विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । निजी क्षेत्रबाट निर्माण हुने नदी प्रवाही जलविद्युत् आयोजनाले सुक्खा मौसमको विद्युत माग नधान्ने र बर्खामा बढी भई खेर जाने स्थितिलाई न्यूनिकरणगर्न नेपालमा जलाशययुक्त जलविद्युत् आयोजनाको चर्चा गर्न थालेको धेरै भएकाे छैन । तैपनि, जलाशय आयोजनाका लागि वर्षातभरि परेको पानी सञ्चय गरिराख्न र सुक्खा मौसममा यसकाे दोहन गर्न ठूलो बाँधको आवश्यकता पर्छ । यसाे हुँदा राज्यले सामाजिक, वातावरणीय र आर्थिक हिसाबले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । त्यसैले, यस्ता आयोजनाले पार्ने जटिल पुनर्बास तथा सामाजिक र वातावरणीय प्रभावका कारणआयोजना पहिचानकै चरणदेखि बहस र विवादमा आएको अखबारमा सुन्न पढ्न पाइन्छ ।

विषय प्रवेश

जलविद्युतको विकल्प नभएको स्रोत र साधनको सीमितता भएको हाम्रो जस्तो मुलुकमा तुलनात्मक लाभका आधारमा आयोजना छनोट गरी सोको निर्माण गर्नुपर्ने निर्विकल्प देखिन्छ । यसै सन्दर्भमा एउटा यस्तै सामाजिक वातावरणीय प्रभाव तुलनात्मकरूपमा नगन्य पुनर्बास गर्नुपर्ने जनसंख्या अत्यन्त कम र आर्थिक हिसाबले अत्यन्त आकर्षक तमाेर जलाशय आयोजनाको तल चर्चा गरिएको छ ।

पूर्वाञ्चल विकाश क्षेत्र हालको प्रदेश एकमा पर्ने तमोर जापान सरकारको सहयोगमा सन् १९८५ मा गरिएको काेसी बेसिन गुरुयाेजना (Master Plan study On Koshi River Water Resource Development TA-6)  मा उल्लेखित १३ ठूला आयोजना मध्येको एक महत्त्वपूर्ण जलाशय आयोजना हो।

तमोर पाँचथर र तेह्रथुम जिल्लाको सीमा नदीको रूपमा बग्दछ । आयाेजनाको प्रस्तावित बाँधस्थल (Dam site) तेह्रथुमको साविक ओख्रे गा.वि.स. र पाँचथरको साबिक स्याबरुम्बा गा.वि.स.मा पर्दछ । बाँधस्थल कोसी राजमार्गको धनकुटा-धरान सडक खण्डको मुलघाटदेखि ३० किलाेिमटरमा पर्दछ । विद्युत प्राधिकरणले पूर्वी नेपाल प्रदेश १ को राजधानी विराटनगर र सोही आसपासको दुहबी, बिराटनगर औधोगिक करिडोरमा बढ्दाे विद्युत मागलाई पूरा गर्नका लागि विगतका वर्षहरू देखि नै सम्भाव्यता अध्ययन गरिरहेको छ ।

साथै, सरकारले मन्त्रिपरिषद्बाट पारित गरेकाे राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धी अवधारणा पत्र, २०७२ मा प्रस्तावित ११ जलासय आयोजनाको ८औं प्राथमिकता सूचीमा यो आयोजना छ । जसमा यसकाे क्षमता ६९२ मेगावाट रहने र २०८२ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। त्यसैगरी, आर्थिक वर्ष २०७५/७६ मा पनि सरकारले यस आयोजनालाई प्राथमिकतामा राखी उल्लेख्य बजेट बिनियोजन गरेको थियाे । प्राधिकरणले तमोरको विकास गर्न छुट्टै सहायक कम्पनी "तमोर जलविद्युत कम्पनी" गठन गरी अध्ययन गरिरहेकाे छ ।

१. आयोजनाका सवल पक्षहरू

क. सुक्खा मौसमको उर्जा (Dry Season Energy)

