२०६५ सालको असोज/कात्तिकको समय, विश्वलाई चकित पार्ने गरी तीव्र आर्थिक प्रगति गरिरहेको छिमेकी मुलुक चीनको पहिलो पटक भ्रमण गर्ने सुअवसर मिल्यो । संसारकै सबैभन्दा ठुलो जलविद्युत् केन्द्र (प्लान्ट), निर्माणाधीन एक जलविद्युत् आयोजना र अन्य केन्द्रहरूको अवलोकन भ्रमण तथा केही पर्यटकीयस्थलको भ्रमण गर्ने मुख्य उद्देश्यअनुसार हाम्रो टोलीले २०६५ साल असोज २० गते नेपाल छोडेको थियो। भ्रमण टोलीमा नेपाल विद्युत् प्राधिकरणका ११ जना सहभागी थियौँ।
पहिलो दिन
पहिलो दिन काठमाडौँबाट ल्हासा हुँदै चीनको दक्षिण-पश्चितमस्थित सिचुआन प्रान्तको राजधानी चेङ्दु पुग्यौँ। त्यहाँ हाम्रो टोलीलाई लिन परामर्शदाता नरकन्सल्टका डा. जिपिङ ह्वाङ आएका थिए।
दोस्रो र तेस्रो दिन
बिहान नास्तापछि हामी त्यहाँको एक हाइड्रोपावर कम्पनी ‘हुआनेङ सिचुआन हाइड्रोपावर कम्पनी’को चेङ्दुस्थित सुपरभिजन केन्द्र गयौँ। सो कम्पनीले सियाङटिआन्दु (२४० मेगावाट) र लेङझुगुआन (१८० मेगावाट) जलविद्युत् केन्द्रहरू निर्माण गरी सञ्चालन गरिरहेको रहेछ। करिब ३०० कि.मि. टाढा रहेका ती दुई केन्द्रहरूको सुपरिवेक्षण र नियन्त्रण त्यही सुपरभिजन केन्द्रबाट हुँदोरहेछ। केन्द्रको नियन्त्रण कक्षमा रहेका कम्प्युटरहरूको स्क्रीनमा केन्द्रहरूबाट उत्पादन भइरहेको विद्युत्को तथ्याङ्क र सिसिटिभीको मद्दतबाट बाँध, विद्युत्गृह, टर्बाइन, जेनेरेटर कक्षहरू आदिका गतिविधिहरू अवलोकन गरिदोँरहेछ। त्यहाँ उक्त केन्द्रका प्रमुख र अन्य पदाधिकारीसँग करिब १ घन्टा छलफल भयो। कम्पनीले चेङ्दुको विद्युत् सप्लायर कम्पनीलाई बिजुली बिक्री गर्दारहेछ। वर्षको तीन याम र दिनको पनि तीन समय-खण्ड अनुसार विद्युत् खरिद-बिक्री दर फरक फरक हुने कुरा उनीहरूले बताए।
त्यसपछि कम्पनीका एक प्राविधिक झाङ लियाङसँगै केन्द्रहरू भएको ठाउँ कान्दिङ काउण्टीतर्फ लाग्यौं, जुन ठाउँ चेङ्दु सहरबाट पश्चिम दिशामा पर्दोरहेछ। करिब साढें ४ घन्टाको यात्रापश्चात् साँझ दादू नदीको दायाँ किनारमा रहेको कम्पनीको साइट कार्यालय र आवासगृह परिसरमा पुग्यौँ। पहाडको बेंसी, नदी किनारै किनार हुँदै एर्लाङ पहाडमा बनाइएको ४.२ कि.मि. लामो सुरुङमार्ग समेत पार गरी फेरि ओरालो झर्दै दादु नदीकिनारस्थित लुदिङ सहर हुँदै हामी त्यहाँ पुगेका थियौं।
भोलिपल्ट बिहान सियाङटिआन्दु र लेङझुगुआन केन्द्रहरूको बाँधस्थलतर्फ प्रस्थान गर्यौँ। ती केन्द्रहरूले दादूको सहायक वाशी नदीको पानी प्रयोग गर्ने रहेछन् भने विद्युत् उत्पादनपछि पानी तल्लो केन्द्रको टेलरेसबाट दादू नदीमा मिल्दो रहेछ। हामी सुरुमा सियाङटिआन्दुभन्दा पनि माथि रहेको कान्दिङ सहरतिर गयौँ। परापूर्वकालमा निकै लामो कालखण्डसम्म तिब्बती र चिनियाँहरूको ठूलो व्यापारिक केन्द्र रहेको यही सहर भएर सिचुआन-तिब्बत राजमार्ग (चेङ्दुदेखि ल्हासासम्म २,१४९ कि.मि.) जाँदो रहेछ। उक्त सहरमा चिनियाँ र तिब्बती संस्कृतिको मिश्रित रूप देख्न पाइयो। उक्त सहरको सबैभन्दा माथिल्लो भागमा सन् ८६७ मा निर्मित ऐतिहासिक विशाल नमो बौद्ध गुम्बा पुगेर भगवान बुद्धको विशाल मूर्तिको दर्शन गर्यौँ।
त्यसपछि केन्द्रहरूतिर फर्क्यौं। बाटामा साना ठुला बग्रेल्ती जलविद्युत् केन्द्रहरू देखिए। कुनै त धेरै पुराना देखिन्थे। सडकमार्गबाटै सियाङटिआन्दु बाँध हेर्यौँ। उक्त बाँधबाट खोलामा भएको सबै पानी विद्युत्गृहतर्फ पठाइएको थियो। त्यसपछि हामी सो केन्द्रको भूमिगत विद्युत्गृहतर्फ गयौँ। त्यहाँ टर्बाइन जेनेरेटरहरू रहेका भित्री कक्षहरू, सुरुङहरू, विद्युत्गृहको संरचना, टेलरेस आदि अवलोकन गर्यौँ। तीन वटा युनिटहरू रहेको उक्त केन्द्रबाट सन् २००५ देखि विद्युत् उत्पादन सुरु भएको रहेछ। त्यस केन्द्रको हेड ३५८ मिटर, डिजाइन डिस्चार्ज ७८ घ.मि. प्रति सेकेण्ड र सुरुङको लम्बाइ ६ कि.मि. रहेछ। विद्युत्गृहको निरिक्षणपश्चात् कन्ट्रोल रुम निरिक्षण गर्यौँ।
