विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अहिले विद्युत् प्राधिकरण निकै चर्चामा छ । हिजो पनि हल्लाको बजार नपाएको होइन । आज अझ बढी चर्चा, हल्ला र प्रचारको पुलिन्दा जोडिएको छ । यसको एउटै कारण, कार्यकारी निर्देशक (एमडी) को हुने ? कसले पाउने ? को बनिनुपर्ने वा कसलाई बनाइनुपर्ने ? जस्ता जोड घटाउको हिसाब हो ।

आज (साउन ३२ गते) देखि एमडी कुलमान घिसिङको पदावधि ठ्याक्कै २७ दिन बाँकी छ । त्यसपछि कसले हात पार्छ त्यो आकर्षक स्थान ? घिसिङकै निरन्तरता हुन्छ वा नयाँ अनुहार आउँछन् ? बजारमा निकै हल्ला फिँजिएको छ । सामाजिक सञ्जालमा एक प्रकारको ह्विप नै चलाइएको छ, घिसिङको पक्षमा ।

सामाजिक सञ्जालमा एउटा समूह छ, जो घिसिङका गलत र बर्जित कामलाई पनि फूलमाला पहिर्याएर बजार डुलाइरहेछ । सम्भवतः यो कुनै अदृष्य पालितपोषित समूह पनि हुन सक्छ । त्यो बडो शानले स्याल हुइँया पिटिरहेछ– देशमा घिसिङबाहेक गतिलो अनुहार छैन । उसले फेरि प्राधिकरण चलाउन पाएन भने देशमा प्रलय हुन्छ । विद्युत् क्षेत्र अधोगतितिर जान्छ । ऊ निर्विकल्प एमडी हुनुपर्छ ।

अर्को तप्का, उसका असल र उदाहरणीय कामको चर्चा वा प्रशंसा गर्न हिच्किचाउँछ । यही खेमाको बजार हल्ला भन्छ; कुलमानले नेपाल किन्ने आधा पैसा जोहो गरेको छ । अकुत असुलेको छ । प्रसारण लाइन ठेक्कापट्टामा ठूलो मोलतोल छ । विद्युतीकरण गर्ने नाममा ७ वर्षलाई पुग्ने उपकरण किनेर जगेडा राखेको छ । जुन, आर्थिक विनियमावली विपरित छ ।

समयमा प्रसारण लाइन निर्माण नहुँदा निजी क्षेत्रको बिजुली खेर गइरहेको छ । यसमा निजी क्षेत्रमात्र होइन, सर्वसाधारणको ठूलो लगानी डुबिरहेको छ । आयोजना रुग्ण भइरहेका छन् । रुग्ण आयोजनालाई मन्त्रालयले सिफारिस गरेका सुविधा दिन प्राधिकरणले आलटाल गरिरहेछ । यही कारण जलविद्युत् कम्पनीको शेयर परल मूल्यभन्दा कम छ । यसको दोष पनि अप्रत्यक्षरूपमा घिसिङमाथि थोपरिएको छ ।

यही तप्का प्राधिकरण (घिसिङ) ले गरेका असल र परिवर्तनकारी काममाथि प्रश्न उठाउँछ । त्यसको खेदो खन्नतिर लागिरहेको छ । अर्को तप्का, उनका बदमासी वा आर्थिक अनियमिततासँग जोडिएका घटनालाई परिवर्तन भएको शंख फुक्छ । ‘उज्यालोको हिरो’ जस्ता उपविशेषताको फूली भिराउँछ । र, बदमासी ‘बिरालोले गुहु लुकाए’जस्तै लुकाउन उद्देलित छ ।

वास्तवमा यी दुवै तप्का समाज वा विद्युत् क्षेत्रका लागि घातक हुन् । यी घाउमा औंस्याहा पार्ने दुषित जिवाणु हुन् । यस्तैको हैकमवादले यो क्षेत्र दिनहुँ विवादित भइरहेछ । यस्ता दुवै ‘अति’हरू घिसिङको सक्रिय जीवनका लागि विष हुन् । उनी देउता होइनन् न राक्षस । उनलाई मान्छेको रूपमा हेर्ने, व्यवहार गर्ने र त्यही अनुसार परिणाम अपेक्षा गर्ने थिति बस्नुपर्थ्याे । बसेन ।

घिसिङ एउटा संस्थाका प्रशासक हुन् । उनले कानुनको अधिनमा रहेर जे जति गरे, त्यो उनको दायित्व हो । घिसिङले गरेका काम जादूगरले ‘जादू’ गरेजस्तो होइन । न उनले कुनै चमत्कार गरेका हुन् । उनले त दायित्व र जिम्मेवारी पूरा गरेका हुन् । एउटा कर्मचारीले आफ्नो जिम्माको काम गरिरहँदा उसलाई ईश्वरको अलंकार भिराउनु जरुरी छ र ? यसबाट मुक्त भइएन भने हामीले सधैं समाजमा एक खालको ‘अतिवाद’लाई मलजल गरेर जोगाइरहेका हुन्छौं ।

