१. संक्षिप्त परिचय
नेपाल सरकारले रूपान्तकारी आयोजनाको रूपमा राखेको ६७० मेगावाटको दुधकोसी जलाशय जलविद्युत् आयोजना कोसी प्रदेशअन्तर्गत खोटाङ, ओखलढुङ्गा र सोलुखम्बु जिल्लामा पर्छ। यो आयोजना विश्वको सर्वोच्च शिखर सगरमाथा र आसपासका हिमालबाट उद्गम भई बग्ने दुधकोसी र यसका सहायक नदी तथा खोलाको पानी उपयोग गर्ने गरी डिजाइन गरिएको छ । दुधकोसी सप्तकोसीको एक सहायक नदी हो, जुन उदयपुरको घुर्मी बजार र ओखलढुङ्गा जिल्लाको हर्कपुर बजार नजिकै तल्लो तटीय स्थानमा पुगेर सुनकोसीमा मिसिन्छ।
यस आयोजनाको मुख्य बाँध खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने रबुवा बजारभन्दा करिब १ किलोमिटर दक्षिण-पश्चिममा दुधकोसी नदीमा निर्माण हुनेछ, जहाँ दुई वटा भूमिगत विद्युत्गृह हुनेछन् - एउटा बाँधसँगै ‘ड्याम-टो’ (Dam Toe) र अर्को १३.२ किलोमिटर लामो सुरुङपछि सुनकोसी किनारमै ‘मुख्य विद्युत्गृह’।
ड्याम-टो (७० मेगावाट) बाँधसँगै ओखलढुङ्गा जिल्लाको चिसंखुगढी गाउँपालिका- ६ मा र मुख्य विद्युत्गृह (६०० मेगावाट) खोटाङको हलेसी तुवाचुङ नगरपालिका- ८ धितुङको रातेखोला गाउँ नजिक सुनकोसीकै देब्रे किनारमा रहने छ। आयोजनाको बाँधस्थल काठमाडौँबाट पूर्वतर्फ करिब २१० किलोमिटरको सडक दूरीमा पर्दछ।
२२० मिटर अग्लो रकफिल बाँध (Concrete Face Rockfill Dam) को निर्माणबाट दुधकोसी, रावा खोला र ठोट्ने खोलासम्म फैलिने गरी करिब ३१ किलोमिटर लामो र १ अर्ब ५८ करोड घनमिटरको जलाशय (ताल) निर्माण हुने छ। मुख्य विद्युत्गृहका लागि १३.२ किलोमिटर लामो मुख्य सुरुङको निर्माण एवम् प्राकृतिकरूपमा उपलब्ध हुने १३२ मिटर हेड (उचाइ) र जलाशयको निर्माणबाट थप २१० मिटर (अधिकतम) को कृत्रिम हेड उपयोग गरिने छ।
मुख्य र ड्याम-टो विद्युत्गृहको डिजाइन डिस्चार्ज क्रमशः २२४.४ र ४०.० घनमिटर प्रतिसेकेण्ड रहेको छ।
नेपाल विद्युत् प्राधिकरणले यस आयोजनाको कार्यान्वयन गर्न सहायक कम्पनीको रूपमा ‘दुधकोसी जलविद्युत् कम्पनी लिमिटेड’ स्थापना गरेको छ। मुख्य संरचनाहरूको निर्माण आ.व. २०८२/८३ मा प्रारम्भ गरी २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
२. सबल पक्षहरू
देशको राष्ट्रिय विद्युत् प्रणालीमा नदी-प्रवाही आयोजनाको अंश बढी र आगामी दशकमा पनि सोही प्रकृतिका आयोजना थपिन गई वर्षा तथा हिउँदे विद्युत्को आन्तरिक उत्पादनको अन्तर बढ्दै जाने देखिन्छ। यस्तो अन्तरलाई कम गरी हिउँदयाममा हुने विद्युत् कमीलाई परिपूर्ति गर्न, राष्ट्रिय विद्युत् प्रणालीलाई सन्तुलन मिलाउन तथा ऊर्जा सुरक्षाको दृष्टिकोणले पनि जरुरी भएकोले सरकार र प्राधिकरणले यस आयोजनालाई उच्च प्राथमिकताकासाथ अघि बढाएको छ।
थप सबल पक्षहरू
• स्वच्छ ऊर्जा उत्पादन गर्ने भएकोले तापीय केन्द्रको तुलनामा हरितगृह ग्यास निकै कम उत्सर्जन भई विश्वव्यापी तापमान वृद्धिदरलाई कम गर्न ठुलो मद्दत गर्ने ।
• दुधकोसी नदीमा आउन सक्ने ठुला बाढीहरू (GLOF समेत) नियन्त्रण हुने ।
• आन्तरिक र बाह्य पर्यटनमा वृद्धि हुने ।
