नेपालले पछिल्लाे समय जलविद्युत् उत्पादनमामा उल्लेखनीय प्रगति हासिल गर्दै आएको छ । नेपाल विद्युत् प्राधिकरणले २०८२ काे सुरूमा जारी गरेको श्वेतपत्र अनुसार २०८०/८१ माघ सम्ममा कुल जडित उत्पादन क्षमता ३५११.५७ मेगावाट रहेको छ र यो अझै बढ्ने क्रममा छ । साथै देशको लगभग ९८ प्रतिशत जनसङ्ख्याले बिजुलीको पहुँच पाइसकेको अवस्था छ तर उत्पादनमा भएको वृद्धिसँग तुलना गर्दा घरेलु खपतको वृद्धिदर सामान्य छ ।
यही कारण नेपालले उत्पादित विद्युत् भारत लगाएत तेस्रो मुलुकलाई निर्यात बढाउँदै लगेकाे छ । सरकारले ‘विद्युत् विकास मार्गचित्र २०८१’ अन्तर्गत २०३५ सम्म कुल उत्पादन क्षमता २८ हजार ५०० मेगावाट पुर्याउने लक्ष्य तोकेको छ । साथै, २०३५ सम्म प्रतिव्यक्ति विद्युत् खपत १ हजार ५०० किलावाट घण्टा पुर्याउने लक्ष्य पनि राखिएको छ, जुन हालको तुलनामा करिब ४ गुणा बढी हो ।
प्राधिकरणको २०८०/८१ को वार्षिक प्रतिवेदन अनुसार गार्हस्थ वर्गका ग्राहकको सङ्ख्या करिब ५० लाख रहेको छ, जुन नेपाल विद्युत् प्राधिकरणको जम्मा ग्राहकको ९१.५४ प्रतिशत हुन आउँछ । यसले उत्पादनसँगै खपतलाई सन्तुलित बनाउन विद्युत्को घरायसी प्रयोगलाई जोड दिन अत्यावश्यक देखिन्छ ।
सम्भावना
२०७८ सालको जनगणना अनुसार, नेपालमा अझै ५० प्रतिशतभन्दा बढी घरधुरीले खाना पकाउन परम्परागत इन्धन जस्तै; दाउरा, गोबर, काठ इत्यादिको प्रयोग गरिरहेका छन् । यी इन्धनको प्रयोगले वायु प्रदूषणसँगै मानव स्वास्थ्यमा समेत गम्भीर असर पार्दछ । विशेषगरी भान्सामा बढी समय व्यतित गर्ने महिलाहरू र बालबालिकाहरूमा फोक्सो, आँखा तथा छालासम्बन्धी रोग बढी देखा परेको देखिन्छ ।
साथै करिब ४५ प्रतिशत घरधुरीले आयातित एलपिजीलाई भान्छामा इन्धनको रूपमा पनि प्रयोग गर्दै आइरहेका छन्, जुन परम्परागत इन्धनभन्दा स्वच्छ र किफायति भए पनि आयातित इन्धन भएकाले वर्षेनी अर्बौं खर्च हुने गरेको छ, जसले देशको विदेशी मुद्रा सञ्चितिसँगै समग्र अर्थतन्त्रलाई असर पारिरहेको छ ।
यी समस्याहरूको समाधान गर्न विद्युतीय चुलो, विशेष गरी इन्डक्सन र इन्फ्रारेड चुलोको प्रयोगले महत्त्वपूर्ण भूमिका खेल्न सक्दछ । यसले धुवाँरहित स्वच्छ र सफा खाना पकाउने वातावरण निर्माण गर्नुका साथै स्वदेशी ऊर्जाको खपतमा वृद्दि गरी समग्र अर्थतन्त्रमा टेवा पुर्याउन मद्दत पुर्याउँदछ ।
विद्युतीय चुलो, विशेष गरी इन्डक्सन चुलो, यी समस्याहरूको समाधानमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । इन्डक्सन चुलोले ८०-९० प्रतिशत ऊर्जा सदुपयोग गर्छ, जबकि एलपिजी चुलोले मात्र ४०-५० प्रतिशत नै प्रयोग गर्छ । इन्डक्सन चुलोमा ३-५ जना सदस्य भएको परिवारले खाना पकाउँदा दैनिक १.५-२ युनिट (किलोवाट अवर) विद्युत खपत गर्छ । यदि १० लाख परिवारले मात्रै इन्डक्सन चुलो प्रयोग गर्ने गरे भने दैनिक १५-२० लाख युनिट (१५-२० मेगावाटघन्टा) विद्युत खपत बढ्ने हुन्छ, जुन नेपालको हालै उत्पादन गरिएको ६०० देखि ८०० मेगावाट जलविद्युत् परियोजनाबाट सजिलै पूर्ति गर्न सकिन्छ । यसले एलपिजी आयात घटाएर वार्षिक अर्बौं रुपैयाँ बचत गर्न मद्दत गर्दछ ।