घिसिङको निरन्तरता जरुरी हो कि होइन त ? पछिल्लो ४ वर्षमा उनले जे जति काम गरे वा उनका अन्धभक्त अझ भनौं ‘हनु’हरूको भाषामा ‘चमत्कार’ । त्यो ४ वर्ष अगाडि वा दशकौंदेखि गरेको कामको परिणाम थियो । यसको फेहरिस्त धेरैपटक लेखिसकियो । उनले अरूले गरेको कामको ब्याज खाएका हुन् । होला, त्यसमा उनले रङ–रोगन वा पालिस गरे ।

विगतका एमडीको तुलनामा उनमा केही बढी अक्कल भएको हुँदा त्यसको उपयोग गरे । र, परिणाम देखाए । फेरि पनि, त्यो उनले गरेको कुनै अदभूत् काम थिएन । एउटा संस्थाको हाकिमले गर्नुपर्ने सामान्य जिम्मेवारी थियो । यहाँ त जिम्मेवारी पूरा नगर्ने र अतिवादको पक्षपोषण गर्ने बेइमानहरूको रजगज चलेको हुँदा घिसिङले गरेका सामान्य काम चमत्कार देखिएको हो ।

जिम्मेवारी पूरा नगर्ने र अतिवादको पक्षपोषण गर्ने बेइमानहरूको रजगज चलेको हुँदा घिसिङले गरेका सामान्य काम चमत्कार देखिएको हो ।

घिसिङले लोडसेडिङ अन्त्य गरेको मान्ने हो भने त्यो सरासर गलत हुनेछ । २०७२ सालमा जारी भएको ‘ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी कार्ययोजना’ले लोडसेडिङमुक्तको अभियान सुरु गरेको थियो । त्यसअघि धेरै आधार तयार गरिएको थियो । विस्तारै यसका संकेत देखिन थालेका थिए । कामको परिणाम देखिने बेला घिसिङ आए । लोकप्रिय भए ।

अब उनले गरेका कामको जस उनैले पाउन जरुरी पनि छ । पछिल्लो दशक लोडसेडिङ अन्त्यको समय बन्यो । यसपछि, विद्युत् क्षेत्रको विकास, पूर्वाधार निर्माण, गुणस्तरीय विद्युत् प्रवाह, विद्युत् बजार विस्तार लगायत सयौं काम गर्नुपर्नेछ । आउने १० वर्षमा परिणाम देखिने गरी घिसिङले त्यसको जग हालेका छन् कि छैनन् ? त्यो भोलिका दिनमा देखिएला । यदि, जग बसालेका छन् भने कामको फल चाख्न पाउनु वा परिणाम उपभोग गर्न पाउनु उनको श्रमको हक हो । यसो हुँदा उनले एमडीमा निरन्तरता पाउनुपर्छ भन्ने पक्षलाई नकार्न मिल्दैन ।

सुनिएका, देखिएका र भोगिएका केही पक्ष वा घटनाक्रम विश्लेषण गर्दा घिसिङले दर्जनौं बर्जित काम पनि गरेका छन् । जुन उनको अक्कल, बुद्धि विवेकभन्दा बलमिच्याइँको परिणाम रह्यो । यस्ता कामको ढाकछोप गर्न उनले कहिले आक्रोसको ज्वाला बाले । कहिले द्रविभूत हुँदै तरल बगाउने प्रयास गरे । यसो हुँदा उनले गरेका असल र खराब कामको भोगचलन उनैले गर्न पाउनुपर्छ ।

घिसिङले निरन्तरता पाउनुपर्छ भनिरहँदा पर्दा पछाडिका अदृष्य पक्ष पनि विवेचना गर्नुपर्छ । घिसिङ आफैंमा क्षमतावान वा समय र परिस्थितिलाई आफ्नो काबुमा चलाउन सक्ने कला भएका व्यक्ति हुन् । हिजो उनी प्राधिकरणका कनिष्ठ कर्मचारी हुँदा तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले पिठ्युँमा बोके । र, एमडीको कुर्सीमा थपक्क राखिदिए । त्यतिबेला मन्त्रालयका कर्मचारीदेखि राज्य नै उनको पक्षमा थियो ।

क्षमता अनुसार काम देखाएको, परिवर्तन गर्न सक्ने, आँट, हिम्मत, अनुभव कार्यकौशल भएको व्यक्तिको अंलकारले मात्र अब घिसिङको निरन्तरता होला ? जब शर्माले उनलाई पिठ्युँमा बोकेका थिए तब उनी सियो बनेर एमडीको कुर्सीमा बसेका थिए । समयान्तरमा उनी हात्ती बन्दै गए । हात्तीले सामान्य मनुवालाई देखेन । चिनेन । अगाडि जो जो परे तिनलाई हात्तीको पाउले कुल्चिँदै गयो ।