• निर्माणपछि आयोजनास्थल क्षेत्र र समग्र मुलुकको आर्थिक क्रियाकलापमा उल्लेखनीय वृद्धिका साथै थप रोजगारी सिर्जना हुने ।
• सडक, पुललगायत भौतिक पूर्वाधारको निर्माणबाट आयोजनास्थल वरिपरि यातायात, सञ्चार र अन्य भौतिक सुविधामा सुधार हुने ।
• सुक्खा महिनामा विद्युत् उत्पादन गरी निस्कने पानीबाट तल्लो तटीय क्षेत्रका सुनसरी–मोरङ लगायत अन्य सिंचाइ प्रणालीमा थप पानी आपूर्ति भई कृषि उत्पादन बढ्ने ।
• विद्युत् माग उच्च रहेका औद्योगिक क्षेत्र (भार केन्द्र) हरू नजिक रहेको ।
• जलाशयमा माछापालन र जलयातायात तथा भविष्यमा सोलार फार्मिङसमेत गर्न सकिने ।
• अन्य जलाशय आयोजनाको तुलनामा विस्थापित हुने घरसङ्ख्या धेरै कम आदि।
३. इञ्जिनियरिङ अध्ययन र डिजाइन
३.१ पूर्व अध्ययनहरू
सन् १९८५ मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले कोसी नदी बेसिन गुरुयोजनामा यो आयोजनाको पहिचान गरेको थियो। गुरुयोजनामा यसको जडित क्षमता २२८ मेगावाट थियो। तत्पश्चात् सन् १९९८ मा प्राधिकरणले Canadian Consultant CIWEC मार्फत सम्भाव्यता अध्ययन (३०० मेगावा६) गरेको थियो। त्यस्तै, सन् २०१३ मा प्राधिकरण आफैँले यसको थप Review Study गरेको थियो भने सन् २०१४ मा जाइकाले तयार गरेको Nationwide Master Plan Study on Storage-type Hydroelectric Project मा गरिएको मूल्याङ्कनअनुसार कार्यान्वयनमा लैजानुपर्ने जलाशय आयोजनामध्ये दुधकोसी उच्च स्थानमा परेको थियो।
३.२ अद्यावधिक सम्भाव्यता अध्ययन र विस्तृत इञ्जिनियरिङ
एसियाली विकास बैंक (एडिबी) को करिब १ अर्ब रुपैयाँको अनुदानमा आयोजनाको अपडेटेड (अद्यावधिक) सम्भाव्यता अध्ययन र विस्तृत इञ्जिनियरिङ डिजाइन तथा वातावरणीय अध्ययन गर्न अन्तर्राष्ट्रिय परामर्शदाता ELC Electroconsult SpA (Italy) सँग सन् २०१६ मा परामर्श सेवा सम्झौता भयो। उसले सन् २०१९ मा सम्भाव्यता अध्ययन प्रतिवेदन र गत नोभेम्बर २०२४ मा विस्तृत इञ्जिनियरिङ डिजाइन र लागत अनुमानको अन्तिम प्रतिवेदन तथा बोलपत्रसम्बन्धी कागजात पेश गरिसकेको छ।
विस्तृत इञ्जिनियरिङ डिजाइन प्रतिवेदन पेश गर्नुअघि नर्वेजियन सरकारको अनुदानमा नियुक्त विज्ञहरूको समूह (PoE) ले परामर्शदाता ELC ले पेश गरेको मस्यौदा प्रतिवेदन पुनरावलोकन गरी अक्टोबर सन् २०२४ मा अन्तिम पुनरावलोकन प्रतिवेदन दिएको थियो। विस्तृत डिजाइनअनुसार आयोजनाको संक्षिप्त प्राविधिक विवरणहरू (Salient Features) अन्तिममा प्रस्तुत गरिएको छ।
४. प्रवेशमार्ग र पक्की पुलहरू
दुधकोसी निर्माणको क्रममा निर्माण उपकरण, निर्माण सामग्रीहरू तथा टर्बाइइन, जेनेरेटरलगायत ठुला मेसिनरी र उपकरण आयोजनास्थलसम्म ढुवानी गर्दा पहाडी क्षेत्रमा निम्न राजमार्गबाट ढुवानी गर्नुपर्ने छ :
(१) सगरमाथा राजमार्ग (NH16)
(२) सिद्धिचरण राजमार्ग (NH20)
(३) मध्यपहाडी राजमार्ग (NH03)