त्यसपछि दोस्रो केन्द्र लेङझुगुआन केन्द्रको बाँधतर्फ गयौँ, जुन एक मिनेटको गाडी दूरीमा रहेछ। सन् २००१ मा निर्माण सम्पन्न भएको सो केन्द्रको बाँध अघिल्तिर दैनिक पिकिङ जलाशय रहेछ। त्यहाँ बाँधको विभिन्न संरचनाहरूको डिजाइन र कार्यप्रणालीहरूको जानकारी लियौं। त्यसपछि केन्द्रको भूमिगत विद्युत्गृहतर्फ लाग्यौँ । त्यहाँ मेसिन हल, टर्बाइन जेनेरेटरहरू आदि अवलोकन गर्यौँ।
विद्युत्गृह जाने प्रवेश सुरुङको दायाँबायाँका भित्ताहरूमा निर्माणताकाका विभिन्न चरणका फोटोहरू, देशका ठुला नेताहरू निरिक्षण हुँदाका फोटोहरू, केन्द्रको लेआउट र टर्बाइन जेनेरेटरहरूका नक्शाहरू तथा निर्माण र सञ्चालनमा कार्य गरेका कर्मचारीहरूको पासपोर्ट फोटोहरू लहरै आकर्षक ढङ्गले राखिएका थिए। त्यहाँ भ्रमणकर्ताहरूले हस्ताक्षर गर्नको लागि एउटा कागजको बोर्ड पनि ठड्याइएको थियो, जहाँ मैले पनि नेपालको नाम र मितिसहित हस्ताक्षर गरेँ ।
विद्युत्गृहको अवलोकनपश्चात् आवास परिसरमा आएर खाना खायौं अनि चेङ्दु सहरतर्फ फर्क्यौं। बाटामा लुदिङ सहर नजिकै दादु नदीमै एउटा अर्को ठूलै निर्माणाधीन जलविद्युत् आयोजना सडकबाटै अवलोकन गर्यौँ। एर्लाङ पहाड कटेर आएपछि यतातिर पनि साना ठुला करिब एक दर्जन जलविद्युत् केन्द्रहरू बाटामा देख्न पायौँ।
चौथो दिन
असोज २३ गते चेङ्दु सहरको पश्चिम-उत्तर दिशामा करिब ५५ कि.मि. टाढा रहेको प्राचीन “दुजियाङ्गयान (Du-jiang-yan)” सिँचाइ प्रणाली अवलोकन गर्न गयौँ। उक्त सिँचाइ प्रणाली ईशापूर्व २५६ मा निर्माण भएको रहेछ। २,२०० वर्षभन्दा अघिदेखि हालसम्म सुचारुरूपमा सञ्चालन भइरहेको त्यस प्रणालीले चेङ्दुको विशाल फाँटलाई बाढी र सुक्खाबाट मुक्ति दिलाउने गरिरहेको रहेछ। यसले ६ लाख हेक्टर जमिनमा सिँचाइ उपलव्ध गराउने रहेछ।
दुईवटा कारणहरूले गर्दा त्यस सिँचाइ प्रणाली शताव्दियौंदेखि निरन्तर चलिरहेको रहेछ: (क) पहिलो त्यसको हेडवर्क्सको उपयुक्त लेआउट र डिजाइन जसले पानी डाइभर्सन गर्ने तथा बाढी र बालुवा नियन्त्रण गर्ने रहेछ भने (ख) दोस्रो प्रभावकारी मर्मतसम्भार र व्यवस्थापन प्रणाली। हेडवर्क्स क्षेत्र समेट्ने गरी सरकारले पार्क समेत निर्माण गरेको र युनेस्कोले त्यस हेडवर्क्स पार्क लगायत क्षेत्रलाई सन् २००० मा विश्व सम्पदा सूचीमा पनि राखेको रहेछ। त्यो क्षेत्र एउटा आकर्षक पर्यटकीय क्षेत्रसमेत रहेछ। त्यस सिँचाइ प्रणालीको हेडवर्क्स र सिँचाइ प्रणाली अवलोकन गर्दा चिनियाँ सभ्यता कति पुरानो र विकसित रहेछ भन्ने कुरा अनुभूति भयो।
पाँचौं र छैंठौं दिन : सियाङजियावा आयोजना (६,००० मेगावाट)
असोज २४ गते बिहान सबेरै हामी निर्माणाधीन सियाङजियावा ज.वि.आ. तर्फ प्रस्थानको लागि तयार भयौं। थ्री गर्जेज बनाएको कम्पनी चाइना थ्री गर्जेज प्रोजेक्ट कर्पोरेशनले सियाङजियावा आयोजना निर्माण गरिरहेको रहेछ। हामीलाई त्यसको अन्तर्राष्ट्रिय सम्बन्ध विभागकी सु वेई अघिल्लो दिन नै गाडीसहित चेङ्दु आएकी रहिछिन्। हामी सबै उनैको गाडीमा चढेर आयोजनास्थलतर्फ लाग्यौँ । आयोजनास्थल पुग्न करिब साढें ३ घन्टा लाग्यो।
