काठमाडाैं । सुनकोसी पारि एक बगाल तन्नेरीहरू रोमाञ्चकारी मुद्रामा देखिए भने वारिपट्टी तिनका संगिनीहरू । तन्नेरीले भाका हाले ।
“माया त लाउने मन थियो सुनकोसीले छेक्दियो टाढैबाट नमस्कार नक्कली कान्छीलाई ।”
आज भन्दा ३०-३५ वर्ष अघि अर्थात् सन् अस्सीको दशकको कालखण्ड थियो, त्यो । अरनिको राजमार्ग निर्माणसँगै दोलालघाटबाट बाह्रबीसे हुँदै चीनको सीमासम्म आईजाई बढेको थियो । खच्चर र याकले हिँड्ने बाटो अब सडक भएको थियो । सुनकोसीको किनारमा चहलपहल बढेको थियो । लेकबाट बसाइँ सर्ने बाक्लै थिए । तर, ‘मायापिरती’ को रंगमञ्चमा सुनकोसी नदी बाधक भएको थियो । किनभने, कतिपय स्थानमा वारिपारि गर्न या त सिरानतिर या त पुछारतिर घण्टौंसम्म यात्रा गर्नु पर्दथ्यो ।
उल्लेखित गीतका फाँकीकाे मर्म अनुसार टाढैबाट माया लगाउने बाध्यतालाइ नजिकबाट नियाल्ने दूरदर्शी व्यक्ति थिए, इन्जिनियर सूर्यमान शाक्य । जसले भारतको पटना विश्वविद्यालयबाट कोलम्बो योजनाको छात्रवृत्तिमा सिभिल इन्जिनियरिङमा स्नातक गरेका र अमेरिकाको न्यू जर्सी इन्स्टिच्युट अफ टेक्नोलोजीबाट वातावरण इन्जिनियरिङमा स्नातकोत्तर गरेका थिए । उनी त्यसवेला स्विस विकास नियोगमा इन्जिनियरको रूपमा कार्यरत रहेछन् । झोलुङ्गे पुलको प्रस्ताव स्वीकृत भयो । माया लगाउने तन्नेरीहरूका लागि १०७ मिटर लामो यातायात पूर्वाधार मात्र बनेन् शाक्यको नाम अंकित ढुङ्गो पनि ठडियो ।
कुनै पनि मुर्तिकारले बनाएको मुर्ति मन्दिरमा राखिएको दिन वा चित्रकारको चित्र प्रदर्शनीमा प्रदर्शन भएको दिन ती सामग्रीका सर्जकका लागि बडो महत्त्वको हुन्छ । इन्जिनियर वा आर्किटेक्टका लागि पनि त्यस्तै हो । आफूले बनाएको पूर्वाधारले सेवा दिन सुरु गरेको दिन उसले आफ्नो पेशागत जीवनकै बहुमूल्य उपलब्धि मानेकाे हुन्छ । सूर्यमानले ९ वटा त्यस्ता झोलुङ्गे पुलको निर्माण कार्यको अगुवाई गर्ने कार्य गरे ।
युट्युबमा राखिएको उनको एक भिडिओमा उनले भनेका छन्-
“नेपालको विकास र समृद्धिका लागि झोलुङ्गे पुलको निर्माण एक अभियानका रूपमा अघि बढ्यो । हामीले हालसालै पाँच हजार वटा पुलको निर्माण सम्पन्न गरेको उत्सव मनाएका छौं ।”
यस्तो आद्वित्तीय सफलता प्राप्त गर्ने अभियानको प्रस्थान विन्दुलाई चट्टानको रूप दिन सक्नु भनेको चानचुने कुरा होइन । यस्तो कौशल उनले कसरी आर्जन गरे भन्ने विषयमा आफ्ना विद्यार्थी र अनुयायीलाई कहिलेकहीँ प्रवचन दिन्थे । अरू पनि यस्तो ज्ञानले द्रविभूत होउन् भन्ने उनी चाहन्थे । सूर्यमानले अमेरिकामा रहँदा तीनवटा निर्माण कम्पनीमा काम गरेका रहेछन् ।
उनी काम गर्ने एक कम्पनीमा एक पटक अनौठो घटना भएछ । उनका हाकिम कडा मिजासका रहेछन् । यसैले कार्यालयमा कर्मचारीहरू कहिलेकहीँ कानेखुसी गर्दा रहेछन्- “होस् गर, हाकिमले तिमीलाई आफ्नो कार्यकक्षमा बोलाए भने कि त तिम्रो पदोन्नति हुन्छ कि त कामबाट निष्कासन !”