ती राष्ट्रिय राजमार्गबाट आयोजनाका मुख्य संरचना बाँध र विद्युत्गृहसम्म पुर्याउन करिब १०१ किलोमिटर विभिन्न सार्वजनिक प्रवेशमार्ग, थप १५.५ किलोमिटर कनेक्टिङ सडकको सुदृढीकरण र नयाँ निर्माण गर्नुपर्ने छ। सार्वजनिक प्रवेशमार्ग अन्तर्गत केन्द्र, प्रदेश र स्थानीय सरकारबाट करिब ७१ किलोमिटर सडकको ट्रयाक निर्माण भइसकेको छ। उपर्युक्त प्रवेशमार्ग र कनेक्टिङ सडकको विस्तृत इञ्जिनियरिङ डिजाइन कार्य चिलिमे इञ्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) मार्फत तथा वातावरणीय र सामाजिक तथ्याङ्क सङ्कलन गर्ने कार्य वातावरण तथा सामाजिक अध्ययन विभाग (ESSD) मार्फत आव २०८०/८१ मा सुरु गरी चालू आवमा सम्पन्न गरिएको छ।
त्यस्तै, आयोजना निर्माणको लागि आवश्यक हुने प्रवेशमार्गमा पर्ने निम्न तीन वटा मोटरेबल पुलको निर्माण प्रक्रिया अघि बढाइएको छ :
क्र.सं. | पुलको नाम | नदी | लम्बाइ | कैफियत |
१. | भोजे पुल | दुधकोसी | १५० मिटर | २०८१ साल असारमा ठेक्का सम्झौता गरिएको। बाँधभन्दा २ किलोमिटर दक्षिण क्षेत्रमा पर्ने । |
२ | रबुवा बेली ब्रीज | दुधकोसी | ९४ मिटर | २०८१ साल फागुनमा ठेक्का सम्झौता गरिएको। बाँधभन्दा १ किलोमिटर उत्तर रबुवा बजार नजिक पर्ने। |
३ | भाडबेँसी पुल | लैखु खोला | ४१ मिटर | २०८२ साल वैशाख ४ गते ठेक्का सम्झौता गरिएको। विद्युत्गृह जाने बाटोमा पर्ने। |
प्रवेशमार्ग अन्तर्गत करिब ५/५ किलोमिटर लम्बाइका दुइटा प्रवेशमार्ग खण्डको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) अध्ययन कार्य अन्तिम चरणमा पुर्याइएको छ। सो अध्ययन कार्य चेस्कोले गरिरहेको छ।
५. वातावरणीय र सामाजिक अध्ययन
• आयोजनाको जलाशय, संरचना, कार्यालय, आवास भवन र प्रवेशमार्गले खोटाङको दुइटा गाउँपालिका (रावा बेसी र ऐँसेलुखर्क) र एउटा नगरपालिका (हलेसी तुवाचुङ), ओखलढुङ्गाको एउटा नगरपालिका (सिद्धिचरण) र दुइटा गाउँपालिका (चिसंखुगढी र मानेभञ्ज्याङ) र सोलुखुम्बुको दुइटा गाउँपालिका (नेचासल्यान र थुलुङ-दुधकोसी) का कुल २५ वडा प्रभावित हुने छन् ।
• आयोजनाको निर्माणबाट ३,१७७ घरधुरी प्रभावित हुने छन्, जसमध्ये २०८ घरधुरी पूर्ण र २,९६९ घरधुरी आंशिकरूपमा प्रभावित हुने छन्। त्यस्तै, प्रसारण लाइनको निर्माणबाट करिब ५२ घरधुरी प्रभावित हुने छन्।
• परामर्शदाता ELC ले गत कात्तिकमा अद्यावधिक वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन पेश गरेकोमा एडिबीमा मंसिरमा पेश गरिएको छ । नेपालको कानुनबमोजिम विद्युत् विकास विभागमा गत २०८२ वैशाख २ गते पेश गरिसकिएको छ। त्यस्तै, एडिबीको गाइडलाइन अनुसार गरिएका विभिन्न वातावरणीय र सामाजिक सुरक्षण योजना तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। सो सिलसिलामा विभिन्न एडिबीका मिसनबाट पुनरावलोकन र समीक्षा पनि भइरहेको छ।
• प्रसारण लाइनको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) को कार्यसूची प्रतिवेदन विभागबाट स्वीकृत भएको छ भने प्रभावित हुने स्थानमा सार्वजनिक सुनुवाई समेत सम्पन्न भइसकेको छ। परामर्शदाताले हालै IEE प्रतिवेदन पेश गरिसकेको छ।