प्राधिकरण आयोजना विकास विभागले यसैकाे विभिन्न विकल्पमा (Project Optimization at diffrent dam height for Alternative Analysis) प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको छ । सोही प्रतिवेदनको पहिलो विकल्पअनुसार करिब २०० मिटर अग्लो बाँध बनाउँदा जडित क्षमता ७६३ मेगावाटमा निर्माण गर्न सकिने र जसअनुसार हिउँद (पुस, माघ, फागुन र चैत) मा ६ घण्टा बाँकी (वैशाख, जेष्ठ, असार, साउन, कार्तिक, मंसिर) बर्खामा दैनिक २४ घण्टा विद्युत उत्पादन हुने उल्लेख छ । वार्षिक करिब ११०० गिगावाट आवर विद्युत उत्पादन हुने प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनको दोस्राे विकल्पमा बाँधको उचाई ३०० मिटर बनाउँदा 'फुल सप्प्लाई' लेवल ६४५ मिटर पुग्ने र जडित क्षमता २५६५ मेगावाट हुने उल्लेख छ । जसबाट वार्षिक करिब ५००० गिगावाट आवर विद्युत निस्कने उल्लेख छ । यसरी, बाँधको उचाई ३०० मिटरमा आयोजना निर्माण गर्दा बर्खामा पानी बढी सञ्चितति हुनेछ । र, सुक्खायाममा १२ घण्टाआयोजना सञ्चालन गरी विद्युत् उत्पादन हुने देखिन्छ । नेपालकै जलविद्युतबाट सुख्खायाममा पनि लोडसेडिङ अन्त्य गर्न सम्भव देखिन्छ । 

ख. अहिलेको भइरहेकाे वार्षिक उत्पादनभन्दा बढी विद्युत् एउटै आयोजनाबाट 

आयोजना २५६५ मेगावाटमा निर्माण गर्दा मुलुकको कूल विद्यमान जडित क्षमताको साढे दुई गुणा बढ्न जाने र सोही अनुरूप विद्युतीय ऊर्जा पनि हाल प्राधिकरणको प्रणालीमा उपलब्ध ऊर्जाको करिब १२५ प्रतिशत हुन आउछ । हाल, निजी र प्राधिकरणसमेतका जलविद्युत आयोजनाबाट करिब ४००० गिगावाट आवर (4Twh) उत्पादन हुने गरेको छ । यदि, तमोरलाई जडित क्षमता २५६५ मेगावाटमा निर्माण गर्दा वार्षिक करिब ५००० गिगावाट आवर (5 Twh) विद्युत उत्पादन हुने देखिन्छ । यसरी, नेपालको सम्पूर्ण विद्युत माग यही आयोजनाबाट पूरा हुने र बाँकी आयोजनाबाट उत्पादन हुने विद्युत भारत र बंगलादेशमा निर्यात गर्न सकिने देखिन्छ ।

ग. न्यून वातावरणीय प्रभाव र पुनर्बास समस्या

आयोजनाको अर्को विषेश पक्ष प्रकृति प्रदत्त बरदान, तेह्रथुम र पाँचथरबीचको भौगोलिक खोच (Georges) हो । सुक्खायाममा पनि राम्रो पानीको बहाव, नदीको ग्रेडियन्ट कम भएको र चौडा खोच भएको नदीमा धेरै पानी सञ्चिति गर्न सकिन्छ । यसाे हुँदा, जलाशय आयोजना बनाउन उपयुक्त मानिन्छन । तमोर नदी बग्ने चौडा खोंच छ । उता खासै ठूलो मानवबस्ती रहेकाे छ । त्यस क्षेत्रमा धेरै उर्वर पनि नभएको हुँदा निकै कममात्र खेतीयोग्य जमिन डुबानमा पर्ने देखिन्छ । अहिलेको प्रारम्भिक अध्ययनअनुसार आयोजनाबाट १३० घरधुरी विस्थापित हुने र ६ बर्ग कि.मीको हाराहारीमा खेतीयोग्य डुबानमा पर्ने देखिन्छ । तमोर निकै कम ऊर्जा उत्पादन गर्ने हाल निर्माणको तरखरमा रहेको बूढीगण्डकी जलाशयकाे तुलनामा विस्थापित हुने घरसंख्या जम्मा एक प्रतिशत हो । सोही बमोजिम यसको पुनर्बास खर्च निकै कम लाग्ने देखिन्छ ।