यसैले हाकिमका अघि उनीहरूकाे गरुडका अघि सर्प जस्तो मनस्थिति हुन्थ्यो रे ! एक पटक ती हाकिमले सूर्यमानलाई आफ्नो कार्यकक्षमा बोलाएछन् । कम्पनीका कार्यकारीको लाम्चो आकारको विशिष्ट कक्षमा पुग्दा उनी आश्चर्यचकित भएछन् । हाकिम त पिठ्यूँ आगन्तुकपट्टी फर्काएर डार्ट खेल खेल्दैरहेछन् । सूर्यमानतिर हेर्दै नहेरी उनले आदेश दिएछन्-
“छेउको मेचमा बस्दै गर ।”
आदेशको पालना भयो । एकछिनपछि हाकिम एक सय अस्सी डिग्रीको कोण बनाएर फनक्क फर्किएछन् ।
“तिमीलाई आश्चर्य लाग्यो होला मैले कार्यालयमा रमाईलो गरेको देखेर । तर, एउटा कुरा याद राख । म यो कम्पनीको प्रमुख कार्यकारी हुँ । तिमीले मलाई रसरंग गरेको देख्यौ वा बारमा वियरपान गर्दै गरेको भेट्यौ भने खुसी हुनु । त्यो कम्पनीको स्वास्थ्य राम्रो भएको संकेत हुनेछ । तर, तिमीले मलाई टाइप गर्दै गरेको वा फोनमा लामो कुरा गर्दै गरेको देख्यौ भने बुझ्नु कि कम्पनी ओरालो लाग्दैछ ।”
अमेरिकाको बसाइको अन्त्यतिर उनका अघि दुई विकल्प थिए । एकातिर, मासिक १५०० डलर आम्दानी हुने काम र ग्रीन कार्ड थियो । अर्कोतिर, अनिश्चितताको पहाडले ढाकिएको नेपाल फिर्ता हुने अवसर । यस्तो दोधारमा उभिएको अवस्था जो कोहीलाई पनि पर्न सक्ने कुरालाई इगिंत गर्दै उनी भन्थे-
“राष्ट्र वा नागरिकता परिवर्तन गर्नु भनेको ठूलो निर्णय हो ।”
सूर्यमानले नेपाल नै रोजे । उनले राष्ट्रले लगाएको गुनको पैँचो फिर्ता गर्ने निर्णय लिए । विदेशमा अध्ययन गरेर नेपाल फर्किएका अरू अध्येता जस्तै उनले पनि सम्झिए- मैले पाएको छात्रवृति नेपाली नागरिकलाई कुनै दाताले प्रदान गरेको हो । दाताको मुलुकका करदाताको पसिनाबाट त्यो छात्रवृतीको कोष बनेको हो । म नेपाल फर्किन भने छात्रवृत्ति प्रदान गर्ने दाताको उदेश्य र सपनामा कुठाराघात हुन्छ । त्यो हुनु भनेको कोष संग्रह गर्ने करदाताको मर्ममा प्रहार हुनु हो । एकदिन यस्तो चरित्रको मूल्याङ्कन अवश्य नै हुनेछ । र, यसरी कुठाराघात गर्ने व्यक्तिलाई सन्ततिले धिकार्छन् ।
२०६० साल असारमा सूर्यमान शाक्यले फोहोरमैला व्यवस्थापन तथा स्राेत परिचालन केन्द्रको महाप्रबन्धकको पदभार ग्रहण गरे । उनको पेशागत जीवनको एक महत्त्वपूर्ण कार्यकारी जिम्मेवारी थियो । स्विस विकास नियोग, आईयुसियन, ईसिमोडजस्ता आकर्षक तलबमान भएका संस्थाहरूमा लामो समय काम गरेका भए पनि उनको यो भूमिका निर्वाह गर्ने निर्णयका पछि उनको नेतृत्व कौशल प्रदर्शन गर्ने चाहना र मुलुकको वातावरण व्यवस्थापन सुधार्ने हुटहुटी प्रमुख थिए ।
त्यतिबेला उनले भनेका थिए - “जिन्दगीमा प्याजका छिल्का निकाल्ने धेरै काम गरियो अब ओखर फोर्ने काम गर्नुछ ।”
गजबको संयोग थियो उनको ओखर फोर्ने चाहना र ओखरपौवा फोहोरमैला विसर्जन स्थलको निर्माण र सञ्चालनको कार्य । नभन्दै जापान विकास नियोग अर्थात् जाईकाको सहयोगमा ओखरपौवामा विसर्जनस्थल बनाउने कार्य अघि बढ्यो । उनले पदभार गरेको २ वर्षमा जुन ०५, २००५ अर्थात् वातावरण दिवसको दिनको साइत पारेर ४६ वटा ट्रकले काठमाडाैंकाे फोहोर विसर्जनस्थलमा पुर्याए ।