• वातावरण तथा सामाजिक अध्ययन विभाग (ESSD) ले आयोजनास्थलमा कार्यालय स्थापना गरी विगत ३ वर्षदेखि निरन्तर वातावरण तथा सामाजिक अध्ययन कार्य र सोसम्बन्धी प्रभावित समुदाय र क्षेत्रमा विभिन्न परामर्श बैठक र छलफल कार्यक्रम गरिरहेको छ।
• आयोजना क्षेत्रका स्थानीय आदिवासी समुदायको “स्वतन्त्र, अग्रिम तथा सुसूचित मञ्जुरी” (Free, Prior and Informed Consent) अन्तर्गत पहिलो र दोस्रो चरणका काम भइरहेका छन्। यसअन्तर्गत २०८१ माघ ५ र ६ गते “आदिवासी जनजाति सल्लाहकार परिषद्” र “कार्य समूह” को बैठक सम्पन्न भएको छ। तेस्रो तथा अन्तिम चरणको कार्य २०८१ चैतमा सुरु भएको छ । यसको काम २०८२ असार मसान्तसम्म सम्पन्न गर्ने कार्यक्रम छ।
• प्रभावित पालिकाको समन्वय र सहयोग तथा आयोजनाको आर्थिक सहयोगमा चालू आवदेखि विभिन्न व्यावसायिक र सिपमूलक तालिमहरू सुरु गरिएको छ।
६. जग्गा अधिग्रहण
प्रवेशमार्गसहित आयोजनाले प्रभावित गर्ने करिब ६५,००० रोपनी जग्गामध्ये करिब ३०,००० रोपनी अधिग्रहण गर्नुपर्ने देखिन्छ। सो मध्ये खोटाङ र ओखलढुङ्गाको करिब २१ हजार रोपनी जग्गा अधिग्रहण गर्न २०७८ साल असार र फागुनमा सूचनाहरु प्रकाशन गरी रोक्का राखिएको छ। सोको लागि आवश्यक बजेटको लागि ऋण लगानी गरिदिन नेपाल सरकार, अर्थ मन्त्रालयले २०८१ चैत २० गते एडिबीलाई अनुरोध गरिसकेको छ।
७. प्रसारण लाइन
मुख्य विद्युत्गृहबाट उत्पादित विद्युत् ८१.४ किलोमिटर लामो ४०० के.भी. डबल सर्किट प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा र ड्याम-टो विद्युत्गृहबाट उत्पादित विद्युत् १.६ किलोमिटर लामो ४०० के.भी. डबल सर्किट प्रसारण लाइनमार्फत मुख्य बाँध नजिकै रहने भदौरे सबस्टेसनमा जोडिने छ। सोलुखुम्बुको तिङ्लादेखि मुख्य विद्युत्गृहसम्म प्रस्तावित ४०० के.भी. प्रसारण लाइन उपर्युक्त भदौरे सबस्टेसन हुँदै जाने छ। यी प्रसारण लाइन प्राधिकरणले अलग्गै निर्माण गर्ने योजना छ।
८. लागत तथा वित्तीय व्यवस्थापन:
८.१ लागत अनुमान
परामर्शदाता ELC ले तयार गरेको विस्तृत इञ्जिनियरिङ डिजाइन प्रतिवेदनको आधारमा निजले गत नोभेम्बर २०२४ मा प्रवेशमार्गसहित मुख्य संरचनाको अन्तिम लागत अनुमान पेश गरेको छ। सो लागत अनुमानमा अन्य शीर्षकको लागत जोडी एडिबीको विज्ञको समेत संलग्नतामा कुल लागत २ अर्ब ३२ करोड अमेरिकी डलर हुने अनुमान छ। लागत विवरण निम्न तालिकामा प्रस्तुत गरिएको छ :
विवरण | रकम (दश लाख, अमेरिकी डलर) | |
(क) | लगानी खर्चहरूक | |
१. निर्माण र उपकरण | १,२९४.५ | |
२. परामर्श सेवा | ४५.० | |
३. कर र महसुल | २३५.२ | |
(क) को जम्मा | १,५७४.७ | |
(ख) | अन्य खर्चहरूख | |
१. जग्गा अधिग्रहण र क्षतिपूर्ति | १३३.३ | |
२. वातावरणीय र सामाजिक न्यूनीकरण | ८२.८ | |
३. ओभरहेड र प्रवर्धक कम्पनीको खर्चहरू | ४७.५ | |
(ख) को जम्मा | २६३.६ | |
जम्मा आधारभूत खर्च = (क) + (ख) | १,८३८.३ | |
(ग) | कन्टिन्जेन्सीहरू | ३०९.७ |
(घ) | निर्माण अवधिको व्याज र बैंक शुल्कहरू | १७२.० |
