विद्युत अपडेट

  • प्राधिकरण : ८७७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६५४ मे.वा.घन्टा
  • आयात : १४९ मे.वा.घन्टा
  • निर्यात : ९५६८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५५२८४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २७०९ मे.वा.
२०८२ असार ३१, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
पर्या–नियात्रा

हिले आकाशमा मालचरीको लम्बेतान लस्कर देखिन्थ्यो । लाग्थ्यो– ती प्रकृतिका हुलाकी हुन्, समयको खबर बोकेर कतै टाढा जाँदैछन् । तत्क्षणै शरदयामका पालुवा पलाएको अनुभूत हुन्थ्यो । मौसममा मधुर धून बज्थ्यो । घामका न्याना किरण भुइँमा ओर्लेर बेसारे चरीजस्तै फर्‍याकफुरुक गर्थे । अहिले त्यस्तो छैन । शरदसम्म ग्रीष्म ऋतुको तापले ढुङ्गा पगाल्लाजस्तो हुन्छ । यो डोलायमान भूलोकमा सबै कुरा फेरिँदैछन् ।

दिन–रात, मौसम, झरी–बादल, पानी, बाढी–पहिरो, रुख–बिरुवा, पालुवा, खोलाको बहाब, हिमाल र हिउँको संरचना कुचक्रमा फस्दै गएको छ । स्थापित पर्यावरणीय चक्रहरू स्खलित हुँदैछन् । डरलाग्दा नरसंहारका मानकहरू उभिँदैछन् । चिन्तनको चुलीमा उभिएर दिमाग डुलाइरहँदा मैले साँझसम्म बझाङ बागथला पुग्नुपर्ने कुरा भुसुक्कै बिर्सेँछु ।

जानु छ, कालङ्गागाड (खोला) को किनारतिर । पहिले दार्चुलासम्म पुगेकै हुँ – शेरी, लटीनाथ, बलाँच हुँदै अविरल प्रवाहित चमेलियाको सङ्लो पानी दृश्यमा आइसकेको छ । म अघि नै उडेर उता पुगिसक्छु । नदेखेको कालङ्गागाड चमेलियासँग एकाकार भइहाल्छ । यता ज्यानकान्छोले बल्ल अत्तरिया छोड्दैछ ।

मोटर चढ्ने वित्तिकै गणेश चौधरीले हुइँक्याइहाले । अत्तरिया चोकबाट महेन्द्रनगर जाने बाटो देब्रे छोडियो । मोटर उत्तरतिर घुम्यो । ८० सालको असोज तेस्रो साता नाघिसके पनि गर्मीको हपहपी उस्तै छ । मैदानमा कायल बनाउने गर्मीको माथि डाँडातिर पुगेर हुर्मत लिनु छ । यहाँबाट उत्तर लागेपछि मेरो मन पुतलीजस्तै हावामा फुरफुर गर्छ । आफैँलाई बिर्सेर वायुलोकमा कावा खाइरहेको हुन्छु । धागो तानेजस्तो सरल रेखाकाङ्कित बाटो गोदावरी पुगेपछि बाङ्गिएर उकालो लाग्छ ।

यो ललितपुरको गोदावरी होइन, रङरङका फूलका बगैँचा छैनन् तर राम्रै सुविधायुक्त गाँस–बास होटेल छ । छेउकुनामा बारीका सुर्का बनाएर सारिएका फूलले होटेलको शोभा बढाएका छन् । वरपरका घना रुखहरूमा सुहागरातका युगलजस्तै लतालहरा टाँसिएका छन् । प्रकृतिले गाँसिदिएको तिनको प्रेम शायद यो धर्ती–आकाश रहँदासम्म मेटिँदैन । अचेल मानवीय प्रेम त घामपानी–घामपानी स्यालको बिहे भइसक्यो । रतिरागीय प्रेमबाग कल्पिँदै गोदावरीको सानो खोल्से पुल तरियो ।

वनको रन्को

पुल तर्दै गर्दा खोल्सामा प्लास्टिजन्य वस्तुको थुप्रो देखियो । यो त्यही सुकिलो होटेलको गोब्र्यान होला । त्यत्रो उद्यम गर्न जानेको विवेकले ‘खोल्सामा गोब्र्याउनु हुँदैन’ भन्ने चटक्कै बिर्सेछ । व्यावसायिक चेतले बुद्धिको भाँडोमा बिर्को लाउँदै गएको हो ? बुझिनसक्नु छ । अघिअघि कुलुलु बग्ने खोल्सीमा अहिले छिपछिपे पानी देखिन्छ । घना वन–जङ्गल भए पनि खोल्सी सुख्खाप्रायः छ ।