सन् २०१७ मा दक्षिण भारतको हैदरावादमा आयोजित एक अन्तराष्ट्रिय सम्मेलनमा फोहोरमैला व्यवस्थापन विज्ञ शाक्यले त्यो ऐतिहासिक दिनको स्मरण गर्दै आफ्नो प्रस्तुतिमा भनेका थिए-
“फोहोरमैला व्यवस्थापनको इतिहासमा त्यो दिन एक कोसेढुंगा सावित भयो । स्थानीय जनताको उल्लेखनीय सहभागिता थियो । नजिकका विद्यालयमा सार्वजनिक विदा घोषणा गरिएको थियो । लाम लागेका विद्यार्थीले ताली पिटेर ट्रकको स्वागत गरे । त्यो एक भव्य स्वागतमात्र थिएन । यी भविष्यका कर्णधारलाई आफ्ना वरिपरिका समस्या समाधान गर्नका लागि कुशल व्यवस्थापक बन्ने एक दृष्टिकोणको बिजारोपण गर्ने क्षण पनि थियो ।”
फोहोरमैला व्यवस्थापन वा विसर्जनस्थलको छनौट गर्ने विषयमा प्राज्ञिक बहसमा दुई वटा शब्दावलीले विशेष स्थान पाउने गरेका छन् । पहिलो, नट ईन माई ब्याकयार्ड अर्थात् छोटकरीमा निम्बी । यसको शाब्दिक अर्थ “मेरो घरको पछिल्तिर चै होइन” भन्ने हुन्छ । तर, सूर्यमानले वातावरण दिवसको दिनमा औखरपौवामा सम्पन्न अनुष्ठानको उदाहरण दिँदै यो शब्दावलीको नयाँ न्वारान गरिदिए- येस ईन माई ब्याकयार्ड अर्थात् यिम्बी । यो परिमार्जित शब्दावलीलाई संसारभरिकै अध्येताले नेपालबाट उत्पति भएको एउटा मौलिक दृष्टान्तको रूपमा लिएका छन् ।
दाेस्राे शब्द, नट इन माइ टर्म्स अफ अफिस अर्थात् निम्ताे । यसकाे अर्थ मेराे कार्यकालमा हाेइन भन्ने हुन्छ । सूर्यमानले याे दाेस्राे शब्दलाइ पनि चुनाैती दिए । किनकि, उनले अाफ्नै कार्यकालमा धेरै काम सम्पन्न गरे ।
सूर्यमान फोहोरमैला व्यवस्थापनका विषयमा आयोजना गरिएका अनेकौं अन्तर्राष्ट्रिय सम्मेलन र बैठकहरूमा सहभागी भएका छन् । उनी यस विषयका विज्ञहरूको एसिया र प्यासिफिक समाजका नेपाल प्रतिनिधि समेत थिए । चमत्कारिक नेतामा हुने सप्तरंगी गुणले सम्पन्न थिए- सूर्यमान । विषयवस्तुलाई जमिनबाट आकाशमा पुर्याउनु उनका लागि चुट्कीको खेल हुन्थ्यो ।
एकपटक जापानको एक प्रमुख शहरमा भएको सम्मेलनमा उनी सहभागी भएका थिए । सभाको अध्यक्षता नगरप्रमुखले गरेका थिए । नेपालका प्रतिनिधिको बोल्ने पालो आयो ।
“श्रीमान् मेयरज्यू, मेरो एउटा निवेदन छ । मैले अर्को पटकदेखि हजुरको सहर नआउने विचार गरेँ । साँच्ची भन्दा मलाई यहाँको सहर राम्रो लागेन ।“
सभामा मसानघाटको जस्तो सन्नाटा छायो । आयोजकहरू मुखामुख गर्न लागे । सबैलाई लाग्यो- यो के अनर्थ हुने भयो । चिसो परिस्थितिमा हजारौँ किलोवाटको बिजुलीको झट्का दिने शैलीमा वाकचातुर्य प्रदर्शन गर्दै सूर्यमानले अगाडि भने-
“मेयरसाहब, यहाँलाई मेरो अभिव्यक्तिले चिन्तित तुल्यायो होला । तर, मैले किन यसो भनेको भने यहाँको सहरमा मैले एक टुक्रा पनि फोहोर भेटिनँ । म फोहोरमैला व्यवस्थापन गर्ने व्यक्ति हुँ । फोहोर नै नभएपछि यहाँको सहरमा आउनुको तुक नै के भयो र ?”