सियाङजियावा आयोजना चेङ्दु सहरबाट दक्षिण दिशातिर करिब ३०० कि.मि. टाढा सिचुआन प्रान्तको यिविन काउण्टी र युनान प्रान्तको सुइफु काउण्टीको सीमामा चीनको सबैभन्दा लामो नदी याङसी नदीमा पर्दोरहेछ। याङसी नदीलाई यिविन काउण्टीदेखि माथिल्लो खण्डमा जिन्शा नदी पनि भनिदोँरहेछ। ६,३०० कि.मि. लामो याङसी नदी एसियाकै सबैभन्दा लामो नदी पनि हो। यो नदीमा वार्षिक ४५१ अर्ब घनमिटर पानी बग्दोरहेछ, जुन नेपालको सबै नदी नालाहरूमा वार्षिक बग्ने कुल पानीको दुई गुणाभन्दा बढी हो। थ्री गर्जेज केन्द्र पनि यही याङसी नदीमा यस आयोजनाभन्दा करिब १,००० कि.मि. तल्लो तटीय क्षेत्रमा पर्दो रहेछ।
दिउँसोको खानापछि भव्य, आकर्षक र योजनाबद्ध किसिमले बनाइएको आयोजनाको कार्यालय परिसरतर्फ लाग्यौँ । बैठक कक्षमा आयोजनाका उच्च अधिकारी र इञ्जिनियरले आयोजनाको बाँध, भूमिगत विद्युत्गृहलगायत अन्य भौतिक संरचनाहरूको डिजाइन, आयोजना र करार व्यवस्थापन, गुणस्तर नियन्त्रण प्रणाली, पुर्नवास योजना, आयोजनाको आर्थिक र वातावरणीय पक्षहरूको बारेमा प्रस्तुतीकरणहरू प्रस्तुत गरे। आयोजनाको जलाशयबाट प्रभावित हुने करिब १,३०,००० व्यक्तिलाई पुर्नवास गर्ने योजना रहेको कुरा पनि उनीहरूबाट थाहा पायौँ। त्यसपछि कम्पनीले निमन्त्रणा गरेको डिनरमा सहभागी भयौं।
निर्माण सम्पन्न भएपछि सियाङजियावा आयोजना चीनको चौथो ठुलो जलविद्युत् आयोजना हुने रहेछ। आयोजनाको ऋण लगानीकर्ता, ठेकेदार, इञ्जिनियर र व्यवस्थापक सबै चिनियाँ रहेछन्। थ्री गर्जेज प्रोजेक्टको निर्माणका क्रममा प्राप्त अनुभवले यस्ता ठुला जलविद्युत् आयोजनाहरूको डिजाइन र निर्माणमा उनीहरू सक्षम भइसकेका रहेछन्। यद्यपि केही नर्वेजियन विज्ञहरूको परामर्श चाहिँ लिइएको रहेछ। यस आयोजनाको लागि आवश्यक इलेक्ट्रोमेकानिकल उपकरणहरू सबै चीनमा नै डिजाइन र उत्पादन गरिदैंरहेछ। सन् २००६ को अक्टोवर महिनामा सुरु भएको यो आयोजना सन् २०१५ भित्र सम्पन्न गर्ने लक्ष्य रहेछ। यो आयोजना बहुउद्देश्यीय आयोजना हो, जसमा विद्युत् उत्पादन, बाढी नियन्त्रण, सिंचाई र जलयातायात पर्दछन्। आयोजनाको बाँधको लम्बाई ९०९ मिटर र उचाईं १६१ मिटर रहनेछ। भूमिगत विद्युत्गृहको लम्बाई, चौंडाइ र उचाई क्रमशः २५५ मि., ३३.४ मि. र ८५.५ मि. रहेछ। विद्युत्गृहमा ७५० मे.वा. का ८ वटा युनिटहरूबाट ६,००० मेगावाट र बार्षिक ऊर्जा ३०.७ अर्ब युनिट (अर्थात् ३०,७०० गिगावाट घन्टा) उत्पादन हुने रहेछ। आयोजनाको लागत अनुमान ३.७ अरब अमेरिकी डलर रहेको छ।
भोलिपल्ट बिहान सुरुमा निर्माण भइरहेको बाँधको देब्रे खण्ड अवलोकन गर्न गयौँ। बाँधको दुवै किनारका पहाडका भागहरू डिजाइन अनुसार खारिसकिएका थिए। कफरड्याम बनाएर दायाँ किनारतर्फबाट नदीलाई पठाइएको थियो भने बाँया किनारमा बाँधको देब्रे खण्डको निर्माण भइरहेको थियो। नदीको दाहिने किनारको अग्लो भागमा अवस्थित व्याचिङ केन्द्रमा कङ्क्रिट तयार गरिनेरहेछ। त्यहाँ तयार भएको कङ्क्रिट ठुला ठुला होप्परहरूमा हाली नदीको दुवै किनाराको अग्लो भागहरूमा वारिपारि तानिएका लामा लामा केवलहरूद्वारा निर्मित संसारकै सबैभन्दा लामो स्प्यान भएको हराइजण्टल्ली मुभिङ केबल क्रेनको मद्दतबाट निर्माणाधीन बाँधमा कङ्क्रिट खन्याइँदोरहेछ। बाँधको मुख्य भागमा कङ्क्रिट गर्दा उच्च दरले कङ्क्रिटिङ गर्नुपर्ने भएकोले त्यसको लागि बाँधको दाहिने किनारासंगै रहेको तल्लो भागमा विशाल व्याचिङ केन्द्रहरू बनाउने तयारी गरिँदै थियो।
त्यसपछि नदीको दायाँ किनारमा निर्माणाधीन भूमिगत विद्युत्गृहस्थलको भ्रमण गर्न गयौँ। उक्त विद्युत्गृहको अवलोकन क्षेत्रबाट निर्माणकार्यको अवलोकन गर्यौँ। विद्युत्गृह खन्ने कार्य निकै रफ्तारका साथ भइरहेको थियो। खन्ने कार्य विद्युत्गृहको तल्लो भागमा पुगिसकेको रहेछ। त्यहाँ हामीहरूलाई आयोजनाका प्राविधिकहरूले खन्ने कार्यका विभिन्न चरणहरू, खनिएका भागहरूलाई बलियो बनाउन अपनाइएका विधि र प्रक्रियाहरूका बारेमा जानकारी गराए। अवलोकन क्षेत्रमा अवलोकनकर्ताहरूको लागि ठुल्ठुला बोर्डहरूमा आयोजनाका संरचनाहरूका नक्शाहरू राखिएका थिए।
