विद्युत अपडेट

  • प्राधिकरण : ७१८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८८२ मे.वा.घन्टा
  • आयात : ६६९ मे.वा.घन्टा
  • निर्यात : ३३०५ मे.वा.घन्टा
  • ट्रिपिङ : १७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२२०० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८० मे.वा.
२०८२ पुस १४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ठीक एक वर्षअघि अर्थात् पुस १६ गते, २०८१ मा रसुवागढी जलविद्युत् आयोजनाबाट विद्युत्को व्यापारिक ऊत्पादन सुरु भयो । त्यो केवल विद्युत् उत्पादन सुरु भएको दिनमात्र थिएन । वर्षौँको सपना, सङ्घर्ष र समर्पणले मूर्त रूप पाएको ऐतिहासिक क्षण थियो । विडम्बना नै भन्नुपर्छ, सञ्चालनमा आएको करिब ६ महिनामै (गत असार २४ गते बिहान करिब ३.१५ बजे) एउटा अकल्पनीय घटना घट्यो ।

नेपाल–चीन सीमाभन्दा करिब ३६ किलोमिटर माथिल्लो तट (तिब्बत) मा ल्हेन्दे खोलाको जलाधारमा ०.७५ किलोमिटरमा फैलिएको ‘सुप्रा–ग्लेसियर हिमताल’ फुट्दा यति ठूलो बाढी आयो । त्यो बाढी मात्र थिएन, मृत्युको झन्डा हल्लाउँदै उर्लेको विनाशको भेल थियो । उर्लिँदो बाढी, माटो, ढुङ्गा र काठको थुप्रो सहित आयोजनास्थलमा पस्दा केही घन्टामै वर्षौँको मिहिनेत, पसिना र आशा बगेर गयो । हेडवक्र्स, पावरहाउस, विद्युत् उपकरण, पहुँचमार्ग, क्याम्पलगायत संरचनाले प्रकृतिको भीषण प्रहार सहनुपर्‍यो । प्रकृतिका अगाडि हामी मानव अर्थात् त्यहाँ कार्यरत कर्मचारी निरिह बन्नुको विकल्प रहेन ।

हामीलाई आफ्नै ज्यान जोगाउन पनि मुस्किल पर्‍यो । कति स्थानीय, नेपाली तथा चिनियाँ कर्मचारीलाई त बाढीले आफूमै समाहित गर्‍यो । यो साँच्चै नै हृदयविदारक क्षण थियो भन्दा अन्यथा हुँदैन । बाढी आउँदा क्याम्पमा रहेका कर्मचारीका लागि त्यो पल जीवन र मृत्युबीचको लामो सङ्घर्ष अझ युद्ध नै थियो । अन्धकार, कोलाहल, गर्जिँदो पानी र चारैतिर फैलिएको त्रासबीच कुनै योजना थिएन । कुनै तयारी थिएन । थियो, त केवल बाँच्ने अठोट ।

बाँच्नकै लागि एक मुठी सास साँचेर नजिकैको डाँडातिर उक्लिँदा कोही लड्दै, कोही अर्काको हात समात्दै, कोही पछाडि छुटेकालाई बोलाउँदै हामी अघि बढेका थियौँ । त्यो रात प्रकृतिसँगको लडाइँ मात्र थिएन, त्यो मृत्युको आँखामा आँखा जुधाएर बाँच्न खोजिएको रात थियो । भाग्य, साहस र आपसी विश्वासले साथ दियो र सबैभन्दा ठूलो उपलब्धि यही बन्यो कि हामी बाँच्न सफल भयौँ ।

मृत्युले छोडेर गएपछि जीवनप्रति यति लोभ पनि जाग्दो रहेछ । तथापि, हामीसँग यही लोभमा अल्झिएर सुस्ताउने समय थिएन । एक प्रकारले प्रकृतिको संहार खेपेर मृत्युको मुखमा पुगेको आयोजनाको उपचार गरेर उसको जीवन फर्काउनु थियो । जो देश विकास र अर्थतन्त्रको मेरुदण्डसँग जोडिएको थियो । हामीले आफू बाँच्न समर्थ भएको पक्षलाई खुसीयाली मान्यौँ र सुरु गर्‍यौँ, अर्को अर्को कठिन यात्रा ।

