विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जीवन यात्रा हो । म यात्राकै लागि तयार भएको थिएँ, कात्तिक २१ गते (नोभेम्बर ७, सन् २०१९) । भावना हावामा सल्बलाइरहेका थिए । मन डर मिश्रित खुसीमा हराइरहेको थियो । ७ बजेको उडानका लागि म करिब साढे ४ बजे नै विमानस्थल पुगेको थिएँ ।

पूर्वनिर्धारित कार्यक्रम र तालिका थियो । म जाने, बस्ने र घुम्ने ठाउँ करिब सूचीमै थिए । तर, एक्लो यात्राका कारण म आफैंमा हराइरहेको थिएँ । युरोपको मेरो पहिलो यात्रा । यो अवसर जुराइदिएको थियो, कार्यरत संस्था ऊर्जा खबर अनलाइन पत्रिकाले ।

मैले जीवनमा धेरै सपना साँचेर राखिनँ । ठूला सपनाको आशा पनि गरिनँ । दैनिकी चलाउनु, परिवारको जिम्मेवारी पूरा गर्नु, समाजप्रति केही गर्न सके हुन्थ्यो भन्ने मेरो एकमात्र चाहना रह्यो । त्यो मेरा नसा–नसामा जिवितै छ ।

पारिवारिक दायित्वको चाप घटाउन म केही वर्षअघि कोरिया पुगेको थिएँ । त्यहाँबाट फर्केपछि पारिवारिक र सामाजिक कामतिरै भुलेँ । विगतदेखि मैले गर्दै आएको पत्रकारितालाई पनि निरन्तरता दिएँ । पेशाको निरन्तरताका क्रममा म पछिल्लो समय ऊर्जा खबरसँग जोडिन पुगेँ । मलाई संस्थाले व्यवस्थापनको समेत जिम्मेवारी थपिदियो । र, युरोप यात्रा जुराइदियो ।

संस्थाको व्यावसायिक गरिमा मूल्यांकन गरेरै जर्मनीको नेमबर्गस्थित बहुराष्ट्रिय कम्पनी एफईईले भ्रमणको निम्तो पठाएको थियो । यसमा काठमाडौंस्थित जर्मन दूतावास र यहाँका कर्मचारीले पूर्ण सहयोग गरेका थिए । विगत ३ वर्षदेखि देशको ऊर्जा तथा जलविद्युत विकासबारे बहस, पैरवी र वस्तुनिष्ठ समाचार संप्रेषण गरेकै कारण पत्रिकाको लोकप्रियता चुलिँदै गएको छ ।

संस्थाको गरिमाका कारण पनि मेरो यात्रा थप सहज बनेको अनुभूति गरेको थिएँ । अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशन हुने हुँदा पत्रिका नेपाली बजार तथा सरोकारवालासमक्ष मात्र सीमित नरहेर अन्तर्राष्ट्रियस्तरमा समेत परिचित हुँदै गएको छ । सञ्चालनको छोटो समयमा जर्मनीस्थित जलविद्युतसँग सम्बन्धित उपकरण उत्पादन गर्ने ३ बहुराष्ट्रिय कम्पनीसँग भएको साझेदारी सम्बन्धले पनि यसको पुष्टि हुन्छ ।

म साँझ ७ बजे फ्लाइ दुबईको जहाजबाट दुबई पुगेँ । त्यहाँ करिब ४ घन्टाको ट्रान्जिट थियो । यो समय जेनतेन कटाएर त्यहाँबाट इमिरेट्स एयरलाइन्सबाट जर्मनीका लागि उडेँ । दुबई र फ्रैंकफर्टको यात्रा अवधि करिब ७ घन्टाको थियो । झन्डै ४ हजार ८ सय किलोमिटर दूरीको यात्रामा मेरा आँखामा युरोपको काल्पनिक तस्बिर नाचिरह्यो । त्यहाँको विकास, समृद्धि र जीवनस्तर नियाल्ने चाहनाको जहाज उडिरहेको थियो ।