असोज–कात्तिकतिर जाडो पलाइसक्ने समय हो तर दुइटा सूर्य मिलेर आकाशबाट धर्तीमा आगोको मुस्लो खन्याएजस्तो हुन थालेको छ । खडेरी बढ्दो छ । वन साम्राज्य भनेर के गर्ने ? रसिलो नपाएर रुख, पात, हाँगाबिँगा, लहरा ओइलाएर लथ्रक्क छन् । कम्तीमा असोजमै त यस्तो नहुनु ! पुल नाघेर मोटर वनको घुम्तीबाटो उकालो चढ्दैछ । पछाडसिटे पासाले हात्तीसुँढे क्यामरा झ्यालबाट बाहिर निकालेर वन्यजीवन खिचिरहेको छ । पाटन मंगलबजारको पासा सुदूरको वन्यभूमि र यी डाँडाकाँडा देखेर चकित छ ।

यो उकालो बाटो, रुख–बिरुवा र हरिया डाँडासँगको आत्मीयता युगौँदेखिको लाग्छ । पारिपट्टि ठूला–ठूला रुखहरू लछारेर पहिरो लडेको देखिन्छ । शायद त्यो ढिस्कोमुनि पानीको जरुवा थियो, पहिरोले सुकायो । अनि तल गोदावरीको खोल्सी पनि सुक्यो । दुनियाँभर यस्तै छ । मोटर अलि माथि डाँडामा पुगेर रोकिन्छ । पासा ओर्लेर डाँडातिर क्यामराको थुतुनो सोझ्याउँछ । मोटा–मोटा साल, साज, खिर्रो र बेलका रुख त्यसैमुनि पातलो धैरेनीघारी । कान्ति हराउँदै गएजस्ता लाग्ने ती अनेक प्रजातिका रुखले हामीलाई हेरिरहेका छन् । तिनका ज्यान र हात–पाखुरामा बेरिएका भोर्लाका लहरा र हात्तीकाने पातले पङ्खा हम्किरहेका छन् । तिनै पातबाट रिमरिम प्राणवायु उत्पादन भइरहेछ ।

अचेल शुद्ध हावा पान गर्न शहरबाट कतै अग्ला चुलीतिर उक्लिनुपर्छ । हिमालतिर ठडिनुपर्छ । सङ्लो पानीको बहाब हेर्न धमिलिन बाँकी खोलाका किनारतिर ओर्लिनुपर्छ । यसैले त केही न केही काम पारेर म सुदूरपश्चिम सोझिइरहन्छु । यता आएपछि शुद्ध हरियालीले आँखाका ज्योति बढाएको अनुभूत हुन्छ । डाँडाका थुमथुममा बिसाउँदै पिङ खेल्ने हावासँगै बरालिन सकिन्छ । उकालो, ठाडो भीर र घुम्ती बाटोलाई हृदयमा सङ्गाल्दै स्मृतिको पल्लो छेउ पुग्न पाइन्छ । जहाँबाट बाल्यकालको देउराली देखिन्छ । त्यहीँ बसेर म पात बजाउँदै मनको बह गाउँछु । यसैले पनि मलाई सुदूरका यी कुमारी पाखा, वन–बुट्यान, भीरमा लर्किने खर, बन्सो र कतै मिलेका कतै नमिलेका ढुङ्गाका पहरा औधी मन पर्छ ।

नजिकै जोडी ढुकुर उडेका छन् । मयुर बासेको सुनिन्छ । तित्रा, बट्टाई, ठेउवा र अरू के–के चराहरूको चिरबिर बजिरहन्छ । न्याउली न्याउल–न्याउल गर्दै विरहमा आफ्नै नाम काढिरहन्छ । त्यसैमा मिसिएर वनकुखुरो बास्छ– कुखुरी काँ ! यसको स्वर घरकुखुरो भन्दा तिख्खर छ । साँझ नकुरी झ्याउँकिरी झ्याउँझ्याउँ गर्दैछन् । माथि सर्वाङ्ग आकाश नीरमसि पोतेजस्तै छ । त्यतैबाट च्याँच्याँ गर्दै चिबे चरी जमिनतिर ओरालो झरेको देखिन्छ ।

अघि–अघिको यात्राभन्दा यसपालि म बढी नै हर्षित छु तर प्राकृतिक लालीत्यमा देखिएको फिकापनले थोरै खल्लो पनि हुँदैछ । तैपनि, मन रमणीय पाखपाखै दौडेको छ । खरबारीमा बाबियो समातेर लर्केको छ । छङ्गाछुर भीरतिर हावाको पयो समातेर हेलिएको छ । घरीघरी बालाजोबनजस्तै उफ्रीउफ्री चरिरहेका बाख्राका पाठापाठीसँग नाङ्गैबुङ्गै नाचेको छ ।

भीरको घुम्ती बाटो, कोप्चेरा र खोचमा गुडेको मोटर हावासँगै उडेको भान हुन्छ । यो उडाइले घरीघरी आङ जिरिङ्ग–जिरिङ्ग बनाउँछ । यसरी उडाउन यताका चालकले उहिलेदेखि हात, खुट्टा र दिमागमा पाइन हालेर चम्काएका होलान् । तब न निर्धक्क र निर्भय छन् । मेरो मन मोटरको गतिभन्दा सयौँ गुना तेज छ । एउटा घुम्ती कटेर अर्कोतिर नसोझिँदै आँखा, मन र हृदयले सात चुलीपारि हिमाली दृश्य हेर्न भ्याइसक्छ ।