सभा-कक्ष नै थर्किने गरी हाँसोको फोहोरा छुट्यो । सबैले ताली पिटे । सूर्यमानको सौर्य धपक्कै बल्यो ।
सम्मेलनको प्रस्तुति होस् या कक्षाकोठाको पढाइ या कार्यालयको व्यवस्थापन, सूर्यमानको शैली मौलिक हुने गर्दथ्यो । वातावरण व्यवस्थापन विषयका अर्का हस्ती डा. रामबहादुर खड्का र अन्य केही विज्ञहरूसँग मिलेर उनले स्किम कलेजको स्थापना गरेका थिए । उनले केही वर्ष काठमान्डौ विश्वविद्यालय (काविवि) मा अध्यापन गरे । काविविको केन्द्रीय क्याम्पस धुलिखेलका स्नातक तहका कक्षाहरूमा ६० जना विद्यार्थी एउटै कोठामा राखेर पढाउने चलन छ ।
दस जोड दुईको तह भर्खर पार गरेर विश्वविद्यालयको खुला परिवेशमा पिँजराबाट निस्केको चरी झैँ उन्मुक्त पाँच दर्जन विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउनु भनेको कतिपयका लागि फलामको च्युरा चपाएझैँ हुन्थ्यो । कतिपयले जागिर खाने पाराले “काग कराउँदै गर्छ पिना सुक्दै गर्छ” को शैलीमा पढाउँथे । कतिपयले पल्लो कोठाको शाक्य सरको कक्षामा सिर्जना भएको छानो उडाउने हाँसोको गर्जन सुनेर मुख अमिलो पार्दथे । शाक्य सरको कक्षाकोअर्कै ओज हुन्थ्यो । साठीका साठी कक्षामा उपस्थित हुन्थे । कुनै कारणले शाक्य सरको कुरा सुन्न नपाउनेले “हत्तेरिका कस्तो बोर भयो” भन्थ्यो ।
सूर्यमानको कार्यालय र आफ्नो मातहतका कर्मचारीको व्यवस्थापन पनि अरूको भन्दा फरक हुन्थ्यो । स्रोत केन्द्रमा वर्षौदेखि खुम्चिएर बसेका इन्जिनियरलाई स्नातकोत्तर तहको अध्ययन गर्ने सुविधा दिएका थिए । “राजनेताको पहिलो काम: भविष्यका अभियन्ताको भरणपोषण”भन्ने सिद्धान्तका पर्याय थिए उनी । जनसाधन परिचालनका विषयमा उनका विचार रोचक हुने गर्दथे ।
“आफूसँग संगत गर्ने मान्छे नचिन्ने, मान्छे होइन ।”
“जो पद पाएपछि आफ्नो पद जोगाउने बाहेक अरू केही काम गर्दैन, त्यो गड्यौलान्छे हो।”
दोस्रो अभिव्यक्ति नेपालमा प्रचलनमा रहेको राजनैतिक नियुक्तिसँग अधिक जोडिएको छ । सूर्यमानले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला वातावरण संरक्षण परिषद्को सदस्य-सचिवको पदमा नियुक्ति पाएका थिए । त्यसबेला उनले सवारी प्रदुषण नियन्त्रण गर्ने नीति नियम तर्जुमा गर्ने, हरियो स्टिकर लगाउनुपर्ने व्यवस्था, विक्रम टेम्पोलाई विद्युतीय टेम्पोले विस्थापन गर्ने आदि कार्यहरू सफलताका साथ सम्पन्न गरेका थिए ।