त्यसपछि हामी कङ्क्रिट तयार गर्ने व्याचिङ केन्द्रतिर हानियौं। त्यहाँबाट बाँधस्थल लगायत नजिकैको सहर, आयोजना कार्यालय परिसर सबै देख्न सकिन्थ्यो। त्यहाँ हामीले कङ्क्रिट उत्पादनको बारेमा जानकारी हासिल गर्यौँ। तत्पश्चात् हामी व्याचिङ केन्द्रको माथिल्लो क्षेत्रमा रहेको क्रसर केन्द्रतर्फ गयौँ। गिट्टीबालुवा उत्पादनको लागि गुणस्तरीय ढुङ्गा आवश्यक परिमाणमा निर्माणस्थल वरिपरि नभएको हुनाले करिब ३१ कि.मि. टाढा रहेको खानीबाट ल्याइदोँरहेछ। ४ मिटर चौंडाइ र ५ मिटर उचाइ भएको करिब २९.५ कि.मि. सुरुङको निर्माण गरी कन्भेयर बेल्टको मद्दतबाट उक्त खानीबाट ढुङ्गाहरू ल्याइदोँरहेछ। काठमाडौँबासीलाई खानेपानी जस्तो अत्यावश्यकीय सेवा आपूर्ति गराउन परिकल्पना गरिएको २७.५ कि.मि. मेलम्ची सुरुङ निर्माण सुरु गर्न नै महाभारत भइरहेको हामीलाई ढुङ्गाहरू ओसार्न मात्र बनाइएको त्यस्तो सुरुङ निर्माण र व्यवस्थापनबाट हामी अत्यन्त चकित र प्रभावित भयौं।
त्यसपछि हामी क्रसर केन्द्रको नियन्त्रण कक्षमा पनि गयौँ। त्यहाँ सिसिटिभीको मद्दतबाट ढुङ्गा खानीदेखि क्रसर केन्द्रसम्मका मुख्य मुख्य स्थानहरूका गतिविधिहरू स्क्रिनमा देखिने रहेछ। वातावरण बचावट र जल संरक्षणको लागि क्रसर केन्द्रबाट निस्कने फोहोर पानीलाई पुर्नप्रयोग गर्न गरिएको व्यवस्थापनबाट पनि प्रभावित भयौं। क्रसर केन्द्रबाट निस्कने फोहोर पानीलाई पम्पिङ गरी नजिकैको ठूलो खोल्सीमा बनाइएको जलाशयमा पठाई बालुवा र सिल्टहरूलाई थिगारिदोंरहेछ। त्यहाँ प्राकृतिक तवरबाट सफा भएपछि सफा पानी पुनः क्रसर केन्द्रमा पठाइँदो रहेछ। क्रसर केन्द्र लगायत आयोजनाका मोटरबाटोहरू सबै कङ्क्रिटिङ गरिएका रहेछन्। बाटाका दायाँ बायाँ हरियाली बनाइएको थियो। निर्माणस्थल भएपनि सबै बाटाहरू सफा सुग्घर थिए।
सातौं दिन : चेङ्दु सहरको केही पर्यटकीयस्थलको भ्रमण
चेङ्दु सहर आउने जाने भइरहेपनि सो सहर भने घुम्न पाइरहेका थिएनौं। सातौं दिन दिनभर सहरभित्र रहेको विश्व प्रसिद्ध पाण्डा पार्क र अन्य ऐतिहासिक दरबार क्षेत्र भ्रमण गर्ने तय भएको थियो। चेङ्दु सहर चीनको दक्षिण पश्चिम क्षेत्रको औद्योगिक र व्यापारिक केन्द्र रहेछ। त्यहाँको विकास, रहनसहन र फेसन हेर्दा निकै आधुनिक सहर भएको अनुभूति भयो। हामीलाई घुमाउन ट्राभल एजेन्सीका एक पुरुष गाइड बिहानै होटलमा आएका थिए। हामी सर्वप्रथम विश्वमा नै दुर्लभ हुँदै गएको वन्यजन्तु पाण्डाहरूको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको पाण्डा पार्क गयौँ। ती गाइडले ‘पाण्डा’ शब्दको उत्पत्ति नेपालबाट भएको भन्दै थिए।
त्यसबारेमा हामी सबै भने अनभिज्ञ थियौं। पार्क विशाल रहेछ, त्यहाँ राता, सेता पाण्डाहरू देखिए । पाण्डाहरूको बसोबासको लागि प्राकृतिक वातावरण बनाइएको रहेछ। त्यहाँ विदेशी पर्यटकहरू हुलका हुल आइरहेका थिए। त्यहाँ पाण्डाहरूको संग्रहालय, अनुसन्धान केन्द्र र गर्भाधारण गर्ने छुट्टाछट्टै भवनहरू रहेछन्। त्यसपछि हामी प्राचीन तथा मध्यकालीन राजा रजौटाहरूको ऐतिहासिक दरबार परिसर घुम्यौं। त्यसपश्चात् आठौँ शताब्दीतिरतिरका चीनको प्रख्यात कवि तु फुको ऐतिहासिक आवास क्षेत्र अवलोकन गर्यौँ।
आठौं दिन : दोङफाङ इलेक्ट्रिक मेशिनरी