स्थानीय समय अनुसार म कात्तिक २२ गते बिहान ७ बजे फ्रैंकफर्ट विमानस्थल उत्रिएँ । पैतालाले युरोप टेके । ममा असिम खुसी प्रवाह भइरहेको थियो । त्यो विशाल हवाई अड्डा, जहाजहरूको ताँती देख्दा म आश्चर्यचकित परेँ । यसको तुलनामा हाम्रो त्रिभुवन विमानस्थल सानो कोठेबारी जस्तै लाग्यो । जता हे¥यो त्यतै विकास निर्माणका अदभूत संरचना, हामी यसको दाँजोमा कहिले पुगौंला ? प्रश्नहरू पोको पारेर म बाहिरिँदै थिएँ ।

मलाई कुरिरहनु भएको थियो, गंगा न्यौपानेले । झन्डै २५ वर्षदेखि जर्मनीमा बसोबास गर्दै आउनुभएका न्यौपानेले ‘मार्फा ग्रुप’ नामको कम्पनी खोलेर व्यापार गरिरहनुभएको छ । यसले युरोप र एसियामा जलविद्युतसँग सम्बन्धित उपकरण आपूर्ति गर्दै आएको छ । सहर, सडक र त्यहाँको सौन्दर्य पान गर्दै म उहाँकै गाडीमा निवासतिर हुइँकिएँ ।

जर्मनीको विकास

८ करोड ३६ लाख ५० हजार जनसंख्या रहेको जर्मनी ३ लाख ५७ हजार २१ बर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । उत्तरमा डेनमार्क तथा वाल्टिक समुन्द्र चेक गणतन्त्र, दक्षिणमा अष्ट्रिया, स्वीट्जरल्यान्ड, पश्चिममा फ्रान्स, लग्जेम्बर्ग र बेल्जियम तथा नेदरल्याण्ड छन् । क्रिष्टियन बाहुल्यता अझ रोमन क्याथोलिक क्रिष्टियनहरूको बसोबार रहेको जर्मनी सन् ९० को दशकपछि स्वतन्त्र भएको थियो । फ्रान्सको उपनिवेशमा रहेको मुलुक स्वतन्त्र र समृद्ध बनाउन मार्टिन लुथरले ठूलो त्याग गरेको इतिहास भेटिन्छ ।

जर्मनी लगायत युरोपका अन्य देश घुम्दा स्वदेशी र विदेशी नागरिकका लागि समान नीति रहेको पाइयो । आधारभूत मौलिक हक गास, बास, कपास, स्वास्थ्य तथा शिक्षामा समान मापदण्ड कायम गरिएको छ । योसँगै सामाजिक सुरक्षामा युरोपियन मुलुकहरू धेरै हदसम्म सचेत रहेको पाइयो । यही कारण पनि नेपाल तथा अन्य कम विकसित देशका नागरिक युरोपतिर बसाइँ सर्ने प्रचलन बढेको हुनुपर्छ ।

२८ युरोपियन मुलुकका लागि साझा मुद्रा (यूरो) प्रयोगमा ल्याइएको छ । पछिल्लो समय बेलायत युरोपियन युनियनबाट बाहिरिने चर्चासँगै युरोयिन सञ्जालका देशको संख्या घट्ने अनुमान पनि गरिएको छ । पछिल्लो तथ्यांकअनुसार जर्मनीको प्रतिव्यक्ति वार्षिक आम्दानी ४६ हजार ५ सय ६३ अमेरिकी डलर पुगेको छ । फ्रैंकफर्टस्थित वित्तीय केन्द्रमा रहेको युरोपियन सेन्ट्रल बैंकले युरोपभरिकै मौद्रिक नीति निर्धारण गर्ने गर्छ ।

कूल गार्हस्थ उत्पादन (जिडिपी) मा उद्योगको २८ प्रतिशत, घरेलु उत्पादनको ७१ प्रतिशत तथा कृषि क्षेत्रको योगदान १ प्रतिशत रहेछ । युरोपेली सदस्य राष्ट्रमध्ये सबैभन्दा कम बेरोजगारी (४.७%) जर्मनीमै रहेछ । अन्य मूलुकमा औसत ७.१ प्रतिशतभन्दा बढी वेरोजगारी रहेको पाइयो । यसले पनि जर्मनी आर्थिक विकासको शिखर चढिरहेको देखायो ।