सतहमा मत्ता–हात्ती प्रवृत्ति देखिएकाले विस्तारै समय घिसिङको कित्ताबाट बाहिर निस्किँदै गयो । २७ दिन कार्यकाल बाँकी रहँदै गर्दा यसबीचमा ठूलो उतारचढाव आइसकेको छ । उनलाई हिजो समर्थन गर्नेहरू विरोधको कित्तामा उभिएका छन् । उनलाई पिठ्युँ दुख्ने गरी बोकेका शर्मा नै आज उनको खिलाफमा छन् ।

काम देखाएको र क्षमतावान व्यक्तिले निरन्तरता पाउनुपर्छ वा त्यस्ताले मात्र जिम्मेवारी पाउनुपर्छ भन्ने युग समाप्त भइसकेको छ । यसो हुने भइदिएको भए देशले उहिले काँचुली फेरिसक्थ्यो । सर्वसाधारण वाद, सिद्धान्त, आदर्शको झन्डा ओढेर कित्ताकाट हुनुपर्ने थिएन । कर्मचारीतन्त्र वा बौद्धिकहरूले समेत दलीय हलोको अनौं समातेर विवेकको खेत जोत्नुपर्ने थिएन । घिसिङको हकमा पनि उनको विलक्षण प्रतिभामात्र निरन्तरताको अचुक ओखती हुनै सक्दैन ।

घिसिङ निरन्तरताको विकल्पमा अनेक अनुहार बजारमा उदाएका छन् । ती कोही एमडीको विरासतमात्र थाम्न सक्ने देखिन्छन्, कोही घिसिङभन्दा राम्रो गरेर परिणाम देखाउने । सर्वसाधारण, बौद्धिक र राजनीतिक तहबाट घिसिङको विकल्प खोजिएको हो ? हो भने अबको प्राधिकरण तथा विद्युत् क्षेत्रको चुनौती सामना गर्दै घिसिङका राम्रा कामको निरन्तरता र गलत सच्याउने व्यक्तिले अवसर पाउनुपर्छ ।

रेसका रेसलरहरू

एमडीको पहिलो रेसमा त घिसिङ भइहाले । अब उनी बाहिरिनुपर्छ र हामीले मौका पाउनुपर्छ भन्नेहरू करिब दर्जन छन् । सुनिएका र देखिएका ती परिचित अनुहारले साँच्चै प्राधिकरणको बागडोर सम्हाल्न सक्लान् ? हिजो घिसिङले जति नै काम गरेर परिणाम देखाउलान् ? अहँ, दुई–चार अनुहारबाहेक त्यस्तो व्यक्ति देखिँदैन, जसले यो क्षेत्रको चुनौती आँकेर काम गर्न सकोस् ।

घिसिङको विकल्पमा सोचिएका वा सुनिएका व्यक्ति हुन्, प्राधिकरणकै उपकार्यकारी निर्देशक द्वय हरराज न्यौपाने र हितेन्द्रदेव शाक्य । योसँगै पूर्वउपकार्यकारी निर्देशक शेरसिंह भाट र शान्तिलक्ष्मी शाक्यले पनि एमडी हुने रहर गरेको देखिन्छ । यस्तै, पूर्वएमडी उत्तरकुमार श्रेष्ठले पुनः त्यहाँ आउन पाइला चालेको सुनिन्छ । निजी जलविद्युत् उत्पादक किरण मल्लले पनि एमडीको रेसमा नाम लेखाएका छन् ।

विद्युत् उत्पादन कम्पनीका प्रबन्ध निर्देशक मोहनराज पन्त, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) का प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेल पनि रेसमा उभिएको सुनिन्छ । तर, पोखरेलले आफू एचआइडिसिएल छोडेर बाहिर नजाने बताउँदै आएका छन् । उनी भनिरहेका छन्– मलाई अर्को एक कार्यकाल जिम्मेवारी दिए यहीँ बस्छु, नत्र अन्त जान्नँ ।

प्राधिकरणका पूर्वसञ्चालक उमेशप्रसाद थानी पनि एमडी लाइनमा उभिएका छन् । मन्त्री जनार्दन शर्माको पालामा सञ्चालक बनाइएका थानीलाई त्यतिबेला हक्की स्वभावको मानिन्थ्यो । कतिपय अवस्थामा एमडी घिसिङले ल्याएका गलत एजेन्डा पास गर्नबाट रोक्न उनी खरो उत्रिएका केही उदाहरण छन् । ट्रंक लाइन र चमेलियाको भेरियसन मुद्दामा थानीले प्राधिकरणको हितमा अडान लिएको सुनिन्थ्यो । तर, उनी काँग्रेस निकट भएकाले अहिलेको रेसमा उनको सम्भावना निकै कम देखिन्छ ।

एमडीमा नाम सुनिएका अरू दुई व्यक्ति हुन्, राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंह । दुवैले आफू एमडीका लागि योग्य रहेको दाबी गरिरहेका छन् । ज्ञवाली आफूले पुनर्निर्माण प्राधिकरणमा परिणाम देखिने गरी काम गरेकोले विद्युत्को जिम्मेवारी हाँक्न सक्ने बताइरहेका छन् । उता दोस्रो पटक विभागको महानिर्देशक भएका सिंह पछिल्लो समय परिणाम देखाउन सक्ने कर्मचारीका रूपमा चिनिएका छन् ।

विरासत धान्ने कि परिवर्तन देखाउने ?