आठौं दिन (असोज २७) मा चेङ्दुबाट ६० कि.मि. उत्तर स्थित सानो सहर देयाङमा रहेको दोङफाङ इलेक्ट्रिक मेशिनरी कम्पनी अवलोकन गर्न गयौँ। हामी त्यहाँ पुगेको दिन सो कम्पनीको ५० औं बार्षिकोत्सवको दिन परेको हुनाले त्यहाँ बिदा रहेछ। त्यहाँ हामीलाई स्वागत गर्न एक जना महिला र एक जना पुरुष उच्च अधिकारी उपस्थित थिए। उनीहरूले स्वागत कक्षमा राखिएको फ्याक्ट्रीको आकर्षक मोडेलमा फ्याक्ट्रीका विभिन्न संरचनाहरूको जानकारी दिए। उक्त कक्षमा देशका ठुला नेताहरू फ्याक्ट्री निरिक्षणका क्रममा आउँदा लिइएका फोटोहरू तथा टर्बाइन र जेनेरेटरहरूका विभिन्न फोटोहरू भित्ताहरूमा टाँगिएका थिए। त्यस्तै, शिशाबाट बनाइएका टर्बाइनका आकर्षक मोडेलहरू अवलोकनको लागि राखिएका थिए।
त्यसपछि हामी सबै हेल्मेट लगाएर टर्बाइन र जेनेरेटरहरू बनाइरहेको फ्याक्ट्री कक्षतर्फ लाग्यौँ। बिदाको दिन भए पनि सुरु गरिसकिएको टर्बाइन बनाउने कार्य रोक्न नमिल्ने भएको हुनाले त्यहाँ केही कामदार टर्बाइन बनाउने कार्यमा खटिरहेका थिए। त्यहाँ फोटो खिच्न अनुमति थिएन। त्यहाँ भिमकाय आकारका टर्बाइन र जेनेरेटरहरू बनिरहेका थिए। सन् १९५८ मा स्थापना भएको यस कम्पनी हाइड्रोपावर मात्र नभएर वाष्पीय र न्युक्लियर टर्बाइनहरू बनाउने चीनकै सबैभन्दा ठूलो कम्पनी रहेछ। यस कम्पनीले त्यसबेलासम्म १,७०,००० मेगावाट जेनेरेटिङ इक्विप्मेण्ट बनाइसकेको जानकारी उनीहरूले दिए। कम्पनीले हाइड्रोपावरमा ७०० मेगावाटसम्मको एक्लो टर्बाइन युनिट बनाउन सक्ने क्षमता विकसित गरिसकेको रहेछ। कम्पनीले चीन मात्र नभएर २० भन्दा बढी राष्ट्रहरूमा जेनेरेटिङ इक्विप्मेण्ट पठाइसकेको रहेछ।
सोही दिन साँझ थ्री गर्जेज रहेको ठाउँ हुवेई प्रान्तको यिचाङतर्फ जाने कार्यक्रम भएअनुसार साँझ ८:३० बजे चेङ्दुबाट पूर्वमा रहेको उक्त ठाउँतर्फ हवाईजहाजबाट प्रस्थान गर्यौँ।
नवौं दिन : थ्री गर्जेज प्रोजेक्ट (Three Gorges Project)
बिहानको नास्ता लिइसकेपछि हामी थ्री गर्जेज प्रोजेक्ट (Three Gorges Project, छोटकरीमा TGP) तिर प्रस्थान गर्यौँ। संसारकै सबैभन्दा ठूलो र अद्भुत इञ्जिनियरिङको बृहत् संरचना प्रत्यक्ष देख्ने कुराले हामी सबैमा एक प्रकारको कौतुहलता र उत्सुकता भइरहेको थियो। बाँधस्थल पुग्नु करिब १० मिनेट यतै रहेको कार्यालयमा TGP बारेमा जानकारी गराउने कार्यक्रम रहेको हुनाले हामी कार्यालय परिसरमा रोकियौं। त्यहाँ सियाङजियावा आयोजनामा हामीलाई सहयोग गर्ने सु वेई र अन्य पदाधिकारी स्वागत गर्न आए। बैठक कक्षमा हामीलाई TGP को बारेमा जानकारी दिए।
उनीहरूले TGP को निर्माणदेखि वर्तमान समयसम्मका गतिविधिहरू, TGP को प्राविधिक, आर्थिक, वातावरणीय, व्यवस्थापकीय, करार व्यवस्थापन, गुणस्तर नियन्त्रण, सुरक्षा व्यवस्थापन लगायत अन्य विविध पक्षहरूको बारेमा जानकारी दिए। त्न्ए को सुचारु निर्माण सञ्चालनको लागि देशकै प्रधानमन्त्रीको अध्यक्षतामा थ्री गर्जेज निर्माण समिति गठन भएको रहेछ। TGP को लागत अनुमान शुरुमा ९० अर्ब युआन भएकोमा वृद्धि भई २३० अर्ब युआन हुने अनुमान गरिएको रहेछ।
TGP भन्दा अघिल्तिर याङसी नदीमा तीन ठुला Gorges रहेछन्, तिनीहरूको नाम Qutang, Wuxia र Xiling Gorges रहेछन् र यिनै Gorges लाई संयुक्त रूपमा Sanxia Gorges वा The Three Gorges भनिँदो रहेछ। यसै नामबाट यस परियोजनाको नाम The Three Gorges राखिएको रहेछ। TGP को परिकल्पना सर्वप्रथम सन् १९१८ मा चिनियाँ क्रान्तिका महान् नायक डा. सन यात्सेनले गरेका थिए। परिकल्पना भएको करिब ७६ वर्षपछि सन् १९९४ मा यसको औपचारिक निर्माण सुरु भएको थियो। त्यो अवधिमा विभिन्न चरणमा विश्व प्रसिद्ध विशेषज्ञहरूको समेत सहयोगमा परियोजनाको गहन अध्ययन अनुसन्धान भएको रहेछ। त्यसबिच विभिन्न अन्तक्रिया, बहस र विवादमा गुज्रँदै गर्दा TGP भन्दा अघि २,७१५ मेगावाट क्षमताको अर्को गेजोबा आयोजना विकास गरिएको रहेछ, जुन TGP भन्दा ४० कि.