राजधानी बर्लिनबाट शासन व्यवस्था परिचालित भए पनि मुख्य सहर तथा राज्य स्वतन्त्र एवं सुविधा सम्पन्न रहेछन् । जर्मनीको अर्काे महत्वपूर्ण विशेषता, कुशल श्रमशक्ति, नगन्य भ्रष्टाचार, नयाँ प्रविधिको प्रयोग, कुशल बजार अर्थव्यवस्था रहेको देखियो । जर्मनी सुविधा सम्पन्न र समृद्धिका लागि नमुना मुलुकको रूपमा स्थापित भएको मेरो अनुभव रह्यो ।

लगानीमैत्री वातावरण र व्यापार

उद्योग व्यवसाय तथा व्यापार गर्नेका लागि जर्मनी आकर्षक थलो लाग्यो । विभिन्न व्यावसायिक कम्पनी तथा उद्योग घुम्ने क्रममा एफईई कम्पनीका प्रबन्धक मार्कस बे्रजिस चाप्टसँग भेट भयो । उनले जर्मनमा उद्योग व्यवसाय फस्टाउनुको राज खुलाए । ‘जर्मनीमा दीर्घकालसम्म उद्योग–व्यवसाय फस्टाउनुमा लगानीमैत्री वातावरण र न्यून ब्याजदर हो,’ उनले अनुभव बाँडे, ‘यही कारण जर्मनीका उत्पादन विश्व बजारमा गुणस्तर, दिगो, र विश्वसनीय मानिन्छन् ।’

जर्मनीमा उद्योग तथा व्यवसायका लागि प्रचुर सम्भावना हुनुमा पूर्वाधार सुविधा र नगन्य बैंक ब्याज नै प्रमुख आधार रहेको मेरो पनि बुझाई रह्यो । औसत १.५ प्रतिशत बैंक ब्याजबाट उद्योग व्यवसाय फस्टाएको मात्र रहेनछ, विश्व बजारमा प्रतिस्पर्धा गरेर अग्रपंक्तिमा समेत उभिएको रहेछ । उद्योगी व्यवसायीलाई परेको समस्या समाधान गर्दै सरकारी नीति नियमका जटिलता खुकुलो बनाउन सरकार जतिबेला पनि तत्पर रहेको मार्कसले सुनाए ।

मलाई लाग्यो, यही भएर नै युरोप, युरोप जस्तै भएको रहेछ । उद्योगी व्यवसायीको हित, उत्पादन पद्दतिमा सरलता र बजारको उचित व्यवस्थापनमा सरकारले सहजीकरण गरेका कारण नै युरोपमा औद्योगिक क्रान्ति उदाएको रहेछ । यता नेपालमा यसको कल्पना गर्नु विडम्बना हुन्छ । हाम्रोमा सरकार वा सरकारी निकाय यो वा त्यो बाहनामा उद्योगी व्यवसायीको घाँटी थिच्न उद्दत्त देखिन्छन् । यही कारण औद्योगिक क्षेत्र फस्टाउन सकेको छैन । स्थापित उद्योग व्यवसाय पनि धराशायी हुँदैछन् ।

एफईई कम्पनीले साढे २ दशकमा स्वदेशी तथा विदेशी गरी ५ सयभन्दा बढी जलविद्युत आयोजनामा उपकरण जडान, स्वचालित तथा स्वनियन्त्रित उपकरण आपूर्ति गरेको मार्कसले बताए । साथै, जलविद्युत आयोजनाको डिजाइन, योजना र सिफारिसअनुसार उपकरण निर्माण गर्ने र पूर्ण–स्वचालित उपकरण निर्यात गर्ने भूमिका समेत कम्पनीले निर्वाह गरेको उनले जानकारी दिएका थिए ।

यसैगरी, जर्मनी विश्वको तेस्रो वस्तु निर्यातकर्ता मुलुकमा पर्दोरहेछ । त्यहाँ उत्पादित वस्तु, सामान तथा उपकरण विश्वमा लोकप्रिय बनेको बुझियो । हरेक विकसित वा अल्पविकसित मुलुकमा जर्मनीका उत्पादन नपुगेको अपवादमात्र रहेको केही व्यापारीले सुनाए । यहाँबाट निर्यात हुने १० महŒवपूर्ण वस्तुमा मोटर–गाडी, मेसेनरी, रसायनिक तथा इलेक्ट्रिक सामान, विद्युतीय उपकरण, औसधी, धातु/फलाम, खाद्यवस्तु, रबर र प्लास्टिक लगायत उत्पादन छन् ।