कुल लागत अनुमान | २,३२०.० |
क = सन् २०२४ नोभेम्बरको लागत अनुमानका आधारमा। उपर्युक्त लागत अनुमानमा प्रसारण लाइनको लागत समावेश छैन।
८.२ वित्तीय व्यवस्थापन
आयोजनाको लागि नेपाल सरकार, अर्थ मन्त्रालयको अनुरोधमा एडिबीले वैदेशिक लगानीका लागि समन्वय गरिरहेको छ। २०८० साल भदौमा माननीय अर्थ मन्त्रीज्यू, माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीज्यूको उपस्थितिमा एडिबी लगायत विकास साझेदारहरूसँग Consultative Meeting भएको थियो। सो बैठकमा ADB, WB, EU, EIB, SAARC DF, AIIB, Norwegian Embassy, JICA, OFID, Saudi Fund लगायत साझेदारका प्रतिनिधिहरूको उपस्थिति थियो। त्यस्तै, स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानीका लागि समेत छलफल गर्ने योजना छ।
२०८१ साल कात्तिक २६ देखि मंसिर १२ गतेसम्म एडिबीको Pre-fact-finding mission सम्पन्न भएको छ। सो Cost, Financial and Economic Analysis, Financial Management, Fund Flow, Power Purchase Agreement (PPA) लगायत विषयमा छलफल भएको छ।
सो मिसनको क्रममा आयोजना निर्माणका लागि निम्नानुसारको Indicative Financing Plan एबिल पनि तयार गरिएको छ । आगामी सेप्टेम्बर २०२५ भित्र आयोजनाका लागि आवश्यक विदेशी र स्वदेशी लगानीको सम्पूर्ण वित्तीय व्यवस्थापन (Financial Closure) गर्ने लक्ष्य छ।
प्रस्तावित लगानीका स्रोतहरू
क्र.सं. | स्रोत | रकम (दश लाख, अमेरिकी डलर) |
१. | एसियाली विकास बैंक (ADB) | ५५० |
२ | एसियाली पूर्वाधार लगानी बैंक (AIIB) | २०० |
३ | युरोपियन लगानी बैंक (EIIB) | ५०० |
४ | ओपेक फण्ड (OFID) | १०० |
५ | साउदी विकास फण्ड (SDF) | १०० |
६ | विश्व बैंक (WB) | २०० |
७ | स्वदेशी बैंक र वित्तीय संस्थाहरू | ८१ |
८ | नेपाल सरकार र सेयर (ने.वि.प्रा. सहित अन्य सेयरधनी) | ५८९ |
कुल रकम | २,३२०.० |
नेपाल सरकार, अर्थ मन्त्रालयले गत २०८१ चैत २० गते यस आयोजनामा लगानी गर्न उपर्युक्त विकास साझेदारलाई अनुरोध गरिसकेको छ।
९. डिजाइन र निर्माणका केही विशेषताहरू
९.१ मुख्य बाँध र स्पिलवेहरू (Main Dam and Spillways)
यस आयोजनाको विशेष संरचनाको रूपमा मुख्य बाँध रहेको छ। यो Concrete Face Rockfill Dam (CFRD) प्रकृतिको बाँध हो । यो बाँध बनाउन करिब २ करोड ७० लाख घन मिटर चट्टान र ढुङ्गा माटोको आवश्यकता पर्ने छ। सोको लागि स्पिल वे निर्माणको क्रममा डाँडा खन्दा निस्कने ढुङ्गा माटो र नदीको गिट्टी-बालुवा नै मुख्यरूपमा प्रयोग गरिने छ। यस बाँधको उचाइ २२० मिटर, बाँध क्रेष्ट (Dam Crest) को लम्बाइ ६३० मिटर र बाँधको जगमा नदीको दिशातिर लम्बाइ ८१५ मिटर हुने छ।
दुई वटा स्पिल वे रहने छन् - मुख्य स्पिल वे (Main Spillway) र आकस्मिक स्पिलवे (Emergency Spillway)। मुख्य स्पिल वेको डिजाइन क्षमता ११,२७७ घनमिटर प्रतिसेकेण्ड र आकस्मिक स्पिल वेको डिजाइन क्षमता ११,५०० घनमिटर प्रतिसेकेण्ड छ। बाँधको दीर्घकालीन सुरक्षाका लागि आकस्मिक स्पिल वेको व्यवस्था अति महत्त्वपूर्ण छ। ठुलो बाढी आउँदा कथंकदाचित् मुख्य स्पिल वेका ४ वटा गेटले काम नगरेमा आकस्मिक स्पिल वेबाट बाढी जाने भई मुख्य बाँध सुरक्षित रहने छ।