घ. आर्थिकरूपले आकर्षक

नेपालमा पहिचान गरिएका ५२ जलासय आयोजनाबाट करिब ४३,३४५ मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना रहेको एक तथ्याङ्कले देखाएकाे छ। तर, सबै आयोजनाहरू आर्थिकरूपले सम्भाव्य छैनन् । यो आयोजना निर्माणमा जान लागेको राष्ट्रिय प्राथमिकता प्राप्त बूढीगण्डकीकाे तुलनात्क अध्ययनबाट यसकाे आवश्यकता र औचित्यता माथि थप प्रस्ट गर्न सकिन्छ ।

सुक्खायाममा पनि राम्रो बहाव (Very good flow at lean season) र वर्षात्को पानि संकलन गर्न ग्रिडीयन्ट कम भएको चौडा खोंच (Wide Georges having low Gradient) रहेकोले निश्चितरूपमा धेरै पानी संकलन गरी सुक्खायाममा सञ्चालन गर्दा करिब ३५०० गिगावाट विद्युत् उत्पादन गर्न सकिने देखिएको छ ।

ङ. बहुउद्देश्यीय आयोजनाको रूपमा विकास गर्न सकिने

अहिले प्राधिकरणले तयार पारेको ७६३ मेगावाट क्षमताको Feasibility study Report अनुसार लुम्बुघाटभन्दा १.५ किलाेमिटर तल २५० मिटर अग्लो बाँध बनाउँदा नदीको पानी बाँधस्थलबाट तमोर नदीमा ३८ किलाेिमटर पछाडिसम्म फर्किएर ३८.६५ बर्ग किलाेिमटर क्षेत्रफलको तलाउ बन्दछ । यसरी, नदीको पानी तलाउ बन्दा तेह्रथुमका साविक १२ गाविसहरू क्रमशः ओख्रे, सुङ्नाम, सोल्मा, म्याङ्लुङ्, तम्फुला, जलजले, सिम्ले, थोक्लुङ, चुहानडाँडा, छातेढुंगा, ईवा र ह्वाकु पाँचथरका साविक १२ गाविसहरू क्रमशः स्याबरुम्बा, रानीगाउँ, लुम्फुवाङ्, नवमीडाँडा, चोकम्जु, फिदिम, नागिन, बार्पा, सुभाङ्, पञ्चमी, अमरपुर र नागी ताप्लेजुङका निगुरादिन, फूलबारी, हाङ्पाङ्, फुङ्लिग, दोखु, नाङ्खोल्याङ्, थेचम्बु, रचाक्सीबोटेसम्म फैलिन्छ।

तमोरमा ३८.६५ बर्ग किलाेमिटर क्षेत्रफलको बन्ने तलाउको आकर्षणका कारण जल-पर्यटन बढ्न गई तलाउको छेउछाउ पर्यटकलाई आवश्यक होटल, लज, रेष्टुरेन्टको विकास हुन्छ । यस्तै, तलाउको करिब ३८ किलाेिमटरमा जलयातायात सञ्चालन गर्न सकिन्छ । यसमा हुने जलयातायातले तेह्रथुम सदरमुकाम म्याङ्लुङ्, पाँचथर सदरमुकाम फिदिम र ताप्लेजुङ सदरमुकाम फुङ्लिङ जोड्दछ ।

यसरी जलमार्गबाट १ नम्बर प्रदेशमा रहेका १४ जिल्ला मध्ये ३ जिल्लाको सदरमुकाम जोड्नु आफैंमा यो आयोजनाको आकर्षण हो । आयोजना निर्माणका क्रममा बन्ने मुलघाट–लुम्बुघाट ३० किलाेिमटर सडक निर्माणपछि मुलघाट–लुम्बुघाट–म्याङ्लुङ्–बसन्तपुर–हिले–धनकुटा–मुलघाट चक्रपथ (Ring Road) बन्दछ । यो चक्रपथ सडक पूर्व–पश्चिम मध्यपहाडी राजमार्गको म्याङ्लुङ्–बसन्तपुर–हिले तथा उत्तर–दक्षिण रानी–किमाथांका राजमार्गको मुलघाट–बसन्तपुर खण्डसँग पनि जाेडिन्छ ।

यो आयोजनाको ड्यामको फैलावट पूर्व–पश्चिम मध्यपहाडी राजमार्गमा सरकारले प्रस्ताव गरेको ११ नयाँ सहरहरू मध्ये पाँचथरको फिदिमबाट १४ किलाेिमटर र तेह्रथुमको बसन्तपुरबाट ४० किलाेिमटरमा रहेको छ । उता नेपालको अधिक जनसंख्या भएका तराईका जिल्लाहरू झापा, मोरङ र सुनसरीबाट नजिक छ । जसका कारण यो आयोजनामा बन्ने तलाउमा जल-पर्यटन आकर्षण बढ्न गई पर्यटकीयरूपमा समेत आकर्षण हुनेछ ।