विडम्बना भनाैं, सूर्यमानले जुन दुई प्रमुख निकायहरूमार्फत नेपालको वातावरण व्यवस्थापन क्षेत्रमा योगदान पुर्याय, तिनलाई उनी पछिका पुस्ताले मलजल गर्न सकेनन् । वातावरण संरक्षण परिषद् वातावरण संरक्षण ऐनको दफामा मात्र सीमित हुन पुगेको छ । एक जमानामा नाम कहलिएको वातावरण मन्त्रालयलाई वन मन्त्रालयमा गाभिएको छ ।
प्रारम्भिक तहको औपचारिक शिक्षा मात्र हासिल गरेका भए पनि गिरिजाप्रसादमा राजनेतामा हुनु पर्ने गुण थिए र त्यसवेला वातावरण व्यवस्थापन क्षेत्रलगायत अन्य क्षेत्रमा धेरै काम भएका थिए भनी सूर्यमानले पनि उल्लेख गरेका छन् । तर, उनी भन्दा पछिको पुस्तामा नेतृत्व कौशल स्खलन भएको अनुभूति वातावरण व्यवस्थापनको क्षेत्रमा लागेका विद्वत वर्ग मात्र नभई सर्वसाधारणले समेत अनुभूत गरेका छन् ।
यस्तै, स्रोत परिचालन केन्द्रको त बिऊ नै मासिएको छ । सूर्यमानको अगुवाईमा जाइकाले २ वर्षका लागि बनाइदिएको नमुना विसर्जनस्थलमा अहिले १७औं वर्षसम्म पनि जबरजस्ती फोहोर विसर्जन गर्ने कार्य निरन्तर चलिरहेको छ ।
यी विपरितधर्मी संस्कारको शृङ्खलालाई विच्छेद गर्ने केही सुखद प्रसंगहरूको उल्लेख गर्नु वान्छनीय ठहर्छ । वातावरण दिवस्लाई सदैव उत्सवको रूपमा मनाउन चाहने सूर्यमानको वंशमा उनका जेष्ठ नातीले जुन ०५ कै दिनमा यस धरतीमा जन्म लिएका छन् । सूर्यमानले प्रफुल्ल हुँदै यस विषयमा भनेका थिए-
“मेरो नातिले हजुरबालाई खुसी पार्न विश्व वातावरण दिवसकै दिन छानेर जन्मेको छ ।”
सूर्यमानले यसो भनेर आफ्नो विरासत उनका नाति लगायत सम्पूर्ण सन्ततिलाई जिम्मा लगाएका छन् ।
आफू अमेरिकाबाट फर्केर काम नपाएको तोडमा उनले शब्दकोश पल्टाए । शब्दकोशमा वातावरण शब्द नै भेटिएन । भेटिए पनि उनले खोजेको अर्थ भेटिएन । यसैले, उनले आफ्नै पहलमा आइयुसियनबाट प्रकाशित शब्दकोषमा वातावरण शब्दको परिभाषा दिएका छन्- “हाम्रो वरिपरिका सम्पूर्ण प्राकृतिक तथा कृत्रिम वस्तुको अन्तरक्रियाबाट सिर्जित परिवेश ।”
यसरी परिभाषामा “हाम्रो”शब्द उल्लेख गरी सूर्यमानले वातावरण संरक्षण वा व्यवस्थापन गर्ने जिम्मेवारी तपाईं हामी सबैको हो भन्ने किटानी समेत गरेका छन् ।
यसर्थ, आउनुहोस् यो पर्वमय अवसरमा वातावरण व्यवस्थापनका महापुरुषलाई श्रद्धासुमन अर्पण गरौं ।
“शाक्य सर ! तपाईंको वैकुण्ठबास होस् । हामी हिँड्ने बाटो र पुल निर्माण गरिदिनु भएकोमा कोटी-कोटी नमन !“
जुन ०३, २०२१
कोटेश्वर, काठमान्डौं