दुवै स्पिल वेको डिजाइनमा अर्को विशेषता पनि छ - दुवैमा ल्याबरिन्थ वेयर (Labyrinth Weir) राखिएका छन्, जुन सम्भवतः नेपालका बाँधमा पहिलो पटक डिजाइन गरिएको हुनुपर्छ। ती Labyrinth Weir को लम्बाइ मुख्य स्पिल वेमा ५६.६ मिटर र आकस्मिक स्पिल वेमा १५४.५ मि. छ। त्यस्तै, आकस्मिक स्पिलवेमा करिब १५४.५ मि. लामो Embankment Fuse Dam समेत राखिएको छ। सन् २०२० मा पेश भएको विस्तृत डिजाइनको मस्यौदा प्रतिवेदनमा आकस्मिक स्पिलवेमा Steel Fuse Gates राख्ने गरी डिजाइन गरिएको थियो। सो Steel Fuse Gates को लागत तुलनात्मकरूपमा निकै महङ्गो भएको र सोमा बाहिरी तेस्रो पक्षको प्याटेन्ट अधिकार भएको हुनाले सोको सट्टा कुनै पनि तेस्रो पक्षको प्याटेन्ट अधिकार नरहने गरी सामान्य संरचना राख्न निर्देशन दिएपछि परामर्शदाताले आकस्मिक स्पिलवेमा Labyrinth Weir र Embankment Fuse Dam रहने गरी डिजाइन गरेको हो।
९.२ TBM बाट मुख्य सुरुङ निर्माण
आयोजनाको मुख्य सुरुङ १३.२ किलोमिटर लामो र व्यास ठुलो (करिब ९.८ मिटर) भएको तथा दुइटा लामा अडिट सुरुङहरू (जसको कुल लम्बाइ करिब ४.८ किलोमिटर र दुवै सुरुङ जमिनभित्र ओरालो जाने भएको) डिजाइन भएकोले ड्रिलिङ र ब्लाष्टिङ विधिबाट उपर्युक्त सबै सुरुङ निर्माण गर्नु चुनौतीपूर्ण देखिएको हुनाले २०८० साल असोजमा परामर्शदातालाई Tunnel Boring Machine (TBM) प्रविधिबाट मुख्य सुरुङ निर्माण गर्ने गरी अध्ययन गर्न अनुरोध गरिएको थियो। नेपालमा भेरी-बबई र सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका मुख्य सुरुङ (दुवैको लम्बाइ १२.२ किलोमिटरभन्दा बढी) को निर्माण कार्य TBM प्रविधिबाट सफलतापूर्वक सम्पन्न भएकोले दुधकोसीमा पनि सोही प्रविधिबाट निर्माण गर्न सकिने विश्वास बढेको थियो।
तत्पश्चात् परामर्शदाताले धेरै लामो अध्ययन (करिब ५ महिना) पश्चात् TBM प्रविधिबाट आयोजनाको मुख्य सुरुङ निर्माण गर्ने गरी डिजाइन प्रतिवेदन पेश गरेको थियो र सोही प्रतिवेदनका आधारमा डिजाइनलाई अन्तिम रूप दिइएको छ। ड्रिलिङ र ब्लास्टिङ प्रविधिको सट्टा TBM बाट मुख्य सुरुङको निर्माण गर्दा प्रत्यक्ष रूपमा निम्न फाइदा देखिएका छन्ः
- मुख्य सुरुङको व्यास TBM प्रविधिमा करिब ४८ सेन्टिमिटर घटेको (व्यास ९.३२ मिटर हुने) तथा करिब ४ किलोमिटर विभिन्न सुरुङ खन्नु नपर्ने, जसबाट करिब ३ लाख २२ हजार घनमिटर चट्टान/माटो खन्ने काम घट्ने ।
- ८ किलोमिटर सहायक पहुँच सडक बनाउनु नपर्ने ।
- करिब २ लाख २६ हजार घनमिटर कङ्क्रिट कम हुने ।
- मुख्य सुरुङ खन्न करिब ३,६०० टन विष्फोटक पदार्थ नचाहिने ।
- पुरानो विधिमा २.९ र १.९ किलोमिटर लामा दुवै अडिट सुरुङको स्लोप भित्रतिर अर्थात् नेगेटिभ स्लोप भएको कारणले निर्माण समयमा पम्पिङ गर्नुपर्दा र माटो निकाल्ने क्रममा उकालो हिँड्नुपर्दा थप ठुलो खर्च हुने भएकोमा TBM प्रविधिमा त्यो खर्च घट्ने ।