मि. तल्लो तटीय क्षेत्रमा सन् १९७० मा निर्माण सुरु गरी सन् १९८१ मा सम्पन्न गरिएको रहेछ। यस आयोजनाको निर्माणबाट TGP निर्माणको लागि ठूलो अनुभव र राम्रो तयारी गर्ने अवसर प्राप्त भएको रहेछ। TGP बहुउद्देश्यीय आयोजना हो, जसबाट बाढी नियन्त्रण, विद्युत् उत्पादन र जलयातायातको अथाह फाइदा हुने रहेछ।
निर्माण सुरु भएको करिब ९ वर्षपछि TGP बाट सन् २००३ को जुलाई महिनामा सर्वप्रथम एउटा युनिटबाट विद्युत् उत्पादन सुरु भई २००७ को जुलाईसम्म कुल २६ वटा युनिटबाट १८,२०० मेगावाट विद्युत् उत्पादन सुरु भइसकेको रहेछ। बाँधको दायाँ किनारमा निर्माणाधीन भूमिगत विद्युत्गृहमा ६ वटा युनिटहरू जडान गरिसकेपछि आगामी सन् २०११ भित्र TGP को कूल जडित क्षमता २२,४०० मेगावाट र बार्षिक ऊर्जा ८४.७ अर्ब युनिट हुने रहेछ। TGP बाँधको लम्बाइ २,३०० मिटर र अधिकतम उचाई १८१ मिटर रहेछ। बाँधको क्रेष्ट लेभल समुन्द्री सतहबाट १८५ मिटर उचाइमा रहेछ।
छलफलपश्चात् उनीहरूले निमन्त्रणा गरेको लञ्चमा सहभागी भयौं। त्यसपछि थ्री गर्जेज प्रदशर्नी केन्द्र रहेको अर्को भवनतर्फ लाग्यौं। त्यहाँ एउटा हल रहेछ, जहाँ आगन्तुकहरूलाई TGP सम्बन्धी वृत्तचित्रहरू देखाइदोँरहेछ। हलको अग्रभागमा TGP को अत्यन्त आकर्षक मोडेल र त्यससँगै अगाडिको भित्तामा TGP को विशाल फोटो समेत राखिएको रहेछ। त्यहाँ करिब १५ मिनेटको वृत्तचित्र देखाइयो। त्यसपश्चात् सो मोडेल अगाडि फोटो खिच्यौं। हलभन्दा बाहिर रहेको प्रदर्शनी कक्षहरूमा TGP सम्बन्धी विभिन्न मोडेलहरू, ठूलो भित्ता नै ढाक्ने गरी राखिएका निर्माण समयका फोटोहरू लगायत TGP सँग सम्बन्धित सामग्रीहरू राखिएका थिए। त्यहाँ चिनियाँ संस्कृतिहरू झल्कने विभिन्न आकर्षक कलाकृतिहरू पनि मनमोहक ढंगले सजाइएका थिए। बिक्री कक्षमा TGP सँग सम्बन्धित विभिन्न प्रकाशनहरू, पुस्तकहरू, पत्रिकाहरू, उपहारहरू, भिसिडिहरू राखिएका थिए। मैले एउटा पुस्तक र एक थान भिसिडि किनेँ । त्यहाँ करिब ४५ मिनेट व्यतित गरेपछि हामी बाँधस्थलतिर प्रस्थान गर्यौँ ।
स्थानीय समय अनुसार २:१५ बजेतिर हामी TGP बाँधमा पुग्यौँ। हामी सर्वप्रथम बाँधको देब्रेपट्टि अग्लो स्थानमा बनाइएको एक गोलाकार Tanziling Observation Tower मा गयौँ। उक्त टावरबाट TGP को चारैतिरको अवस्थिति, बाँधको सम्पूर्ण भाग, विशाल जलाशय, विद्युत्गृहको बाहिरी भाग, टाढा टाढा रहेका अग्ला भवनहरू र आवतजावत गरिरहेका पानीजहाजहरू देख्यौं। ओ हो कस्तो अद्भुत संरचना! कति विशाल! त्यहाँको जलाशय ठुलो समुन्द्र नै झैं लाग्ने ! विश्वको आठौँ आश्चर्य झैँ लाग्यो त्यो क्षेत्र। हामी रोमाञ्चित र आश्चर्यचकित थियौं। जीवनको त्यस अविस्मरणीय क्षणलाई क्यामेरामा कैद गर्न हामी तछाडमछाड गर्यौँ । सूर्यको विपरीत प्रकाश (Anti-Light) ले गर्दा बाँधलाई पृष्ठभूमिमा राखेर राम्रो फोटो लिन भने सकिएन। त्यो टावरको पूर्वपट्टि ठुला पानीजहाजहरूलाई हाइड्रोलिक प्रणालीबाट बाँधको तल्लो भागबाट माथिल्लो भागतिर उठाउन र माथिल्लो भागबाट तल्लो भागतिर झार्न दुई खण्ड र पाँचवटा तल्ला भएको शिप-लक (Ship Lock) बनाइएको रहेछ। त्यही शिप-लक भएर पानीजहाजहरू बाँध वारपार गर्दारहेछन्। टावरको अगाडिपट्टि राम्रो पार्क बनाइएको रहेछ। असंख्य आन्तरिक र विदेशी पर्यटकहरू विशाल बाँध र जलाशय हेर्दै त्यहाँको मनोरञ्जन लिइरहेका थिए।
