छ ?’
‘सरले हामीलाई वस्तुको आकारको मापनका बारेमा पढाउनु भएको थियो ।’
‘सही हो । एउटा ४०० माइक्रोमिटर, ४०० मिलिमिटर र ४०० सेन्टिमिटर ब्यास भएका तीन वस्तु तिम्रो दिमागमा सिरिन्ज, तार आदि बोक्ने स्टिलको पाइप र पेनस्टक पाइप आए भने इन्जिनियरिङमा तिम्रो दखल रहेछ भन्ने बुझिन्छ । कुनै पनि सामानलाई त्यसको आकार, तौल र त्यसले गर्ने कामका आधारमा बुझ्न सकिन्छ ।’
सदावहार गुरु हुनुको मज्जा यही छ । आफूले पढाएको विद्यार्थी जहिले पनि सिक्नका लागि तयार हुन्छ भन्ने मान्यता । महाकविले त्यसै भनेका होइनन्–
फुल्दो गुलाबबीच ज्ञान अनेक फुल्छन्
उद्यानमा बस गई सब तत्त्व खुल्छन् ।
अर्को दिन बिहान ग्याजा र समिडाँडा गाउँको भ्रमणमा गयौँ । अनि, मध्यान्हमा हामीले दमौली छोड्यौँ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा पुग्दा दिउँसोको ४ बजेको थियो । हाम्रो उडान समय ५.३० को भएता पनि मेरो अनुरोधमा हामीलाई ४.३० को उडानबाटै जान मिल्ने व्यवस्था भयो । मेरी सहयात्रीको होटेलबाट गाडी आउने भएकोले म उनीसँग बिदा भएर एक भिर्ने र अर्काे झोला हातमा लिएर ट्याक्सी पाइने पार्किङतिर अघि बढेँ । मलाई एउटै प्रश्न सोधेर त्यसको बाध्यात्मक जवाफ खोज्ने व्यक्तिहरूले घेर्न थाले ।
‘ट्याक्सी चाहिने हो, हजुर ?’
ट्याक्सी त चाहिने हो तर ‘बोल्यो’ कि ‘पोल्यो’ हुन्छ । पहिलो, उसँग भाउ मिल्दैन । दोस्रो, उसले अरू यात्रुलाई पनि गन्तव्य मिलाएर लैजान खोज्दछ । यो समस्याबाट आजित छन् सर्वसाधारण । अरू मुलुकमा यही विषयलाई कति सरल पारिएको छ । जापान लगायत मुलुकमा रेलको सुविधा छ । सामान ताक्योबिन भन्ने कुरियर सेवाबाट पठाइदियो, आफू रेलमा गयो । कोरियामा बसको सुविधा प्रयोग गरेको छु । आफ्नो मुलुकमा भने समस्या ज्यूँका त्यूँ छ ।
म दुई तीन जना जबरजस्ती सेवा दिन चाहने सेवा प्रदायकलाई छिचोलेर अघ बढेँ । पार्किङस्थलको बीचतिर आइपुगेपछि एक अलि पाको उमेरको व्यक्ति मेरो पछि लाग्यो ।
‘ट्याक्सी चाहिने हो, हजुर ?’
‘हो तर म नजिकै जाने हो । तपाईंसँग कुरा नमिल्ला ।’
‘कहाँसम्म जानुहुन्छ र हजुर ?’
‘म कोटेश्वर जान्छु तर म एक्लै जान्छु ।’
‘५०० रुपैयाँ दिनु । म जान्छु ।’
यतिकैमा अर्को एक व्यक्ति रङ्गमञ्चमा देखापर्यो ।
‘सर, नमस्कार !’
‘नमस्कार !’
अब पहिलो ओझेलमा पर्यो । मैले दोस्रो व्यक्तिलाई चिनेजस्तो लागेन तर मैले भैपरिआएको परिस्थितिलाई स्वीकार्दै भनेँ, ‘ल, गजब तरिका लगाउनुभयो । अब म तपाईंकै ट्याक्सीमा जान्छु ।’
‘कुनै तरिका होइन सर । म हजुरलाई राम्ररी चिन्छु । यसैले बोलाएको हुँ ।’
उसले त हाम्रो गाडी चलाएको पनि कुरा गर्यो । धुलिखेल पुर्याएको पनि कुरा गर्यो तर मेरो दिमागले भने ठम्याउनै सकेन । यो प्रसंग सायद अब बुढेसकाल लागेको अर्थ खुल्नलाई सिर्जना भएको होला । म चित्त बुझाउँदै घर प्रवेश गरेँ । यात्राको सुरुमा भएको रमाइलोदेखि अन्त्यको आश्चर्यसम्म स्मृतिपटलमा रहलान् कि नरहलान् ? म घुर्मैलो हुँदै गएका अरू स्मृतिरेखातिर एकोहोरिन थालेँ ।