काठमाडौँ । नेपाल विदुत् प्राधिकरणले इनरुवा–अनारमनी ४०० केभी लाइन निर्माण गर्ने भएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा ४००/२२०/१३२ केभी सबस्टेसनदेखि मोरङहुँदै झापाको हल्दिबारी गाउँपालिका–१ मा प्रस्तावित नयाँ अनारमनी ४००/१३२ केभी सबस्टेसनसम्म ८९.६१२ किलोमिटर डबल सर्किट लाइन निर्माण गर्ने भएको हो । यसका लागि प्राधिकरणले अनुमति पत्रको माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएको छ ।
विभागका अनुसार यस प्रसारण लाइनअन्तगत इनरुवा सबस्टेशनमा ४०० केभिका ४ वटा ‘बे’ विस्तार गर्ने र नयाँ अनारमनी सबस्टेशनमा ३१५ एमभिए, थ्री–फेजको २ वटा ४००/१३२ केभीको पावर ट्रान्सफर्मर रहने गरी सबस्टेसन निर्माण गरिने छ । एसिएसआर ‘क्वाड माउस कन्डक्टर’ जडान गरिने लाइनअन्तर्गत २३७ वटा टावर निर्माण गरिनेछन् । टावरको उचाई ५० देखि ६० मिटर र टावरबीचको दूरी औषत ३८९ मिटर रहने छन् । प्रसारण लाइनको टावर निर्माण गर्न ३०.४२५ हेक्टर र मार्गाधिकार क्षेत्रभित्र ३८८.५१७ हेक्टर आवश्यक पर्नेछ ।
प्रसारण लाइनबाट २ हजार ६०० मेगावाटसम्म विद्युत् प्रसारण गर्न सकिने छ । ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना निर्माण गर्दा वातावरणमा कुनै उल्लखनीय प्रभाव पर्ने देखिए ३५ दिनभित्र लिखित राय–सुझाव तथा प्रतिक्रिया पेश गर्न विभागले सम्बन्धित सरोकारवाला समैलाई आग्रह गरिएको छ ।