त्यसपछि गाडीबाट विशाल बाँधको मध्यभागतिर गयौँ। बाँधतिर जान सबै पर्यटकहरूलाई अनुमति नहुने रहेछ। हाम्रो लागि भने बाँधमा जाने अनुमति लिइसकिएको थियो। त्यहाँ बाँधको अघिल्तिर र पछिल्तिरका भागहरू र बाँधको फेदमा दायाँ बायाँ लस्करै रहेका विद्युत्गृहका माथिल्लो भागहरूको अवलोकन गर्यौँ। त्यहाँ पनि हामीले तस्वीरहरू खिच्यौं। त्यसपछि TGP को देब्रे किनारमा रहेको विद्युत्गृहतिर प्रस्थान गर्यौँ। त्यहाँ भित्र छिर्नुअघि सुरक्षा जाँच गरियो। सुरुमा नियन्त्रण कक्षमा छिर्यौँ । त्यहाँ फोटो खिच्न अनुमति रहेनछ। त्यहाँ प्राविधिकहरू बस्ने क्षेत्र र अवलोकन क्षेत्रबीच ठूलो शिशा लगाइएको थियो। हामीले अवलोकन क्षेत्रबाटै कम्प्युटर स्क्रीनहरूमा विद्युत् उत्पादनका तथ्याङ्कहरू देख्यौं। त्यस अवलोकन क्षेत्रमा TGP को निर्माणसम्बन्धी र अन्य जानकारीहरू भित्तामा टाँसिएका थिए भने TGP सम्बन्धी जानकारी पुस्तिकाहरू राखिएका थिए। त्यहाँबाट हामी मेशिनहलतिर लाग्यौं। त्यहाँ भने फोटो खिच्न दिइने रहेछ । त्यसपछि विद्युत्गृहको बाहिर आई मुख्यद्वार र त्यसको अग्रभागमा रहेको TGP को नाम देखिने गरी फोटोहरू खिच्यौं र त्यहाँबाट करिब ३:४० बजेतिर फर्क्यौं ।
हामी त्यसै दिन चेङ्दु सहर फर्कने कार्यक्रम रहेको र उडान समय राति १०:३० बजे भएको हुँदा खालि समयमा यिचाङ सहर घुम्ने र केही किनमेल गर्ने योजना बनायौं। यिचाङ सहरमा करिब २ घन्टा जति व्यतित गरेपछि खाना खाई निर्धारित समयमा विमान चढी चेङ्दु सहर फर्क्यौं।
दशौंदेखि चौंधौं दिन : चेङ्दु-बेइजिङ-ग्वाङजाओ-काठमाडौँ
हामी दशौं दिनको दिउँसो भरी चेङ्दु सहरमा पैदलबाटै पसलहरूमा किनमेल गरेपछि राति हवाईजहाजबाट चीनको राजधानी बेइजिङतर्फ प्रस्थान गर्यौँ। भोलिपल्ट (असोज ३०) बिहानदेखि साँझसम्म तियानमेन स्क्वायर, फर्विडन सिटी, टेम्पल अफ हेभन आदि ऐतिहासिक र धार्मिक स्थलहरूको भ्रमण गर्यौँ। बाह्रौं दिन (कात्तिक १) विश्व प्रसिद्ध ‘द ग्रेट वाल’ घुमिसकेपछि साँझ वर्ड्स् नेष्ट, अर्थात् बेइजिङ्ग ओलम्पिक-२००८ भएको स्टेडियम पुग्दा स्टेडियम छिर्ने समय नाघिसकेको हुनाले भोलिपल्ट समर प्यालेस घुमेपछि मात्र सो स्टेडियम गयौँ। त्यहाँ असंख्य स्वदेशी विदेशी पर्यटकहरू ओहोरदोहोर गरिरहेका थिए। विश्वप्रसिद्ध त्यस स्टेडियमभित्र पस्न पाउँदा मनमा थप गौरव र आनन्द लागिरहेको थियो। स्टेडियमभित्रको खेलमैदान, संरचनाहरू र स्टेडियमको अलौकिक संरचनाहरू अवलोकन गर्यौँ। त्यहाँबाट बाहिरिएपछि हामी मैत्रिय बुद्धको मुर्ति रहेको ऐतिहासिक Yonghegong गुम्बा गयौँ।
हामी स्वदेश फर्कने दिन अर्थात् कात्तिक ३ गते, हाम्रो भ्रमणको चौधौँ दिन बिहान सबेरै सबै सरसामान प्याकिङ गरी ग्वाङजाओ सहर हुँदै त्यहाँबाट करिब ४ घन्टाको उडानपछि नेपाली समयअनुसार रातको करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यौँ ।
अनुभव र अनुभूतिहरू
नेपालमा जलविद्युत् आयोजनाहरूको नामाकरण नदीको नामबाट गरिन्छ भने चीनमा आयोजना निर्माण गरिने स्थान विशेषको नामबाट गरिंदोरहेछ। प्रायः नदी किनार हुँदै बनाइएका पक्की र फराकिला मोटरबाटोहरू जलविद्युत् आयोजनाहरू निर्माणको लागि समेत हुने गरी निर्माण गरिएको जस्तो लाग्यो। ती बाटोहरूको धेरैजस्तो खण्ड कंक्रीटले बनाइएका थिए। जलविद्युत् आयोजना निर्माणको लागि मोटरबाटो वास्तवमा पहिलो र अनिवार्य शर्त नै हो। चेङ्दुदेखि कान्दिङसम्मको बाटोमा देखिएका दर्जनौं जलविद्युत् केन्द्रहरू शायद सहज बाटोको कारणले गर्दा नै निर्माण भएका होलान्। अझ त्यस क्षेत्रमा दर्जनौं साना ठुला जलविद्युत् आयोजनाहरू प्रस्तावित गरिएका रहेछन्।
