विद्युत अपडेट

  • प्राधिकरण : ७९९८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८८ मे.वा.घन्टा
  • निजी क्षेत्र : मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २०९५६ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६४८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८५९ मे.वा.
२०८२ भदौ ३, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको १०औँ वार्षिकोत्सव

काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) ले स्थापनाको १०औँ वर्ष पूरा गरेको छ ।  कम्पनीले मंगलबार एक कार्यक्रमको आयोजना गरी १०औँ वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले विद्युत् उत्पादनको क्षमता हेरेर प्रसारण लाइन निर्माण गर्नुपर्ने बताएका छन् । विभिन्न नदीको उत्पादन क्षमता हेरेर प्रत्येक नदी बेसिनका सबै आयोजनालाई समेट्ने गरी नदी करिडोर प्रसारण लाइन निर्माण गर्नुपर्ने उनको भनाइ छ । 

‘कुन करिडोरमा कति क्षमतामा विद्युत् उत्पादन हुन्छ, त्यसको यकिन गरेर विद्युत् प्रसारण लाइन निर्माण गर्नुपर्छ, जसले गर्दा एउटै जग्गा र वन अधिग्रहण गरे पुग्छ,’ उनले भने । उनले जलविद्युत् उत्पादन गर्दैगर्दा वातावरणीय असरलाई पनि ख्याल गर्नुपर्ने बताए ।

मन्त्री खड्काले आगामी १० वर्षका लागि ऊर्जा विकासको मार्गचित्र सरकारले अगाडि बढाएको भन्दै उक्त मार्गचित्रका लक्ष्य पूरा गर्न आरपिजिसिएलको भूमिका महत्त्वपूर्ण हुने बताए । आर्थिक विकासलाई द्रुत गतिमा अघि बढाउन सबैभन्दा महत्त्वपूर्ण क्षेत्र भनेकै ऊर्जा भएकाले निजी क्षेत्रलाई साथमा लिएर सरकार ऊर्जा विकासमा लागिरहेको स्पष्ट पारे । 

‘ठूलो लगानी हुने ऊर्जा क्षेत्रलाई कसरी सहजीकरण र वित्तीय व्यवस्थापन गर्न सकिन्छ भनेर सरकार प्रस्ट खाकाका साथ अगाडि बढेको छ, हामीले ऊर्जा क्षेत्रको विकासको प्रमुख सहयात्रीका रूपमा निजी क्षेत्रलाई लिएका छौँ,’ उनले भने । उनले ऊर्जा क्षेत्रको विकासका लागि देखिएका कानुनी जटिलता र अप्ठ्यारालाई सरकारले समाधान गर्दै जाने उल्लेख गरे ।

ऊर्जा क्षेत्रको विकासका लागि अन्तरनिकाय समन्वय आवश्यक रहेको भन्दै उनले हाम्रा दुई छिमेकी मुलुकबाट ऊर्जा क्षेत्रमार्फत फाइदा लिनुपर्ने बताए । 

कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले प्रसारण प्रणालीलाई खुला पहुँच सुनिश्चित गर्न आयोग प्रतिबद्ध रहेको बताए । उनले प्रसारण लाइनमा ह्वीलिङ शुल्क निर्धारण गर्न नियमन आयोगले काम गरिरहेको जानकारी गराए । 

आरपिजिसिएलका अध्यक्षसमेत रहेका ऊर्जा सचिव सुरेश आचार्यले ग्रिड कम्पनीलाई देशको समग्र प्रसारण प्रणाली निर्माण, विकास, आधुनिकीकरण र सञ्चालनमा नेतृत्वदायी संस्थाका रूपमा विकास गर्नु जरुरी रहेको बताए । देशको ऊर्जा आपूर्ति र ऊर्जा व्यापारको सशक्त संवाहक आरपिजिसिएललाई बनाउन आवश्यक रहेको उनको भनाइ थियो । 

लगानी बोर्डका कार्यकारी निर्देशक सुशील ज्ञवाली र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य ऊर्जा क्षेत्रको विकासका लागि तीनै तहका सरकारबिच समन्वय आवश्यक रहेको बताए । 

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सागर श्रेष्ठले कम्पनीले हालसम्म गरेका कार्य, वर्तमान अवस्था र आगामी कार्यदिशाबारे जानकारी गराए ।

उनका अनुसार २०७२ मा स्थापना भएको कम्पनीले पहिलो दशकमा उच्च भोल्टेजस्तरका प्रसारण लाइन आयोजना अध्ययन र निर्माणमा अघि बढाउने भरपूर अनुभव आर्जन गरेको बताए । हालसम्म कम्पनीले ११ वटा प्रसारण लाइन आयोजना अघि बढाएकोमा ३ वटा निर्माणाधीन अवस्थामा रहेको, ३ वटा सार्वजनिक–निजी साझेदारी (पिपिपी) प्रारूपमा निर्माण अघि बढाइको, २ वटाको अध्ययन सम्पन्न भएको र ३ वटा अध्ययनका क्रममा रहेको जानकारी गराए । 

यी सबै आयोजना निर्माण सम्पन्न गर्न १ खर्ब ८ अर्ब रुपैयाँ लगानी आवश्यक हुने भन्दै उनले ३० प्रतिशत मात्रै स्वपुँजी लगानी गर्ने हो भने पनि झण्डै ३३ अर्ब रुपैयाँ आवश्यक पर्ने बताए । यी प्रसारण लाइनमा लगानी गर्नेका लागि कम्तीमा १५ प्रतिशत प्रतिफल सुनिश्चित गरेको पनि उनले जानकारी दिए । 

आउँदो दशकभित्र आधुनिक नियन्त्रण प्रणाली तथा स्वचालन प्रणालीसहितको स्मार्ट ग्रिडको विकास गर्ने लक्ष्यसहित अघि बढ्ने गरी अवधारणा कम्पनीले राखेको उनले जानकारी दिए । यसका लागि सरकार र निजी क्षेत्रबिच सहकार्य गर्नु आवश्यक रहेको उनको भनाइ छ । 

वार्षिकोत्सवका अवसरमा मन्त्री खड्कासहितका सहभागीले संयुक्त रूपमा कम्पनीले प्रकाशन गरेको ‘एक दशकको यात्रा’ नामक पुस्तक विमोचन गरिएको छ । पुस्तकमा कम्पनीको स्थापनादेखि हालसम्म भए गरेका काम र आगामी दिशाबारे चर्चा गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३