एमडीको रेसमा देखिएका केही नामको विवेचना गरौं; भाट प्राविधिक रूपमा सक्षम हुन् । हिजो र आज पनि प्राधिकरणभित्र सक्षम इन्जिनियरमध्ये उनी अग्रपंक्तिमै पर्छन् । उनले नेतृत्व पाए भने हाँक्न सक्छन् । राजनीतिक रूपमा पूर्वएमाले निकट रहेकाले केही राजनीतिक लबिङमा बल पनि पुग्ला ।

तर, केही दिनअघि उनीसँग टेलिफोन वार्ता हुँदा भनेका थिए, ‘म अब कुनै सरकारी सेवामा प्रवेश गर्न चाहन्नँ । ३५–३६ वर्ष प्राधिकरणमा काम गरियो । निजी क्षेत्रमा काम गरेको ४ वर्ष हुन लाग्यो । ४० वर्ष सक्रिय भइसकियो अब यो भन्दा बढी नगर्ने ।’ भाट अहिले बुटवल पावर कम्पनीले निर्माण गरिरहेको ३७.६ मेगावाटको काबेली ‘ए’को आयोजना निर्देशक छन् ।

प्राधिकरणभित्रकै न्यौपाने प्राविधिकरूपमा सक्षम (साउण्ड) व्यक्ति हुन् । तर, उनी सरल, वैयक्तिक चरित्रलाई ख्याल गर्ने र बढी अन्तरमुखी स्वभावका छन् । यस्तो व्यक्तिले एमडीको कुर्सीमा बसेर तमाम राजनीतिक लहरो समातेर काम गर्न सक्ने अवस्था देखिँदैन । र, उनी चुनौती आँकेर त्योसँग खरो उत्रिन सक्ने व्यक्ति पनि होइनन् ।

पूर्वसचिव अर्जुनकुमार कार्की दोस्रो पटक प्राधिकरणको एमडी हुँदा (२०७० सालतिर) भनेका थिए– यो कुर्सीमुनि आगो छ, आगो । जो कोही यहाँ बस्न सक्दैन । बस्ने आँट पनि गर्दैन । यहाँ बस्ने हिम्मत गर्नेले आगोबाट जोगिने कला सिक्नुपर्छ या डढ्नुपर्छ ।

कार्कीले फरक प्रसंग अर्थात् बिदाइ भएर जाने दिन भनेका थिए, ‘एमडीका लागि तपाईंहरूले नै सुरुमा प्रयास गर्नुस् । यहाँभित्र सक्षम इन्जिनियर र प्रशासक हुनुहुन्छ । भित्रकाले जति यो संस्था र क्षेत्रलाई बाहिरकाले बुझेको हुँदैन ।’ त्यतिबेला उनले भाटलाई इंगित गरेर पनि त्यो कुरा बोलेका थिए ।

कार्कीकै भनाइ मान्ने हो भने न्यौपाने संस्थाभित्रका काबिल कर्मचारी भएकाले प्रयास गर्नु नयाँ विषय भएन । गर्नु पनि पर्छ तर उनी पक्कै आगोसँग खेल्न सक्ने व्यक्ति होइनन् । यति गर्न नसक्ने हो भने कामको परिणाम देखिँदैन । दैनिक गतिविधि सम्हालेर विरासत धान्नेमात्र हुन्छ ।

उता एचआइडिसिएलका पोखरेलले त्यो संस्था छोडेर बाहिर नजाने भनिसके । पन्तले रहर गरे पनि उनले राजनीतिक उचाई भेट्टाउन सजिलो देखिँदैन । उनी पूर्वमन्त्री शर्माको पालामा विद्युत् उत्पादन कम्पनीमा प्रवेश गरेका हुन् । उनलाई शर्माले साथ देलान् तर वर्तमान मन्त्री वर्षमानसँग त्यति राम्रो हिमचिम छैन । यसो नहुँदा खुमलटार वा बालुवाटार छिर्ने ढोका खुल्दैन । यसैले उनका लागि प्राधिकरण प्रवेश सजिलो देखिँदैन ।

शान्तिलक्ष्मी शाक्य महिला भएकाले दाबेदार हुन सक्छिन् । महिला पनि एमडी हुन सक्छन् भनेर आँट देखाउनु वा अगाडि बढ्नु हिम्मत हो । तर, प्राधिकरणको एमडी हुन, सामान्य हिम्मतले मात्र काम गर्दैन । उनी एमडी हुनु भनेको विरासत धानेर दैनिक गतिविधिमै अल्झिनु हो । अब विरासत धानेरमात्र विद्युत् विकासले परिवर्तनमा फड्को मार्न सक्दैन ।