त्यो आशा, भरोसा र विश्वासको यात्रा थियो । हामी गर्न सक्छौँ र आयोजनालाई पुरानै अवस्थामा फर्काउन सक्छौँ भन्ने अठोट पनि थियो । बाढीले थिचेको मन, भत्किएका संरचना, प्रतिकुल मौसम र अनिश्चित भविष्यलाई निश्चित बनाउने योजना बन्यो । ६ महिनासम्म हामी कर्मचारीहरू निरन्तर सङ्घर्ष गरिरश्यौँ । सीमित स्रोत, कठोर मौसम, जोखिमपूर्ण अवस्था र थकानले गल्दै जाँदा पनि ‘रसुवागढी फेरि उठ्नुपर्छ’ भन्ने एउटा दरिलो विश्वासले सबैलाई बाँधीराख्यो ।

हामीले ६ महिना एउटा कठिनपूर्ण अवस्था गुजार्‍यौँ । रातदिन नभनी काममा जोतिइरह्यो । हामीलाई आफ्नो मिहिनेतमा पूर्ण विश्वास थियो, छोटो समयमै रसुवागढीको उपचार गरी तन्दुरुस्त बनाउन सकिने छ । आज त्यसले सार्थकता पाएको छ । झरीपछि खुलेको आकाशजस्तो, प्रकृतिको काँधमा टेकेर मृत्युले गरेको नृत्य सुनेर र देखेर अमर जीवन पाएजस्तो भएको छ ।

आयोजनाका तीन वटा युनिटमध्ये दुई वटा सफलतापूर्वक राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका छन् । जब टर्बाइन घुमेर फेरि पहिलो पटक बिजुली उत्पादन भयो, तब त्यो केवल प्रविधिको सफलता मात्र थिएन । त्यो हार नमान्ने कर्मचारी एवम् मानवीय मनोबलको विजय थियो । रसुवागढीबाट पुनः बिजुली बलेको छ । देशलाई उज्यालो दिन थालेको छ । यो कुनै बाहिरी चमत्कार नभई आयोजनाका प्रत्येक कर्मचारीको पसिना, धैर्य र मेहनतको परिणाम हो भन्दा पक्कै अन्याय हुँदैन ।

रसुवागढी असार २४ गते एउटा कठोर परीक्षामा उपस्थित भयो । आज यो उर्तिण भएको भएको छ । यसबाट प्रमाणित भएको छ कि, सपना बाढीले बगाउन सक्छ तर साहस र समर्पणले तिनलाई फेरि जीवितरूपमा उभ्याउन सक्छन् । यो उपलब्धि कुनै एक व्यक्ति वा पदको होइन, यो सम्पूर्ण टोलीको साझाबल, आत्मविश्वास, जाँगर र उत्साहको प्रतिफल हो ।

यो कथा हामी बाढीबाट बाँच्न सफलहरूको, भग्नावशेषमा उभिएर भविष्य खोजेकाहरूको र निराशामाथि जित हासिल गरेकाहरूको हो । बाढीसँगै बगेर जानेहरूले आफ्ना सपनाहरू पनि हामीलाई सुप्पेर गए । हामीले मनन् गर्‍यौँ – हामीसँग छोडीजानेका सपना समेत खापिए । त्यो पूरा गर्ने दायित्व पनि हाम्रै हो । त्यही आत्मबोधले पनि यति चाँडै रसुवागढीलाई पुरानो लयमा फर्काउन सक्यो ।

रसुवागढी आज फेरि उभिएको छ, घाइते, थकित र गलित भए पनि । एक दिन यो पूर्ण दन्तुरुस्त वा स्वस्थ हुने छ । तीन वटै युनिट सञ्चालनमा आउने छन् । त्यो बेला हामीले महसुस गर्नेछौँ – हाम्रा सपनाले त साकार रूप पाए । छोडिजानेका केही अंश भए पनि पूरा भए कि !

प्रतिक्रिया दिनुहोस

समीर लामिछाने

समीर लामिछाने रसुवागढी जलविद्युत् कम्पनी लिमिटेडमा इलेक्ट्रिकल इन्जिनियरको रूपमा कार्यरत छन् ।

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३