पाखामा गाई–गोरु चरेका छन् । बाटोछेउ र भीरतिर गोठालाहरू बाख्राको हूल धपाउँदै छन् । कहीँ बालाहरू हाँसिरहेका, नाँचिरहेका छन् । गोठाले जीवनजस्तो रस–बस फेरि कहाँ पाउनू ? कोही छपनीमा बसेर यौवनको भाका गाइरहेका छन् । ती गीतका भाव बुझ्छु । लयसँग हृदय गाँसिन्छ तर शब्दहरू फट्कार्न सक्दिनँ । त्यसले मलाई स्याङ्जातिर गाइने ख्याली भाका सम्झाउँछ । पाखातिर गोठाले जीवनको रौनकमा बेहोसिँदाका क्षणले हुरुक्क बनाउँछ र म गुनगुनाउँछु :

म छु डाँडाकाँडा
नानी रैछौ खोलीमा
बोलाउँदा नि बोलिन ...

भाव–लहरी

मोटरको गति एकातिर, मनको अर्कोतिर छ । म मन–लहरोमा बरालिएकै छु । बरालिन भुइँ नचाहिने, रुखको हाँगोको खाँचो नपर्ने । चराकोजस्तै पखेटा नभए पनि हुने । कस्ता पखेटा हालेर संसारका हरेक वस्तुभन्दा छिटो उड्छ, मन ? एक्कैछिनमा हिमालमा पुग्छ, वेग हानेर खोली किनारमा । थुम्कीमा उभिएर बाटो हिँडिरहेका यौवनासँग माया साट्न भ्याउँछ । कोहीसँग त नकच्चरो बनेर लहसिन्छ पनि । म यस्तै बहुलट्ठी मनसँग लठारिइरहँदा मोटर खानीडाँडा पुगिसक्छ ।

हिउँमा नुहाएर उडेको बतास नाभीको पिँधमा पुगेर फर्किएपछि खानीडाँडा पुगेको आभास हुन्छ । सिरसिरे चिसो बतास यहाँको परिचय हो । आउँदा–जाँदा धेरै पटक यहीँ बिसाएर पेटपूजा गरिएको छ । डोटी, डडेल्धुरा उक्लिँदा एकछिन यहाँ सुस्ताएर मनको भाका फिराइएन भने के नपुगे–नपुगेझैँ हुन्छ । यो तराईको औल छल्न आउनेहरूको सुरम्य धाम । मनुवाहरू तल तरतरी बगेका पसिना यता उक्लेर सुकाउँछन् । मनभरि, पेटभरि अघाउँछन् । कोही त मन–पेट र हृदय शीतल बनाउन मात्र आउँदैनन् । यौवनको चौलानी फाल्नसमेत आउँछन् । सुनिन्छ– यो उहिलेदेखिको उद्यम हो । आजपर्यन्त नियमित छ ।

दाम्रिन खोजेका पेट उकासेर हामी पुनः उकालो चढ्यौँ । म बाटोको दायाँबायाँ हेरिरहेको छु । बिजुलीका पोल आकाशतिर तन्केका छन् । पोलमा तानिएका तार तन्केका, लत्रेका त कहीँ तुर्लुङ्गिएका छन् । कुनै तारले रुखका हाँगा छोएका छन् । केही पोल भीरमा कोल्टे परेका छन् । तिनलाई उठाउने कोही देखिँदैन । यो बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइनले चमेलिया र नौगडगाडबाट उत्पादित बिजुली अत्तरियासम्म पुर्‍याउँछ । कालङ्गागाडको बिजुली ओसार्ने पनि यही हो । यसको रोगी हाल देखेर विद्युत्का हाकिमप्रति रिस उम्रिन्छ तर के गर्नु ? तिनले समयमा कुनै काम निप्ट्याउँदैनन् ।

ढलेका बिजुलीका पोल र रुखमा टाँसिएका तारले वरिपरि खेल्ने बालबालिका, गोठाला जोसुकैलाई छुन सक्छ । करेन्ट लागेर वैकुण्ठ हिँडेका घटना देशैभरि छन् । लम्पट विद्युते कर्मचारी सम्झिँदै बाटोमा आउने–जानेको खेलो हेर्दैछु । मोटरसाइकल ओरालो झर्दा छन्, कोही उकालिँदा । बीच–बीचमा मोटर, ट्रक, निजी कार भेटिने छुट्टिनेको दोहोरीलत्ता छ ।

केही माथि पुगेपछि फेरि भीरपाखा र गोठाला–गोठाली भेटिन्छन् । नेपाली जनजीवनको अस्तित्व यिनै र यस्तै पखेराहरू त होलान् ।

बतासे पिरती

गणेश मोटरको स्टेरिङ दायाँबायाँ नाचाउँदै मसँग गफिँदै छन्– सर यो भीर र जङ्गलतिर केटाकेटीका जोडी मस्तै भेटिन्छन् ।

ती मौसमी पिरती लाउनेहरू होलान् । अत्तरियाबाट उकालिने र डडेल्धुराबाट झरेर खानीडाँडा पुग्ने, भीरको कुना वा ढुङ्गाको छेल पारेर तिनले एक–एक पाउ काँचो मासुको विनिमय गर्लान् । जमाना बतासे पिरतीकै छ । यौवनको पानी फेर्नेका अगाडि हिजोका अमर प्रेमकथाको के अर्थ ! उहिलेका पिरतीका मर्मच्छेदी कथा र यो ‘लभ’को भोकमरी कसरी तौलिनु ?