पूर्वएमडी श्रेष्ठले पुनः रहर गर्नु नौलो कुरा भएन । अवकासपछि दुई पटक एमडी हुन उनले निकै जोड गरे । सफल भएनन् । राजनीतिक उचाई नाप्न नसकेकै कारण उनी बन्चित भए । अहिले श्रेष्ठ बुटवल पावरको प्रमुख कार्यकारी अधिकृत छन् । उनका लागि त्यहाँबाट बाहिर निस्कनु फलदायी देखिँदैन ।

निजी जलविद्युत् उद्यमी मल्ल हल्ला र चर्चाका लागि एमडीको रेसमा उभिएको बुझिन्छ । निजी उद्यमी अझ काँग्रेसी छवि भएकाले उनले प्राधिकरणको गेटपास पाउने सम्भावना न्यून छ । व्यापारी भएकाले राजनीतिक टाउकालाई मनग्गे द्रव्य पोषण गर्न सके भने केही संकेत होला । अन्यथा यिनले चर्चाका लागि एमडी हुने इच्छा देखाएको पक्ष छर्लङ्ग हुन्छ ।

बाँकी रहेका घिसिङ, सिंह, ज्ञवाली र हितेन्द्र शाक्यको भने केही अर्थ, महत्त्व र औचित्य छ । यी चारमध्ये कोही पनि एमडी हुन सक्छ । तर, कसको राजनीतिक उचाई अग्लो छ ? कसले पार्टी नेता वा मन्त्रीलाई द्रव्यले चरमसुख प्रदान गर्न सक्छ ? उसको नाम अग्रपंक्तिमा आउन सक्छ । सरकार, मन्त्री वा नेताले कुशल प्रशासक चिन्ने मौका पनि यही हो ।

अब यी चार व्यक्तिको कार्यगत क्षमता, सक्षमता र कुशलताको छोटो चर्चा गरौं :

कुलमान घिसिङ : यिनको कार्यगत क्षमताको धेरै चर्चा गरिरहनै परेन । जगत जानकार छ । पुनः एमडीको कुर्सीमा बस्नलाई उनले अब राजनीतिक उचाई र द्रव्य दुई अस्त्र प्रयोग गर्नुपर्छ । उनको कार्यकालको सुरुताका जो जो उनका हितैसी राजनीतिज्ञ थिए, ती आज विराना भएका छन् । तिनले पुनः एमडीको कुर्सीमा घिसिङलाई देख्न चाहँदैनन् ।

विद्यार्थीकालदेखि माओवादी विचार राख्ने हुँदा घिसिङले त्यही आस्थाको मन्दिरमा धुपबत्ति बाल्नुपर्छ । दक्षिणा चढाउनुपर्छ । उनको कार्यकौशलताको प्रदर्शनले काम गर्नेवाला छैन । सर्वसाधारण वा उनका अन्धभक्तको भीडले मात्र अब एमडीको कुर्सीमा बसालिरहन सम्भव देखिँदैन ।

उनको आस्थाको मन्दिर उही खुमलटार दरबार हो । यहाँनिर, खुमलटार दरबार प्रवेश गर्न उनले दुई वटा ढोका पार गरेर जानुपर्ने देखिन्छ । एउटा वर्षमान पुन, अर्को जनार्दन शर्मा । पछिल्लो समय पूर्वमाओवादी निकटका यी दुई नेताको पार्टीमा बोली बिक्छ । खुमलटार दरबार जान यी दुईको गेट पास लिन कतिको सहज छ त ?

घिसिङलाई जनजाति हुनुको एउटा फाइदा छ, पुनले च्यापन सक्ने । पछिल्लो समय चुच्चो वा थेप्चो नाक, जात, थर र धर्मको राजनीति मौलाएको छ । यसले समाजलाई विविध कित्तामा कित्ताकाट गरेको छ । यसैले काम गर्ने हो भने वर्षमानले घिसिङलाई सजिलै खुमलटार प्रवेश गराउनेछन् । तर, शर्माको अवरोध हुन सक्छ ।

यदि, शर्मा र पुनको गेट पास पाएर घिसिङ खुमलटार प्रवेश गरे भने उनको एमडी पद दोस्रो पटकलाई पक्का । तर, बालुवाटार दरबारलाई खुसी पार्न खुमलटारले अर्को पापड बेल्नुपर्छ । बालुवाटारलाई रिझाउन घिसिङले द्रव्यको भारी नै बोकेर पुर्याउनुपर्छ । यसो भयो भने एमडी कसैले खोस्न नसक्ला । घिसिङ गेटपास नलिई जस्केलाबाट खुमलटार प्रवेश गरे भने पनि एमडी पक्का हुनेछ । किनकि, उनलाई पुष्पकमल दाहालका खास व्यक्तिको रूपमा पनि चित्रित गरिन्छ ।

