विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
(कथा)

प्रकृतिको प्रेममा ओतप्रोत नीता सधैँ प्रकृतिको सुरक्षाको निम्ति तत्पर रहन्छिन् । कुनै इको ‘एक्टिभिस्ट’ले उनको कर्म देखे भने उनलाई पक्कै ‘इको केयरिङ लेडी’को संज्ञा दिन्थे होलान् ।

फूलप्रति उनको अचम्मको आकर्षण थियो । एकदिन बेलुकी फूलबारीमा पसेको बेला उनी सोचमा तल्लीन भइन् ... 

‘मानव र प्रकृतिको सम्बन्ध अन्योन्याश्रित छ । आदिकालदेखि नै मानिसले आफैँलाई सुरक्षित राख्न जङ्गल र गुफाको आश्रय लिएका थिए । 

वेद–पुराणमा पनि यो स्पष्ट भनिएको छ कि मनुष्य र नदीको नाता धेरै पुरानो हो । भारतवर्षका अनेकौँ मानव सभ्यताहरूको उत्थान–पतन पनि नदीकै तटमा भएको भनेर इतिहासले हामीलाई बताउँछ । त्यसैले, मानिसले पहिलेदेखि नै नदी, वृक्ष, माटो, हावा आदिलाई भगवान ठानेर पुज्दै आए, अनि आफैँलाई प्रकृतिको सन्तान मानेका हुन् ।’

यस्तै कुराहरू सोच्दै नीता टबमा रोपेका फूलका बिरुवामा पानी हाल्दै थिइन् ।,एक्कासी उनको नौ वर्षको छोरो अमित दगुर्दै आयो । ऊ सास न बास भएर दगुरेको देखेर नीताले रोक्ने प्रयास गर्दै भनिन्–

‘ए ! नकुद, नकुद, विस्तारै आऊ ! चिप्लो छ !’

‘होइन आमा मलाई हतार छ, भन्नुहोस् त यो ‘भूमिपुत्र’ भनेको के हो ?’

अचानक छोराको मुखबाट यस्तो प्रश्न सुनेर नीता छक्क परिन् । उसको अशान्त मनलाई शान्त पार्न उनले सरल तरिकाले उत्तर दिइन्, ‘भूमि भनेको माटो, अनि पुत्र भनेको छोरो, अर्थात् माटाको छोरो । तिमीले कहाँ सुनेर आयौ छोरा यो शब्द ?’

आमाको कुराको जवाफ नदिई अमित भन्छ, ‘आमा ! माटाको कसरी छोरा हुन्छ ? माटो त अजैविक पदार्थ हो त !’

‘माटो अर्थात् पृथ्वी । पृथ्वीलाई जननी पनि भनिन्छ । त्यसैले, यो धरतीमा भएका सबै चीज पृथ्वीकै उपज हुन्, उनकै सन्तति ।’

नीताले छोटो उत्तर दिइन् । आमाको जवाफ सुनेर सन्तुष्ट नभए पनि उसले बुजेझैँ गरेर टाउको हल्लायो । दिन त्यत्तिकै बिते । नीताले पनि त्यो कुराको त्यति खोजी गरिनन् । एकदिन अचानक राती खाना खाने टेबलमा सबै बसेका बेला अमित केही बोल्न खोज्छ । उनीहरूको परिवारका सबै सधैँ एकैसाथ बसेर खाना खान्छन् ।

‘प्रेम बढ्छ रे यसरी एकसाथ बसेर खाना खायो भने,’ हजुरबाले भने ।

उनी भन्छन्, ‘दिउँसो दुःखको मानो, राती सुखको मानो ।’

दिउँसो सबै आ–आफ्नो कामले कोही कता कोही कता पुगेका हुन्छन् । विद्यार्थी स्कुल जान्छन् । कर्मशील काममा जान्छन् । अफिस जाने त छँदै छन् । त्यसैले, दिनमा सबैले सँगै बसेर खान मिल्दैन । दिउँसो नमिले पनि रातीको खाना खान चाहीँ जस्तोसुकै परि स्थितिमा पनि उनीहरू सबै सधैँ सँगै बस्छन् । आज पनि त्यसको व्यतिक्रम भएको थिएन ।

’बुबा भान्सा अलिकति ?’ नीताले सोधिन् ।

‘अँ ! देऊ अलिकति ! खीर धेरै स्वादिष्ट भएको छ, त्यही देऊ ! भान्सा पर्दैन । ललित, अमितलाई पनि देऊ खीर ।’

‘रातीको खाना सधैँ थोरै खानुपर्छ बुबा । अंग्रेजीमा एउटा भनाइ छ, ‘इट ब्रेकफास्ट लाइक अ किङ, लन्च लाइक अ प्रिन्स एन्ड डिनर लाइक अ पउपर’ तर्क राख्दै छोरो ललितले खीर थपेन ।