आगन्तुकको सुविधाको लागि जलविद्युत् आयोजना र केन्द्रहरूमा कम्पनीले नै होटलहरू सञ्चालन गरेका हुँदा रहेछन्, जहाँ स्तरीय खाने-बस्ने प्रबन्ध हुँदोरहेछ। ती सबै होटलहरूको कोठाहरूमा इन्टरनेट कनेक्शनको समेत सुविधाले गर्दा हामीले लगेका ल्यापटप कम्प्युटरहरूबाट हरेक दिन इमेल र च्याटिङ गर्न कठिनाइ भएन। चिनियाँ खाना खाने तरिका, प्रबन्ध र खानाको परिकारहरूबाट औधी प्रभावित भएँ। हामी प्रायः सबै होटलहरूमा गोलाकार टेबुलमा मात्र बसेर खाना लियौं। हरेक बैठक, छलफल कार्यक्रमहरू र खानाभन्दा अघि एकखालको आयुर्वेदिक बिरुवाका सुक्खा पत्ताहरू (चियापत्ती जस्तै) हालेर तातोपानी दिइन्थ्यो। सहयोगीहरूले थपेको थप्यै गर्दिन्थे। चीनमा हाम्रो लागि भाषाको चाहिँ अलिक समस्यै देखें।
अंग्रेजी बुझ्ने बोल्ने चिनियाँहरूको पनि उच्चारणमा हुने फरकले गर्दा बुझ्न कठिनाइ पर्दो रहेछ। चीन जानुअघि अलि अलि चिनियाँ भाषा सिकेर जान सकेको भए धेरै फाइदा हुन्थ्यो जस्तो अनुभूति भयो। प्रायः सबै क्षेत्रमा विकास गरिरहेको चीनले अन्तर्राष्ट्रिय भाषा अंग्रेजीमा पनि दख्खल राख्न सक्यो भने चीन संसारमा सबै क्षेत्रमा अगाडि हुन सक्ने अनुभव भयो।
उपसंहार
चीनको दुई हप्ता लामो त्यस भ्रमणबाट चीनको तीव्र भौतिक विकास, आधुनिक जीवनशैली, सम्वृद्धि मात्र होइन उसको ऐतिहासिक सभ्यता, धर्म, संस्कृति, परम्परा, रहनसहनको बारेमा पनि प्रत्यक्ष केही जानकारी प्राप्त गर्ने सुअवसर प्राप्त भयो। युरोपमा अठारौँ शताब्दीमा औद्योगिक क्रान्ति भएजस्तै अहिले चीनमा जलविद्युत् क्रान्ति भइरहेको अनुभूति भयो।
चिनियाँहरू आगामी दस वर्षमा एक लाख पच्चीस हजार मेगावाट थप जलविद्युत् आयोजनाहरू बनाई जलविद्युत् मात्र तीन लाख मेगावाट पुर्याउने अभियानमा जुटिरहेका रहेछन्। चीनमा हाल कुल विद्युत् र जलविद्युत्को जडित क्षमता क्रमशः आठ लाख तीस हजार मेगावाट र एक लाख पचहत्तर मेगावाट रहेको छ । चीनले अरु क्षेत्रका अतिरिक्त जलविद्युत्को क्षेत्रमा गरिरहेको अभूतपूर्व विकासबाट हामीले सिक्न, जान्न र अनुसरण गर्नुपर्ने कुराहरू धेरै नै रहेछन्।
थ्री गर्जेज प्रोजेक्ट (TGP) लाई एउटा राम्रो पर्यटकस्थल बनाई राज्यले आम्दानी गरिरहेको देख्दा हामी पनि हामीले बनाइसकेका काली गण्डकी ए, मर्र्याङ्दी जलविद्युत् आयोजनाहरू र भविष्यमा बनाइने आयोजनाहरूलाई राम्रो पर्यटकस्थलहरू बनाउनपट्टि किन नलाग्ने ? आयोजनाहरूबाट प्रभावित लाखौं मानिसहरूलाई एउटा नयाँ सहर बनाई उनीहरूको जिविकाको लागि यथेष्ट प्रबन्ध मिलाएको देख्दा हाम्रा प्रस्तावित जलाशय ठुला आयोजना बनाउँदा प्रभावित हुने मानिसलाई एउटा नयाँ व्यवस्थित सहर बनाई स्थानान्तरण गर्ने र उनीहरूको वैकल्पिक रोजगारीको लागि व्यवस्था गर्ने हो भने बूढीगण्डकी, दूधकोशी जलाशय, पश्चिम सेती, पञ्चेश्वर, कर्णाली चिसापानी जस्ता ठुला आयोजना विवादरहित ढंगले कार्यान्वयन गर्न कुनै गाह्रो पर्ने देखिदैंन।
थ्री गर्जेज निर्माण समितिको अध्यक्ष चीनको प्रधानमन्त्री नै भएको कुरा थाहा पाउँदा नेपालको विद्यमान नीति, नियम र वातावरण अनुसार यहाँ पनि राष्ट्रिय महत्वका ठुला र बहुउद्देश्यीय जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रधानमन्त्री वा सम्बन्धित मन्त्रीको अध्यक्षतामै उच्चस्तरीय समिति बनाउन उपयुक्त हुने देखिन्छ।
यो संस्मरणात्मक आलेख लेखकले २०६५ साल असोज २० गतेदेखि १४ दिनसम्म गरेको चीन भ्रमणमा आधारित छ । उनी हाल दुधकाेसी जलविद्युत् कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् ।