नविनराज सिंह : यिनको पनि आफ्नै आस्था, सिद्धान्त वा विचार होला । राजनीतिक झुकाव पक्कै छ । तर, सुनिएसम्म यिनको राजनीतिक दलप्रतिको आस्था सतहमा देखिएको छैन । यिनी आफूलाई कुशल प्रशासकको रूपमा चिनाउँछन् । ‘सही ठाउँमा सही व्यक्ति’ भन्ने उखान मान्ने हो भने तत्कालीन ऊर्जा मन्त्री शर्माले प्राधिकरणमा घिसिङ र विभागमा सिंहलाई नियुक्ति गरेका थिए ।

नियुक्तिक्रममा केही विवाद देखिएपछि घिसिङले सिंहलाई भनेका थिए, ‘नविनजी मेरो नहुने भयो । ल तपाईंलाई बधाई छ ।’ २०७३ भदौ २९ गते अपरान्ह ३ बजेतिर घिसिङले सिंहलाई बधाई दिएका थिए । तर, ६ बजेतिर घिसिङकै पक्षमा निर्णय भएको थियो । अनि, मन्त्री शर्माले सिंहलाई विभागको जिम्मेवारीमा पठाएका थिए । उनी पहिलो पटक २ वर्ष ३ महिना महानिर्देशक भए । र, दोस्रो पटक ९ महिनादेखि उनी उक्त पदमा छन् ।

सुरु दिनमा दुवैको कामबाट शर्मा सन्तृष्ट थिए । समयान्तरमा घिसिङ र शर्माबीच सम्बन्ध चिसियो । सिंहले काम र परिणाम देखाएर शर्माको मन जितिरहे । शर्मा मन्त्रीबाट हटेपछि मन्त्रालयमा सरुवा भएका सिंहलाई वर्षमान पुनले पुनः महानिर्देशकमा पठाए । अहिले पुन सिंहको काममा सन्तृष्ट देखिन्छन् ।

घिसिङ र सिंहसँग पुनको सम्बन्ध अहिले समदूरीमा छ । अन्त्यमा एक जनालाई रोज्नुपर्यो भने जातीयता वा जनजातिका आधारमा उनले घिसिङलाई रोज्न सक्ने सम्भावना छ । होइन, एक पटक मौका दिऊँ भनेर सोचे भने पुनले एमडीमा सिंहलाई साथ दिन सक्छन् ।

मन्त्रालय वा विभागमा सिंह जोखिम लिएर काम गर्न सक्ने र परिणाम देखाउन सक्ने व्यक्तिका रूपमा चिनिएका छन् । उनलाई निर्णय क्षमता भएका र समस्या समाधानमा सकारात्मक सोचका प्रशासक पनि ठानिन्छ । मन्त्रालयबाहिर प्राधिकरण एमडीमा घिसिङको विकल्पमा सिंहकै नाम आउने गरेको छ । निजी क्षेत्रलाई सहजीकरण गर्ने र गरिदिनुपर्ने, काम समयमै टुंग्याउने विशेषताका कारण जलविद्युत् प्रवर्द्धकले समेत उनलाई रुचाएको देखिन्छ ।

अझ, पार्टी निकट आस्था राख्ने वा पार्टी राजनीति पनि गर्ने प्रवर्द्धकहरूले त एमडीका लागि सिंहको नाम खुमलटार वा बालुवाटार दरबार पुर्याउने गरेको सुनिन्छ । समग्रतामा हेर्ने हो भने निजी क्षेत्रले अबको एमडी सिंह भइदिए हुन्थ्यो भन्ने ठानेका छन् । उनी कुशल प्रशासक वा क्षमतावान भएरमात्र हुँदैन । मन्त्रालय, खुमलटार वा बालुवाटारको ‘ग्रिन सिग्नल’ अवश्य चाहिन्छ ।

कर्मचारीतन्त्रमा आज पनि पूर्वसचिव अर्जुनकुमार कार्कीलाई काममा खरो उत्रेर परिणाम देखाउने व्यक्तिको रूपमा चित्रित गरिन्छ । उनी जतिको क्षमतावान ‘ब्यूरोक्र्याट्स’ अर्को नभएको विश्लेषण पनि हुन्छ । उनी दुई पटक प्राधिकरणको कार्यकारी निर्देशक भए । उनकै जोडबलले माथिल्लो तामाकोसी स्वदेशी लगानीमा निर्माण गर्न सम्भव भएको हो ।

कतिपयले सिंहलाई कार्की जस्तै हक्की, कार्यगत विशेषता र क्षमतासँग तुलना गर्ने गरेको पाइन्छ । यदि, घिसिङले दोहोरिने मौका पाएनन् भने सिंहलाई त्यो जिम्मेवारी दिँदा विद्युत् क्षेत्रलाई न्याय नै हुन्छ । सिंह आफैंले पनि मन्त्री पुनसँग भन्ने गरेका छन्, ‘घिसिङ नदोहोरिने हकमा मात्र म प्राधिकरण एमडीमा जान्छु ।’ यसो हुँदा प्राधिकरण तथा विद्युत् क्षेत्रले घिसिङको लय समातेर निरन्तर अगाडि बढ्न सक्छ । परिस्थिति अनुकूल हुँदै गए अझ राम्रो परिणाम देखिन सक्छ ।