वर्तमान चुनौती
यी कुराहरूलाई मध्यनजर गर्दै सरकारले स्वच्छ ऊर्जा र कार्बन न्यूट्रालिटी प्राप्त गर्ने लक्ष्यसाथ विद्युतीय चुलोलाई प्राथमिकता दिँदै आएको छ । राष्ट्रिय निर्धारित योगदान (एनडिसी) ३.० अनुसार सन् २०२४ सम्ममा ४ लाख घरधुरीमा विद्युतीय चुलो पुगिसकेको छ र सन् २०३५ सम्ममा यसलाई २१ लाख घरपरिवारमा पुर्याउने लक्ष्य लिएको छ । साथै सरकारले विद्युतीय चुलोको प्रयोगमा वृद्धि होस् भन्ने उदेश्यले इन्डक्सन र इन्फ्रारेड चुलो आयातमा भन्सार महसुल १ प्रतिशत लागु गरेको छ । जसले विद्युतीय चुलो आयात र बिक्रीमा वृद्दि भए पनि एलपिजी आयातमा उल्लेखनीय न्यूनीकरण भएको छैन । जसको कारण विद्युतीय चुलो किनेका उपभोक्ताहरू पूर्ण रूपमा विद्युतमा भर पर्न नसक्नु मुख्य कारण रहेको देखिन्छ । यससँगै विद्युतीय चुलोको प्रयोग वृद्दिमा अन्य केही मुख्य चुनौती पनि छन्:
• चेतनामूलक कार्यक्रमको अभाव : विद्युतीय चुलो प्रयोगका फाइदा र प्रयोगबारे जनचेतनाको व्यापक कमी देखिन्छ । केही गैरसरकारी तथा विकास साझेदार संस्थाहरूले जनचेतना र उपभोक्ता शिक्षाको कार्यक्रमहरू सञ्चालन गरिरहेको भए पनि व्यापकता पाउन सकिरहेको छैन ।
• विद्युत् आपूर्तिको गुणस्तर र विश्वसनीयता: विद्युतीय संरचनाको क्षमता, भोल्टेजको अस्थिरता, बारम्बार विद्युत् आपूर्ति अवरोध हुने जस्ता समस्याहरूले उपभोक्तामा विद्युतीय सामाग्री प्रयोगमा अविश्वास पैदा गरेको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकारणले विद्युत् वितरण प्रणाली सुधारमा पर्याप्त लगानी गरी विद्युत् सेवालाई विश्वसनीय बनाउनुपर्ने देखिन्छ ।
• संस्कृति र व्यवहार : धेरै उपभोक्ताले परम्परागत खाना पकाउने शैलीलाई नै प्राथमिकता दिने र नयाँ प्रविधिप्रति सङ्कोच मान्ने प्रवृत्ति देखिन्छ । विशेषतः विद्युतीय चुलोमा पाकाइको खानाको स्वाद नमिठो हुन्छ भन्ने गलत बुझाइले पनि विद्युतीय चुलो प्रयोगमा वृद्दि हुन नसकेको अवस्था पनि छ ।
• सेवा प्रणालीको अभाव: विद्युतीय चुलो बिक्रीपछिको सेवा तथा मर्मत–सम्भार सेवा छिटो–छरितो र सहज नहुनुले पनि विद्युतीय चुलो प्रयोगमा वृद्धि हुन सकिरहेको छैन । विद्युतीय चुलो बिक्रेता कम्पनीलाई मर्मत सम्भार सेवा सहज बनाउन दायित्वबोध गराउने र आवश्यक प्राविधिक व्यवस्थापनमा सहजीकरण गर्नुपर्ने देखिन्छ ।
विद्युतीय चुलोको प्रयोग बढाउन सरकार, निजी क्षेत्र र विकास साझेदारहरूले स्वामित्व लिने प्रयास गर्नुपर्ने अवस्था देखिन्छ । यसका लागि व्यापक जनचेतना अभियान, उपभोक्ताको आर्थिक अवस्था हेरी विद्युतीय चुलो र यस अनुकुल भाँडा खरिदका लागि आवश्यक सहुलियत, भरपर्दो विश्वसनीय र गुणस्तरीय विद्युत् आपूर्तिका लागि आवश्यक ग्रिड तथा वितरण प्रणाली सुधार तथा अपग्रेडेसन कार्यहरू, साथै विद्युतीय चुलो उत्पादक तथा आयातकर्तालाई सरल मर्मत सम्भार सेवाका लागि जिम्मेवार बनाउनु पर्ने देखिन्छ ।
लेखक ऊर्जा क्षेत्रमा सक्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्राक्टिकल एक्सनका सिनियर प्रोजेक्ट अफिसर हुन् ।