ललितलाई कर्के नजरले हेर्दै नीताले बुबा र अमितलाई खीर थपिदिइन् ।

हजुरबाले केही नबोली खाना खाए ।

‘बा ! एकैछिन पर्खिनु न मेरो एउटा प्रश्नको उत्तर दिनुहोस् त,’ अमितले हजुरबालाई रोक्दै भन्यो । 

तिमी खाना खाएर हाम्रो कोठामा आउनु, ‘त्यहीँ कुरा गरौँला ।’

हजुरबा ओछ्यानमा बज्रासन गर्दै थिए । नाति आएर एक छेउमा बस्यो । केही क्षण बाले आसन गरेको हेरिरह्यो ।

‘के सोध्न खोजेका थियौ, बाबु ?,’ हजुरबाले आसन गरिसकेपछि अमितलाई सोधे ।

‘बा यो ‘रैथाने’ भनेको के हो ? अनि के यो देश हाम्रो होइन ? हामी यो देशका नागरिक होइनौँ र बा ?’

आश्चर्यचकित हुँदै बाले भने, ‘कसले भन्यो बाबु तिमीलाई यो कुरा ? यो देश, त्यो देश, तेरो, मेरो भन्ने मान्छे त मुर्ख हुन्छ । आजभन्दा हजारौँ वर्षअघि यो पृथ्वीको भूमि एउटै थियो । एउटा माटाको डल्लो थियो । जसलाई ‘पेन्जिया’ भनिन्थ्यो । त्यो माटो चारैतिरबाट पानीले घेरिएको थियो । यसलाई ‘पान्थालासा’ भनिन्थ्यो । विस्तारै विभिन्न भौगोलिक कारणले गर्दा माटो टुक्रिएर महादेश र समुन्द्रको सृष्टि भयो । यसरी हेर्दा जो जहाँ जन्मियो, बढ्यो वा जो कुनै ठाउँमा पहिलेदेखि बसोबास गरिआएको छ त्यो त्यहाँको रैथाने हो ।’

हजुरबुबाको कुरा टुङ्गिन नपाई भित्रबाट आवाज आउँछ, ‘अमित ! ए अमित ! तुरुन्तै आएर यो गणित गर् त । तँलाई कतिबेलादेखि मैले भनेको ? सुत्नुअघि गरेर देखा । पिताजीले नि बिगार्नु भयो यसलाई । हजुरबुबाको काख पाउनु नै नाति–नातिना बिग्रनु हो ।’

ललितको यस्तो रुखो बोली सुनेर अमित हजुरबालाई ‘शुभरात्री बा’ भन्दै भित्र पस्यो ।

आजभोलिका धेरैजसो आधुनिक अभिभावकलाई बा–बज्यैको मायाले नाति–नातिना बिग्रन्छन् भन्ने लाग्छ । उनीहरूलाई यो लाग्छ, बूढाबूढीको सोच आजको आधुनिक मानिसजस्तो हुँदैन । त्यसैले, उनीहरूको साथ हरदम पाइरहे भने केटाकेटी बिग्रन्छन् । आफूले चाट्दा चाट्दै रगत निकालेको चाहिँ आजका अभिभावकहरू देख्दैनन् ।

केटाकेटीलाई कसरी माया गर्नुपर्छ र कसरी शासन गर्नुपर्छ भन्ने कुराको तारानाथ उपाध्यायलाई राम्रोसँग थाहा थियो । उनी ‘पुरस्कार र दण्ड’को नीति मानेर चल्ने व्यक्ति थिए । त्यसैले, उनी अमितका सबैभन्दा प्यारा साथी हुन् । उनले दिने पुरस्कारहरू धेरै मूल्यवान त हुँदैनन् तर उपयोगी हुन्छन् । दण्ड पनि कठोर हुँदैनन् ।

‘ए बा ! ए बा ! हिँड्नु न आज हाम्रो क्रिकेट म्याच हेर्न जाऊँ । पल्लो गाउँमा छ ।’

‘हैन हौ ! के भन्छ यो केटो ! यस्ता घाम चर्किएका छन् । यो मध्ये दिउँसो केको म्याच ?’

‘बा हिँड्नु न ! म समयमा पुगिनँ भने मलाई साथीहरूले ‘लुजर’ भन्छन् । 

नातिको आग्रहलाई बाले नकार्न सकेनन् । आफ्नो साइकल निकालेर नातिलाई हालेर तारानाथ पल्लो गाउँमा क्रिकेट म्याच हेर्न हिँडे ।

यथा समयमा म्याच शुरू भयो । म्याच २० ओभरको थियो । अमितहरूको टीमले नै जित्यो । खुशी हुँदै बेलुकी बा र नाति घर फर्किए ।