सुशील ज्ञवाली : ज्ञवालीको पेशागत बौद्धिकतामा प्रश्न उठाउन नमिल्ला । तर, उनी नेकपाका ‘क्याडर’ जस्तै हुन् । पहिलो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनलाई पुनर्निर्माण प्राधिकरणमा ल्याइएको थियो । बीचमा सरकार फेरिँदा बाहिरिएका उनी ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि पुनः त्यहीँ फर्किए ।

तत्कालीन एमाले र हाल नेकपाको झन्डा समातेकै कारण उनले प्राधिकरण एमडी नहत्याउलान् भन्न सकिन्न । अझ नेकपा महासचिव विष्णु पौडेलका भित्रिया र ओलीसँग पनि गहिरो हिमचिम राख्ने हुँदा यिनी उछिट्टिएर एमडी हुन सक्छन् । आखिर सरकारलाई क्षमतावान भन्दा पार्टीको झन्डा बोक्ने व्यक्ति नै चाहिएको छ ।

प्राधिकरणको ५ वर्षे कार्यावधि सकिन लागेको हुँदा ज्ञवालीले अर्को नियुक्ति ताकिरहेका छन् । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत हुन खुट्टा उचालेका उनलाई ओली तथा बालुवाटारले ‘ब्याक’ गरेको थियो । बोर्डमा बिचौलिया सुशील भट्टलाई नियुक्ति गर्न ज्ञवालीलाई प्राधिकरण एमडी बनाउने आश्वासनमा ब्याक गराइएको सुनिन्छ ।

राधा ज्ञवाली ऊर्जा मन्त्री हुँदा नै सुशील प्राधिकरणको एमडी हुन दौडधुप गरेका थिए । अहिले त्यहाँ जान उनमा रहर जाग्नु स्वभाविकै हो । नेकपाको द्रव्य मोह र कुत्सित स्वार्थ पूरा गर्ने एकमात्र व्यक्ति ज्ञवाली हुन् । यसो हुँदा अरूलाई ढोका बाहिर राखेर यिनी प्राधिकरण प्रवेश नगर्लान् भन्न सकिन्न ।

ज्ञवालीले आफूलाई पुनर्निर्माणको काम सफलता साथ पूरा गरेको भन्दै प्रचार गरेका छन् । यिनले गरेका कामलाई सफल मान्ने हो भने आँखै अगाडिको सिंहदरबारको भग्नावशेष, अधुरो धराहरा र रानीपोखरीको काम हेरे हुन्छ । आँखै अगाडिका र राष्ट्रिय महत्त्वका काम त पूरा गर्न नसकेका यिनले कति काम गरे ? सजिलै अनुमान गर्न सकिन्छ । सामान्य व्यक्तिगत घर त सर्वसाधारणले आफ्नै प्रयासमा पनि गर्दै आएका थिए/छन् ।

ज्ञवालीलाई एमडी बनाउनुको अर्थ नेकपाका लागि सम्पत्ति कमाइदिनु, नेता–मन्त्रीका भित्री खेल र स्वार्थ पूरा गर्नु र खोलामा राजनीतिको झन्डा गाड्न उद्देलित बनाउनु नै हो । यिनले घिसिङले गरेका काम र उनको लयलाई सायदै समात्न सक्लान् । अझ उनी एमडी भए भने प्राधिकरण नै मिनी पार्टी कार्यालय हुन बेर लाग्दैन ।

हितेन्द्रदेव शाक्य : शाक्य अहिले प्राधिकरण अन्तर्गतकै एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध निर्देशक छन् । उनी अहिले प्राधिकरणका उपकार्यकारी निर्देशकमध्ये सबैभन्दा वरिष्ठ हुन् । क्षेत्रगत विधामा पनि यिनी अब्बल नै मानिन्छन् । तर, यिनको पनि राजनीतिक उचाई नाप्ने ल्याकत कमजोर देखिन्छ ।

उनले शाक्यको फुर्को जोडेर प्रधानमन्त्री पत्नी राधिका शाक्यसम्म लबिङ गरेको बजार हल्ला सुनिन्छ । यसो त उनी निकट केही राजनीतिक आस्थाका व्यक्तिले एमडी दाबेदारका रूपमा बालुवाटारमा बिन्तीपत्र हालेको हल्ला पनि छ । जो जसले जहाँ–जहाँ बिन्तीपत्र हाले पनि बालुवाटारको आशिर्वाद लागेन भने केही हुनेवाला छैन ।