गणेशले फेरि सुनाए– यहाँ केही दिनअघि एक जोडीलाई प्रहरीले नाङ्गै भेटेको रे !

त्यो सुनेर मलाई आश्चर्य लागेन । वन्यचेत भएकैले ‘मानव र रुख–बिरुवाबीच समता होस्’ भनेर ती नाङ्गिए होलान् । तथापि तिनले बुझ्नुपथ्र्यो, रुखका बोक्रा आफैँ लुगा हुन् । पात र हाँगाले छोप्नुपर्ने चिज छोपेकै हुन्छन् । रुख–बिरुवामा बैँस चढे पनि ती वसन्त ऋतुमा मात्र पत्कर उतारेर नाङ्गिन्छन् तर बोक्राले ज्यान ढाकेकै हुन्छन् । चेतनशील मनुवाले किन गति छोडेको होला ? कम्तीमा छोप्नुपर्ने ठाउँ छोपेर दिउँसै रामलीला नदेखाए हुनी ! म पछाडसिटे पासासँग गन्थनिन्छु ।

अगाडि भासुको भीर टुप्लुकिन्छ । उहिलेदेखि भेट भइरहने योसँग म भन्छु – आउँदा–जाँदा लाउँला पिरती ।

आँखाले भीरतिर इङ्गित गर्दै गणेशले अर्को रहस्य खोले– यी यहाँबाट एउटी केटीले फोटो खिच्ने नाममा आफ्नो ‘ब्वाई फ्रेन्ड’लाई धकेलिदिएकी रे ! धेरै दिनपछि लाश भेटेको रे !

सुन्ने वित्तिकै मेरो आङ जिरिङ्ग हुन्छ । उनले देखाएको ठाउँ उभिन मिल्ने थुम्को छ; तलतिर कहालिँदो भीर । कति निर्दयी प्रेमिका, आफ्नै प्रेमीलाई भीरबाट घुचेट्ने हिम्मत भएकी । कठै ! प्रेमी विचरोको पखेरु कसरी उड्यो हो ? भीरका ढुङ्गा, बुट्यान, वरपरका रुख र सिरसिरे हावा यो दृश्य देखेर रोए होलान् ! केटीले दुनियाँलाई त छली तर आफ्नै आत्मलाई छल्न सकी त ? प्रकृतिका आँखाले देखेको सत्य समयान्तरमा पक्कै उद्घाटित होला ।

त्यो केटी उसकी प्रेमिका हुँदै होइन । प्रेमले ज्यान पो दिन्छ, लिँदैन । कि उसले प्रेमको निरन्तरतामा क्रमभङ्ग गरी ! शायद प्रेमको सिद्धान्त, परिभाषा र कोमलतामा कलमी गरी । उत्तरचेतनाले भरिएका मन र दिमागहरू यसरी नै लठारिएर यौवनको देउराली नाघ्छन् । प्रेमको नाममा ज्यान लिनेहरू त स्वार्थको भाँडो बोकेर हिँड्ने यौनरोगी होलान् ।

उड्दै–उड्दै

गणेशले बाटो काट्न मोटरमा गीत बजाउँदैछन् । घरीघरी मसँग गफिन्छन् । पछाडसिटे पासा झ्यालबाहिर क्यमराको सुँड सोझ्याइरहेकै छ ।

भीर तिनै र उस्तै छन् । गोठालाका अनुहार त्यस्तै–उस्तै । पाखा–पखेरा र खोल्सी तिनै । म मेरो गाउँ सम्झिन्छु– सिँगारभञ्ज्याङबाट ओरालो झरिरहँदा भेटिने लाँकुरी, कटुस र चिलाउने घारी । घरी ओखलढुङ्गाबाट सोलुतिर उकालिँदाको सल्लेरी वन । स्मृतिमा बाक्लै टाँसिन्छ– पूर्वको इलामे उकालो उक्लेर फिदिम झरिरहँदाको चम्क्याइलो साँघुरो घुम्ती बाटो । कम्मर मर्काउँदै हिँडेका षोडशीजस्ता फिक्कल र फिदिमे ओराला कम्ता रमाइला होइनन् । त्यो ओरालो, यो उकालो उस्तै छ, मात्र झर्नु र चढ्नुको भेद ।