साथै, आयोजनाको टेलरेसबाट निस्केको पानीलाई (FSL ६४५ मि.) मोरङको लेटाङ (Elevation ४०० मि.) मा खसाल्दा राम्रो हेड (उचाई) प्राप्त हुनेछ । यसाे हुँदा यसबाट पनि अर्को जलविद्युत् आयोजना निर्माण गर्न सकिने हुन्छ । त्यो भन्दा महत्त्वपूर्ण नेपालको अन्न भण्डार झापा, मोरङ, सुनसरीमा बाह्रै महिना सिँचाइ (Round the year irrigation) सुविधा प्राप्त हुने देखिन्छ । यसबाट कृषि उत्पादन बढ्न गई नेपालबाट कृषि उत्पादन आयात गर्दा भारतलगायत अन्य देशमा बाहिरिने रकम रोकिन्छ ।

च. यस क्षेत्रका राजनैतिक दल, प्रदेश सरकार र स्थानीय नागरिकको चासो

आयोजना सम्बन्धमा यस क्षेत्रका राजनैतिक दल, प्रदेश सरकार र स्थानीय नागरिक विषेश चासो रहेको पाइन्छ । याे अत्यन्त सुखद र उत्साहपूर्ण पक्ष हो । जसले आयोजना निर्माण गर्न सरोकारवालालाई अगाडि बढ्न घच्घच्याइरहन्छ र खबरदारी समेत गरेको हुन्छ । प्रदेश १ का नागरिक राजनैतिक दललगायत सरोकारवालाहरू यस आयोजनाले समग्र पूर्वाञ्चलको समृद्धिको ढोका खोल्ने कुरामा विश्वस्त देखिन्छन् ।

२. निर्माणका चुनौतीहरू

क. सर्वेक्षण तथा निर्माण अनुमतिपत्र

तमोर जलाशय सन् १९८५ मा जाइकाले पहिचान गरेको तमोरको जडित क्षमता ६९६ मेगावाट थियो । दुई अर्ब ७५ करोड युनिट बिजुली तमोरबाट उत्पादन हुने उसको अध्ययनको निचोड थियो । सोही अनुरूप विद्युत् प्राधिकरणले २०६८ सालमा ५३० मेगावाटका लागि लाइसेन्स लिन आवेदन दिएको थियो ।

प्राधिकरणले पोखरीको आयतन फुल सप्लाई लेभल (एफएसएल) ६५० एमएएसएल (समुद्री सतहदेखि माथि) मा सर्वेक्षण अनुमतिको लागि आवेदन दिएको थियो । सो क्षमतामा आयोजना निर्माण गर्दा निजी प्रवर्द्धकका निर्माणक्रममा रहेकाे काबेली र सम्पन्न हुन लागेकाे हेवा तमोरको जलाशयभित्र पर्ने हुँदा ऊर्जा मन्त्रालयले प्राधिकरणलाई ४५० एफएसएल कायम गरेर २५२ मेगावाटमा सीमित गरेर अनुमतिपत्र दियो ।

प्राधिकरणले तीन वर्ष लगाएर अध्ययन गर्दा यो क्षमतामा तमोर आयोजना निर्माण गर्दा प्राविधिक र आर्थिक हिसाबले अयोग्य देखिएको छ । हिउँदमा ६ घन्टा र वर्षामा २४ घन्टा बिजुली उत्पादन गर्ने आधारमा भएको अध्ययनले ५५० एफएसएलमा तीन अर्ब ३५ करोड युनिट बिजुली उत्पादन हुने देखियो । अझ बाँधको उचाई तीन सय मिटर र ६४५ एफएसएल कायम गर्ने हो भने कूल ऊर्जा झन्डै पाँच अर्ब युनिट (२५६५ मेगावाट) उत्पादन हुने प्राधिकरणको अध्ययनले देखाएको छ । यसबाट सुक्खायाममा मात्रै चार अर्ब ३३ करोड युनिट बिजुली उत्पादन हुन्छ ।