शाक्य एक समय एमसिसीको निर्देशक भएर जान लागेका थिए । त्यहाँ जान प्राधिकरणको जिम्मेवारीबाट राजीनामा दिनुपथ्र्यो । उनले राजीनामा दिने हिम्मत गरेनन् । यसको कारण ‘घिसिङपछि एमडी हुन्छु’ भन्ने भित्री चाहना पनि थियो । शाक्यले एमडीको जिम्मेवारी पाए भने राजनीतिक तुलो मिलाउन नसके पनि काम गर्ने लगाब भएकाले योजनाबद्ध काम फत्ते गर्न सक्छन् ।

यद्यपि, पछिल्लो ५–६ वर्ष शाक्य प्राधिकरणको भित्री व्यवस्थापकीय रिङभन्दा बाहिर छन् । उनी आफैं यो कुरा स्वीकार्छन् । यसो हुँदा क्षेत्रगत विषयमा अब्बल भए पनि प्राधिकरणभित्रै उनी व्यवस्थापनमा कमजोर रहेको टिप्पणी हुने गर्छ । संस्थाको मुलधारमा काम नगरेको भन्दै शाक्यलाई हतोत्साहित गर्ने समूह पनि छ । हेरौं, राजनीतिक तहले उनको पक्षमा निर्णय गर्छ कि गर्दैन ?

अबको चुनौती

घिसिङको ४ वर्षे कालकाल लोडसेडिङ अन्त्यको वरिपरि नै घुम्यो । अब परिवर्तनको चरण एक खुड्किलो माथि पुगेको छ । लोडसेडिङ अन्त्य भएको भनिए पनि दिनहुँ लाइन काटिने अझ भनौं अनियमित लोडसेडिङले सर्वसाधारणदेखि उद्योगधन्दा हैरान छन् । नियमित र गुणस्तरीय विद्युत् आपूर्ति अबको पहिलो आवश्यकता हो ।

कमजोर वितरण प्रणालीकै कारण भएको विद्युत् प्रवाह गर्न प्राधिकरणलाई महाभारत भएको छ । प्रसारण तथा वितरण प्रणाली तथा सबस्टेसन सुधार गरेर भरपर्दो विद्युत् प्रवाह गर्न अब प्राधिकरण वा त्यसको नेतृत्वले कुनै बाहना गर्न पाउँदैनन् । यसका लागि नीतिगत हस्तक्षेप र त्यसको कार्यान्वयन जरुरी छ ।

नीतिगत हस्तक्षेपका लागि विभागीयसँगै अर्थ, वन तथा वातावरण, भूमिसुधार, कानुन लगायत मन्त्रालयसँग समन्वय गरेर काम गर्नुपर्छ । अबको अर्को महत्त्वपूर्ण चुनौती, बिजुलीको बजार हो । पहिला देशभित्रै बजार विस्तार गर्नुपर्यो । अनि, सीमापारसम्म सम्भावना खोज्नुछ । अर्को वर्षदेखि नै बर्खामा बिजुली खेर जाँदैछ । बिजुली कसरी खपत गर्ने वा व्यवस्थापन गर्ने ? अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बन्नुपर्छ ।

बजार विस्तार गर्न चीन, भारत र बंगलादेशसँग समदूरीमा बहस तथा पैरवी गरेर काम गर्नुपर्नेछ । आज नभए भोलि, देशको बिजुली सीमापारिसम्म पुर्याउनुको विकल्प छैन । यसका लागि गतिलो मार्गनिर्देशन (रोडम्याप) बनेन भने विद्युत् विकासको भविष्य अन्योल देखिन्छ । यो क्षेत्रमा लगानी भएको खर्बौं रुपैयाँ डुब्न सक्छ ।

बजारसँगै जोडिएको अर्को चुनौती हो, दशकौंदेखि पूरा हुन नसकेका प्रसारण लाइन निर्माण । प्राधिकरणले समयमा लाइन निर्माण गर्न सकेको छैन । यही कारण निजी क्षेत्रको बिजुली खेर गइरहेको छ । भविष्यमा सयौं मेगावाट खेर जाने सम्भावना देखिन्छ । यसले निजी क्षेत्रको आम्दानी मात्र खोलामा बग्दैन, प्राधिकरण र सिंगो मुलुककै अर्थतन्त्र धराशायी बनाउँछ ।

निजी क्षेत्रका गुनासा तथा समस्या सुन्नु, कानुनी रूपमा तिनको माग पूरा गर्नु, तिनको प्रवद्र्धन त कतिपय अवस्थामा नियमन गर्नु जस्ता दर्जनौं काम प्राधिकरणले गर्नुपर्नेछ । सरकारले निजी क्षेत्रलाई सँगै लिएर जलविद्युत् विकासमा हातेमालो गर्नुपर्ने टडकारो उतिकै देखिन्छ । यसर्थ, यी सबैमा भिजेको वा बुझेको व्यक्ति वा योग्य प्रशासकले नै अब एमडीको जिम्मेवारी हाँक्न सक्छ । विरासत धानिदिने व्यक्तिको औचित्य सकिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३