आजसम्म जहाँ–जहाँ पुगेको छु । ती जम्मै ताजा भएर आउँछन्– वन, पैदावर, हावापानीसँग गाँसिएको मानवीय लीला । यो सृष्टिको न्यानो छाप्रो पाएर ओत लागेको मान्छे प्रकृति र पर्यावरणप्रति निठूर बन्दैछ, प्रेमीलाई भीरबाट धकेल्ने प्रेमिकाजस्तै । उसले जथाभावी वन मासेको छ । भीर भत्काएको छ । विकासको नाममा कुठाउँमा डोजर धसेको छ ।

अब मोटर ओरालो गुड्दैछ । सालघारी सकिँदै, सल्लाका रुखहरू भेटिँदैछन् । सल्लाका सुरिला रुखमुनिको भुइँ नाङ्गो छ । सल्लाहरू अन्य रुख–बिरुवाका लागि खोरेत हुन् । आफू नजिक कुनैलाई फुल्न, फक्रिन, हुर्किन र अग्लिन नदिने तिनमा म निरंकुश शासकको विम्ब देख्छु । यसमा वनस्पति विज्ञानले के भन्छ कुन्नी ?

वन फँडानी

डोटी सुरु भएछ । फाट्टफुट्ट घर देखिँदैछन्, कतै स–साना दोकान ।

वन पातलो हुँदै घुम्तीबाटो तल–तल झर्दैछ । ठाउँ–ठाउँमा सल्ला, साल र कटुसका रुख ढलेका छन् । केही रुख चौतारीको ढल्केबरझैँ ढल्किएका । ढल्किनु पहिरो जाने पूर्वसङ्केत पनि हो । आराले गिँडेका सोझा रुख ठिक्क–ठिक्कका गोलियामा चाङ लागेका छन् । कहीँ वनै खाली गरी काटेर, गिँडेर, मुठारेका काठै–काठको हार छ । पुराना रुख काटेका ठाउँमा नयाँ बिरुवा रोपिएका छैनन् । त्यसो गर्ने सुरसार कतै देखिँदैन ।

वन सुरक्षार्थ वनपाले वा समुदायका वन–हेरालु उभिएका छैनन् । जताततै तस्करहरूको मात्र हस्को आउँछ । तल र माथिका तस्करहरूको मिलेमतो नभई मनपरी वन फँडानी किन हुन्थ्यो ? एक्कासि उहिले टेलिभिजनमा हेरेको मह जोडीको हास्य टेलिसिनेमा ‘वनपाले’ आँखामा टाँसिन्छ । वनपाले (मदनकृष्ण श्रेष्ठ) ले जथाभावी रुख कटान रोक्न मरिमेट्छ तर साधुराम (हरिवंश आचार्य) नामको तस्करकाअघि केही जोड चल्दैन । वनविनाश बढ्दै गएपछि वनपाले बहुलाउँछ । अन्ततः गाउँले मिलेर वृक्षारोपण गर्दै र बिरुवा हुर्किँदै जाँदा ऊ बौरिन्छ ।

अन्यत्रजस्तै कैलाली डोटीतिर पनि वनमासुवा, काठबेचुवा ‘साधुराम’हरूको जगजगी होला । तिनलाई कसले रोक्ने ? हुन त मुलुक तस्करहरूकै बगलीमा छ । बहुदल र पञ्चायत छान्ने ३६ सालको जनमत सङ्ग्रहकालदेखि नै यस्तो तस्करीकरण सुरु भयो । त्यतिबेलै चितवनजस्ता तराईका चारकोसे झाडी र घना वन धुस्नो फाँडिए । तिनै र यिनै त हुन्, यो सुवर्णभूमि बिटुल्याउने ।

वन फँडानी भयावह भएपछि १८औँ शताब्दीमा राजस्थान (भारत) मा रुख कटान रोक्ने आन्दोलन नै चल्यो । अमृता देवीले नेतृत्व गरेको आन्दोलनमा उनका ३ छोरीसहित ३ सय ६३ जनाले मृत्युवरण गरे । सन् १९७० तिर उत्तराखण्डस्थित अलकनन्दा नदीमा बाढी आएर नरसंहार भएपछि चन्डीप्रसाद भट्ट, सुन्दरलाल बहुगुनाले ‘चिप्को आन्दोलन’ चलाए, जसलाई गौरा देवीले उचाइमा पुर्‍याइन् । त्यसरी उत्तराखण्डस्थित रैणी गाउँको वन फँडानी रोकियो ।

अचम्म ! त्यो आन्दोलन साँध कटेर कैलाली, डोटी वा नेपालका कुनै गाउँतिर छिरेन । यसैले त उहिलेदेखिका यी हरिया वन नाङ्गिएर उजाड हुँदैछन् । सदुपयोग हुनै सकेन, तराईको सालघारी वा पहाडी वन । बूढा–पुराना रुख ढलेर कुहेर मरेका छन्; युद्धभूमिको जङ्गलमा मान्छेका लाशका खातजस्तै ।