देशको दीर्घकालीन ऊर्जा आवश्यकता सम्बोधन र जलस्रोतको उच्चतम उपयोग गर्ने हो भने यो विकल्प सबैभन्दा उत्तम देखिन्छ । अर्को विकल्प, बाँध उचाई २०५ मिटर र ५५० एफएसएल गर्दा आयोजनाको जडित क्षमता ७६२ मेगावाट र कूल ऊर्जा उत्पादन तीन अर्ब ३५ करोड युनिट हुन्छ ।अझ २५५ मिटर अग्लो बाँध बनाउने हो भने तमोरबाट १२५० मेगावाट बिजुली उत्पादन हुन्छ । यसरी प्राधिकरणले विभिन्न विकल्पका साथ गरेको अध्ययनमा वर्तमान सन्दर्भमा ७६२ मेगावाटलाई उत्तम भन्दै लाइसेन्सको लागि निवेदन दिएको छ । हाल सो निवेदन ऊर्जा मन्त्रालयमा विचाराधीन छ । आर्थिक तथा प्राविधिक हिसाबले उपयुक्त क्षमतामा निर्माण गर्न सर्वेक्षण अनुमति प्राप्त नहुँदा आयोजनाले सोचे अनुसार गति लिन नसकेको देखिन्छ ।

ख. अमुक विदेशी कम्पनीलाई दिने कसरत

हालै राष्ट्रिय मिडियामा लगानी बोर्डमार्फत आयोजना विदेशी अमुक कम्पनीलाई दिने कसरत भइरहेको भन्ने सुनिएकाे छ । यसले पर्दाभित्र आफ्नो स्वार्थ सिद्ध गर्न विदेशीलाई दिन अदृश्य खेलहरू भइरहेका छन् भन्ने संशय उत्पन्न हुन थालेको छ । सरकारी लगानीको अभाव देखाई सस्तो आयोजना आफ्नो हात पार्ने र खिम्ती र भोटेकोसी झैँ प्राधिकरणलाई थला पार्ने महँगोमा बिजुली बिक्री गर्ने प्रवृत्तिसँग सहमत हुनु हुँदैन । चिलिमे र तामाकोसी सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडेलमा "नेपालको पानि जनताको लगानी" अन्तर्गत निर्माण गर्दा आवश्यक रकम स्वदेशभित्रै जोहो हुनेछ। त्यसैले तमाेर कुनै हालतमा पनि विदेशीलाई दिनु श्रेयस्कर देखिँदैन ।

अन्त्यमा

'वनमा बाघ कराउनु र घरमा बाख्रो हराउनु' भनेझैँ प्राधिकरणले आर्थिक तथा प्राविधिक हिसाबले उपयुक्त क्षमतामा निर्माण गर्न सर्वेक्षण अनुमति नपाउनु र जलमाफियाको स्वार्थमा अमुक विदेशी कम्पनीलाई दिने खबर केवल संयोगमात्र मान्न सकिँदैन। एसियाली विकास बैंक (एडिबी) को अनुदानमा प्राधिकरणमार्फत हाल विस्तृत आयोजना प्रतिवेदन (डिपिअार) तयारीको क्रममा छ । यस्ताे आकर्षक आयोजना विदेशीलाई सुम्पने प्रवृतिलाई निरुत्साहित गर्दै माथिल्लो तामाकोसी सम्पन्न भएपछि पनि कमी हुने सुख्खा समयको ऊर्जा प्राप्त हुने, पुनर्बासको समस्या कम रहेको, आर्थिकरूपले आकर्षक तमाेर स्वदेशी लगानी बन्नुपर्छ । पिपिपी मोडेलमा विकास गर्न प्राधिकरणका कर्मचारी, ट्रेड युनीयन, यस क्षेत्रका राजनैतिक दल, प्रदेश सरकार र स्थानीय नागरिकले आवाज बुलन्द गर्नुपर्ने बेला आएको छ ।

सन्दर्भ सामग्री 

१. Pre-Feasibility/Feasibility Study of Tamor storage Hydropower Project,PDD, Engineering Service ,NEA

२. विभिन्न पत्र पत्रिका/ब्लग, इन्टरनेटमा प्रकाशित आयोजना संग सम्बन्धित विभिन्न लेख ,रचना  इत्यादि ।

(रेग्मी, नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक (सिभिल इन्जिनयर) हुन्)

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३