वाह ! क्या आनन्द, साँझको समय, फिरिरी हावा चलेको छ । उनीहरू दुवै कुरा गर्दै घर फर्किँदैछन् । साइकलको पेडल सँगसँगै अमितका कुराको स्पीड पनि बढेको छ । ऊ खुशी हुँदै भन्छ, ‘बा आज जित भएको खुशीमा खीर खानुपर्छ है । तपाईंलाई धेरै मनपर्छ नि खीर ।’

फेरि प्रसङ्गमा जटिलता ल्याउँदै भन्छ, ‘पल्लो गाउँका शर्मा खुडा (काका) ले उसलाई कहिलेकाहीँ कक्षाको साथी (मृदुल शर्मा लाई भेट्न जाँदा कुनै एक दिन ‘तिमीहरू यहाँका रैथाने होइनौँ, भूमिपुत्र होइनौ’ भनेर भनेको कुरा हजुरबालाई बताउँछ ।

हजुरबा मनमनै सोच्छन्, ‘यो शर्मालाई युक्तिले बुझाउनु पर्छ । यसलाई अघिका कुरा याद दिलाउनु पर्छ । असम आन्दोलनमा कसरी भागेको थियो ऊ । उसले कुनै दिन जङ्गल त, कहिले कुनै नेपाली भाइको कोठेबारीमा दिन बिताउनु परेको थियो ।

ललितकी आमाले खान नदिएको भए ऊ भोकै मर्ने थियो होला ।’

झमक्क साँझ परेपछि उनीहरू घर आइपुगे । साइकलबाट उत्रिने बेलामा उनले नातिलाई हेर्दै भने, ‘तिमी बिहानको झुल्केको घाम म साँझको अस्ताउन लागेको ।’

‘यो कस्तो कविता हो हजुरबा ?

राम्रो लागेन ?

सुनेर ! तपाईं पनि बिहानको घाम म पनि बिहानकै घाम, आज सँगै खानुपर्छ माम ।’

ऊ दगुर्दै भित्र गयो । बा पनि हातखुट्टा धोएर भित्र पसे ।

राती सबैजना एकैसाथ खान खाएर सुत्न गए । थकाइ लागेर होला तारानाथले आज खाना थोरै खाए । बिहान अबेरसम्म हजुरबुबा सुतेर नउठेको देख्दा अमित उठाउनु पर्‍यो भन्दै बाको कोठामा पस्यो ।

‘बा ! ए बा ! उठ्नु न ! आज किन अबेरसम्म सुत्नु भएको ? भन्दै उसले बालाई बोलायो तर बा बोलेनन् ।उनको बोली सधैँ–सधैँका लागि बन्द भइसकेको थियो । एकैछिनमा तारानाथ उपाध्यायको घरमा मानिसको हुल जम्मा भयो ।

कसै कसैले भने, ‘उमेर भएको थियो, जानुभयो, केही त्यत्रो विस्मत मान्नुपर्ने छैन ।’

कोही भन्छन्, ‘उच्च रक्तस्राव थियो, त्यसैले बित्नुभयो ।’

अमित बाहिर बसेर घामलाई हेरिरहेको छ । उसलाई आज घामको आभा खल्लो लागिरहेछ । ऊ बालाई पर्खिरहेको छ, प्रातःभ्रमण गर्न जान । कसैले पनि भनेनन् कि बा किन नउठ्नु भएको ?

ऊ पर्खिरहेको छ । विस्तारै बिहानका घाम छिप्पिँदै जान्छन् । अमितले बुझ्यो कुन्नी, उसका हजुरबा किन सुतिरहनु भएको छ । ऊ केही जान्दैन । उसलाई यतिमात्र थाहा भयो, उसले एउटा प्यारो साथी गुमायो । केही क्षणपछि तारानाथको शव घरबाट निस्किन्छ । गाउँको छेउको नदीमा उनलाई मुखाग्नि दिइन्छ । आगो दनदनी बल्न थाल्यो, उनको शरीर खरानी भई माटोमा मिल्यो, धूवाँको मुश्लोले आकाश छोयो । शेष रहेका ठुटा दाउराहरू मलामीले नदीमा बगाए ।

उनी ‘भूमिपुत्र’ हुन्, माटोमा मिले । नदीका ‘सन्तान’ हुन्, नदीले अँगाल्यो । हावाका छोरा हुन्, वायुमा विलाए । आज, तारानाथ उपाध्याय पनि एउटा तारो भए । तर, यो ‘भूमिपुत्र’को अर्थ कसैलाई बुझाउन नसकेर उनको नाति आज पनि छटपटाइरहेको छ । 

भारतको असम विश्वनाथ निवासी कथाकारले पर्यावरण तथा पर्या–साहित्यमा कलम चलाउँदै आएकी छन् । यो कथा कृति २०८१ साल असारमा प्रकाशित ‘ऊर्जा खबर’ अर्धवार्षिक पत्रिकाबाट साभार गरिएको हो ।
 

प्रतिक्रिया दिनुहोस

निलीमा आचार्य

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३