तथ्य भन्छ– देशले काठ बेचेर मात्रै वार्षिक खर्बौ रुपैयाँ कमाउन सक्छ । नर्वे, ब्राजिल र अरबका मरुभूमिबाट काठ आयात हुन्छ तर यता वन फँडानी मात्र हुन्छ । सदुपयोग हुँदैन । तस्करले वन–हत्या गर्छन् । नाङ्गा डाँडापाखामा वृक्षारोपण छैन । ती ठाउँ धुलो उड्ने खोरिया पल्टेका छन् । शहरीकरणले समेत वन फँडानी बढाउँदैछ । कैलालीका पहाडी गाउँ र डोटीतिर समेत वनछेउमै बजार बसेका छन् । केही वर्षभित्र पक्कै यी डाँडापाखाहरू बाढी–पहिरोले विक्षिप्त बनाउनेछ ।

चिराचिरा डाँडापाखा

पारिपारि देखिएका भीरतिर रागेपाटे बाटोका आकार छन् । ठाउँ–ठाउँमा पहिरो गएको छ । ढिस्को र डाँडो भत्केको छ । तलतिरको गाउँ मृत्यु कुरेर बसेको आभास हुन्छ । अचेल अध्ययन÷अनुसन्धानबिना भीर काटेर घरआँगनमा बाटो पुर्‍याएका छन् । डाँडाको धुरीमा डोजर उकालेका छन् । कुना–कन्दरामा मोटर पुग्दा ग्रामवासी कसरी हर्षित नहुनु ? विकासको स्वाद चाख्न पाउनु तिनको अधिकार हो तर यो ज्यानमारा धन्दा हो– हिटलरको मृत्युचेम्बरजस्तै । विज्ञानले जन्माएको इन्जिनियरिङ विद्या केका लागि ?

मनपरी ढुङ्गा, गिटी, बालुवा उत्खनन् गर्ने अर्काखाले तस्कर छन्– जसरी हुन्छ धर्तीको पेट चिरेका चिर्‍यै । पुल–पुलेसा हालेका छन् । जलविद्युत् आयोजना बनाएका छन् तर यो विकास पद्धति प्रकृतिको लयविरुद्ध छ । यसले हरिया डाँडापाखा नङ्ग्याएको छ । पानीका मूल सुकाएको छ । सुक्ष्म अध्ययन र पर्यावरणीय व्यवस्थापनबिनाको जलविद्युत् विकासले पनि धेरै ठाउँमा मूल सुकाएको छ । खानेपानी र सिँचाइको अभाव हुँदा बितेको असोजसम्म मुस्ताङको ‘ध्ये’ गाउँ विस्थापित भयो । देशैभरि बस्ती विस्थापितका घटना बढ्दैछन् ।

म अघिअघि यो बाटो हिँड्दा र यसपालिको अवस्था तुलना गर्छु । हिजोजस्तो केही छैन । डाँडाका थाप्लाबाट बुरबुर धुलो उडेको छ । भित्ताहरू उक्किएका छन् । ठाउँ–ठाउँमा बर्खेमात्र होइन, हिउँदे पहिरो गएको छ । कुन दिन झरीपछिको भेलबाढीले डाँडाहरू लतारेर तलतलै पुर्‍याउँछ । बस्तीहरू सोहोरेर लैजान्छ । मान्छेले किन नचेतेको होला ? एआईले ढाक्दै गएको दुनियाँमा चेतना र विवेकशील मन्दिरहरू भत्किँदै गएका हुन् त ?
घुम्तीबाटो ताकेर मोटर ओरालो हुर्रिएकै छ ।

दायाँबायाँ उसैगरी काठका गोलिया चाङ लागेका छन् । गणेशले एकैछिन मोटर बिसाए । यहाँ उता गोदावरीमाथिको वनमा जस्तो चराहरूको चीँचीँ–चूँचूँ छैन । ढुकुर र हलेसा बासेका सुनिँदैनन् । लामपुच्छ्रे उडेका छैनन् । एक–दुई कौवा काँकाँ गर्दै वायुमार्गमा पखेटा फिँजाउँदै छन् । आँखाले देखेसम्म वन खाली हुँदै गएको छ । तस्करहरूको लीला हेरिनसक्नु छ ।

मन कटक्क खान्छ । म हाँगामा बसेर विरह गाइरहेको रानीचरी हुन्छु –

वन वन्य र ग्राम्य जीवनको सेतु हो, जसले गाउँको जीवनमा प्राण भरिरहन्छ । वन मासिँदा वन्यजीवन सकिन्छ । चरा मर्छन् वा बसाइँ सर्छन् । चरा र वनसँग लोकजीवन बाँचेको हुन्छ । चराका गीत र किराहरूको किरिरीबाट लोकलय सिर्जना हुन्छ । तिनै लय ग्राम्य सुखदुःखका सुस्केरा बन्छन् । यी सकिएपछि लोकगीत र लोकसंस्कृति पनि मासिन्छन् । मानवजीवनको एउटा रैथानेपन सधैँका लागि मेटिएर जान्छ । गाउँ र लोकगीतबिनाको जीवन कस्तो होला ?

