काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को अनुदान सहयोगमा निर्माण हुने ३१५ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन मध्येको दुई खण्ड निर्माणका लागि बिहीबार ठेक्का सम्झौता हुने भएको छ ।
प्रसारण लाइन अन्तर्गत रातमाटे–न्यू दमौली ९० किलोमिटर प्रसारण लाइन निर्माणका लागि एन्जेलिक–स्किप्पर जेभीसँग ७ करोड ७४ लाख ८० हजार डलरमा ठेक्का सम्झौता हुन लागेको एमसिए नेपालले जनाएको छ ।
त्यस्तै, न्यू दमौली–न्यू बुटवल ९० किलोमिटर प्रसारण लाइन निर्माण गर्न नेपाली निर्माण कम्पनी वाइबा–सालासार जेभीसँग ७ करोड ७० लाख ३० हजार डलरमा सम्झौता गर्न लागेको जनाएको छ ।
यी दुई खण्डका प्रसारण लाइनका निर्माणका लागि गत मंसिर र फागुनमा बोलपत्र आह्वान गरी ठेक्का प्रक्रिया अघि बढाइएको थियो । प्रक्रियामा छनोटमा परेका कम्पनीसँग सम्झौता गर्न लागिएको हो ।
परियोजना अन्तर्गत बन्ने कूल ३१५ किलोमिटर प्रसारण लाइन मध्ये १८ किलोमिटर लामो न्यू–बुटवल–भारतीय सीमासम्मको प्रसारण लाइन बनाउन २०८० भदौ १४ गते भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडसँग ठेक्का सम्झौता भइसकेको छ । १ करोड २३ लाख ६० हजार अमेरिकी डलरमा उक्त ठेक्का लागेको थियो ।
त्यस्तै परियोजना अन्तर्गत बन्ने ३ वटा सबस्टेसन निर्माणको समेत ठेक्का सम्झौता भइसकेको छ । यी सबस्टेशन ४०० केभी क्षमताको इण्डोर ग्यास इन्सुलेटेड सबस्टेसन (जिआइएस) निर्माण गरिनेछ । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा रातमाटे सबस्टेसन, तनहुँ जिल्लामा नयाँ दमौली सबस्टेसन र नवलपरासी पश्चिम जिल्लाको भुमहीमा नयाँ बुटवल सबस्टेसन निर्माण गरिनेछ । निर्माणाधीन प्रसारण लाइन काठमाडौँको लप्सीफेदी र मकवानपुर जिल्लाको नयाँ हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणका विद्यमान सबस्टेसनहरूमा पनि जोडिने छ ।
आयोजना अन्तर्गत अब लप्सिफेदी–हेटौँडा ११७ किलोमिटर लामो प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता हुन बाँकी छ । यो खण्डको समेत ठेक्का प्रक्रिया अघि बढिरहेको छ ।