वर्षौँदेखि खडेरीको ख्याकले खाएर खाएर
संवेदना सुक्दै गएको सहरको माझ चौकबाट
एक दिन एक जना स्वघोषित मसिहाले
पानीको समस्या अन्त्य हुनेबारे घोषणा करायो –
अब छिटै नै
प्रत्येक बिल्डिङको छतछतमा स्विमिङ पुल हुनेछ !
चौडादार छत हुनेहरू मुसुमुसु हाँसे,
छत नहुनेहरूले चाहिँ थप्पडी मारे परररर...
मानौँ पानी बर्सिएको हो अचानक !
म्युनिसिप्यालिटीका जलदेवता झन् खुशी भए–
जलैजलको जवाहरले जाज्वल्यमान् देखे आफैँलाई !
तर हेर्दाहेर्दै
यता हरेक छतमा तलामाथि तला थपियो...
अनि उता कन्चनजङ्घा होचियो
पानी बोक्ने ट्याङ्करको सङ्ख्या बीस गुणा बढ्यो
जसबाट डिस्टब्र्ड भइरहन्छ स्वच्छन्दता ती खोल्सा र झोडाको
बालासन खोलालाई उकालै बग्न हुकुम हुने हल्ला पनि चल्यो
तर हल्ला हरायो, कि बालासनले टेरेन राजा क्यान्युटलाई
लालढिकी धारामा पानी थाप्नेहरूको भीड उस्तै छ
फरक यत्ति छ कि उहिले यसको वरिपरि
ताँबा र पित्तलका गाग्रीहरू हुन्थे, नभए हलुङ्गे
अचेल हुन्छ अचिनारु लाग्ने जेरिकेनहरूको भीड
र त्यो भीडले सुनेकै छैन लालढिकीको कथा
उहिले चोकबजारको फाँटिलो फाँट पखाल्ने
होज पाइपको पानीको शक्ति खोइ कतातिर मोडियो ?
सारा सहर गन्हाउँदैछ दङ्दङ्...
हिमाली वर्षाले बर्सिदिएर पखाल्न खोज्छ
तर नाली उल्टेर वर्षाको पानीलाई बदनाम गरिदिन्छ ।
तल्तिर बिचरी त्यो भिक्टोरिया फल्सलाई
जहिल्यै मैलो गन्हाउने नाइटी पहिराएर
सहरको मैला बोक्न विवश पारिएको छ ।
७ अगस्ट २०२२
झण्डै ४ दशकदेखि साहित्यिक जगतमा छाएका दार्जिलिङ निवासी मनप्रसाद सुब्बा वरिष्ठ कवि हुन् । उनी नेपाली र अंग्रेजी भाषामा समानान्तररूपमा कलम चलाउँछन् ।