कालो धुँवा

यी दुर्दान्त दृश्यहरू हेर्दा–हेर्दा आँखा थाकेजस्ता भए ।

हृदयनेत्रले अर्को पाखोमा शहरतिर बेफिक्री मडारिएको कालो धुवाँ देखिरहेको छ । यस्तो धुवाँ घटाउने कर्ममा विश्व जुर्मुराएको छ । मोटर, रेल, हवाईजहाव चलाउने दूषित इन्धनको साटो सफा ऊर्जा प्रयोगको अभियान चलेको छ । नेपालले समेत बिजुली वाहन सञ्चालनमा ल्याइसक्यो ।
शहरको प्रदूषण र मोटरले मात्र होइन, अदृश्यरूपमा वनले पनि कालो धुवाँ फाल्छ ।

मान्छेलाई जस्तै रुख–बिरुवालाई पनि माया र स्याहार चाहिन्छ । नत्र, काठ कुहेर आउने दुर्गन्ध (कार्बन र मिथेन ग्यास) ले वन्य तथा चल प्राणीको आयुमा कैँची चलाउँछ । खडेरी बढ्दै गएपछि पात–पत्कर सुक्छन् र मानवीय असावधानी वा चट्याङले डढेलो लाग्छ । वन डढेर उड्ने कार्बन–डाइअक्साइड, कार्बन–मोनोअक्साइड र अन्य हरितगृह ग्यास वायुमण्डलमा नाच्दै हिमालतिर पुगेर थकाइ मार्छन् ।

उता संसारकै फोक्सो (विश्वलाई चाहिने कूल अक्सिजनमध्ये २० प्रतिशत उपलब्ध हुने अनुमान) भनिने अमेजन वन पछिल्ला दशकमा तीव्र गतिमा फँडानी हुँदैछ । ब्राजिलसहित ९ दक्षिण अमेरिकी देशमा फैलिएको वनले विश्व–जलवायु सन्तुलनमा राख्न ९० अर्बदेखि १४० अर्ब मेट्रिक टन कार्बन सोस्छ । जसले वर्षको ७० खर्ब मेट्रिक टन पानी वायुमण्डलमा पठाउँछ, त्यसमध्ये ५०–७५ प्रतिशत वर्षाको रूपमा पुनः वनमै वर्षिन्छ । ‘प्रकृति संरक्षणका लागि विश्वकोष (डब्लूडब्लूएफ)’ को अध्ययनले भन्छ– वन फँडानी र डढेलोका कारण सन् २००० देखि यहाँको पानी पर्ने दरमा ६९ प्रतिशतले कमी आएको छ । यही गतिमा फँडानी भइरहे सन् २०३० सम्म अमेजन वनको २७ प्रतिशत भूमि रुखविहीन हुनेछ ।

अतः पृथ्वीबाट पानीका स्रोत रित्तिँदैछन् । नेपालमात्र होइन, संसार नै पानी–सङ्कटले काकाकुल हुँदैछ । नदीहरू समुद्रसम्म नपुगी बिलाउँदै छन् । ताल र जलाधार क्षेत्रहरू खुम्चिएका छन् । प्रमुख शहरहरू पानी अभावमा छटपटाउँदै छन् । ताजा पानी र जमिनमा बस्ने जीवका अनेक प्रजातिको विलोपीकरण पाँच गुणा बढेको तथ्य छ । आफ्नै पुस्ताहरूको चिहान खनिरहेको मान्छे एकाएक झस्केर पर्यावरण, थलीय र जलीय चक्रको उपचारमा जुटेको छ ।

संयुक्त राष्ट्र सङ्घीय पक्ष राष्ट्रहरूको बैठक (कोप) मा यसबारे घनिभूत बहस र विमर्श भइरहेको छ । विश्वका कुनै न कुनै देशमा दिनैपिच्छे वातावरण संरक्षण, सफा ऊर्जा प्रयोग र हरित हाइड्रोजन विकासका बहस छुटेका छैनन् । नेपालले पनि यही लय समात्दैछ । अन्तर्राष्ट्रिय मञ्चहरूमा कालो धुवाँ उत्सर्जन एवम् जलवायु परिवर्तनका मुद्दा जोडतोडले उठाउँदै छ ।

विश्व कार्बन उत्सर्जनमा नेपालको योगदान जम्मा ०.०२७ प्रतिशत छ तर असर भोग्ने १०औँ अग्रदेशमा पर्छ । औद्योगिक विकासको शिखरमा पुगेका देशहरूको शिकार भएको छ, नेपाल । ठोस तथा तरलजन्य धुलोका कण, वायु प्रदूषण र कालो धुवाँले हिन्दूकुश हिमालय पर्वतमाला तात्नेक्रम तीव्र छ । हिमतालहरू विस्तारित भएर फुट्ने खतरा बढ्दैछ । अध्येताहरू भन्छन्– सन् २१०० सम्म विश्वका ४६ प्रतिशत हिमताल र हिउँको मात्रा घट्नेछ ।