- मानवीय हताहत (Human Casualty) करिब शून्य जस्तै हुने ।
- भौगर्भिक जोखिम र अनिश्चितता सारभूतरूपमा घट्ने ।
- सुरुङको चट्टान/माटो खन्ने काम ठूलो मात्रामा घटेको तथा ८ किलोमिटर सडक बनाउनु नपर्ने हुँदा वातावरणीय प्रभाव घट्ने ।
लागतको तुलना गर्दा अन्य आयोजनामा TBM प्रविधिमा करिब दोब्बर नै खर्च पर्ने देखिए पनि दुधकोसीमा अडिट सुरुङ र पहुँच सडकलगायत उल्लिखित अन्य कार्य र वातावरणीय असर घट्ने छ । हालको दर विश्लेषण र अन्य लागतका आधारमा दुवै प्रविधिमा खर्च करिब समान हुने देखिन आएको छ।
९.३ बाँधमा पहुँच सुरुङ
बाँधको दायाँ किनारपट्टि बाँधको उपल्लो र तल्लो तटीय क्षेत्रबिच सहज सवारी आवागमनको लागि करिब १,४०० मिटर लामो पहुँच सुरुङ (Right Bank Access Tunnel) को पनि हालै डिजाइन थप गरिएको छ।
यस सुरुङलाई निम्नानुसार प्रयोगमा ल्याइने छ:
- आयोजना निर्माणको बेलामा यस सुरुङलाई पहुँच सुरुङको रूपमा प्रयोग गरिने छ, जसबाट करिब २.५ किलोमिटर लामो उकालो-ओरालो सडक-दूरी कम हुने भई निर्माण सामग्रीको ओसारपसार र कामदारको ओहोरदोहोर गर्न सहज हुने र समग्र निर्माण लागत घट्ने ।
- यस सुरुङको करिब २७५ मिटर खण्ड स्थायीरूपमा प्रयोग गरी थप ११६ मिटर थप सुरुङको निर्माणबाट ड्याम-टो विद्युत्गृह जान सहज हुने ।
- यस सुरुङको करिब ९०० मिटर सुरुङ-खण्डलाई ड्याम-टो विद्युत्गृह र आयोजनाको दोस्रो चरणमा निर्माण गरिने २०० मेगावाट विद्युत्गृह दुवैको मुख्य सुरुङ (Headrace Tunnel) को रूपमा प्रयोग गरिने छ।
१०. संरचनाहरू
१०.१ भौतिक पूर्वाधारहरू:
प्रवेशमार्ग र मोटरबेल पुलको डिजाइन र निर्माणबारे माथि प्रकरण ४ मा उल्लेख गरिसकियो । कार्यालय/आवासगृह निर्माणको पहिलो चरणको रूपमा खोटाङ जिल्ला समन्वय समितिसँग सम्झौता गरी सो समितिको नाममा जिल्लाको लामिडाँडास्थित जग्गामा आयोजनाका ४ वटा प्रिफ्याब भवनको निर्माण कार्य सम्पन्न भएका छन्।
बाँधस्थल, विद्युत्गृह तथा आवास क्षेत्रमा खानेपानी प्रणाली निर्माण गर्न डिजाइन कार्य सम्पन्न भएको छ र यसै आवमा बोलपत्र आह्वान गरी सो कार्यको निर्माण सुरु गर्ने कार्यक्रम छ। आयोजनाको पहुँचमार्गको मर्मतसुधार आयोजना प्रभावित स्थानीय पालिकासँगको सहकार्यमा भइरहेको छ।
१०.२ मुख्य संरचनाको बोलपत्रसम्बन्धी कागजात र निर्माण
आयोजना निर्माण गर्न ३ वटा निर्माण लटमा विभाजन गरिएको छः
लट १ – बाँध, इन्टेक र स्पिलवे (सिभिल र हाइड्रो मेकानिकल कार्य)
लट २ – मुख्य सुरुङ र मुख्य विद्युत्गृह (सिभिल र हाइड्रो मेकानिकल कार्य)
लट ३ – इलेक्ट्रिकल र मेकानिकल कार्यहरू
लट १ र २ का बोलपत्रसम्बन्धी कागजातहरू FIDIC Emerald Book, 2019 र लट ३ को कागजात FIDIC Yellow Book, 2017 Conditions of Contract अनुसार तयार गरिएको छ।
उपर्युक्त लटको निर्माण गर्न एडिबीको सहमति प्राप्त भएपछि अन्तर्राष्ट्रिय ठेकेदारको पूर्वयोग्यता निर्धारणको शीघ्र सूचना प्रकाशन गर्ने लक्ष्य छ।
११. कम्पनीको स्थापना र सञ्चालन:
आयोजनाको कार्यान्वयन गर्न प्राधिकरणले आफ्नो सहायक कम्पनीको रुपमा कम्पनी ऐन, २०६३ अनुसार मिति २०७३।११।२० गते दुधकोसी जलविद्युत् कम्पनी लिमिटेड स्थापना गरेको छ। यस कम्पनीले कम्पनी रजिष्ट्रार कार्यालयको अनुमति प्राप्त भएपछि मिति २०८०।०२।०१ गतेदेखि दैनिक कारोबार सुरु गरिसकेको छ।
कम्पनीको हाल रहेको शेयर संरचना निम्नानुसार रहेको छः
क्र.सं. | सेयर समूह | प्रतिशत | |
(क) | संस्थापक शेयरधनी समूह | ६८ | |
नेपाल विद्युत् प्राधिकरण | ६८ | ||
(ख) | सर्वसाधारण शेयरधनी समूह | ३२ | |
(अ) | सर्वसाधारण नेपाली जनता र संस्था | १५ | |
(आ) | आयोजना प्रभावित जिल्लाबासी | १० | |
(इ) | संस्थापक र कम्पनीको कर्मचारी | ५ | |
(ई) | अति विपन्न नागरिक, सहिद तथा बेपत्ता नागरिकका परिवार तथा अपाङ्ग | २ | |
जम्मा | १०० |
१२. आयोजनाको दोस्रो चरण
आयोजनाको जलाशयमा वार्षिक रूपमा आउने कुल पानीको परिमाणमध्ये करिब ७५% पानीबाट मात्र विद्युत् उत्पादन भई बाँकी २५% त्यत्तिकै बगेर जाने भएको सन्दर्भमा विद्युत् ऊर्जाको माग र आपूर्तिको दृष्टिकोणले भविष्यमा सार्क क्षेत्रमा वर्षा याममा विद्युत् निर्यात गर्न राम्रो सम्भावना देखिएकोले दोस्रो चरणमा थप विद्युत् उत्पादन गर्नु आर्थिक रूपमा उत्तम हुने देखिन्छ।
तसर्थ, पहिलो चरणमा ६७० मेगावाटको विद्युत् उत्पादन भएपछि त्यसको ५ देखि १० वर्षभित्र दोस्रो चरणमा थप २०० मेगावाटको छुट्टै ड्याम-टो विद्युत्गृहको निर्माण प्रारम्भ गर्ने लक्ष्य लिइएको छ। यो विद्युत्गृह सुक्खा महिनाहरूमा पम्प स्टोरेज प्लाण्टको रूपमा सञ्चालन गर्ने गरी डिजाइन गरिएको छ। पहिलो र दोस्रो चरण गरेर कुल जडित क्षमता ८७० मेगावाट हुनेछ।
मुख्य बाँध र जलाशयको निर्माण भएपछि दोस्रो चरणमा निर्माण गरिने विद्युत्गृहका इन्टेक, गेट स्याफ्ट, मुख्य सुरुङ आदि निर्माण गर्न नसकिने भएकोले पहिलो चरणको ७० मेगावाटको ड्याम-टो विद्युत्गृह र दोस्रो चरणको २०० मेगावाट दुवैलाई हुने गरी एउटै इन्टेक, गेट स्याफ्ट, मुख्य सुरुङ आदि पहिलो चरणमा नै निर्माण गरिनेछन्। सो २०० मेगावाटको विद्युत्गृहबाट उत्पादित विद्युत् भदौरे सबस्टेसनमा नै जोडिनेछ।
१३. उपसंहार
विगतमा गरिएका विभिन्न प्राविधिक अध्ययनबाट जलाशय जलविद्युत् आयोजनामध्ये वातावरणीय असर, ऊर्जा उत्पादन, लागत तथा भौतिक पूर्वाधारको उपलब्धता जस्ता कारणले यो आयोजना आकर्षक देखिएको छ। वर्षा र हिउँदको विद्युत्को आन्तरिक उत्पादनको अन्तरलाई कम गरी हिउँदे विद्युत्को कमी परिपूर्ति गर्न, राष्ट्रिय विद्युत् प्रणालीलाई सन्तुलन मिलाउन तथा ऊर्जा सुरक्षाको दृष्टिकोणले आयोजनाको शीघ्र निर्माण प्रारम्भ गर्नु जरुरी देखिन्छ ।
तसर्थ, वातावरणीय र सामाजिक अध्ययनलाई चाँडै स्वीकृत गरी भौतिक पूर्वाधार विशेषतः प्रवेशमार्गको नयाँ निर्माण र सुदृढीकरण कार्य प्रारम्भ गर्ने र सन् २०२५ भित्र ऋण सम्झौता तथा सोही समयभित्र अन्तर्राष्ट्रिय ठेकेदार र परामर्शदाताको चयन गरिसक्नु पर्ने देखिन्छ ।