विद्युत विकास

सन् ६० दशकदेखि विद्युत उत्पादन सुरु गरेको जर्मनीको जडित क्षमता अहिलेसम्म करिब १ लाख ९८ हजार ४ सय ५० मेगावाट पुगेको देखिन्छ । यसमध्ये करिब ११ हजार २ सय ५८ मेगावाट जलविद्युतको योगदान छ । जर्मनीले ६ हजार ८ सय ६ मेगावाटका पम्प स्टोरेज आयोजना पनि निर्माण गरेको छ ।

जर्मनीमा विद्युत उत्पादनको मुख्य स्रोत कोइला हो । यसपछि आणविक ऊर्जा, जलविद्युत तथा सोलार रहेको देखिन्छ । जर्मनीले वायु प्रदूषण घटाउन सन् २०३० सम्म कोइला खानी बन्द गरेर अनिवार्यरूपमा विद्युतीय सवारी सञ्चालन गर्ने योजना बनाएको छ । यसका लागि कर छुट र चार्जिङ स्टेसन निर्माणलाई उच्च प्राथमिकता दिएको देखियो ।

प्रैंmकफर्टको मुख्य नदीबाट सन् १९२९ देखि १९३२ सम्म ६५ मेगावाटको जलविद्युत आयोजना निर्माण भएको रहेछ । यसले सहरभित्रको विद्युतीकरणमा महत्वपूर्ण भूमिका खेलेको छ । यस्तै, वितरण प्रणालीलाई व्यवस्थित गर्न सन् १९५० देखि १९७० सम्म सहरमा भूमिगत प्रणाली विकास गरिएको रहेछ । सन् १९८० बाट ग्रामीण क्षेत्रका वितरण लाइनसमेत भूमिगत बनाइएको जानकारी प्राप्त भयो ।

पुछारमा

युरोप बसाइभरि म अधिकांश समय गंगा न्यौपानेसँगै रहेँ । उहाँ जर्मनीमै रहेर जलविद्युत तथा हेवी इक्विपमेन्ट (उपकरण) उत्पादन तथा आपूर्ति व्यवसाय गरिरहनुभएको छ । जर्मन उपकरण प्रयोगले नेपालको जलविद्युत क्षेत्रको दिगो र गुणस्तरीय विकास हुने उहाँको पनि अनुवभ पाइयो । उहाँकै पहलमा भूमिगत सडक तथा सुरुङ निर्माण गर्न टिबिएम (टनेल बोरिङ मेसिन) प्रयोग गर्ने उद्देश्यले नेपालमा धेरै आयोजनाको अध्ययन भइरहेको रहेछ ।

करिब १० दिनको युरोप बसाइमा मलाई जर्मनी सहित, फिनल्यान्ड र नेदरल्यान्ड पनि घुम्ने मेसो मिल्यो । जहाँ गए पनि पूर्वाधार विकासका अदभूत संरचना, पुल, ऊर्जा तथा जलविद्युत आयोजना, सडक र रेल यातायातले मेरो ध्यान तानिरह्यो । म हरेक ठाउँको तुलना आफ्नो देशसँग गर्थेँ । घरीघरी मलाई सानो र कमविकसित देशको नागरिक हुनुले चिमोट्यो पनि ।

यद्यपि, प्राकृतिक सुन्दरता, भूगोल, जलवायु र मौसमका दृष्टिले मेरो देश विश्वका कुनै मुलुकसँग तुलनायोग्य नै लाग्दैन । यसमा पूर्वाधार संरचना निर्माण र सहर व्यवस्थित भइदिएको भए साँच्चै नेपाल स्वर्ग हो । सत्तामात्र ताकिरहने र विकास निर्माणमा भाषणको खेती गरेर जनतामाथि शासन गरिरहने देशका राजनीतिक खलपात्र सम्झिँदै मैले युरोपको बसाइ बिट मारेँ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३