दुबई र अजरबैजानको बाकुमा भएको कोप-२८औँ र २९औँ बैठकले मूलतः हिमालमा परेको असर र पानी संरक्षणमा जोड दियो । चीन र भारतजस्ता भीमकाय देशबाट उत्सर्जित कालो धुवाँले नेपाली हिमालहरू झन् तीव्र गतिमा पग्लिरहेका छन् । हिउँ पानीको रूपमा रसाएर जमिन भित्रभित्र बग्न कम हुँदा पहाडी खोच र पाखा–पखेरा रसिला हुन छोडेका छन् ।

यी दृश्यहरूको स्मरणले म भविष्य कल्पेर कहालिन्छु –

जथाभावी जङ्गल मास्नु, ज्यामितीय अध्ययनबिना भीर भत्काउनु र खोला लयमा बग्न नदिनु ध्वंस हो । मान्छे प्रकृतिसँग जिस्किँदा पृथ्वीको सुर बेसुरा भएको छ । क्षणभङ्गुर मान्छेले अनन्त चलायमान धरामाथि धावा नबोलोस् । यो भूस्वर्ग उजाड हुनबाट जोगाउन बूढा–पुराना रुख उपयोग गरौँ । वन फँडानी रोकौँ । हिमाल जोगाऊँ, हिमताल संरक्षण गरौँ । हिमाली पाटन, पहाडी थुम्काथुम्की र तराईका मैदानमा पानीका भकारी (पोखरी) बनाऊँ; जसबाट जमिन रसाइरहोस् । संसारमा सबै चिजको विकल्प होला, जीवनका लागि पानीको विकल्प छैन । अतः पानीशास्त्र पढौँ र बुझौँ ।

जागौँ, उठौँ

हृदयले बाचेको पुराण मनले मात्र सुन्यो । अरू कसले सुन्नु !

म डाँडाबाट बेँसीतिर बेगिने हुर्हुरे बतासजस्तै बत्तिएकै छु । डोटीको बुडर पुग्दा मन मत्थर भयो, थकित र गलित पनि । गुजुमुच्च त कतै पातला घर, डाँडाको बैँसालु थुम्केबजार भने हुने । गौँडैनिर अर्धकदमा मौन बसिरहेका शहीद भीमदत्त पन्त भेटिन्छन् । उनलाई नमन गरेर हामी अगाडि गुड्यौँ ।

बजारको पल्लो टुँडोमा नपुग्दै देखियो– तीनजना युवतीहरू रित्ता गाग्री कम्मरमा अड्याएर ओरालो झर्दैछन् । ती कतै तल्तिर धारो भेट्न वा मूल उघाउन झरेका होलान् । मेरो दृष्टिमा बाटाका दुवै छेउमा रित्ता गाग्रीको लाइन देखिन्छन् । मोटरको हर्नले छिनमै झल्याँस्स हुन्छु ।

छड्के, तर्पाएँ र सरलरेखामा हुइँकाउँदै गणेशले मोटर स्याउलीबजार उकालिसकेका छन् । मोटर सुस्ताउँछ । फुत्त ओर्लेर मैले वारिपारि आँखा नचाउँछु । उत्तरका डाँडाहरूमा सेतो कुहिरो अर्धनिद्रामा सुतिरहेको छ । नीलगगनमा पानी रित्तिएका बादलहरू पिङ खेलिरहेका देखिन्छन् । यहाँबाट दाहिने मोडिएपछि सिलगडी गइन्छ । बझाङ जान हामी देब्रे डडेल्धुराको उकालो चढ्नु छ । मोटरले डडेल्धुरा ताकिरहँदा हावाको तालसँग मैले एक टुक्रा डेउडा गुनगुनाएँ –

डोटी राम्रो डडेल्धुरा, अछाम राम्रो साँफ्या
मलाई पन उडाई लैजा हिउँचुलीका डाँफ्या ...

हिमालमा हिउँ रित्तियो भने डाँफेको बासस्थान पो कहाँ रहला ? यो गीतको भाव र मर्म शब्दमा मात्र कुँजिएर बस्ला तर त्यसो हुनु हुँदैन । विकासको चुली चुमेका देशले औद्योगिक उधुम गरेर कालो धुवाँ ओकलेका छन् । फलतः पानीको मूल स्रोत नेपालका चमचमाउँदा हिमालहरू पग्लिँदैछन् । ती देशसँग क्षतिपूर्ति असुलेर हिमाल, हिमताल र पर्यावरण बचाउन आजैबाट जागौँ । नत्र नेपाली हामी रहौँला कहाँ, हिमालै नरहे !

प्रतिक्रिया दिनुहोस

लक्ष्मण वियोगी

जलस्रोत, ऊर्जा तथा समसामयिक आर्थिक क्षेत्रमा केन्द्रित रहेर कलम चलाउने वियोगी सम्पादक हुन् ।

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३